सधैं बेस्वादको बन्छ विपन्नको दसैं

चाडपर्वले सबैका घरमा उज्यालो र उमंग भित्र्याइरहँदा विपन्न वर्ग भने अमिलो मन बनाउँदै जसोतसो दसैं टार्न खोजिरहेका छन् ।

आश्विन १५, २०८२

केदार शिवाकोटी

The Christmas of the poor always becomes tasteless

दोलखा — दसैं छपक्कै लागिसकेको छ । घरबाहिर रहेका परिवारका सदस्य घर फर्कने लहर जारी नै छ । तर भीमेश्वर नगरपालिका-५ का हस्तबहादुर दमाईको घरमा न दसैंका लागि भनेर फर्कने कोही छन् । न किनमेलको तयारी नै । 

उमेरले ५५ नाघेका हस्त बहादुर शारीरिक रुपमा अपाङ्ग छन् । उनको हातखुट्टा राम्रोसँग चल्दैनन् । लठ्ठीको सहाराले यताउता हिँड्डुल गर्छन् । त्यसमाथि दुई सन्तान र श्रीमती पनि उनकै भरमा छन् । मागीडोली गरेर जीविकोपार्जन गर्दै आएका साँघुरो कटेरो अँध्यारो छ । चाडपर्वले सबैका घरमा उज्यालो ल्याउँदा उनी भने निराश छन् । 

सडकमै जोडिएको भए पनि उनको टहरोले मुहार फेर्न सकेको छैन । सरकारले दिएको थोरै भत्ताले उनको औषधि उपचार र घर खर्च जेनतेन चलेको छ । कसैले दयामायाले दिएको सहयोग नै उनको अर्को मुख्य स्रोत हो । ‘सबैको घरमा दसैं आइसके पनि गरिबको घरमा चाडपर्व पस्दैन,’ उनले भने, ‘मागेर चाडपर्व मान्ने हो, यसो भत्ता पाएको छु, त्यसैले जेनतेन चाडपर्व बिदाइ गर्नुपर्ला ।’ 

यो वर्ष उनले हाम्रो जनकल्याण बचत तथा ऋण सहकारीले अति विपन्न र अपांगलाई दिइने चाडपर्व प्याकेज पाएका छन् । सहकारीले दिएको चामल, नुन, भुटुनसहितको ५ हजार बराबरेको सहयोग पाएको उनले सुनाए । ‘एक महिनालाई पुग्ने खाद्यन्नसहितका सामान घरमै सहयोग पाएको छु,’ उनले भने, विगतका वर्षजस्तो मागेर चाडपर्व मान्नु पर्ने अवस्था छैन ।’ 

000

भीमेश्वर नगरपालिका-७ का भोटे सार्कीलाई कति वर्ष पुगेँ भन्ने थाहा छैन । उनीसँग २ सन्तान र श्रीमती छिन् । सम्पत्तिका नाममा थोरै जग्गा छ । ज्यालामजदुरी नै उनको आय स्रोत हो ।  दसैं घरदैलामा आइपुग्दा उनमा भने चिन्ता बढदो छ । 

‘गरिबको घरमा कहिल्यै चाड पस्दैन, हामीले बुझेका छौं,’ उनले भने तर छोराछोरीलाई जसोतसो मिठो मसिनो दिएर चाडपर्व मनाइदिनैपर्छ ।’ गाउँघरमा काम गरेर बिहान बेलुकी खानै मात्रै पुग्ने उनले बताए । ‘छोराछोरीलाई एकसरो लुगाफाटो हाल्नै आफ्नो हैसियत पनि छैन,’ उनले भने, ‘मागेर भए पनि कसैले दिए त्यही लाउने हो, जे छ त्यसमै चाडपर्व टार्ने हो । गरिबलाई ऋण पनि कसैले पत्याउँदैन ।’ 

७ नम्बर वडामा ७ परिवार अति विपन्न परिवार छन् । उनीहरुको आर्थिक अवस्थाका कारण जनप्रतिनिधिले आफ्नो तलबबाट र सहयोग मागेर चाडपर्व मनाउने व्यवस्था मिलाइदिने गरेका अध्यक्ष विनोद तामाङले बताए । ‘दसैं सबैको उत्सवको पर्व हो, आर्थिक अवस्था कमजोर भएकालाई वडाले सहयोग मागेर भए पनि चाडपर्व मनाइदिने गरेका छौं,’ उनले भने, ‘केही परिवारलाई सहकारीले सहयोग गरेको छ । केहीलाई वडाले सहयोग गरेका छौं ।’ 

०००

८४ वर्षकी एकल वृद्धा शान्तिमाया थामीको जीविकोपार्जन कष्टकर छ । सामाजिक सुरक्षा भत्ताले खर्च टार्दै आएकी उनी अँधेरो कटेरोमा चाडपर्व नियालिरहेकी छन् । ‘उमेरमा मेला पर्म गरेर भए पनि चाडपर्व धानेकी थिएँ,' उनले भनिन्, 'उमेर ढल्कियो । कसैले केहि दिइहाले मिठो मसिनो खानपाइन्छ । नभए भोकै । मेरो लागि दसैं कहिल्यै आएन ।’ 

चाडपर्वको मुखमा भत्ता भने पाएपछि उनको अनुहारमा केही उज्यालो झल्कन्थ्यो । ‘किनमेल गर्न आफै बजारमा जान सक्दिनँ, भाइका छोराछोरीलाई भन्ने गरेकी छु,’ उनले भनिन्, ‘टीकाटाला गर्न आउँछन् केही आफन्त, उनीहरुलाई यसो मिठो मसिनो दिनुपर्छ भनेर पठाएकी छु ।’ 

भीमेश्वर नगरपालिकाका २७ परिवारलाई वडाको सिफासिरमा चाडपर्वमा अभियान चलाएर घरदैलोमा चाडपर्व मनाउन खाद्यान्नसहितको प्याकेज दिएको हाम्रो जनकल्याण सहकारीका प्रबन्धक दीपक बस्नेतले बताए । ‘अति विपन्न परिवारलाई दसैं मनाउन निकै सकस छ,’ उनले भने, ‘थोरै भए पनि चाडपर्वमा यस्ता परिवारलाई सहयोग गर्न पाएकोमा निकै खुसी लागेको छ ।’ सहकारीले आफ्ना सदस्यलाई दिने सुविधाबाट केहि कटौती गरेर भए पनि सहयोग गर्ने हो भने जिल्लाभरका यस्ता परिवारको चाडपर्वमा चुल्हो बल्न सहयोग पुग्ने उनले बताए । हितकोषमार्फत वितरण हुने खाद्यन्न सहयोगलाई थप स्रोत जुटाएर आगामी वर्ष थप संख्यामा सहयोग वितरण गर्ने योजना रहेको उनको भनाइ छ ।

केदार

Link copied successfully