स्याउ आयात बर्सेनि बढ्दो, स्वदेशी उत्पादनमा गुणस्तरको चुनौती

गत साउनमै १ अर्ब ५ करोड ४४ लाख रुपैयाँको ९२ लाख ९४ हजार किलो स्याउ आयात भएको छ।

भाद्र १८, २०८२

कृष्णप्रसाद गौतम, राजु चौधरी

Apple import increasing every year, quality challenge in domestic production

What you should know

काठमाडौं, सुर्खेत — मधेशबाहेक ६ वटै प्रदेशका हिमाली जिल्लामा स्याउ उत्पादन हुने गरे पनि आयात बर्सेनि बढ्दो छ । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमै १ अर्ब ५ करोड ४४ लाख रुपैयाँको ९२ लाख ९४ हजार किलो स्याउ आयात भएको छ ।

नेपालमा मुख्यतया चीन र भारतबाट स्याउ आयात हुने गरेको छ । गएको साउनमा चीनबाट ७२ करोड ९९ लाख रुपैयाँको ५२ लाख ४३ हजार किलो र भारतबाट ३२ करोड ४४ लाख रुपैयाँको ४० लाख ५० हजार किलो स्याउ आयात भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ । 

गत आर्थिक वर्ष २०८१/८२ मा १० अर्ब ५५ करोड ७५ लाख रुपैयाँको ९ करोड २ लाख ५३ हजार १ सय २५ किलो स्याउ आयात भएको छ । चीनबाट ९ अर्ब ७४ करोड १६ लाख रुपैयाँको ७ करोड ९८ लाख ६५ हजार किलो स्याउ आयात भएको थियो । भारतबाट ८१ करोड ५९ लाख रुपैयाँको १ करोड ३ लाख ८७ हजार किलो आयात भएको कृषि मन्त्रालयको तथ्यांक छ । 

आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब ४४ करोड ८९ लाख रुपैयाँको ८ करोड २१ लाख ४५ हजार किलो स्याउ आयात भएको थियो । चीनबाट ७ अर्ब ५७ करोड ४६ लाख रुपैयाँको ७ करोड ११ लाख ८१ हजार किलो र भारतबाट ८५ करोड ८९ लाख रुपैयाँको १ करोड ८ लाख ८१ हजार किलो आयात भएको छ । उक्त वर्ष न्युजिल्यान्डबाट ४४ लाख रुपैयाँको २० हजार किलो स्याउ आयात भएको तथ्यांक छ ।

मुलुकभर करिब १२ हजार ४ सय ९४ हेक्टरमा स्याउ खेती भए पनि उत्पादन हुने क्षेत्रफल ६ हजार २ सय ८५ हेक्टर हो । आर्थिक वर्ष २०८०/८१ मा ५४ हजार ५ सय ६ टन उत्पादन स्याउ भएको थियो । स्याउको उत्पादकत्व प्रतिहेक्टर ८.६७ टन छ । उत्पादनमा कर्णाली प्रदेश अगाडि भए पनि उत्पादकत्वमा गण्डकीको स्थान पहिलो छ । स्याउ खेती सबैभन्दा धेरै कर्णाली प्रदेशमा हुन्छ । उत्पादन पनि कर्णालीमै हुन्छ । तर उत्पादकत्व भने गण्डकी प्रदेशमा रहेको कृषि मन्त्रालयले जनाएको छ । 

कर्णालीमा ८ हजार ९ सय २८ हेक्टरमा खेती भए पनि उत्पादन हुने क्षेत्रफल ३ हजार ६ सय ५१ हेक्टर छ । आर्थिक वर्ष २०८०/८१ मा कर्णालीमा ३२ हजार ९ सय ५२ टन स्याउ उत्पादन भएको थियो । उत्पादकत्व प्रतिहेक्टर ९.०३ टन छ । यो अवधिमा गण्डकीमा ९ हजार ६ सय ४४ टन स्याउ उत्पादन भएको थियो । गण्डकीमा स्याउ उत्पादन योग्य जमिन ८ सय ५१ हेक्टर छ । उत्पादकत्व प्रतिहेक्टर ११.३३ टन रहेको मन्त्रालयले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षमा लुम्बिनीमा ५ हजार १ सय १५ टन स्याउ उत्पादन भएको मन्त्रालयको तथ्यांक छ । लुम्बिनीमा खेतीयोग्य ६ सय ९५ हेक्टरमा स्याउ उत्पादन हुन्छ । उत्पादकत्व प्रतिहेक्टर ७.३६ टन रहेको मन्त्रालयले जनाएको छ । सुदूरपश्चिममा ५ सय ७४ हेक्टरमा ४ हजार ७ टन, कोशीमा ३ सय ३३ हेक्टरमा १ हजार ९ सय३ टन उत्पादन भएको छ । बागमतीमा ८ सय ५१ हेक्टरमा ८ सय ८५ टन उत्पादन स्याउ उत्पादन भएको मन्त्रालयले जनाएको छ ।

स्याउको आयात अझै १० वर्षसम्म पनि नरोकिने कृषि मन्त्रालयका अधिकारी बताउँछन् । ‘पछिल्लो समय फलफूल भनेको स्याउ मात्रै भन्ने बुझाइ छ । नास्पाती, भुइँकटहर, रूखकटहरलगायत फलफूल उत्पादनको सम्भावना भए पनि स्याउ बढी रोजाइमा पर्छ,’ मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले भने, ‘पछिल्लो समय सडक सञ्जालले उत्पादन बजारमा आउन नसकेको मान्यता अब रहेन । सबैतिर सडक सञ्जाल जोडिएपछि खेर गइरहेको स्याउ बजारमा आएको छ ।’ स्याउको उत्पादन बढाउन मुस्ताङमा बीउ उत्पादन पनि सुरु गरिएको उनले बताए । 

हुम्लाको सिमकोट गाउँपालिका–७ का भीमबहादुर रोकायाले झन्डै ९ रोपनीमा करिब ३ सय स्याउका बिरुवा लगाएका छन् । त्यसमध्ये गत वर्ष उत्पादन दिने २ सय बोटबाट झन्डै ५० क्विन्टल स्याउ फलाए । यो वर्ष सडक मार्गबाट नेपालगन्ज र सुर्खेतमा स्याउ पठाउने तयारीमा छन् । ‘जहाजमा १ सय २० रुपैयाँ प्रतिकिलो भाडा तिरेर बाहिर पठाउन नसकिने,’ उनले भने, ‘अब त गाउँसम्मै सडक जोडियो, स्याउ बेचेर वर्षमा ३/४ लाख कमाउन गाह्रो भएन ।’ 

सिमकोट—६ का दानबहादुर बुढा पनि यो वर्ष स्याउ बाहिर पठाउने तयारी छन् । ७ रोपनीमा झन्डै २ सय ५० स्याउका बोट लगाएका उनको बारीमा एक सय बोटले उत्पादन दिइरहेको छ । यो वर्ष कम्तीमा ४० क्विन्टल स्याउ बाहिर पठाउने उनको तयारी छ । 

गत २२ असारमा हुम्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि गाडीबाटै हुम्लाको स्याउ ठूला सहरमा जान थालेको छ । सिमकोटसहित ७ वटै गाउँपालिकामा झन्डै ५ सय १८ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ । यो वर्ष झन्डै ४ हजार मेट्रिक टन स्याउ उत्पादन हुने जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ । सडक असुविधाका कारण हुम्लामा उत्पादित स्याउ बर्सेनि कुहिने समस्या थियो । सिमकोटमा मात्र झन्डै २५ वटा ठूला स्याउ फार्म सञ्चालनमा छन् । उत्पादित कम्तीमा ८० प्रतिशत स्याउ मात्रैले बजार पाए पनि दुई वर्षभित्र हुम्ला स्याउबाटै आत्मनिर्भर बन्ने हुम्ला उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नामग्याल तामाङले बताए । 

झन्डै ८ सय हेक्टरमा खेती गरिने डोल्पाको स्याउ पनि गत वर्षदेखि सडक मार्गबाट बाहिर जान थालेको छ । तर जाजरकोट—डोल्पा सडक कालोपत्र नहुँदा र विभिन्न खोलामा अझै पनि पुल नबन्दा गत वर्ष उत्पादन भएको झन्डै ७ हजार मेट्रिक टन स्याउमध्ये ४ हजार टन स्याउ मात्र बाहिर राष्ट्रिय कृषि आधुनिकीकरण आयोजना स्याउ जोनका निमित्त कृषि विकास अधिकृत गोविन्दबहादुर मल्लले बताए । उनका अनुसार यस वर्ष स्याउको उत्पादन बढेको छ । यो वर्ष करिब ८ हजार टन स्याउ उत्पादन भएको उनले अनुमान गरे । 

डोल्पा र हुम्लासहित कर्णालीका हिमाली जिल्ला जुम्ला, मुगु र कालीकोटका सबै स्थानीय तहमा स्याउ फल्छ । कर्णालीमा सबैभन्दा धेरै जुम्लामा करिब ३ हजार १ सय हेक्टरमा झन्डै १२ हजार ५ सय मेट्रिक टन स्याउ उत्पादन हुने गरेको छ । अहिले जुम्लाका गाउँ–गाउँमा स्याउ खेतीको लहर चलेको छ । कर्णालीमा सबैभन्दा धेरै फुजी, गाला, किंरड र गोल्डेन जातको स्याउ उत्पादन भइरहेको जुम्लाको गुठीचौर गाउँपालिका–५ का मीनबहादुर भण्डारीले बताए । उनले चार वर्षदेखि झन्डै २२ करोड रुपैयाँको लगानीमा स्याउ बगैंचा स्थापना गरेका छन् । झन्डै ४८ हजार बिरुवा रोपेका उनको बगैंचामा गत वर्ष ८० मेट्रिक टन स्याउ फल्यो । स्याउ किन्न व्यापारी बगैंचामै पुग्ने गरेको उनले बताए । फार्मले यो वर्ष दुई सय टन स्याउ उत्पादन गर्ने लक्ष्य राखेको छ । 

अहिले जुम्ली स्याउको माग अन्तर्राष्ट्रिय बजारसम्म पुगेको गुठीचौर–३ का टंक गिरीले बताए । उनले झन्डै साढे ७ करोड लगानीमा २२ हेक्टर जग्गामा १४ हजार बिरुवा रोपेर स्याउ बगैंचा स्थापना गरेका छन् । ‘पहिले सडक थिएन, बजारसम्म स्याउ पुर्‍याउन नसकिएपछि गाईबस्तुको दाना हुन्थ्यो,’ उनले भने, ‘अहिले नेपालभरिबाट माग आइरहेको छ, माग धान्नै गाह्रो भयो ।’ 

जुम्लालाई साविक जिल्ला विकास समितिको १४ औं जिल्ला परिषद्ले २०५७ सालमा अर्गानिक जिल्ला घोषणा गर्दै ‘एक घर, एक स्याउ बगैंचा’ को अवधारणा अघि सारेको थियो । जुम्लामा १९ हजार परिवारमध्ये करिब १६ हजार स्याउ खेतीमा संलग्न रहेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ । अहिले जुम्लामा ५० रुपैयाँ प्रतिकिलो स्याउ बिक्री भइरहेको किसान मनप्रसाद न्यौपानेले बताए । उचित भण्डारण र व्यवस्थापन नहुँदा जुम्लाको स्याउको महत्त्व घट्दै गएको उनको गुनासो छ । 

कर्णाली राजमार्ग पटक–पटक अवरुद्ध हुँदा त्यसको मार स्याउ उत्पादक किसानमा परिरहेको व्यवसायी ललित बुढाले बताए । ‘बाटो बन्द हुने वर्षौंदेखिको समस्या हो,’ जुम्लाका व्यवसायी कर्णबहादुर बुढ्थापाले भने, ‘एक दिन गाडी बन्द हुँदा पनि लाखौंको स्याउ कुहिन्छ ।’ उनले तीन सातायता ९ दिन राजमार्ग बन्द हुँदा आफूले बाहिर पठाउन लागेको झन्डै दुई टन स्याउ कुहिएको गुनासो गरे । अहिले उनले किसानबाट प्रतिकिलो ५० रुपैयाँमा स्याउ खरिद गरिरहेका छन् । कार्टुन खरिद र गाडी ढुवानीसहित सुर्खेत र नेपालगन्ज पुर्‍याउँदा थप प्रतिकिलो २० रुपैयाँ खर्च हुन्छ । नेपालगन्जका कोल्डस्टोरमा भाडामा राखेर पनि अहिले १ सय रुपैयाँमा स्याउ बिक्री गर्नु परिरहेको उनले गुनासो गरे । भारतीय स्याउ पनि प्रतिकिलो १ सय २० रुपैयाँमा बिक्री भइरहेकाले बेच्न समस्या भइरहेको उनी बताउँछन् । उनका अनुसार शीत भण्डारमा राखिएका बाहेक जुम्ली स्याउको सिजन दसैं—तिहारपछि सकिन्छ ।

अर्का व्यापारी मनोज बोहराले जुम्लामा ५० रुपैयाँ प्रतिकिलो पर्ने स्याउ काठमाडौंमा २ सय ५० रुपैयाँसम्म बिक्री हुने गरेको बताए । ‘उपभोक्ता र किसानबीच किलोमा २ सय रुपैयाँ फरक छ, ढुवानी, प्याकेजिङ र ग्रेडिङमा बढीमा ५० देखि ७० रुपैयाँ खर्च हुन्छ,’ उनले भने, ‘सबैभन्दा धेरै फाइदा त काठमाडौंका व्यापारी र बिचौलियाले खाइरहेका छन् ।’ कोल्ड स्टोरको अभाव, प्याकेजिङ र ग्रेडिङको समस्याले काँचै स्याउ टिप्नुपर्ने बाध्यता भएको उनले गुनासो गरे । 

कर्णालीमा ३ हजार ४ सय १९ हेक्टरमा स्याउ खेती भइरहेको कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक छ । मन्त्रालयका अनुसार गत वर्ष ३१ हजार १ सय २ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यो वर्ष पनि त्यहीँ हाराहारीमा स्याउ उत्पादन हुने अनुमान गरिएको मन्त्रालयका निमित्त सचिव परशुराम रावतले बताए । उनका अनुसार भण्डारण समस्या, ग्रेडिङको अभाव, सडक असुविधा, प्याकेजिङमा समस्यालगायत कारण कर्णालीको स्याउ बजार पुर्‍याउन र राम्रो भाउ पाउन समस्या छ ।

‘किसानले भनेजस्तो बजार र भाउ पनि पाउन सकेका छैनन्, किसानले प्रतिकिलो ५० रुपैयाँमा स्याउ बेच्छन्, सुर्खेतमा १ सय २५ र काठमाडौंमा २ सय ५० रुपैयाँ मूल्य छ,’ उनले भने, ‘व्यवस्थित बजारीकरण नहुँदा किसान कम मूल्य र उपभोक्ता चर्को मूल्यको मारमा छन्, फाइदाजति होलसेल व्यापारी र बिचौलियालाई मात्र छ ।’ गत वर्ष १ हजार १ सय ८१ मेट्रिक टन स्याउ बाहिर जाँदा ३३ करोड १५ लाख रुपैयाँको कारोबार भएको उनले जानकारी दिए ।

अहिले सुर्खेत र नेपालगन्जबाट खाद्य तथा निर्माण सामग्री बोकेर गएका ट्रक अहिले जुम्ला, मुगु र कालीकोटबाट स्याउ भरेर फर्किन्छन् । मुगुका केही किसानले पछि बिक्री नहुने डरले साउन अन्तिम साता नै काँचो स्याउ बजार पठाइरहेका छन् । भदौ १५ पछि रसिलो र गुलियो स्याउ उत्पादन हुने भए पनि सबैतिरको स्याउ सहरहरूमा जाँदा बिक्री नहुने डरले केही साउनमै टिपेर पठाउनुपर्ने बाध्यता भएको स्थानीय मुगुको ताल्चाका किसान कर्णबहादुर महताराले बताए । ‘आधा स्याउ त काँचै बजार पठाइयो,’ उनले भने, ‘अहिले पनि ५० रुपैयाँ प्रतिकिलो बेच्दा बल्लतल्ल दुःख उठ्छ, खेतीबाट सोचेजस्तो नाफा गर्न सकेका छैनौं, होलसेल व्यापारी सोझै आएर हामीसँग खरिद गरे केही सहुलियत पाइन्थ्यो ।’

 कर्णालीमा उत्पादित स्याउले भदौदेखि कात्तिकसम्म औसतमा ४७ प्रतिशत बजार धानिरहेको निमित्त सचिव रावतले बताए । उनका अनुसार कर्णालीको स्याउ अहिले देशैभरि पुगिरहेको छ । रासायनिक मल, विषादी र अन्य कुनै पनि रसायन प्रयोग नभएकाले कर्णालीको स्याउ अर्गानिक भएको उनले बताए । गुणस्तरीय उत्पादन, ग्रेडिङ, लेवलिङ तथा प्याकेजिङमा ध्यान दिन सके अन्तर्राष्ट्रिय बजारमा पनि माग बढ्ने उनी बताउँछन् । पछिल्लो समय स्याउमा लाइकिरा, झुसिलकिरा र ढुसीजन्य रोगको संक्रमण देखिँदा उत्पादनमा समस्या भएको उनले जानकारी दिए ।

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

राजु चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully