ढोरपाटनमा आन्तरिक पर्यटक बढ्दै, एक वर्षमै थपिए ८ हजार

गत आर्थिक वर्षमा मात्रै २० लाखभन्दा बढी राजस्व पर्यटक प्रवेश शुल्कबाट संकलन

श्रावण ११, २०८२

रासस

Domestic tourists are increasing in Dhorpatan, adding 8 thousand in one year

What you should know

काठमाडौँ — नेपालको एक मात्रै सिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि भइरहेको छ । ढोरसिकार आरक्ष कार्यालय बागलुङका अनुसार ढोरपाटन घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा गत एक वर्षमै आठ हजारले वृद्धि भएको छ । 

ढोरपाटन सिकार आरक्ष कार्यालयका रेञ्जर सागर सुवेदीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १५ हजार ५७३ पर्यटक ढोरपाटन पुगेकामा २०८१/८२ मा पर्यटकको सङ्ख्या आठ हजारले बढेर २३ हजार ६९२ पुगेको छ । जसमध्ये सार्क नागरिक १२ जना र विदेशी नागरिक २१३ जना मात्रै रहेका छन् भने अन्य पर्यटक आन्तरिक नै हुन् । 

ढोरपाटनको प्रचारप्रसार, पर्यटकीय पूर्वाधार, बुकी र जलजलामा पदयात्रा गर्ने पर्यटकका कारण पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको सुवेदीको भनाइ छ । उनका अनुसार पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै राजस्वमासमेत वृद्धि भएको छ । ढोरपाटन पुग्ने नेपाली पर्यटकले एक सय प्रवेश शुल्क तिर्नुपर्ने हुन्छ । 

गत आवमा मात्रै २० लाखभन्दा बढी राजस्व पर्यटकको प्रवेश शुल्कबाट सङ्कलन भएको छ । 'प्रचारप्रसार, पर्यटकीय पूर्वाधार थपिनु, बुकी र जलजलाको चर्चासँगै पदयात्रा गर्न आउनु र होटल तथा घरबासको व्यवस्थापनका कारण पर्यटकमा वृद्धि भएका छन्,' सुवेदीले भने ।

ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय सिकार आरक्ष क्षेत्र अवलोकन, ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक त्यहाँ आउने गरेका छन् । ढोरपाटन उपत्यकामा दुई दर्जन होटल तथा घरबास सञ्चालनमा रहेको र सोझै पोखरादेखि पर्यटकलाई प्याकेजमै ल्याउने लैजाने व्यवस्थापनका कारण पर्यटकलाई सहज भएको ढोरपाटन सामुदायिक घरबासका सञ्चालनक रामबहादुर घर्तीले जानकारी दिए ।

समुद्री सतहदेखि दुई हजार ९०० मिटरको उपत्यकादेखि चार हजारभन्दा माथिको बुकीपाटनसम्म पर्यटक पुग्ने थालेका छन् । 

रासस

Link copied successfully