दिनभर रुङ्दा पनि जोगिँदैन बाली, बाँदर आतंकले औलबाटै बसाइँ सर्ने धेरै

फुङलिङ नगरपालिकामा बाँदरको आतंकले किसानलाई खेती छोड्न र बसाइँ सर्न बाध्य बनाएको छ । बाँदरकै कारण वार्षिक साढे दुई सयदेखि साढे तीन सयभन्दा बढी परिवार प्रभावित हुने गरेका छन् ।

भाद्र २१, २०८२

आनन्द गौतम

Crops are not saved even if they grow all day, many migrate from Aul due to monkey terror

What you should know

तालेजुङ — फुङलिङ नगरपालिका–३ का गीताप्रसाद पुरीले जन्मथलोमै बस्न अनेकौँ उपाय खोजे । घर वरिपरि र बेँसीको खेतमा मौसमी र बेमौसमी बाली लगाए । बाली जोगाएर उत्पादन लिन खेतबारीमै कटेरो (गोठ) बनाएर रुँगे । एकपछि अर्को विकल्पको खोजी गरे पनि केही उपाय प्रभावकारी बन्न सकेनन् । वन्यजन्तुको पीडा सहनै नसक्ने भएपछि अन्तिम विकल्पमा उनले बसाइँ सर्ने योजना बनाएका छन् । छरछिमेकी गए जस्तै तराईतिरै झर्ने या अन्त कतै गएर बस्ने भन्ने योजना बनाइरहेको उनले सुनाए ।

फुङलिङ–८ भेदाबारीका चैतन्यप्रसाद घिमिरे पनि यस्तै अन्योलमा छन् । भाँडीखोला क्षेत्रबाट आउने ढेडु बाँदरले हैरानी दिएपछि उनले अन्नबाली लगाउन कम गरेर लिची, आँप, कटहर जस्ता फलफूल रोपे । 

उत्पादन लिने बेलासम्म दाना बाँकी नहुन थालेपछि अन्तिम विकल्पको रूपमा लामपाते, बाँस जस्ता बिरुवा रोपे । ‘यिनलाई त बचाउन सकिएला भन्ने लागेको थियो । विडम्बना त्यो पनि सम्भव भएन,’ चैतन्य भन्छन्, ‘बाँसको बिरुवामै चढेर नुहाइदिन्छ । तामा भाँचिदिएर नयाँ बाँस हुर्कनै पाएन । टुप्पो किरिक्क भाँचिदिएपछि रुख अग्लो हुनै नपाउने रहेछ ।’ पुराना बाँस पाँच/सात वर्षमा पूरै मासिने अवस्थामा पुगेको उनले सुनाए ।  

Crops are not saved even if they grow all day, many migrate from Aul due to monkey terror

फुङलिङ नगरपालिकाका यी दुवैको पीडा ढेडु र बाँदरले दिएको हो । यस्तै पीडाका कारण जिल्ला सदरमुकाम रहेको फुङलिङ नगरपालिकाबाट वार्षिक २ सय ५० परिवारसम्म बसाइँ सर्ने गरेका छन् । नगरपालिकाको तथ्यांक शाखाका अनुसार २०७८ सालयता वार्षिक २ सय ४५ देखि ३ सय ३० परिवारसम्म बसाइँ सरेका छन् । ‘नगरपालिकाभित्र जति आएका छन् सदरमुकाममा व्यापार, व्यवसाय गर्ने उद्देश्यले भित्रिएका छन्,’ नगरकार्यपालिकाका प्रवक्ता मोहन न्यौपाने भने, ‘कृषि कर्म गर्ने मानिस त छोडेर हिँडिरहेका छन् ।’ 

मेरिङदेन गाउँपालिकाबाट फुङलिङ नगरपालिका–८ सल्लेरीका पूर्णबहादुर सुनुवारको जग्गा अधियाँमा कमाउन आएका मिङ्मा शेर्पा यसको उदाहरण हुन् । तुलनात्मक रूपमा सुविधा हुने अपेक्षासहित नगरपालिकामा सरेका उनको दिनचर्या बिहान उठेर खेतबारीको पुछारमा पुग्ने, दिनभर रुखको शीतलमा बसेर जनावर रुँग्ने, खाना, खाजा सबै खेतबारीमा खाने र साँझ परेपछि मात्र घर फर्कने भयो । मकैको सुत्ला र धानको बाला लागेपछि बाली नउठाउन्जेल खेतमै बस्नुपर्ने र एकदिन पनि बिराए बाली सखाप हुने भएकाले उनले यहाँ छोड्ने निर्णय गरिसकेका छन् । 

