१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बेजोड बडिमालिका [फोटोफिचर]

वसन्तप्रताप सिंह

बाजुरा, बडिमालिका — प्राकृतिक छटाले भरिपूर्ण बडिमालिका धार्मिक तथा पर्यटकीय हिसाबले प्रचूर सम्भावना बोकेको क्षेत्र हो । बडिमालिका क्षेत्र सुदूरपश्चिम प्रदेशको बाजुरा, अछाम र कर्णाली प्रदेशको कालिकोटको संगमस्थलमा हो भने मुख्य पुजाथान भने बाजुरा जिल्लामा पर्छ । बाजुराको सदरमुकाम मार्तडीको बाटो भएर जाँदा ३/४ दिनको पैदलयात्रा गरेपछि सोता पाटन, त्रिवेणीधाम हुँदै बडिमालिका पुग्न सकिन्छ ।

दैनिक ५ देखि ६ घण्टासम्म पैदल हिँड्नुपर्छ । बर्सेनि जनैपूर्णिमाको अवसर पारेर लाग्ने बडिमालिका मेलामा देशभरका तथा छिमेकी मुलुक भारतबाट श्रद्धालु भक्तजनहरु तीर्थयात्रा गर्न आइपुग्छन् । तीनवटा नदीको संगम रहेको त्रिवेणीधामको छुट्टै महत्व छ । भक्तजनहरुले यहाँ पितृहरुको श्राद्ध गर्छन् । नुहाइधुवाइ, सरसफाइ गरेर बडिमालिका थानतिर उक्लिन्छन् । भोलिपल्ट बिहान बडिमालिकाको थानमा पूजा गरेर बाजुराकै नाटेश्वरी मन्दिरतिर लाग्छन् । नाटेश्वरी मन्दिरमा पूजा गरेपछि बडिमालिका दर्शनको चक्र पूरा हुन्छ भन्ने मान्यता छ ।

बडिमालिकामा मेला लाग्ने बेला मार्तडीबाट पैदलयात्रा सुरु हुँदैदेखि स्थानीयहरुले बाटोमा पूजाको थाली राखेर भक्तजनहरुको यात्रा सफल होस् र बडिमालिकाले आशीर्वाद दिउन् भन्ने कामना गर्ने गर्छन् । बाटोमा खाने, बस्ने व्यवस्था आफैले गर्नुपर्छ । मेला अवधिभर भने त्रिपालमुनि अस्थायी होटलहरु सञ्चालन गरिएको हुन्छ । भक्तजनहरुले बस्न पाल, टेन्ट, लत्ताकपडा बोकेरै आउँछन् । यस वर्ष १२ हजार जति भक्तजनले बडिमालिका दर्शन गरेको मेला आयोजक समितिको आकलन छ ।

बडिमालिका समुद्री सतहदेखि ४२०० मिटर उचाइमा अवस्थित छ । बाटैभरी टाढासम्म फैलिएका हरिया पाटन, अग्ला पहाडहरु, थुप्रै स—साना मन्दिर, खोला, झरना आदिले मन लोभ्याउँछन् । अग्ला—अग्ला पहाडहरुमा उकालो-ओरालो गर्दै, कतै साघुरा बाटाहरु यात्रा गरिरहँदाको थकानलाई यहाँ देखिने सुन्दर दृष्यले मेटाउँछन् । युवादेखि जेष्ठ नागरिक पुस्ताका भक्तजनहरु मेलामा आउने, बडिमालिका थानमा आशीर्वाद माग्ने, मनोकांक्षा पूरा भएको भन्दै धन्यवाद व्यक्त गरेर फर्कन्छन् ।

पृथ्वीनारायण शाहकै पालादेखि नै लाग्दै आएको यो मेलामा सरकारीस्तरबाटै पूजा गर्ने गरिन्छ । बडिमालिकाको दर्शन गरेपछि चिताएको पूरा हुन्छ भन्ने जनविश्वास छ । वर्षको अधिकांश समय यहाँ हिँउ पर्छ । मेला लाग्ने समयमा हरियाली हुन्छ । रंगीचंगी फूल फुलेका हुन्छन् । लेकाली भेगमा पाउने विभिन्न जडिबुटीहरु पाइन्छन् । यो क्षेत्र पर्यटकीय सम्भावना बोकेको भए पनि प्रचारप्रसार र प्रवर्द्धन नपुगेको सरोकारवाला बताउँछन् । यसकारण मेलाबाहेक समय पुग्नेहरुको संख्या एकदमै कम हुने गरेको छ । भक्तजन तथा पर्यटकहरुलाई आवतजावत सहजताका लागि सोता पाटनसम्म सडक निर्माण पनि भइरहेको छ ।


प्रकाशित : श्रावण २८, २०७९ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्