स्याउ खेतीको तौरतरिका सिकेर गाउँ फर्केका ईन्द्रबहादुर गोले अहिले गाउँमै व्यवसायिक स्याउ खेतीको सम्भावना उधिन्दै छन् ।
What you should know
काभ्रे — १४ वर्षको उमेरमा तपाई के गर्दै हुनुहुन्थ्यो ? बेथानचोक गाउँपालिका–२ खोराथलीका ईन्द्रबहादुर गोलेभने त्यो उमेरका श्रम गर्न भारतको दिल्ली पुगेका थिए ।
दिल्लीको एक निजी कम्पनीमा १० वर्ष काम गरेर उनी सिमलाको स्याउ फार्ममा काम गर्न पुगेको थिए । यिनै ईन्द्रबहादुर अहिले ५६ वर्षका भए र उनी आफ्नै गाउँको स्याउ बगैचामा स्याउको बोट स्याहरीरहेका छन् ।
ईन्द्रबहादुरको संघर्षको कथा बुझ्न तीन दशक अघि नै पुग्नुपर्छ । सिमलामा उनले जे देखे, त्यो उनले सोचेभन्दा फरक दृश्य थियो । गाउँमा एकाध किसानले स्याउ लगाएको देखेका उनले ठूलो क्षेत्रफल र लगानीमा हुम्ला, जुम्लातिर स्याउ लगाइन्छ भन्ने सुनेका मात्रै थिए । सिमला ५/६ सय रोपनीमा स्याउ फलाएको देख्दा उनी दंगै परे । स्याउ खेतीबारे सामान्य जानकारी पनि मात्रै भएका उनलाई त्यहाँ लगाइने इटालियन प्रजातिको स्याउ खेतीका बारेमा बुझ्न केही वर्ष नै लाग्यो ।
बगैंचामा डुल्दाडुल्दै खेती गर्ने तरिकाबारे उनी अभ्यस्त हुँदै गए । उनले स्याउको बेर्ना तयार पार्ने, रोप्ने, गोडमेल गर्ने, हाँगाबिँगा मिलाउने, फल टिप्ने सबै काम सिक्दै गए । एकपछि अर्को गर्दै सिक्दै उनले त्यहाँ इटालियन जातका स्याउको नर्सरी पनि सञ्चालन गरे । महिना र वर्ष गर्दागर्दै सिमलाको फार्ममा ३२ वर्ष काम गरेपछि उनलाई आफ्नै गाउँमा इटालियन प्रजातीको स्याउ खेती गर्ने ईच्छा जाग्यो ।
२०७८ सालमा उनी नेपाल फर्किए । गाउँमा इटालियन प्रजातिको स्याउ खेतीको तयारी गरे । आफूले खेती सुरु गर्न लागेको किङ्ग रोड, रेड ब्ल्याक, डार्केन रेड गाला, सेनेको गाला, एसएसो गाला, ट्यारेक्स गाला इटालियन प्रजातिको स्याउको बारेमा गाउँलेलाई पनि बताए । तर, उनले सुरु गर्न लागेको नयाँ प्रजातिको स्याउ खेतीको बारेमा धेरैले चासो दिएनन् । कारण, गाउँ पहिलेदेखि नै रैथाने जातको स्याउ खेती गरिन्थ्यो । नयाँ भए पनि धेरैको चासोको विषय नभएको उनले बताए । उनका अनुसार यहाँ पहिलेदेखि नै रैथाने जातको स्याउ मात्र लगाइन्थ्यो । राम्रो हेरचाह र स्याहार नगर्दाले स्याउ उत्पादन खासै हुँदैनथ्यो ।
‘नेपाल फर्केर नयाँ प्रजातिको स्याउ खेती गर्न लाग्दा गाउँमा धेरैले राम्रो मानेन्,’ उनले भने, ‘पहिलेदेखि नै यहाँ स्याउ लगाएकै हो, राम्रो फलेको छैन, नयाँ जातको स्याउको लागि हावापानी राम्रो हुँदैन भनेर धेरैले भने पनि वास्ता नगरी खेती सुरु गरे ।’ उनले ३ वर्षअघि ३ रोपनीमा इटालियन प्रजातिका किङ्ग रोड, रेड ब्ल्याक, डार्केन रेड गाला, सेनेको गाला, एसएसो गाला, ट्यारेक्स गाला गरेर पाँच जातका पाँच सय स्याउका विरुवा लगाएका छन् । ‘यो वर्षबाट बोटमा थोरै–थोरै फल लाग्न सुरु भएको छ,’ उनले भने, ‘दाना राम्रा छन्, गोडमेल, मलपानीको मात्रा मिलाउनसके अर्को वर्ष राम्रो होला ।’
