सिन्धुपाल्चोक — शुक्रबार बिहान गएको पहिरोबाट विस्थापित भएका जुगल गाउँपालिका वडा नम्बर–२, का स्थानीयलाई सुरक्षित आवासको व्यवस्था गर्ने वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रतिबद्धता जनाएका छन् ।
पूर्वकानुनमन्त्री शेरबहादुर तामाङ, प्रदेश ३ का पर्यटन वनमन्त्री अरुण नेपाल, सामाजिक विकास मन्त्री युवराज दुलाल, सांसद सरेश नेपालसहित राहत लिएर घटनास्थल पुगेका मुख्यमन्त्री पौडेलले लिदी घटनाले सरकारको ध्यानार्कषण भएको बताए ।
मुख्यमन्त्री पौडेलले तत्कालका लागि अस्थायी बसोबासको व्यवस्था गर्ने र सरोकारवाला निकायसँगको छलफलपछि पहिरोबाट विस्थापितलाई स्थायी आवासको प्रबन्ध मिलाउने बताए । पीडित परिवारलाई भेट्दै मुख्यमन्त्री पौडेलले भने, ‘तपाईंहरुसहित सम्पूर्ण जोखिम क्षेत्रका पीडितको सुरक्षित आवासको व्यवस्था गर्नेछौं ।’
मुख्यमन्त्रीको टोली चिउरा, चाउचाउ, बिस्कुट, नुन, भाँडाकुँडा, लत्ताकपडालगायतका सामग्री लिएर लिदी पुगेको थियो ।
शुक्रबार बिहान बस्तीमाथिको डाँडो भासिँदा ११ जनाको मृत्यु भएको छ भने २७ जना अझै बेपत्ता छन् ।
तस्बिर सौजन्य : दीपेन्द्र पौडेल
