सिन्धुलीमा असार ७ गतेसम्म निषेधाज्ञा थप

जेष्ठ ३१, २०७८

राजकुमार कार्की

सिन्धुली — स्वास्थ्य मापदण्ड अपनाएर मध्यान्हसम्म पसल खोल्न पाउने गरी सिन्धुलीमा असार ७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।

यसअघि लगाएको निषेधाज्ञालाई जेठ ३१ गते राति १२ बजेदेखि असार ७ गते राति १२ बजेसम्म थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी  दिए । यसअघि लगाएको निषेधाज्ञाको समयावधि सोमबार राति १२ बजे सकिँदै छ ।

सिन्धुलीमा कोरोना संक्रमण दर बढेपछि भिडभाड नियन्त्रण गर्न वैशाख २२ गतेदेखि लगाउन सुरु गरिएको निषेधाज्ञा पाँच पटकसम्म थप गरिएको थियो । थप भएको निषेधाज्ञामा स्टेशनरी, कपडा, सुनचाँदी, टेलरिङ, जुत्ता चप्पल र निर्माण सामग्रीका पसल स्वास्थ्य मापदण्ड अपनाउँदै प्रत्येक दिन बिहान ७ बजेदेखि १२ बजेसम्म खोल्न पाउने अनुमति दिइएको दिएको प्रजिअ न्यौपानेले बताए । 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार दोस्रो लहरको कोरोना संक्रमण सुरु भएपछि हालसम्म एकहजार ९४१ जना संक्रमित भएका र ३० जनाले ज्यान गुमाइसकेका छन् । ७ सय जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

कोरोना भाइरस

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully