व्यवस्थित पर्यटन विकासको योजना बनाएर कार्यान्वयन गरे बडिमालिकाले सुदूरपश्चिम मात्रै होइन, देशकै अर्थतन्त्रमा टेवा पुर्याउने पर्यटन व्यवसायी बताउँछन्
What you should know
धनगढी — समुन्द्री सतहदेखि तीन हजार ८६० मिटर उचाइमा रहेको त्रिवेणीलाई छेको पार्दै चार हजार २०० मिटरमा रहेको बडिमालिकाको चुचुरोतर्फ लम्किएका उनीहरूलाई हिउँले ढपक्क ढाकिएको पदमार्ग पहिल्याउनै सकस भइरहेको थियो । उनीहरू जतिजति माथि उक्लिँदै थिए, बादल तलतल छुट्दै थियो । हिउँले सास्ती बढाउँदै थियो ।
०८१ चैत महिनाको दोस्रो साता, बडिमालिकामा तीन चार फिट बाक्लो हिउँ जमेको थियो । बडिमालिकाको उकालोमा अघि बढ्न जतिसुकै सकस भएपनि उनीहरूले हिम्मत हार्ने कुरै थिएन । किनकि उनीहरू त बडिमालिकाको चुचुरोमा मन्दिर पुनः निर्माणको दृढ संकल्पका साथ अघि बढेका थिए । नेपाली सेनाको टोली हिउँ पन्छाउँदै, पदमार्ग पहिल्याउँदै अघि बढ्यो ।
नेपाली सेनाले आफ्नै तत्परतामा धार्मिक आस्थाको धरोहर अनि प्रकृतिले दिएको अनुपम उपहारका रूपमा रहेको बडिमालिकामा कलात्मक मन्दिर निर्माणको योजना अघि बढाएको थियो । तर, छोटो समय, कष्टसाध्य भू–बनोट, निर्माण सामग्रीको ओसारपसार गर्नु चानचुने कुरा थिएन । त्यसका लागि त धेरै तयारी र सुविचारित चाँजोपाँजो मिलाउनु थियो ।
आदिमकाल देखिकै धार्मिक आस्थाको धरोहरका रूपमा रहेको बडिमालिकामा अनेकन् छँटाहरु, सुगन्धित बगैँचाभन्दा पनि विशाल पाटन (फाँट)हरू अनि जैविक विविधताको खजानाका रूपमा रहेको बडिमालिका मानव जातिका लागि प्रकृतिले दिएको अनुपम उपहार मानिन्छ । बाजुराको त्रिवेणी नगरपालिका–६ मा अवस्थित यही बडिमालिकामा नेपाली सेनाले कलात्मक मन्दिर पुनः निर्माणको योजना अघि बढाएको थियो ।
नेपाली सेनाले अनेकौँ चुनौती छिचोल्दै युद्धस्तरमा काम गरेर करिब तीन महिनामै असार २३ गते कलात्मक मन्दिर र हवन कुण्ड (यज्ञशाला) को पुनः निर्माण सम्पन्न गरेको छ । नेपाली सेनाले बडिमालिका निर्माण सम्पन्न गरेको देवी भगवतीको मन्दिर केवल एउटा भौतिक संरचना मात्रै होइन, अनेकन् दृष्टिले महत्त्वपूर्ण र दुर्लभ छ ।
पहिलो त देवीका शक्तिपीठमध्ये बडिमालिकामा निर्माण गरिएको मन्दिर विश्वमै सबैभन्दा उच्च स्थानको कलात्मक मन्दिर हो । चार हजार दुई सय मिटरको उचाइमा अन्यत्र कुनै पनि स्थानमा देवीका कलात्मक मन्दिर निर्माण नभएको नेपाली सेनाको प्रारम्भिक अध्ययन छ ।
दोस्रो, अधिकांश समय हिउँ पर्ने बडिमालिकामा कलात्मक मन्दिर निर्माण सम्पन्न गर्नु चानचुने कुरा थिएन । सेनाको कठोर मिहिनेत र जोखिमले मात्र त्यो सम्भव भएको हो । त्रिवेणी नगरपालिकासँग आवश्यक समन्वय गर्दै नेपाली सेनाले बडिमालिकामा मन्दिर निर्माण सम्पन्न गरेपछि चौतर्फी प्रशंसा त भइरहेकै छ । त्यो भन्दा महत्त्वपूर्ण पक्ष यसबाट बडिमालिकाको महत्त्व थप उजागर भएको छ ।
बडिमालिकामा कलात्मक मन्दिर निर्माण गर्न नेपाली सेनाले लामो अध्ययनको चक्र पूरा गरेको थियो । सुरुमा ०८१ भदौमा पुरातत्त्व विभाग र नेपाली सेनाका इन्जिनियरसहितको संयुक्त टोलीले मन्दिर पुनः निर्माणका लागि बडिमालिका क्षेत्रको स्थलगत अध्ययन गरेको थियो । त्यसबेला पुरातत्त्व विभागले शिखर शैलीमा मन्दिरको डिजाइन तयार गरेको थियो । तर उक्त शैलीको मन्दिर निर्माण गर्न स्थान अभाव र भार बढी हुने भएकोले सम्भव भएन ।
शिखर शैलीको मन्दिर निर्माणका लागि स्थान अपुग र कमजोर भू–क्षेत्र रहेको बडिमालिकामा भार धेरै हुने भएपछि डोटीमा रहेको प्राचीन शैलेश्वरी मन्दिरको शैलीमा दोस्रो डिजाइन तयार गरिएको थियो । तर पुरातत्त्व र सेनाको प्राविधिक टोलीले बडिमालिकामा उक्त डिजाइनको मन्दिर निर्माण पनि अनुपयुक्त हुने निष्कर्ष निकालेपछि तेस्रो डिजाइन तयार गरिएको थियो । ‘हाल बडिमालिकामा पुनः निर्माण सम्पन्न गरिएको मन्दिर नेपाली शैलीको मन्दिर हो,’ पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरले भने ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले प्राचन स्मारक ऐन २०१३ अनुसार बडिमालिका मन्दिर निर्माण गरिएको बताए । ऐतिहासिक महत्त्वका आधारमा सेनाले बडिमालिकामा मन्दिर र हवन कुण्ड (यज्ञशाला) लाई समान महत्वका साथ पुनः निर्माण गरिएको सेनाको भनाइ छ ।
सेनाको खटनपटन
बडिमालिकामा जेठदेखि भदौको महिनाबाहेक अधिकांश समय बाक्लो हिमपात हुन्छ । कठिन ठाउँ, छोटो अवधिमै मन्दिर निर्माण कार्य सम्पन्न गर्नु चुनौतीपूर्ण थियो । त्यसैले नेपाली सेनाले मन्दिर निर्माणका लागि चैतदेखि असारसम्मको करिब तीन महिना कम हिमपात हुने मौका छोपेको थियो । नेपाली सेनाले निकै महत्त्वका साथ अघि बढाएको उक्त कार्ययोजना फत्तै गर्न महासेनानी शिवप्रसाद पौडेललाई कमान्ड सुम्पेको थियो ।
बडिमालिकामा मन्दिर पुनः निर्माणको योजना फत्ते गर्न महासेनानी पौडेल नेतृत्वको टोलीले सुविचारित योजना निर्माण गरेको थियो । सेनाले बडिमालिका भू–बनोटको अनुभव भएका स्थानीय भए सहज हुने आकलन गर्दै बडिमालिकाको फेँदीको गाउँ त्रिवेणी नगरपालिका–६ पन्धाराका स्थानीयलाई कामदारका रूपमा रोजेको थियो । त्यहाँका बासिन्दा बडिमालिकाको त्रिवेणी क्षेत्रमा भैँसीको चरिचरनका लागि आवतजावत गरिरहन्छन् ।
महासेनानी पौडेलले पर्याप्त संख्यामा जवानहरूसँगै ०८१ चैत दोस्रो साता पन्धाराका ३४ वर्षीय विक्रम बुढा र धनबहादुर बुढाको नेतृत्वमा २१ जनाको समूहलाई बडिमालिका प्रस्थान गराएका थिए ।
सुरुमा उनीहरू बडिमालिका पुग्दा मन्दिर क्षेत्र पुग्ने बाटोमा तीन–चार फिटसम्म हिउँ जमेको थियो । ‘हामीलाई बाटोको अन्दाज थियो । बाटो पहिल्याउँदै, बाक्लो हिउँ पन्छाउँदै, डोरीको सहायताले मन्दिर क्षेत्रमा पुगेका थियौँ,’ विक्रमले भने ।
कार्ययोजना अनुसार पहिलो सुरुमा उनीहरूले बडिमालिका पुगेर पानी जोहो गर्नु थियो । मन्दिर क्षेत्रमा पानीको सबैभन्दा सकस छ । पहराको बीचमा पर्ने बासुधारामा तिपतिपे पानीको स्रोत भएपनि बासुधारा पुग्न सम्भव थिएन । अन्य उपाय नभएपछि हिउँ संकलन गर्दै पानी जम्मा गरेर उनीहरूले खानेपानीको जोहो गरे । खानेपानीको स्रोतका साथै सबैभन्दा बढी आवश्यकता ढुंगा काट्ने मेसिन चलाउन र चिनाइको लागि गारो बनाउन पानी नभइ नहुने अवस्था थियो । त्यसका लागि थोरै पानीले सम्भव थिएन । हजारौँ लिटर चाहिने भयो ।
जहाँ समस्या त्यहाँ उपाय∕उनीहरूले अलि भिरालो जमिनमा ठूल्ठूला खाल्डाहरू खने । एक हजार लिटर क्षमताका प्लास्टिक थैलाहरू त्यही खाल्डोमा बिछ्याए । खाल्डो माथितिर हिउँ संकलन गर्दै थुप्रो बनाए । दिउँसो घाम लागेका बेला हिउँ पग्लिएर खाल्डोको थैलोमा जम्मा भयो । त्यसरी उनीहरूले १५ हजार लिटरभन्दा बढी पानी संकलन गरे ।
सहजताका लागि सेनाले तीन ठाउँमा अस्थायी ब्यारेक स्थापना गरेको थियो । बाजुराको मना, फूलचढाउना र मन्दिर निर्माणस्थल बडिमालिकामा अस्थायी ब्यारेक खडा गरेर स्वास्थ्यकर्मीसहित सेनाको टुकडी राखियो । बडिमालिका मन्दिर क्षेत्रमा बसोबासका लागि चारवटा टेन्ट हालेर उनीहरूले बासस्थानको बन्दोबस्त मिलाए ।
उनीहरूले जेठ २२ गतेसम्म हरेक रात हिउँ खेपेका थिए । ‘बडिमालिकामा हिउँ नपरेको कुनै रात हुँदैनथ्यो । तापक्रम माइनस ८ डिग्री हुन्थ्यो । राति त टेन्टबाहिर निस्कन सक्ने अवस्था नै हुन्थेन,’ महासेनानी पौडेलले भने, ‘तर पनि कार्ययोजना अनुसार युद्धस्तरमा काम गर्नु थियो । त्यसक्रममा त्यो हाइअल्टिच्यूडमा एक हप्तामै ६० घण्टासम्म तलमाथि ओहोरदोहोर गर्नु परेको थियो । तर पनि त्यत्रो लामो समय बडिमालिकामा बस्दा कुनै पनि दिन खासै संकट बेहोर्नु परेन । कोही कसैलाई स्वास्थ्य समस्या पनि भएन ।’
सेनाले लामोलामो मन्दिरका लागि तयार गरिएका ठूल्ठूला काठलगायतका सामग्री ढुवानीका लागि बाजुरा सदरमुकाम मार्तडीदेखि हेलिकोप्टर प्रयोग गरेको थियो । हलुका र छोटो आकारका केही काठ र बालुवा भने मनाबाट बोकेरै बडिमालिका पुर्याइएको थियो । मनाबाट बडिमालिका पुग्न कम्तीमा दुई दिनको ठाडै उकालो पार गर्नु पर्छ । मन्दिर निर्माणमा आवश्यक पर्ने १७ टन सामग्री हेलिकोप्टरबाट ढुवानी गरिएको थियो भने ३३ टन सामग्री बोकेर पुर्याइएको थियो ।
पुरातात्त्विक मापदण्डमा कलात्मक मन्दिर
बडिमालिकामा नेपाली सेनाले निर्माण गरेको मन्दिर जति कलात्मक छ, त्यसमा प्रयोग गरिएका निर्माण सामग्रीलाई पनि उत्तिकै महत्त्वका साथ छनोट गरिएको छ । महासेनानी पौडेलका अनुसार मन्दिर निर्माणमा सिमेन्ट र फलामको प्रयोग गरिएको छैन । सिमेन्टका सट्टा काठमाडौँबाटै झिकाइएको चुना र सुर्की प्रयोग गरिएको छ ।
मन्दिरको डिजाइन अनुसार सालको काठ धनगढीमा तयार गरेर ल्याइएको थियो । ढुंगा बडिमालिका क्षेत्रमै संकलन गरिएको थियो भने पित्तलको छाना काठमाडौँमै कलिकढलाई तयार गर्न लगाइएको थियो ।
नेपाली सेनाले आफ्नै कोषबाट करिब दुई करोड खर्च गरेको जनाएको छ । ‘हाम्रो त प्राविधिक सहयोग मात्रै हो, बजेट सबै सेनाले नै बेहोरेको हो,’ पुरातत्त्व विभागका प्रवक्ता कुँवरले भने ।
बडिमालिकाका पुजारी नेत्रराज पाध्याले ०५० सालदेखि मन्दिर पुनः निर्माणका लागि पहल हुँदै आएकोमा हाल आएर प्रधानसेनापति अशोकराज सिग्देलको अगुवाइमा निर्माण कार्य सम्पन्न भएकोमा गौरव महसुस भएको बताए । त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाले भने, ‘दुई वर्षअघि हामीले नाटेश्वरीमा मन्दिर निर्माण सम्पन्न गर्यौँ । अहिले बडिमालिकामा सेनाले कलात्मक मन्दिर निर्माण गर्नु त्रिवेणी नगरपालिकाको मात्रै नभइ देशकै लागि गौरव हो ।’
भुटानको राजदरबारमा काम गरेका कालिगड
जो कसैले बडिमालिकामा पुगेर काम गर्न सम्भव थिएन । कलात्मक मन्दिर र यज्ञशाला निर्माण गर्नका लागि सेनाले अनुभवी कालिगड छनोट गरेर बडिमालिका पुर्याएको थियो । ‘त्यहाँ काम गर्नका लागि उचाइमा काम गरेको अनुभव अनिवार्य थियो,’ महासेनानी पौडेलले भने, ‘काठको काम गर्न दुई जना कालिगड ललितपुरबाट झिकाएका थियौँ । उनीहरूसँग भुटानको राजदरबार निर्माणमा संलग्न रहेको अनुभव थियो ।’
ढुंगाको काम गर्ने कालिगडको छनोटमा पनि सेनाले मापदण्ड तय गरेको थियो । दुई जना चिन्ने, दुई जना ढुंगा काट्ने र दुई जना ढुंगाको आकार निश्चित गर्ने गरी ६ जना ढुंगा मिस्त्री बडिमालिका पुर्याइएको थियो ।
‘भारतको लद्दाखमा काम गरेको अनुभव भएका ती मिस्त्रीहरू भक्तपुर र दोलखाबाट झिकाइएको हो,’ महासेनानी पौडेलले भने । यस्तै, भक्तपुरबाट चार जना शाक्य कालिगडलाई छाना मिलाउने कामका लागि रोजिएको थियो । २१ जना सहयोगी कामदार बाजुराकै त्रिवेणी नगरपालिका–६ पन्धाराबाट लिइएको थियो । ‘हामीले सेनाले खटाएको काममा सहयोगी भएर काम गर्यौँ,’ पन्धाराका विक्रम बुढाले भने ।
बडिमालिका मन्दिरको इतिहास
पुजारी नेत्रराज पाध्याका अनुसार बडिमालिका मन्दिर आदिमकालमा स्थापना भएको हो । स्कन्दपुराणको मानसखण्डमा उल्लेख भए अनुसार सत्यदेवीले आफ्ना पिता दक्षप्रजातिको यज्ञमा अग्निदाह गरेपछि महादेव सत्यदेवीको मृत शरीर लिएर पृथ्वी भ्रमण गर्न थाले । यसरी ठाउँठाउँमा सत्यदेवीका अंग पतन हुँदै, झर्दै खस्न थाले । सत्यदेवीका अंग जहाँजहाँ पतन भए त्यहाँ शक्तिपीठ स्थापना भए । त्यसै क्रममा बाजुराको मल्लागिरी पर्वत (बडिमालिका) मा उनको बायाँ कुम पतन भयो । त्यही मल्लागिरीमा बडिमालिकाको मन्दिर स्थापना गरेर पूजा गर्न थालिएको जनश्रुति छ ।
बडिमालिकाका अध्ययेता बाजुराका जहरसिंह थापाका अनुसार बडिमालिका देवीको पहिलो देउरो (मन्दिर) निर्माण बाजुराका दीपराज छत्यालले गरेका थिए । त्यसपछि शाके १५९१ मा जुम्लाका कल्यालवंशी राजा वीरभद्र शाहीले बाजुराको ढाडाकोटको कालापनी भन्ने ठाउँबाट ढुंगा बोकाएर बडिमालिकामा मन्दिर निर्माण गराएका थिए । शाके १६७९ मा कल्यालवंशी राजा शुरदर्शन शाहले बडिमालिका मन्दिर मर्मत गराउनुका साथै मूर्ति स्थापना गरेका थिए । त्यसपछि ०३६–०३७ तिर तत्कालीन जिल्ला विकास बाजुराका सभापति छत्रबहादुर शाह र पैमाका पुजारीहरूको सक्रियतामा मन्दिर निर्माण गरिएको थियो ।
नेपाली सेनाको बडिमालिका सम्बन्ध
बडिमालिका नेपाली सेनाको इष्टदेवी हुन् । बडिमालिकाका अध्येता जहरसिंह थापाका अनुसार अमरसिंह थापाकै समयदेखि बडिमालिकासँग नेपाली सेनाको साइनो सम्बन्ध जोडिएको थियो ।
पुजारी नेत्रराज पाध्याका अनुसार ०३२ सालसम्म नेपाली सेनाले पनि श्रावण शुक्ल चतुर्दशीकै दिन पूजाआजा गर्ने परम्परा थियो । तर त्यस दिन सर्वसाधारणले समेत पूजाआजा गर्ने भएकाले ०३२ सालपछि खप्तड स्वामीको सुझावमा सेना र तत्कालीन राजाले जेष्ठ शुक्ल पक्षको अष्टमी तिथिमा पूजाआजा गर्ने परम्परा सुरु भएको पुजारी नेत्रराज पाध्या बताउँछन् ।
त्यस बेला सकभर राजा, खप्तड स्वमी र प्रधानसेनापति पूजाआजाका लागि आफैं बडिमालिका पुग्थे । तर राजा वीरेन्द्रको हत्यापछि भने राजा र राष्ट्राध्यक्षले पूजा गर्ने प्रचलन टुटेको थियो । तर सेनाले पूजा गर्ने परम्परा भने कायम राखेको छ । पुजारी पाध्याका अनुसार हरेक वर्ष सेनापतिको प्रतिनिधित्व गर्दै विगतमा दीपायलबाट बाहिनीपति र अहिले पृतनापति पूजामा पुग्छन् ।
पूजा परम्परा– डोटीको ‘पेटारो’, जुम्लाको ‘डोली’
हरेक वर्षको श्रावण शुक्ल चतुर्दशी (जनै पूर्णिमाको अघिल्लो दिन) बडिमालिका मन्दिरमा पूजाआजा गर्ने प्रचलन छ । बडिमालिका दर्शन गरेमा इच्छाएको वरदान प्राप्त हुने जनविश्वासका कारण यहाँ पुग्नेको घुइँचो लाग्ने गर्छ । नेपाल मात्रै नभएर भारतको उत्तराखण्डमा पर्ने कुमाउ, गढवाल, पिथौरागडलगायतका ठाउँबाट पनि तीर्थयात्रीहरू बडिमालिका पुग्ने गर्छन् ।
बडिमालिकाको पूजाका लागि तत्कालीन सिंजा राज्यको प्रतिनिधित्व गर्दै जुम्लाबाट सरकारी पूजा सामग्री (डोली) पठाइन्थ्यो भने डोटी राज्यको प्रतिनिधित्व गर्दै डोटीबाट सरकारी पूजा सामग्री (पेटारो) पठाउने प्रचलन हालसम्म पनि कायमै छ । जुम्ला जिल्ला प्रशासन कार्यालयबाट चन्दननाथको डोलीसहित सरकारी टोली नागपञ्चमीका दिन बडिमालिकातर्फ प्रस्थान गर्ने परम्परा अहिले पनि छ ।
डोटीबाट अमरसिंह थापाकै पालादेखि बडिमालिकामा ‘डोली’ पठाउने चलन थियो । सरकारी पूजा सामग्रीलाई डोली भन्ने चलन छ । शिलगढीबाट १५ दिनमा बडिमालिका पुग्ने प्रचलन रहिएकोले श्रावण प्रतिपदाका दिन सदरमुकाम शिलगढीबाट पूजा टोली बडिमालिका प्रस्थान गर्ने गरेको छ ।
यस वर्षका लागि डोटीको सदरमुकाम सिलगढीबाट शुक्रबार बडिमालिका मन्दिरका लागि सरकारी डोल हिँडेको छ । डोटीको डोलीमा दीपायलको भुरुडी, (धानको पात) र अछामको वैद्यनाथको अक्षता समावेश गर्ने प्रचलन छ । जिल्ला प्रशासन कार्यालय डोटीमा विशेष पूजापछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टुकडीले सलामीसहित बिदाइ गर्ने चलन छ । त्यसपछि शिलगढीस्थित शैलेश्वरी र मालिका मन्दिरमा पूजापछि उक्त टोली बडिमालिकातर्फ अघि बढ्छ ।
अहिले जस्तो सडक यातायातको सुविधा थिएन उहिले । डोटीको टोली १५औं दिनमा बडिमालिका पुग्ने परम्परा थियो । त्यस क्रममा निश्चित ठाउँमा बास बस्दै, बाटोमा पर्ने निश्चित मन्दिरमा अनिवार्य पूजा गर्नै पर्ने चलन मान्यता थियो । अहिले सडक सुविधा भएपनि त्यही चलन कायम राखिएको छ । १५औं दिनमा मात्र टोली बडिमालिका पुग्ने धार्मिक परम्परा छ ।
शिलगढीबाट हिँडेको पूजा टोली पहिलो दिन डोटीकै पूर्वीचौकी गाउँपालिका–१ फुलौट, दोस्रो दिन पूर्वीचौकी–५ को धानुकाँडा, त्यसपछि अछामको मार्कु, अर्को दिन अछामको प्रसिद्ध धार्मिकस्थल वैद्यनाथ धाम हुँदै अछामको बिमकोटमा पूजाआजा, त्यही मार्ग हुँदै बाजुराको छतारास्थित लवाडुंग्रामा तीन दिन पूजाआजा गरिसकेपछि बडिमालिकातर्फ अघि बढ्ने प्रचलन कायम रहेको डोटीका पर्यटन अभियन्ता रमण श्रेष्ठ बताउँछन् ।
यता, जिल्ला प्रशासन कार्यालय जुम्ला अगाडि रहेको दरबार मालिका मन्दिरमा डोलीको पूजा गरेर यात्रा सुरु हुन्छ । त्यस क्रममा नेपाली सेनाको एक टुकडीले बटुक भैरवनाथ, चन्दननाथ बाबा र दरबार मालिकाको सलामी अर्पण गरेपछि बडिमालिकामा पूजा गर्न जुम्लाको सरकारी डोली बडिमालिकातिर प्रस्थान गर्ने परम्परा छ ।
बडिमालिका पूजाका लागि डोली पठाउने दिन सदरमुकाम खलङ्गामा स्थानीयले ध्वजा, अक्षता नासो पठाउन गर्दछन् । मनको इच्छा पूरा हुने जनविश्वासका आधारमा त्यस दिन खलङ्गामा पर्व सरह चहलपहल हुन्छ । पेटारोसहित जुम्लाको सरकारी पूजा टोली १८ दिनको पैदल यात्रापछि बडिमालिकामा पुगेर पूजाआजा गरेर जुम्ला सदरमुकाम खलङ्गामै फर्किने धार्मिक परम्परा छ । नाग पञ्चमीका दिन जुम्लाको पेटारो बडिमालिका प्रस्थान गरेर नवौं दिन बडिमालिका मन्दिर पुग्ने गर्छ ।
कालिकोट जिल्लाबाट औपचारिक पूजा टोली नआउने भएपनि जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मीको टोली भने परिचालन गर्ने गरेको छ । यता बडिमालिका अवस्थित बाजुरा जिल्लाबाट पनि जिल्ला प्रशासन कार्यालयले औपचारिक रूपमा सरकारी पूजा टोली पठाउने गरेको छ । बाजुराबाट प्रस्थान हुने सरकारी पूजा टोलीलाई मार्तडीमा पञ्चेबाजा र पञ्चकन्यासहित जिल्ला प्रशासन कार्यालय अगाडिको खुलामञ्चमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टुकडीले सलामी दिएर बिदाइ गर्ने परम्परा रहेको बडिमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्का बताउँछन् ।
बडिमालिका मेलामा देशभरका तथा छिमेकी मुलुक भारतबाट श्रद्धालु भक्तजनहरु तीर्थयात्रा गर्न आइपुग्छन् । तीनवटा नदीको संगम रहेको त्रिवेणीधामको छुट्टै महत्त्व छ । त्रिवेणीमा स्नान गरिसकेपछि तीर्थालुहरु बडिमालिका मन्दिरतर्फ उक्लिन्छन् । भोलिपल्ट बिहान बडिमालिका मन्दिरमा पूजा गरेर त्यसै दिन बाजुराकै त्रिवेणी नगरपालिकास्थित नाटेश्वरी मन्दिर फर्किन्छन् । नाटेश्वरी मन्दिरमा पूजा गरेपछि बडिमालिका दर्शनको चक्र पूरा हुन्छ भन्ने मान्यता छ ।
बडिमालिकामा पूजाको पनि विधि र परम्परा छ । ‘सुरुमा डोटीबाट आएको डोलीसँगै गोरखनाथको पेटारो चढाइन्छ, त्यस क्रममा जुम्लाबाट आएको चन्दननाथको पेटारो पूजाको चढाउने पराम्परा छ,’ पुजारी पाध्या भन्छन्, ‘तीन दिनअघि बडिमालिकाका पुजारीले लिने आशागुर्जा (चाँदीका पूजा भाँडा) र कालिकोटका ब्राम्ह्रणहरुले लिने छत्रको पूजा गर्ने चलन छ । त्यसपछि पूजा जल लिएर पुजारीहरू बडिमालिका मन्दिरतर्फ प्रस्थान गर्दछन् ।’
बडिमालिका मन्दिरमा प्राचीन कालदेखि नै मेला लाग्ने र पूजाआजा हुँदै आएको छ । बडिमालिका मन्दिरका पुजारी नेत्रराज पाध्यायका अनुसार आफ्नो परिवारका १४ पुस्ता अघिदेखि पूजा भइरहेको अभिलेख छ । वि. सं १८८३ मा राजा रणबहादुर शाहद्वारा बडिमालिकालाई राष्ट्रिय धार्मिक आस्थाको क्षेत्रका रूपमा लालमोहर लगाएर प्रमाणित गरेको पुजारी परिवारको भनाइ छ । राजा रणबहादुर शाह स्वयंले पनि बडिमालिकाको दर्शन गरेको भन्ने भनाइ छ ।
बडिमालिका पूजाआजा सकेर त्रिवेणी नगरपालिकाको नाटेश्वरी मन्दिरमा दर्शन गर्ने परम्परा छ । बडिमालिका दर्शन गरिसकेपछि बाजुराको त्रिवेणी नगरपालिकास्थित नाटेश्वरी भगवतीको दर्शन गर्नुपर्ने धार्मिक मान्यता रहिआएको बडिमालिकाका पुजारी उपाध्याय बताउँछन् । तीर्थयात्रीहरू नाटेश्वरीमा रक्षाबन्धन बाँधेर पूजाआजा गरि आआफ्ना गन्तव्यतर्फ फर्किन्छन् ।
स्कन्दपुराणमा मानसरोवरको दर्शन गरेपछि बडिमालिकाको दर्शन अनिवार्य रहेको उल्लेख छ । यहाँ पुगेर पूजाआजा गरेपछि इच्छाएको वरदान प्राप्त हुने जनविश्वास रहेको पुजारी नेत्रराज पाध्याय बताउँछन् ।
चित्ताकर्षक बडिमालिका
समुद्री सतहदेखि ४ हजार २ सय १६ मिटर उचाइमा फैलिएको छ बडिमालिका क्षेत्र । डिभिजन वन कार्यालय बाजुराका अनुसार बडिमालिका करिब पाँच सय वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । २२ वटा समथर हरिया पाटन (फाँट) रहेको बडिमालिकामा मनमोहक त्रिवेणी क्षेत्र, ती फाँटमाथि फुलेका रङ्गीचङ्गी फूल, त्रिवेणी, विष्णुपानी, खेतीवेती, लौरी विनायक, धर्मद्वार बडिमालिका क्षेत्रका मुख्य मनमोहक स्थल हुन् ।
खेतीबेतीमा परापूर्वकालदेखि खेत रोपिएको, धान रोप्नका लागि तयार पारिएका गह्राहरु, त्यसबीचमा फालिएका बीउका मुठाहरु जस्ताका तस्तै रहेको अनौठो दृश्य छन् । हिउँ पर्ने बेला त्रिवेणी पाटनमा हिउँ चिप्लेटी (आइस स्केटिङ) को सम्भावना छ । यो क्षेत्र जैविक विविधतामा समेत अत्यधिक धनी मानिन्छ । सयौं प्रजातिका जडीबुटी यहाँ पाइने वन प्राविधिकहरू बताउँछन् । यहाँको प्राकृतिक सौन्दर्यताले जोकसैलाई लोभ्याउँछ ।
बडिमालिका यात्राका क्रममा पाटन क्षेत्रमा बाटैभरि टाढासम्म फैलिएका हरिया पाटन, अग्ला थुम्काहरु, थुप्रै स–साना मन्दिर, खोला, झरना आदिले मन लोभ्याउँछन् । यात्राको थकानलाई बडिमालिका क्षेत्रको सुन्दर दृश्यले मेटाउँछन् । पाटनमा ढकमक्क फुल्ने अनेकौं प्रजातिका फूलहरु यस क्षेत्रका थप आकर्षण हुन् । तर बडिमालिकामा भौतिक पूर्वाधारको अभाव छ । सहज बाटोघाटो, शौचालय, खानेपानी, धर्मशालाहरु यहाँ उपलब्ध छैनन् ।
जैविक विविधताको भण्डार
‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखिने बाह्रसिंगाका बथान जस्तै बडिमालिकामा झारल, मृगका कैयौं बथानहरुको दृश्यावलोकनले लोभ्याउँथ्यो,’ मन्दिर निर्माणको नेतृत्व गर्दै खटिएका महासेनानी पौडेलले भने, ‘बडिमालिका क्षेत्रमा दुर्लभ जडीबुटीहरुका त फाँटैफाँट छन्, डाँफे मुनाल, अनेकौँ प्रजातिका चराचुरुङ्गीहरु देख्न पाइन्छ ।’
बडिमालिका क्षेत्रमा बहुमूल्य जडीबुटीहरु कुट्की, वन लसुन, सुगन्धवाल, पदमचाल, भूतकेश, बायोजडी, पाँचऔंले लगायत ४५ बढी प्रजातिका दुर्लभ तथा बहुमूल्य जडिबुटी पाइने गरेको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ । साथै, क्यान्सरको औषधीमा प्रयोग हुने ट्यास्सोल उत्पादन हुने लौठ सल्ला, गोब्रे सल्ला लगायतका वनस्पति पनि बडिमालिकामा प्रशस्तै छन् ।
संरक्षणमा बेवास्ता
प्रकृतिले दिएको यति विराट र दुर्लभ उपहारका रूपमा रहेको बडिमालिका सरकारको भने प्राथमिकतामा कहिल्यै परेन । नेपाल सरकार वा प्रदेश सरकार कसैले पनि बडिमालिकाको दिगो विकासका लागि ठोस काम गरेका छैनन् । यस क्षेत्रका बासिन्दाले दशकौंदेखि बडिमालिकालाई संरक्षित क्षेत्र बनाएर दीर्घकालीन पर्यटन विकासको योजना अघि बढाउन याचना गर्दै आए, तर सुनिदिने कोही भएन । व्यवस्थित पर्यटन विकासको योजना बनाएर कार्यान्वयन गरिएको भए बडिमालिकाले सुदूरपश्चिम मात्रै होइन, देशकै अर्थतन्त्रलाई समृद्धि दिनेमा पर्यटन व्यवसायीहरूले औँल्याउँदै आएका छन् ।
सरकारले ०६८/६९ कै बजेट वक्तव्यमा बडिमालिका क्षेत्रलाई संरक्षित क्षेत्रका रूपमा अघि बढाउने उल्लेख गरेको पनि थियो । तर कार्यान्वयन गरेन । छाडा चरिचरन, मनमर्जी सडक निर्माण, जडीबुटी र वन्यजन्तुको चोरीतस्करीले बडिमालिकाको जैविक विविधता नासिँदै गएको संरक्षणकर्मीहरु बताउँछन् । ‘सरकारले संरक्षण योजना अघि नबढाउने हो भने बडिमालिकाको जैविक विविधता जोगिन मुस्किल छ,’ गोरखाका ज्ञानेन्द्र दवाडी भन्छन्, ‘बाजुरा र कालिकोटका विभिन्न ठाउँबाट मनमर्जी ढंगले सडक खन्ने काम भइरहेको छ । पाटनमा सडक खन्ने हो भने बडिमालिकाका पाटनहरुको जैविक महत्त्व नै धरापमा पर्ने छ ।’
बाजुरास्थित बडिमालिकाका नगर प्रमुख खड्का र त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापा आफूहरूले अनेक प्रयत्न गर्दा पनि संघ र प्रदेश सरकार कसैले बडिमालिका क्षेत्रको पर्यटन विकासका लागि आवश्यक महत्त्व नदिएको बताउँछन् ।
सम्बन्धित समाचारहरु :
