महामारीको मनोसामाजिक पक्ष

कोरोनाका कारण अहिलेसम्म ज्यान गुमाएका करिब ३ प्रतिशतभन्दा निको भएका ९०–९५ प्रतिशत को तथ्यांक सर्वसाधारणको मानसिक सुधारका लागि बढी उपयोगी हुन्छ ।
अजय रिसाल

चीनबाट तीन महिनाअघि सुरु भएको कोरोना भाइरसले अहिले विश्वव्यापी रूप लिइसकेको छ । १२० भन्दा बढी देशका लगभग २ लाख मानिस यस भाइरसबाट प्रभावित छन् । त्यस्तै १० हजार बढीको ज्यान गइसकेको छ । विश्व स्वास्थ्य संगठनले यो कोरोना भाइरससँग जुध्न सारा विश्वलाई नै आह्वान गरिरहेको छ । यसै सन्दर्भमा कोरोना महामारीको मानसिक वा मनोवैज्ञानिक पक्षमा यो लेख केन्द्रित छ । 

महामारीको मनोसामाजिक पक्ष

तीव्र गतिमा फैलिएर विकसित कहलिएका देशहरूलाई समेत कोरोना भाइरसको नियन्त्रण गर्न हम्मेहम्मे पारिरहेको छ । कोरोना भाइरसले सर्वसाधारण मात्र नभई स्वास्थ्य र सामाजिक कार्यकर्तामा मनोवैज्ञानिक त्रास एवं आतंक सञ्चार गरिरहेको छ । बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी, शारीरिक अनि मानसिक रूपमा कमजोर मानिस बढी मनोसामाजिक समस्याका सिकार बन्न सक्छन् ।


कोरोना संक्रमितलाई दया, करुणा, सहानुभूति होइन, समानुभूति चाहिन्छ । कोरोनालाई भयको विषय नबनाई अन्य सामान्य रोगसरह मान्ने वातावरण बनाउनु अत्यावश्यक छ ।पत्रपत्रिका र सामाजिक सञ्जालमा कोरोना भाइरस सम्बन्धी होहल्ला, भय मिश्रित र आतंकित बनाउने नकारात्मक पक्षमात्र प्रवाह गर्नुहुन्न । तथ्यपरक सकारात्मक ऊर्जा प्रदान गर्ने सामग्री सम्प्रेषण गर्नुपर्छ । यस रोगका कारण अहिलेसम्म ज्यान गुमाएका करिब ३ प्रतिशतभन्दा निको भएका ९०–९५ प्रतिशत को तथ्यांक सर्वसाधारणको मानसिक सुधारका लागि बढी उपयोगी हुन्छ । कोरोना संक्रमणबाट कसरी जोगिने भन्ने सामग्री बढी प्रचार–प्रसार गर्नुपर्छ ।


महामारीको समयमा पहिले ‘आफू जोगिने’ अनि अरुलाई ‘सहारा दिने’ हो । यसो गर्दा सहयोग लिने र दिने दुवै पक्षलाई फाइदा हुन्छ । संक्रमणले सबैभन्दा असर पुर्‍याउने स्वास्थ्यकर्मीलाई हो । विद्यालय, उद्योग–कलकारखाना, बजार, सार्वजनिक यातायात सबै बन्द हुनसक्लान्, तर अस्पताल–स्वास्थ्य केन्द्र २४ सै घन्टा खुला रहनुपर्छ । विद्यार्थी–शिक्षक, व्यापारी र अन्य पेसाकर्मी छुट्टीमा बस्न पाउलान्, तर महामारीको समयमा स्वास्थ्यकर्मीलाई छुट्टी कसरी दिने ? स्वास्थ्यकर्मी यस्तोमा बढी तनावमा हुन्छ । आफू बाँच्नेमात्र नभई अरुलाई बचाउने जिम्मेवारीमा स्वास्थ्यकर्मी हुन्छन् । स्वास्थ्यकर्मीको मनोसामाजिक स्वास्थ्य र तनाव व्यवस्थापनका लागि सबै पक्षले विचार गर्नु आवश्यक छ ।


स्वास्थ्यकर्मीले कोरोनाको महामारीको बेलामा आफ्ना आधारभूत आवश्यकता (भोजन, पानी र आवास ) परिपूर्ति गर्न झनै ध्यान पुर्‍याउनुपर्छ । आफू स्वस्थ रहेमात्र अरुको हेरचाह गर्न सकिने हो । पर्याप्त आराम, नियमित व्यायाममा ध्यान दिनुपर्छ । धूमपान, मद्यपान या लागूपदार्थ सेवन आदिले मानसिकमात्र नभई शारीरिक स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्न सक्छ । आफ्नो पेसागत धर्मले गर्दा स्वास्थ्यकर्मी परिवार वा समाजबाट टाढा भइरहेका हुन्छन् । यस्तो बेला टेलिफोन, भाइवर वा अन्य सामाजिक सञ्जालहरूको प्रयोग गरी आफ्ना परिवार, आफन्तजन र साथीसँग नजिक रहने प्रयास स्वास्थ्यकर्मीले गर्नुपर्छ । यसैले तनाव व्यवस्थापनमा मद्दत गर्छ ।


मनोवैज्ञानिक प्राथमिक उपचारका लागि मानसिक स्वास्थ्यकर्मी हुनैपर्छ भन्ने छैन । महामारीका बेला तनावमा रहेका जोकोहीलाई स्वयंसेवक वा हेरचाह गर्ने मानिसले पनि मनोवैज्ञानिक ढाडस दिन सक्छन् । महामारीबाट प्रभावितहरूको वस्तुस्थिति, रहन–सहन, संस्कृति, भाषाभेष र उपलब्ध सहयोग–स्रोतको पहिचान गर्नुपर्छ । मनोवैज्ञानिक प्राथमिक उपचार प्रक्रियामा प्रभावित व्यक्तिको सुरक्षा र आत्मसम्मानमा ध्यान दिनुपर्छ । अनि प्रभावितलाई व्यावहारिक सहयोग, आधारभूत आवश्यकता (खाना, पानी, बासस्थान र सूचना प्रवाह) परिपूर्तिमा ध्यान पुर्‍याउनुपर्छ । प्रभावितले आफ्ना कुरा, कथाव्यथा सुनाउन चाहे शान्त भई सुनिदिनुपर्छ । आवश्यक सान्त्वना दिने अनि उपलब्ध साधनस्रोत, सहयोग र सेवाको बारेमा यथेष्ठ जानकारी दिनुपर्छ । त्यस्तै महामारीको कसरी र किन बढिरहेछ ? यसका निराकरणका लागि कसरी काम भइरहेछ भन्नेबारेमा प्रभावितलाई जानकारी दिनु उचित हुन्छ । सही सूचना दिनु मनोचिकित्सक उपचार हो ।


प्रभावितलाई उनीहरूको परिवारसँग सम्पर्कमा राख्नुपर्छ । प्रत्यक्ष रूपमा सम्भव नभए अप्रत्यक्ष रूपमा टेलिफोन वा सामाजिक सञ्जालका माध्यमबाट पनि परिवारसँग सम्पर्क गराउन सकिन्छ । प्रभावितका संक्रमणजन्य शारीरिक समस्याको उपचारको व्यवस्था सहज तरिकाले मिलाउनुपर्छ । त्यस्तै प्रभावितको आध्यात्म, विश्वास वा धर्मको ख्याल गर्नुपर्छ । प्रार्थना, जपतप, भजनकीर्तन आदि गर्न चाहनेहरूलाई उपयुक्त वातावरण मिलाइदिनु राम्रो हुन्छ ।


महामारीका बेलामा प्रभावितहरूले नै बुझ्ने भाषामा यथोचित जानकारी दिनुपर्छ । बालबालिकालाई खेलकुद, मनोरञ्जन आदि गर्ने अनि यथासम्भव आफ्ना अभिभावकहरूसँगै राख्ने वातावरण मिलाउनुपर्छ । अहिले कोरोना–संक्रमित वा संक्रमणको आशंका हुने बित्तिकै अलग्गै रहनुपर्ने अवस्था छ । यसरी परिवार या समाजबाट अलग्गै बसेकाले बहिष्कृत भएझैं मान्नुहुन्न । प्रभावितलाई सकेसम्म सामाजिक सञ्जालबाटै भए पनि सम्पर्कमा राखिरहने प्रयास गर्नुपर्छ । यस्तै फैलन नदिन सरसफाइमा ध्यान दिनुपर्छ । हाम्रो संस्कृति ‘नमस्ते’को अझै प्रचार गर्नुपर्छ । शारीरिक संक्रमणलाई त ढिलो–चाँडो जितिनै हाल्छौं, मानसिक सबलतालाई पनि खलबलिन नदिऔं ।


-रिसाल धुलिखेल अस्पतालका मानसिक रोग विशेषज्ञ हुन् ।

प्रकाशित : चैत्र ८, २०७६ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?