सिमलामा आफूले सञ्चालन गरेको नर्सरीबाट विरुवा ल्याएर उनले यहाँ खेती सुरु गरेका हुन् । ‘विरुवा आफैले उत्पादन गरेको हो, बारी आफ्नै हो,’ उनले भने, ‘अहिले त्यस्तो धेरै लगानी गर्नुपरेको छैन, औषधिमलमा अलिअलि खर्च भएको छ, धेरै त मिहेनत खर्च भएको छ ।’ उनका अनुसार स्याउ राम्रो फलेको अवस्थामा अर्को वर्ष १५/१६ लाख आम्दानी हुने अनुमान छ । उनका अनुसार यहाँ पहिलेदेखि नै लगाइदै आएको स्याउको विरुवामा ५/७ वर्षपछि मात्रै फल लाग्छ । एउटा विरुवाले राम्रोसँग उत्पादन दिन करिब १० वर्ष लाग्छ । ‘इटालियन प्रजातिका स्याउले ३/४ वर्षमै राम्रो उत्पादन हुन्छ । विरुवा रोपेको तेस्रो वर्षमा एउटा बोटमा ७/८ दाना फल लाग्छ, चौंथो वर्षमा एउटै बोटमा ५०/६० दाना फल्छ ।’
उनका अनुसार स्याउ खेतीका लागि चिसो हावापानी उपयुक्त हुन्छ । डार्केन रेड गाला, सेनेको गाला, एसएसो गाला, ट्यारेक्स गाला प्रजातिको स्याउको लागि समुन्द्री तहबाट १५ सयदेखि २४ सय मिटर, किङ्ग रोड, रेड ब्ल्याक १८ सयदेखि २६ सय मिटरको उचाईमा लगाउनुपर्ने उनले बताए । नेपालको उच्च पहाडी क्षेत्र काभ्रे, रामेछाप, दोलखा, रसुवा, मुस्ताङ, हुम्लालगायतका स्थानमा अहिले यी प्रजातिका स्याउ लगाउन थालिएको उनले जानकारी दिए । उनका अनुसार यसलाई रोप्नका लागि उपयुक्त समय भनेको फाल्गुन–चैत हो । रोपिसकेपछि गोडमेल तथा सिचाइमा विशेष ध्यान दिनुपर्ने उनले बताए । वर्षामा बढी पानी जम्न नदिने र हिउँदमा ड्रिप सिँचाइ प्रणाली उपयुक्त हुने उनको भनाई छ ।
उनले नयाँ प्रजातिको स्याउ खेती सुरु गर्नै लाग्दा खेती बारेमा विश्वास नगर्नेहरु अहिले बगैंचामै पुगेर जानकारी लिने गरेको उनले बताए । उनले गरेको स्याउ खेती गाउँमा नयाँ भएको बेथानचोक गाउँपालिका २ का वडाध्यक्ष पुरुषोत्तम तिमिल्सनाले बताए । ‘विदेशमा सिकेको सीपलाई सदुपयोग गरेर गाउँमै राम्रो आम्दानी गर्ने प्रयास गर्नुभएको छ,’ उनले भने, ‘उहाँसँग भएको सीपको सदुपयोग गर्न आवश्यक छ, अन्य किसानलाई पनि यस प्रजातिको स्याउ खेती बारे सिकाउनुहुनेछ ।’
बेथानचोक गाउँपालिकाको उच्च पहाडी क्षेत्रमा केही वर्षदेखि नै स्याउ खेती गरिदै आएको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए । उनका अनुसार पहिला थोरै क्षेत्रफल तथा लगानीमा लगाइन्थ्यो भने पछिल्लो समय व्यवसायिक रुपमा स्याउ खेती गर्न सुरु भएको छ । ‘यस क्षेत्रमा स्याउ उत्पादनको लागि राम्रो सम्भावना देखिएसँगै स्याउ खेती किसानको संख्या पनि बढ्दै गएको छ,’ उनले भने, ‘यहाँका किसानलाई व्यावसायिक बनाउन पालिकाले सहुलियतमा ब्याज अनुदान ऋण लगानी पनि सुरु गरेको छ, यस कार्यक्रमले इन्द्रबहादुर जस्ता व्यवसायिक किसानले थप टेवा पुग्ने विश्वास गरिएको छ ।’
उनका अनुसार कृषिमा आत्मनिर्भर भएको पालिकाको रुपमा चिनिने र यहाँका अधिकांश नागरिक कृषिमा आबद्ध भएकाले कृषि प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस प्रकारको खेती प्रर्बद्धन गर्न पालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । गोलेसँग भएको सीपलाई सदुपयोग गर्दै इटालियन जातको स्याउको विरुवा उत्पादन गरी बेथानचोकमै त्यसको नर्सरी सञ्चालन गर्ने योजना गाउँपालिकाले बनाएको छ । उक्त कार्यको लागि गाउँपालिकाले सहजीकरण गर्ने उनले प्रतिबद्धता जनाए ।
स्याउ खेतीसँग सम्बन्धित अन्य समाचारहरु
स्याउ आयात बर्सेनि बढ्दो, स्वदेशी उत्पादनमा गुणस्तरको चुनौती
