पदमार्ग अभावमा अहिले पनि गार्पादेखि बुर्की र टिकाधारा क्षेत्रमा जाने बाटो अझै जोखिमपूर्ण छ । वर्षातमा चिप्लो र भीरको बाटो हिँड्नुपर्दा कतिपय पर्यटक गार्पा छेडाबाटै फर्कने गरेका छन् ।
What you should know
बागलुङ — आर्थिक वर्ष २०८१/०८२ मा गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले यहाँको उद्योग तथा पर्यटन कार्यालयमार्फत ढोरपाटनदेखि बुकीपाटन जाने पदमार्ग निर्माण गर्न २० लाख रकम विनियोजन गर्यो । उक्त बजेटको काम गर्न पर्यटन कार्यालयलाई सास्ती पर्यो । गार्पा छेडा बुकीपाटन पर्यटकीय पदमार्ग बनाउँदा पर्यटक सजिलै यात्रा गर्न सक्ने भएकोले उक्त योजनामा बजेट विनियोजन भएको थियो । कर्मचारी र उपभोक्ता समितिका पदाधिकारी २० लाखको योजना सम्पन्न गर्न दर्जन विभाग र निकाय धाउन बाध्य भए ।
आरक्षको स्वीकृति विना सिकार आरक्षभित्र संरचना बनाउन लागिएको भन्दै उद्योग तथा पर्यटन कार्यालय बागलुङ, पर्यटन मन्त्रालय पोखरा र ढोरपाटन सिकार आरक्षको ९ महिना लामो रस्काकस्सी चल्यो । वर्षको अन्तिममा आएर आरक्षको प्रत्यक्ष निगरानीमा डेढ मिटर चौडाइको मात्र पदमार्ग बनाउन कार्यालयले अनुमति पायो ।
हतारहतार तीन महिनामा काम सक्नु परेको कार्यालय प्रमुख पारसिंह थापामगरले बताए । आरक्षको स्वीकृति विना काम गरेको आरोपमा उपभोक्ता समितिमार्फत काम गर्दा समितिका अध्यक्ष कृष्ण भण्डारी नै थुनामा परे । उद्योग तथा पर्यटन कार्यालयका कर्मचारी र प्राविधिकले २० लाखको काम गर्न ढोरपाटन सिकार आरक्ष, पर्यटन मन्त्रालय, वन मन्त्रालय, वन विभाग, मुख्यमन्त्री कार्यालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र मन्त्रिपरिषद्को कार्यालय समेत धाउन बाध्य भए । चालु आर्थिक वर्षमा पनि ढोरपाटन–बुकी–फागुने–सुर्तीवाङ चक्रीय पदमार्ग निर्माणका लागि १५ लाख विनियोजन छ । उक्त काम गर्न समेत उत्तिकै अप्ठ्यारो पर्ने भन्दै कार्यालयका कर्मचारी त्रसित छन् ।
पर्यटकमा आकर्षण बढे पनि ढोरपाटनमा पदमार्गको अभाव र विकास अवरोधले समस्या निम्तिएको स्थानीय व्यवसायी र किसान बताउँछन् । अहिलेदेखि नै वन मन्त्रालयको पहुँच नपुगे काम गर्न नसकिने थापामगर बताउँछन् । ‘आरक्षभित्रको जमिनमा काम गर्न निकै कठिन रहेछ,’ थापामगरले भने, ‘विकास पनि चाहिएको छ, काम गर्न जाँदा हामीलाई अपराध गर्न आएझैँ व्यवहार भयो ।’ सरकारी काममा सरकारी कार्यालयबाटै अवरोध भएको उनले बताए ।
पर्यटन मन्त्रालयका तत्कालीन सचिव कुमानसिंह गुरुङ हाल बागलुङका प्रमुख जिल्ला अधिकारी छन् । उनले पर्यटन र संरक्षणलाई समान रुपमा लैजानुपर्ने सुझाव दिए । ‘पर्यटकहरु भित्र्याउन सकियो भने ढोरपाटनबाट समृद्धि सम्भव छ, तर बाटो बन्द गरेर विकास हुँदैन,’ गुरुङले भने, ‘कानुनी झन्झट पनि सहज बनाउन जरुरी छ ।’
गत वर्षको ५ सय मिटर लामो पदमार्गले यो वर्ष बुकी जाने पर्यटक बढेको तथ्यांक छ । गुरुङले ४ हजार मिटर उचाइको गार्पाछेडा र बुकी पुगेर फर्केको बताए । आरक्षबाट संकलन हुने राजश्व संघीय सरकारमा पुग्छ । पर्यटनको विकास गर्न सकेमा स्थानीय किसान र व्यवसायीले लाभ लिन्छन् । नगरपालिकाभित्र योजना पार्न कार्यवाहक नगरप्रमुख धनबहादुर कायतसहितका राजनीतिक दलले धेरै पहल गरेका थिए । बजेट परेपछि काम गर्न झनै कठिन भएको भण्डारी बताउँछन् ।
गत वर्षको बजेटले ५ सय मिटर सिँढी मार्ग, ३ वटा काठेपुल र ३ वटा विश्रामस्थल निर्माण भएको कार्यालयका इन्जिनियर सुजन दरैले बताए । ‘आरक्षभित्र काम गर्न सजिलो छैन, एउटा ढुंगा पनि छुन नपाइने, तर विकास गर्नुपर्ने,’ उनले भने, ‘आरक्षभित्रको विकासका लागि अत्यावश्यक सामग्री उपयोगमा सहज वातावरण चाहिन्छ ।’ चक्रीय पदमार्ग निर्माण भएमा ढोरपाटनमा पर्यटक बढ्ने उनले बताए ।
ढोरपाटन हुँदै बुकी जाने लेकाली गोरेटा मात्रै छन् । गार्पाछेडा, चेप्टा ढुंगा, साँघुरे गौंडा, अन्तरेथरी, ठाडो खोला, ढुंगे देउराली जस्ता स्थानमा पैदलै यात्रा गर्नुपर्ने बाध्यता छ । पदमार्ग अभावमा अहिले पनि गार्पादेखि बुर्की र टिकाधारा क्षेत्रमा जाने बाटो अझै जोखिमको छ । वर्षातमा चिप्लो र भीरको बाटो हिँड्नुपर्दा कतिपय पर्यटक गार्पा छेडाबाटै फर्कने गरेका छन् । ढोरपाटन उक्लेपछि एक दिनको पैदलमा टीकाधारा र बुकी पाटन पुगिन्छ । पर्यटकले भेडीगोठमा बस्ने र खाने गरेर मनोरञ्जन लिन्छन् । यो वर्ष पर्यटक आगमन बढ्दा भेडीगोठालेहरुले समेत बुकीपाटनमा पाहुना राखेर मनग्ये कमाइ गरेको बताए ।
पोखरा, चितवन, काठमाडौंका धेरै पर्यटक ढोरपाटन पुग्दा होटेल र होमस्टेको व्यवसाय पनि फस्टाएको होटेल सञ्चालकहरूले बताए । सामाजिक सञ्जालमार्फत अधिकांशले ढोरपाटन र बुकीको प्रचार समेत गरेका छन् । ढोरपाटन सिकार आरक्ष कार्यालय रहेको पाटनसम्म गाडी चढेर पर्यटक पुग्छन् । बुर्तिवाङदेखि ३६ किमी सडक अप्ठ्यारो र चिप्लो छ । सालझण्डी ढोरपाटन सडक आयोजनाको क्षेत्रमा परेपछि १७ वर्षदेखि यो सडक खण्ड अलपत्र छ । वर्षमा घुम्न जाने २०/३० हजार पर्यटकले मात्र हैन, नियमित लेकबेसी गर्ने बोबाङ, अधिकारीचौर, बोङगादोभा, बुर्तिवाङसम्मका किसानले पनि सास्ती खेपेका छन् ।
ढोरपाटन हुँदै बुकी जाने लेकाली गोरेटा मात्रै छन् । गार्पाछेडा, चेप्टा ढुंगा, साँघुरे गौंडा, अन्तरेथरी, ठाडो खोला, ढुंगे देउराली जस्ता स्थानमा पैदलै यात्रा गर्नुपर्ने बाध्यता छ । जलजला, सुर्तीवाङ, टिकाधारा र जाल्पा तालले पर्यटक आकर्षण बढाएको छ । ती स्थानमा पर्यटक सहजै लैजाने पदमार्गहरु निर्माण भएमा वर्षमा ५० हजारदेखि एकलाख पर्यटक भित्र्याउन सकिने ढोरपाटन नगरपालिका–९ का अध्यक्ष खिमहादुर घर्तीले बताए ।
आकर्षक पदमार्ग निर्माण गर्न सकेमा पर्यटक रमाउने मात्र हैन, सुरक्षित यात्रा पनि हुने गुरुङले बताए । सिकार आरक्षको तथ्यांकमा अघिल्ला वर्ष १८ देखि २० हजार मात्रै पर्यटक जाने ढोरपाटनमा यो वर्षातमा मात्रै ३० हजार बढीले ढोरपाटन घुमेको तथ्यांक छ । यसपालि पर्यटकहरु अधिकांश बुकी पुगेका छन् ।
‘टिकाधारा पुग्ने गोरेटो असाध्यै चिप्लो रहेछ,’ घुम्न पुगेकी गंगा शर्माले भनिन्, ‘रमाइलो र हजारौं पर्यटक लैजान सकिने स्थानमा राम्रो पदमार्ग बनाउनुपर्छ ।’ आरक्षले सिकार राजश्व संकलन गरे पनि उक्त क्षेत्रमा विकासमा लगानी नगरेको स्थानीयले बताए ।
सिकार आरक्षका सूचना अधिकारी पशुपति अधिकारीले वन्यजन्तु र पर्यावरणलाई असर पर्ने गरी पूर्वाधार निर्माण गर्न नसकिने बताए । ‘सामान्य पदमार्ग बनाएर पर्यटक लैजाने अवस्था राम्रो हो, तर पूर्वाधार धेरै बनाएपछि पर्यावरण बिग्रन्छ,’ अधिकारीले भने, ‘धेरै पर्यटक गएपछि बुकीसमेत फुल्दैन ।’ मानव पाइला बढेपछि बुकीको आकर्षणमा असर पर्ने उनले बताए । साथै हाल निर्माण गरिएका पदमार्ग बाहेक विश्रामस्थलले पर्यावरणमा असर परिसकेको उनको जिकिर छ । ‘हामीले त पूर्वाधार निर्माणको कामै गर्दैनौं, विभिन्न संस्थाले पनि पर्यावरण र वन्यजन्तुलाई असर पर्नेगरी योजना ल्याउन भएन,’ उनले भने, ‘चालु वर्षको बजेट र कार्यक्रम पनि सञ्चालनमा कठिन हुन सक्छ ।’ वन मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलगायतको अनुमति चाहिने उनले बताए ।
पर्यटन कार्यालयले भने पर्यावरण जोगाउन स्थानीय ढुंगाको पदमार्ग र काठको विश्रामस्थल बनाएको हो । खोलाखोल्सीमा बनाएका पुल समेत काठको प्रयोग भएको इन्जिनियर सुजन दरैले दाबी गरे । यसअघि ढोरपाटन नगरपालिका–५ को गाडीखोलादेखि वडा ६ को चामेद्वार हुँदै ढोरपाटनको छेन्तुङ पुग्ने १० किमी सडक कालोपत्रे भइसके पनि ५ सय मिटर खण्ड नजोडिएपछि उक्त सडक उपयोगविहीन छ । ईआईए र आईईसहित आरक्षको अनुमति समेत लिनुपर्ने प्रावधानले यो सडक जोड्न नसकिएको हो । गण्डकी प्रदेशको बजेटबाट पूर्वाधार विकास कार्यालयले उक्त सडक बनाएको थियो ।
ढोरपाटन र बुकी क्षेत्रमा गोरेटा र पदमार्ग अभावले स्थानीय भेडापालक किसान पनि समस्यामा छन् । स्थानीय किसान गोविन्द अदैले गोरेटाहरु अप्ठ्यारो हुँदा भेडा चराउन जान पनि समस्या परेको बताए । अहिले पनि अदैको २ सय भेडा छन् । साँघुरा खोल्सा र गोरेटोमा भेडा खेद्न निकै अप्ठ्यारो भएको उनले गुनासो गरे । ‘राम्रो बाटो छैन, भेडा खसेर मर्ने खतरा छ,’ अदैले भने, ‘बाटो बनाउन सके घोडाचढीलाई पनि सहज हुने थियो ।’ पदमार्ग बनाउने भए आफूले पनि साथ दिने उनले बताए । अदै असारमा बुकी उक्लेका हुन् । भदौको अन्तिम सातासम्म उनले बुकीमा भेडा चराउने गर्छन् । त्यसपछि ढोरपाटन, बोबाङ हुँदै जाडो मौसममा बेँसी झर्छन् । बाटो अप्ठ्यारो भएकोले बुकीमा गएका गोठालालाई अन्न छाड्न जाने परिवारका सदस्यहरुले पनि दुःख व्यहोरेको बताए ।