Crops are not saved even if they grow all day, many migrate from Aul due to monkey terror

खाना, खाजा बारीसम्म पुर्‍याइदिन खट्नुपर्ने अर्को जनशक्ति जस्ता कारण मेरिङदेन गाउँपालिका–५ थुकिम्बाबाट आएका उनको बसोबास दिगो हुन सकेन । ‘मलाई छरछिमेक, इष्टमित्र, साहु सबैप्रति सन्तुष्टि थियो, बजार नजिकै भएकाले राम्रै भएको थियो,’ मिङ्माले भने, ‘तर ढेडु बाँदरको आतंकचाहिँ सहनै नसकिएर छोड्नुपर्ने भयो ।’ 

आफ्नै जमिनमा मेहनत गर्ने सोच बनाएका चैतन्य र बसाइँ सरेर आएका मिङ्मा दुवैलाई अहिले रातदिन तनाव भइरहेको छ । यहाँका बालबालिकाको दैनिकी पनि बाँदर लखेट्नमै बित्ने गरेको गुनासो अभिभावकको छ । मेवाराजा आधारभूत विद्यालयमा कक्षा ७ पढ्ने लाक्पातेन्जी शेर्पा बिहान बेलुका गेटिस (गुलेली) लिएर बारीमा निस्कनुपरेको बताउँछन् । दिउँसो कलम बोक्ने हातमा बिहान बेलुका भने गेटिस हुने गरेको छ ।  बच्चालाई एक्लै देखे ढेडु बाँदरको हुलले झम्टने भएकाले आफ्नै सुरक्षाका लागि गेटिस बोक्नु परेको हो । ‘गेटिसले देखेपछि माथिमाथि रुखतिरचाहिँ भाग्छ,’ उनले भने, ‘गेटिस भगाउने साधन मात्र हो । हाम्रो बिदाको दिन त बाँदर रुँगेरै बित्ने गरेको छ ।’  

Crops are not saved even if they grow all day, many migrate from Aul due to monkey terror

अन्नदेखि फलफूल उत्पादनका लागि राम्रो मानिने फुङलिङ नगरपालिकाको औल क्षेत्रका किसान बाँदर आतंकबाट किसान आजित भएको नगर प्रवक्ता न्यौपाने स्विकार्छन् । खासगरी तमोर नदीदेखिको माथिल्लो साप्तेल, भेदाबारी, गुहेंली, आगेदिम, भाटे, ल्याङवा, खोदम्वु, बेजम्वुका किसान आजित छन् । लखेटे खोलाकिनारतिर भाग्ने र सहज भएपछि आएर बाली रित्याइदिने ढेडु बाँदरको सदस्य धेरै आएको न्यौपानेले बताए । कोशी प्रदेशका उद्योग कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामले फुङ्लिङ–८ मेवाराजा, मेरिङदेनलगायतका स्थानमा समय समयमा गरेका छलफलमा पनि किसानले यो विषय उठाउने गरेको उनको सचिवालयले जनाएको छ ।  

किसानका कुरालाई नजिकबाट सुनेको र बुझेको बताउने फुङलिङ नगरपालिका प्रमुख अमिर मादेन यसलाई खेदाउने उपकरणको खोजीमा धेरै ठाउँ धाएको बताए । ‘बाँदर धपाउने उपाय खोज्न महावीर पुन कहाँ पनि गएँ, केही उपकरण त छ तर पहाडको चिसोमा ब्याट्रीले काम गर्दैन भनेपछि मैले ल्याइनँ,’ उनले भने । 

वन्यजन्तुबाट बालीनालीमा क्षति व्यहोरेका किसानलाई राहत दिन यसपालि नगरपालिकामा केही कार्यक्रम राखेको नगर प्रमुख मादेन बताउँछन् । फुङलिङ–८ का अध्यक्ष क्षितिज सुनुवार यसको नियन्त्रण र क्षतिपूर्ति वडा कार्यालयको पहुँचभन्दा बाहिर भएकाले नगरपालिका र प्रदेश तथा संघीय सरकारको ध्यानाकर्षण गराइरहेको बताउँछन् । प्रवक्ता न्यौपाने र वडाध्यक्ष सुनुवारले अति प्रभावित क्षेत्रमा बाली पाक्ने समयमा नगरपालिकाबाट पारिश्रमिक दिएर हेरालु राख्ने विषयमा छलफल भइरहेको बताउँछन् ।  

