जुगलको कुनेगाउँमा पहिरो : दुईको मृत्यु , दुई बेपत्ता 

आश्विन १३, २०८१

अनिश तिवारी

Landslide in Jugal's Kunegaon: Two dead, two missing

सिन्धुपाल्चोक — अविरल वर्षातका कारण शनिबार आएको  पहिरोले बगाँउदा जुगल गाँउपालिका-१ कुनेगाउँमा दुईको ज्यान गएको छ भने दुई अझै बेपत्ता छन् ।

इलाका प्रहरी जलविरेका प्रहरी निरीक्षक गजेन्द्र रावलकाअनुसार पहिरोले क्षतिग्रस्त घरबाट जुगल-१ कुनेगाँउबासी ४५ वर्षका चित्रबहादुर मिजार र एक पहिचान नखुलेको ५ वर्षे बालकको शव निकालिएको छ ।

बेपत्ता हुनेमा  मृतक मिजारकी श्रीमती ४५ वर्षकी ठूलोकान्छी र जुगल-४का २४ वर्षका अविनाश नेपाली हुन् । 'बेपत्ता अविनाश  ठूलीकान्छीको बहिनीको छोरा भएको खुलेको छ, भने मृतक बालक अविनाशकै छोरा हुन् ,बेपत्ता दुवैको खोजी भइरहेको छ,' प्रहरी निरीक्षक रावलले भने ।

जुगल गापाका अध्यक्ष रेशम स्याङ्बोले मृतक मिजारको घरमा अविनाश र उनका छोरा केही दिनअघि  पाहुना बनेर आएको बताए । शनिबार एक्कासी कुने गाँउको माथिल्लो भाग भास्सिएर पहिरो लागेपछि स्थानीयबिच भागाभाग चलेको थियोे ।

'वरीपरीका सबै सुरक्षित स्थानमा सरेका छन् ,'उनले भने । मिजारको घर पुरै ध्वस्त भएसँगै वरिपरि केही घरमा सामान्य क्षति पुर्‍याएको छ । यसबाहेक जुगल गाउँपालिका ३, गुम्बाको अतिविकट गाउँ तेगामा पहिरोले ३ घर पुर्ण रुपमा क्षती पुगेको छ ।  पहिरोमा स्थानिय मिङ्मार रिन्जेन शेर्पा , लाक्पा शेर्पा र पेम्बा शेर्पाको घर पूर्ण रुपमा क्षति भएको छ । 

बाढी पहिरो

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully