ढोरपाटनमा इन्टरनेटको सुविधा छैन । स्थानीयले शिक्षा, स्वास्थ्य, यातायात र खानेपानीका लागि बढी सास्ती खेपेका छन् ।
बागलुङ — चारैतिर हरियाली । बीचमा मैदान । एकतमासले बगिरहेका खोलानाला । यतिमात्रै होइन, चैत-बैसाखमा रातो, गुलाबी, सेतोजस्ता रंगीबिरंगी गुराँसले ढकमक्क जंगल । ढोरपाटनको भूगोल र पर्यावरण निकै आकर्षक छ । घोडा र अन्य पशुचरनले यहाँ रमाइलो दृश्य देखिन्छ । सानो उपत्यका जस्तो लागे पनि घुम्न भने निकै समय खर्चिनुपर्छ ।
आलु र स्याउ यहाँका मुख्य उत्पादन हुन् । किसान आलु बेचेरै धनी बनेका धेरै उदाहरण छन् । पर्यटकका लागि आरामदायी होटल बन्ने क्रम सुरु भएको छ । व्यक्तिगत र सामुदायिक होटलले यहाँ पुग्ने झन्डै दुई सयजनालाई मात्रै दैनिक व्यवस्थापन गर्न सक्छन् ।
चर्चामा रहेको उत्तर गंगा जलाशययुक्त जलविद्युत आयोजना यहीँ पर्छ । जडिबुटीको भण्डार र हिउँदमा सेताम्मे हिउँले ढाक्दा झन् मनमोहक देखिने ढोरपाटन पुग्न सदरमुकाम बागलुङदेखि १ सय ३० किमिको सडक ट्रयाक खुलिसकेको छ । केही वर्षअघिसम्म तीन दिन लगाएर पुग्नुपर्ने ढोरपाटन अब आफ्नै सवारी हुनेहरु एकै दिनमा पुग्छन् । यहाँ नाउर, घोरल, झारलजस्ता वन्यजन्तु सिकारका लागि खुला छन् । तर विश्वमै दुर्लभ मनिएको रेडपाण्डा भने संरक्षण गरेर राखिएको छ । रेडपाण्डाका लागि पनि यो उपयुक्त भूमि हो ।
ढोरपाटनका आकर्षण
ढोरपाटन सिकार आरक्ष बागलुङ सदरमुकामदेखि १ सय २६ किमी पश्चिममा छ । नेपालको एक मात्र सिकार आरक्ष रहेको ढोरपाटन विश्वभरको पर्यटकको समेत गन्तव्य हो । लाखौं रुपैयाँ राजस्व तिरेर सिकारका लागि यहाँ युरोप,अस्ट्रेलिया र अमेरिकाका सिकारी आउँछन् । यसले नेपालको राजस्व संकलन र पर्यटन प्रवर्द्धनमा पनि सकारात्मक प्रभाव पारेको छ ।
यहाँको पाटन तीन हजार मिटरको उचाइमा छ । आरक्षको अन्य भूगोल भने ४ हजार ५ सय मिटर सम्मका छन् । आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् । नाउर, झारल, थार र हिमाली भालु विशेष हुन् । डाँफे, मुनाल, चिरलगायत १६४ प्रजातिका चरा पाइन्छन् । वन्यजन्तुको सदुपयोगका साथै संरक्षण होस् भन्ने हेतुले यस क्षेत्रलाई सिकार आरक्ष बनाइएको हो । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र घुस्तुङ ७ ब्लकमा विभाजन गरी सिकार खेल्न दिने व्यवस्था मिलाइएको छ ।
यहाँ सिकार आरक्ष मात्र नभई धेरै धार्मिक गन्तव्य पनि छन् । उत्तरगंगा यहाँको उत्कृष्ट धार्मिक तीर्थस्थल हो । ढोरपाटन पुग्नेले यहाँको दर्शन गरेरै फर्कन्छन् । जनै पूर्णिमा, वैशाख पूर्णिमा लगायतमा यहाँ हजारौं भक्तजन पुग्छन् । छेन्टुङ गुम्बा, तिब्बतीहरुको शरणार्थी शिविर, आयुर्वेद औषधालय, रुद्र ताल धार्मिक रुपमा चर्चित छन् । त्यस्तै निसेल ढोर, बुकी, फागुने, रुकुमतर्फका मैकोट र हुकामजस्ता ठाउँ पर्यटक आर्कषण गर्ने स्थान हुन् ।
निसेल ढोर र बुकीमा धेरै किसानले गोठ सार्छन् । असार-साउनमा बुकी पुग्दा भेडीगोठसहितको हरियाली र रमणीय दृश्य देखिन्छ । ढोरपाटन नगरपालिकाका ७ वटा वडा, तमानखोला गाउँपालिकाका ६ वटा र निसी गाउँपालिकाका ६ वटा वडावासी किसानले जाडो मौसमका ४ महिनाबाहेक वर्षको ८ महिनासम्म बुकीमा पशुपालन गर्छन् । त्यतिबेला उनीहरुले त्यहीँ आलु लगाउँछन् । पशुपालनका लागि घरको सामान बोकेर लेकबेँसी गर्ने उनीहरुको चलन छ ।
स्थानीयका सकस
घुम्न जाने पर्यटकलाई ढोरपाटन जति सहज र रमाइलो छ, बस्नेलाई भने सास्ती । हेलिकोप्टर रिजर्भ गरेर सिकार खेल्न जाने विदेशी हुन् या रमाइलोका लागि घुम्ने नेपाली पर्यटक, स्थानीयको जीवनशैली तस्बिरमा उतार्न खोज्छन् । कसैले भाँग्रो ओडेर तस्बिर खिच्छन् त कसैले घर कुरुवासँग । कसैले विद्यालय नगएका, पोसाक नभएका बालबालिकासँगै तस्बिर खिचेर राख्छन् ।
सिकारी र विदेशी पर्यटक हेलिकोप्टर लिएर आउँछन् भने आन्तरिक पर्यटकहरु जिप चढेर । तर दैनिक आउजाउ गर्नेलाई साधन छैन । भएको सडक जीर्ण छ । बोबाङदेखि अधिकांश बालबालिका, बुढाबुढीसमेत लठ्ठी टेकेर पैदलै ढोरपाटन, बुकी र जलजला जान्छन् । यहाँका बालबालिकाको विद्यालय जीर्ण छ । जाडोमा बेँसीमा, गर्मीमा लेकमा सर्ने भएकाले पैदलै यात्रा गर्न बाध्य छन् । अभिभावक बुकीमा पशु चराउन जाने भएकाले साता-दस दिनमा खर्च लिएर बुकी पुग्दा पढाइ छुट्छ । 
यहाँका विद्यालयमा दरबन्दीसमेत अभाव छ । स्थानीयले शिक्षा, स्वास्थ्य, यातायात र खानेपानीका लागि बढी सास्ती खेपेका छन् । यहाँ स्वास्थ्य चौकी छैन । सामुदायिक स्वास्थ्य इकाइले दिने सेवाले पुग्दैन । औषधि र जनशक्ति नभएकाले हरेक दिन बिरामी सेनाको ब्यारेकमा समेत जान्छन् । सेनाले दैनिक २० जनासम्म बिरामीको उपचार गराउँछ ।
‘तोकिएका जवानलाई भनेर औषधि आउँछ, बिरामीलाई कसरी फिर्ता पठाऔं, औषधि पुर्याउन सकिएको छैन,’ सेनाका एक अधिकृतले भने, ‘यहाँका बासिन्दाले स्वास्थ्यको साह्रै समस्या भोगेका छन् ।’ पाठेघरको समस्या र अपांगता भएकाहरु सबैभन्दा धेरै छन् । गत बर्सातमा स्थानीय पूर्णिमा विकलाई तत्काल अस्पताल लैजाने गाडी नपाएपछि सेनाको गाडीले उद्धार गरेर बुर्तिबाङ लगेको थियो । पहुँचमा नभएका कैयौं गर्भवती र बिरामी जोखिममा पर्छन् ।
ढोरपाटनमा तीन हजारभन्दा बढी घरको बसाइ अस्थायी छ । उनीहरु पशुचरनका लागि बुकी लेकमा जाँदा बालबालिकाहरु अलपत्रै हुन्छन् । तीन वर्षअघि अलपत्र भेटिएका एक बालकको सेनाले उद्धार गरेर अभिभावकको खोजी गरी जिम्मा लगाएको थियो । अलपत्र भेटिने महिला र बालबालिकालाई सेना र स्वास्थ्य इकाइमा उपचार गरेर पठाउने गरिन्छ । नजिकको उपचारकेन्द्र बुर्तिबाङमा छ । ३६ किमि परको यो केन्द्रमा पुग्न सवारीसाधन नपाए दिनभर हिँड्नुपर्छ ।
गर्भवतीलाई सुरक्षित सुत्केरी हुन पनि बुर्तिबाङ पुगेर डेरा लिएर बस्नुपर्छ । ‘समयमा उद्धार नभएको भए मेरो ज्यान जाने थियो,’ विकले भनिन्, ‘समयमा उद्धार नभए धेरैले ज्यान गुमाउँछन् ।’ अन्य दुर्घटनामा परेकाहरुले पनि समयमा उपचार नपाएर मर्नुपर्ने उनले बताइन् ।
ढोरपाटन उपत्यकाका ५ विद्यालय छन् झन्डै २ हजार बालबालिका पढ्छन् । तर यहाँ सुविधासम्पन्न कुनै भवन छैन । न फर्निचर, न खानेपानीको व्यवस्था । कतिपय बालबालिकाले न्यानो कपडा समेत लगाउन पाएका छैनन् । एउटै कक्षामा ५० जनासम्म बालबालिका पढ्ने भए पनि फर्निचर पुग्दैन । धुलोले बालबालिका फोहोरी देखिन्छन् ।
ढोरपाटन जनवादी आधारभूत विद्यालयमा त झनै बढी समस्या छ । चिसो भुइँमा बसेर पढ्ने हरुपनि छन् । कतिपय बालबालिका भोकै आउने गरेको पायौं, उनीहरुलाई खाजाको व्यवस्था गर्न सकिएको छैन,' स्थानीय शिक्षक इन्द्रकुमारी घर्ती मगरले भनिन्, ‘भोका बालबालिकाले कसरी पढ्न सक्छन् र ?’
उत्तरगंगामा पुल अभाव छ । बर्सातमा खोलाको जंघार तरेर पढ्न आउनुपर्ने बाध्यताले कतिपय बालबालिका छुट्छन् । घुमाउरो बाटो आउँदा ढिला हुन्छ ।
आलु खेतीबाट कमाइ गर्नेका परिवारबाहेक अरुको दुई छाक खान पुग्ने कमाइ केही छैन । पशुचरनका लागि लेकमा जानेहरु उतै आलुकै परिकार खाएर बाँच्छन् । यहाँका मानिस गाई काटेको आरोपमा पटकपटक पक्राउ पर्छन् । कतिपयले खानेकुरा केही नभएपछि त्यस्तो काम गर्न बाध्य भएको बताउँछन् ।
आकर्षक उपत्यका भएर पनि ढोरपाटनमा खानेपानीको सास्ती छ । मुल छेवैमा हुनेले शुद्ध पानी पिएका छन्, तर अन्यले उत्तरगंगा, ढोरखोला र गार्पाखोलाको पानी खाने गर्छन् । यहाँको नवी, स्यालपाखे, भण्डारीगाउँमा खोलाको पानी गाग्रीमा बोकेरै खानुको विकल्प छैन । उत्तरतर्फको बस्तीमा गार्पाखोलाको पानी खान्छन् । अरुभन्दा यो खोलाको पानी शुद्ध मानिन्छ । तर अधिकांशले खोलाकै पानी छानेर खाइरहेका छन् । 
ढोरबराह मन्दिर व्यवस्थापनमा करोड खर्चने नगरपालिकाले यहाँको शिक्षा र स्वास्थ्यमा खासै खर्चेको छैन । शिक्षा, स्वास्थ्य र खानेपानीको योजना नगरपालिका पुगेर माग्ने भन्नेसमेत धेरैलाई थाहा छैन । ‘मैले बेलाबेला योजना त मागेकै छु, तर थोरै बजेटले काम गर्न सकिएको छैन,’ वडाध्यक्ष भद्रमणि सुनारले भने, ‘ठाउँ राम्रो भएर के गर्ने, जे भए पनि ढोरपाटनका जनतालाई सास्ती मात्रै छ ।’ आफै बुझेर केही योजना बनाए पनि ढुवानी खर्च बढी लाग्ने गरेकाले प्रभावकारी नभएको उनले बताए ।
हरेक दिन मजदुरी गरेर मात्र दुई छाक खानुपर्ने बाध्यता भएकाहरुलाई योजना माग्न जाने फुर्सद पनि नभएको स्थानीय सुशीला विकले बताइन् ।
आरक्षमा राजस्व तिरेर तोकिएको जनावरको मात्र सिकार गरिन्छ । तर सिकार गर्न नपाइने बँदेलले आलुबाली खाएर नष्ट गर्दा किसान निराश छन् । रातको समयमा आएका वन्यजन्तुले सबै बाली खाएपछि आलु उत्पादन बढाउन नसकेको किसानले गुनासो गरे ।
ढोरपाटनमा स्याउ पनि फल्छ । तर सजिलै बजारमा बिक्री भएको छैन । तीन वर्षदेखि यहाँ जुम्लाको गोल्डेन स्याउ पनि रोपिएको छ तर बजारीकरणबारे किसान अझै अन्योलमा छन् ।
ढोरपाटनमा अझै इन्टरनेटको सुविधा छैन । निसेलढोरमा चालु वर्ष मात्रै टु-जी सेवा सञ्चालनमा आएको छ । राष्ट्रिय प्रसारणको विद्युत लाइन नपुग्दा सोलारबाट फोर-जी चलाउन नसकेको नेपाल टेलिकम बागलुङका प्रमुख सन्तोष बरालले बताए ।
सदरमुकाममा बिजुली बलेको ३० वर्षपछि बुर्तिबाङ बजारमा बल्ल उज्यालो बन्दै छ । बुर्तिबाङदेखि ३० देखि ४० किमि पश्चिमका तमान, निसी र ढोरपाटनमा अझै विद्युतीकरण कहिले हुने भन्ने अन्योल छ । इन्टरनेट अभावमा आरक्ष कार्यालय र नेपाली सेनाको सुरक्षा टोलीले पनि सूचना आदानप्रदानमा सास्ती खेपेका छन् ।
विद्युत अभावले ढोरपाटनका किसानले फलाउने सयौं क्विन्टल आलु भण्डारणको गर्न समस्या छ । ‘प्राकृतिक रुपमा गरिने भण्डारले धेरै समय नटिक्ने हुँदा आलु कुहिन्छ,’ स्थानीय टेकबहादुर सुनारले भने, ‘राम्रो भण्डारण भइदिए वर्षभरि आलु खान पनि पुग्थ्यो, हिउँद लागेपछि बिक्री गर्न मिल्थ्यो ।’ बर्सातमा सडक अप्ठ्यारो हुँदा आलु सहज रूपमा बजार पठाउन नसकेको उनले गुनासो गरे ।
निर्माणाधीन ढोरपाटन-सालझन्डी सडकको बागलुङ खण्ड १६ वर्षदेखि अलपत्र छ । सडक स्तरीय नबन्दा किसानले ढुवानीमा सास्ती खेपेका छन् भने घुम्न जाने पर्यटकलाई पनि सहज छैन । ‘राष्ट्रिय आयोजनाको क्षेत्रमा नगरपालिकाले लगानी गर्दा बेरुजु आउँछ, आयोजनाले काम गरेको छैन,’ ढोरपाटन नगरपालिकाका कार्यावाहक प्रमुख धनबहादुर कायतले भने, ‘न केन्द्रले पहल गर्छ, न लगानी गर्ने बाटो देखाउँछ ।’ ठेक्का लगाएको स्थानमा पनि समयमा काम नभई अलपत्र परेको उनले बताए ।
मध्यवर्ती बन्नै बाँकी
ढोरपाटन सिकार आरक्ष स्थापना भएको ४२ वर्ष पुगिसक्दा पनि मध्यवर्ती क्षेत्र घोषणा भएको छैन । आरक्षले २०७४ सालमा मध्यवर्ती क्षेत्र बनाउने फाइल मन्त्रालयमा बुझाएको थियो । स्थानीय पालिका, जनप्रतिनिधि, आरक्ष आसपासका स्थानीयसँग चरणबद्ध छलफलसमेत गरिरहेको छ । मध्यवर्ती क्षेत्र घोषणामा ढिलाइ हुँदा बर्सेनि आउने करोडौं बजेट स्थानीयको हितमा खर्च हुन सकेको छैन ।
आरक्षको तथ्यांकअनुसार विभिन्न स्रोतबाट यहाँ बर्सेनि ७ देखि ८ करोडसम्म राजस्व संकलन हुने गरेको छ । वर्षमा जिल्लाबाहिरका २० हजारभन्दा बढी पर्यटक यहाँ घुम्न पुग्छन् । सडक सहज भएमा १ लाख पर्यटक भित्र्याउन सकिने ढोरपाटन नगरपालिकाका कार्यावाहक प्रमुख धनबहादुर कायतले बताए । मध्यवर्ती क्षेत्र घोषणाका लागि बागलुङको ढोरपाटन नगरपालिका, तमानखोला र निसीखोला गाउँपालिका तथा रुकुमको पृथुउत्तरगंगा र म्याग्दीको धौलागिरि गाउँपालिकाको कार्यपालिकाले निर्णय गर्नुपर्छ ।
यो बजेटले ढोरपाटन क्षेत्रमा सडक, पुल र पदमार्ग निर्माण तथा सामुदायिक सीप विकासका काममा खर्चन पाउँछन् । आरक्षमा आउने सिकारीले तिर्ने राजस्व, उत्तरगंगा लगायतका खोला तथा नदीजन्य वस्तुको उत्खनन, काठपात बिक्री र दण्डजरिवानाबाट संकलित रकम समेत स्थानीयले उपभोग गर्न नपाएका हुन् ।
गत महिना भएको वार्डेन भेलामा प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले यो विषय उठाएको बताए । ‘हामीले पहल गरिरहेका छौं, तर केही स्थानीय सकारात्मक हुनुहुन्न,’ उनले भने, ‘अन्य आरक्षका मध्यवर्तीका उपभोक्ताको प्रगति देखाएर बुझाउनुपर्नेछ ।’ मध्यवर्ती क्षेत्र घोषणा हुँदा चोरी सिकारमा कडाइ भए पनि साधनस्रोको उपयोगमा वैधानिकता हुने उनको भनाइ छ ।