किसानका अनुसार ढेडु र बाँदर दुवै घाम उदाउनु अघि र बेलुका अस्ताएपछि बालीतिर पस्दैनन् । ‘सूर्य रहेसम्म ढुक्कै रुँग्नु पर्छ । ढेडुले जहाँ बाली छ त्यहीँ बसेर खान्छ । केहीले मात्रै एकादुई बोकेर हिँड्छन् । बाँदरले भने सकेसम्म लगेर रुख वा ओढारतिर बसेर खान्छ । ढेडुको तुलनामा बाँदरबाट क्षति बढी हुन्छ ।’ हुलमा सयको संख्यामा आएर एकैपटक बारी सखाप पर्ने गरेको स्थानीय बताउँछन् । पाकेको खाइदिने र नपाकेको माडेर भए पनि बिगारिदिने भएकाले किसान आजित भएका हुन् ।  मिल्नेजति खाने नमिलेको बिगार्ने भएकाले किसानले अहिलेसम्म बसाइँ सर्नुपर्ने विकल्पबाहेकमा नपाइरहेको किसान महासंघका जिल्ला अध्यक्ष कृष्ण बस्नेत बताउँछन् । लेकाली क्षेत्रबाट बसाइँ सर्नुको कारण अवसरको खोजी भए पनि औल क्षेत्र खाली हुनुको मुख्य कारण वन्यजन्तु र जंगली जनावर रहेको बस्नेतको दाबी छ ।  

Crops are not saved even if they grow all day, many migrate from Aul due to monkey terror

फुङलिङ नगरपालिकाको तमोर खोलासँग जोडिएका र खोलादेखि जंगलैजंगल भएर पुग्ने क्षेत्रसम्म बाँदर आतंक रहेको वडाध्यक्षहरु बताउँछन् । १, २, ३, ७ र ८ नम्बर वडाका बासिन्दा बढी प्रभावित छन् । आक्रोशित किसानले मार्न पाउनुपर्ने माग पनि उठाउने गरेको नगरप्रमुख मादेन बताउँछन् । वडाध्यक्ष सुनुवारका अनुसार अति प्रभावित भएपछि तल्लो क्षेत्रका मानिसले खेती छाड्दै हिँड्ने र त्यहाँ जंगल बढेर त्यसैको सहारामा बसेर उकालो चढ्ने गरेका छन् । वडा ८ को सुकेटार विमानस्थलसम्म पुगेर पनि ढेडु बाँदरले आतंक मच्चाएको गुनासो आएको वडाध्यक्ष सुनुवारले बताए । 

मानव र ढेडु बाँदरबीच द्वन्द्व बढिरहँदा अहिलेसम्म मानिसले जग्गाजमिन छाडेर हिँडेकाले वन्यजन्तुमा कुनै क्षति नभएको फुङलिङ नगरपालिका उपप्रमुख भीमादेवी ओझा बताउँछिन् । किसानमा थप आक्रोश नबढोस् भनेर राहत प्याकेजका लागि बजेट राखिएको उनले सुनाइन् । ‘किसानले ठूल्ठूलो क्षति देखाउने सुनाउने गर्नुभएको छ । म आफैंले गएर क्षति पनि हेरेकी छु,’ उपप्रमुख ओझाले भनिन्, ‘आन्तरिक आम्दानी कमजोर भएकाले सम्बोधन गर्ने खालको बजेट त हुँदैन । सानो बजेटबाट केही गर्न सकिन्छ कि भनेर यस वर्ष अभ्यास गर्दैछौँ ।’ 

Crops are not saved even if they grow all day, many migrate from Aul due to monkey terror

एक नगरपालिका र आठ गाउँपालिका गरी नौ स्थानीय तह रहेको जिल्लाका सबैजसो पालिकामा यस्तो समस्या रहेको जनप्रतिनिधिहरू सुनाउँछन् । सबैको जवाफ भने थोरै बजेटले केही गर्न सक्ने अवस्था रहँदैन भन्ने हुन्छ । जनगणना २०७८ अनुसार २०६८ को तुलनामा जिल्लाबाट एक दशकमा ६ हजार परिवार बसाइँ सरेर गएका छन् । अहिले ताप्लेजुङको जनसंख्या १ लाख २० हजार मात्रै रहेको छ । 

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully