चीनमा रहेका कोरोना भाइरस प्रभावित नेपालीलाई ल्याएपछि क्वारेन्टाइनमा राख्न केन्द्र छानिएको हो, शुक्रबार प्रजिअसहितको टोलीले केन्द्रको निरीक्षण गरेको छ
भक्तपुर — चीनबाट उद्धार गरी ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्न भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रका दुई वटा भवन खाली गरिँदै छ ।
केन्द्रका निर्देशक बलराम सिलवालका अनुसार वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेलको भवनमा ५० कोठा खाली गरिएको हो । ‘भवनका सामान सार्न बिहीबार बिहानदेखि करिब ५० कामदार खटाइएका छन् । शनिबारसम्म भवन खाली भइसक्छ,’ उनले भने ।
नोवल कोरोना भाइरसको जोखिममा रहेका नेपालीलाई चीनबाट ल्याएपछि क्वारेन्टाइनमा राख्न केन्द्र छानिएको हो । केन्द्रमा शुक्रबार प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेसहित सुरक्षा निकाय अधिकारीहरूले निरीक्षण गरेका छन् । ‘सरकारले क्वारेन्टाइनका लागि ठाउँ छानेको सुनेको हो । लिखित निर्णय आएको छैन,’ प्रमुख जिल्ला अधिकारी पाण्डेले भनिन् । केन्द्रको प्रवेशद्वारमा सुरक्षाकर्मी खटाइसकेको समेत उनले जानकारी दिइन् ।
सरकारले चीनको हुवेई प्रान्तमा रहेका १ सय ८० विद्यार्थीलाई नेपाल फर्काउँदै छ । स्वदेश फर्काएपछि उनीहरूलाई १४ दिन क्वारेन्टाइनमा राख्न छुट्टै ठाउँ व्यवस्था गर्न लागिएको हो । प्रधानमन्त्रीको कार्यालयबाट आएका कर्मचारीले अवलोकन गरेर खरिपाटीस्थित केन्द्रको भवन खाली गर्न निर्देशन दिएको स्रोतले जनाएको छ ।
नेपाल सरकारले खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्र चयन गरेको भन्ने सुनेपछि स्थानीय बासिन्दा भने विरोधमा उत्रिएका छन् । उनीहरूले बुधबार कालो झन्डासहित चाँगुनारायण नगरपालिका घेराउ गरेका थिए भने केन्द्रको प्रवेशद्वारमा नारा लेखेको ब्यानर झुन्ड्याएका थिए । उनीहरूलाई केन्द्रमा क्वारेन्टाइनमा राख्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
चाँगुनारायण नगरपालिकाको छैटौं नगरसभाले शुक्रबार क्वारेन्टाइनका लागि खरिपाटीको विकल्प खोज्न सरकारलाई अनुरोध गरेको छ । नगरप्रमुख सोमप्रसाद मिश्रका अनुसार नगरसभाले स्थानीय बासिन्दा त्रसित भएकाले अन्य स्थान छनोट हुनुपर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ भक्तपुरले मंगलबारै चीनबाट फर्किएका नेपालीलाई खरिपाटी केन्द्रमा नराख्न सरकारसँग आग्रह गर्दै विज्ञप्ति जारी गरेको थियो । क्षेत्रीय सभापति जीवन खत्रीले सरकारले तयारीबिना घना बस्तीको बीचमा कोरोना प्रभावित क्षेत्रबाट ल्याउने नेपालीलाई क्वारेन्टाइनमा राख्न लागेको भन्दै आपत्ति जनाए ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कोरोना भाइरस प्रभावित क्षेत्र चीनबाट ल्याइएका विद्यार्थीलाई भक्तपुरमा राख्न दिन नहुने बताए । नेमकिपाको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी किसान संघ जिल्ला समितिको सातौं जिल्ला सम्मेलन उद्घाटन गर्दै उनले कोरोना भाइरस संक्रमितको उपचारका लागि नेपाल सरकारको तयारी राम्रो नरहेको बताए । ‘चीनले कोरोना भाइरस प्रतिरोध गर्न तीव्र गतिमा काम गरिरहेकाले नेपाली विद्यार्थीलाई नेपाल फर्काउनु बुद्धिमानी हुँदैन,’ उनले भने ।
कोरोना भाइरसको जोखिममा रहेका चीनमा बस्दै आएका नेपालीलाई उद्धार गर्न सरकारले ढिलाइ गरेको भन्दै आलोचनासमेत भइरहेको छ ।
