बेवारिस बडिमालिका : फूल, जडिबुटी र वन्यजन्तु लोप हुँदै - फिचर - कान्तिपुर समाचार

बेवारिस बडिमालिका : फूल, जडिबुटी र वन्यजन्तु लोप हुँदै 

अति चरिचरन, जथाभावी जडिबुटी संकलन र चोरी सिकार निस्फिक्री 
वसन्तप्रताप सिंह

बडिमालिका, बाजुरा — बाजुराको बूढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँ २७ वर्षअघि २०५२ सालमा पहिलोपटक बडिमालिका पुगेका थिए । त्यहाँको अलौकिक दृश्य देखेर उनी यसरी रोमाञ्चित भएका थिए कि त्यो सम्झना अझै उनको मनमा गाढा भएर बसेको छ ।

‘अहो ! त्यसरी फूल फूलेका त मैले कतै पनि देखेको थिइन । जता हेर्‍यो त्यतै ढकमक्क फूल फूलेका । फूल हो कि ? गलैंचा ओछ्याएको हो ? छुट्याउनै गाह्रो पर्थ्यो,’ उनले भने, ‘फूलले नढाकेको त कुनै ठाउँ थिएन । त्यस्तो अद्भूत दृश्य देख्दा स्वर्ग भनेको यही त रहेछ जस्तो लागेको थियो ।’

पहिलोपटक पुग्दा बडिमालिका क्षेत्रमा पर्ने सोतापाटन, घोडापाटन, भिति छिर्ना, बुढीमाईको थान, त्रिवेणी, दौडाई लाग्ने पाटन, लौरी विनाई, बडिमालिका थानलगायत सबै पाटनका कुनाकाप्चा काहीं पनि बाँकी नरहेर सयौंथरिका फूलले ढाकिएको देख्दा आफूलाई स्वर्गीय आनन्दको अनुभूति भएको स्मरण उनले सुनाए ।

त्यसयता पटक-पटक गरेर उनी छपटक बडिमालिका पुगिसकेका छन् । पछिल्ला वर्षमा फूलको संख्या घट्दै गएको देखेका उनले अनुभव गरेका छन् । ‘पछिल्ला वर्षहरुमा पहिलाको तुलनामा पाटनमा फूल्ने फूलको संख्या घट्दै जान थालेको थियो,’ उनले भने, ‘यो वर्ष पुग्दा त पहिला फूलैफूलले भरिएको देखिने पाटनमा एउटा पनि फूल रहेनछ । यहाँको सौर्न्दयता त खतम भैसके छ ।’ फूलैफूलको नर्सरीजस्ता देखिने त्रिवेणी, दौडाइलाग्ने, लौरी विनाई पाटन र बडिमालिका मन्दिर क्षेत्र पुरै उजाड देख्दा मनै खिन्न भएको उनले बताए ।

जनैपूर्णिमाका बेला यहाँ भव्य मेला लाग्ने गर्दछ । मेलाको बेला बडिमालिका माइको दर्शन गर्दा मागेको वरदान पाइन्छ भन्ने विश्वासका कारण यहाँ नेपाल मात्रै नभएर भारतबाट समेत दर्शनार्थीहरु आउने गर्दछन् । इच्छित वर प्राप्त भएपछि बडिमालिकालाई धन्यवाद दिन दर्जनौंपटक यहाँ पुग्नेहरु पनि छन् । थुप्रैपटक बडिमालिका पुगेका र यहाँको सुन्दरता अनुभव गरेका सर्वसाधारण चिन्तित हुन थालेका छन् ।

५० वर्षअघि पहिलोपटक बडिमालिका आएकी डोटीकी जमुना गिरी अहिलेसम्म १३ पटक त्यहाँ पुगिसकेकी छिन् । आफूले आधा सताब्दीअघी देखेको र अहिलेको बडिमालिका पत्याउनै नसकिने गरी फेरिएको उनी बताउँछिन् । त्यहाँबाट लगेको मधुजडी खुवाएपछि आफ्नो दिर्घरोग ठिक भएको बताउने उनले अचेल जडिबुटी पनि हराइसकेको बताइन् ।

‘पहिलाको हेरुँ भन्या त यो उही बडिमालिकाको हो की होइन, भन्या जस्तो लाग्छ,’ ६९ वर्षीया गिरी भन्छिन्, ‘त्यतिबेला हिड्न्याँ बाटामा पनि जडिबुटी हुनाछया (हुन्थे) । अचेल केइकेइ (कुनै कुनै) जडिबुटी पाटन भरी खोज्या पनि नैपाइन्या (पाइँदैनन्) । अचेल माइस मातरै (मान्छे मात्रै) छन् । उति रुप्स्या (राम्रा) फूल, जडिबुटी सबै हराइगया ।’

उनले पाटन क्षेत्रमा प्रशस्त मात्रामा पाइने मधुजडी, धुपजडी, पदचाल, बायोजडी, निनाइजडी, भुतकेश जस्ता जडिबुटी र ब्रम्हकलम, जोगीफूल, टुकीफूल, बुकीफूल, सुनफूल आदी फूलहरु १०/१५ वर्ष यता पाइन छाडेको बताइन् । मानिसले जथाभावी गरेको कारण बडिमालिका माई रिसाएर पाटन क्षेत्रका जडिबुटी र फूल हराउन थालेको उनले तर्क गरिन् । ‘अचेल कलिजुग लाग्या, मान्स (मान्छे) जथाभौती (जथाभावी) गर्न लाग्या । यो देविले निको मान्याको छैन,’ उनले भनिन् ।

बडिमालिका क्षेत्रमा पाँचऔले, सुनपाती, चिराइतो, पाखनवेद, काउलो, चुत्रो, पावन काउलो रातो च्याउ, अल्लो, कटुकी, सुगन्धवाल, चिराइतो, कुरिलो, गुच्ची च्याउ, पदमचाल जस्ता जडिबुटी पाउने क्षेत्र हो । यस्तै विषजरा, मधुजडी, धुपजडी, वनलसुन, बायोजडी, निनाइजडी, भुतकेश जटामसी लगायत दर्जनौं प्रजातिका जडिबुटी पनि यहाँ पाइन्छन् । औषधीय गुण भएका यी जडिबुटीहरु बहुमुल्य हुन्छन् । यस क्षेत्रमा पाइने ब्रम्हकमल, बुकी फूल, जाई, जुई चमेली, सुन जाई, इन्द्रकमल, सेतो गुराँस, चाँप, चिमालो लगायत एकसयभन्दा बढी प्रजातिका दुर्लभ फूलहरु पाइन्छन् ।

मनोरम प्राकृतिक छटाले युक्त बडिमालिका सूदुरपश्चिमकै महत्वपुर्ण धार्मिक र सांस्कृतिक वैभव मात्रै होइन । समुन्द्र सतहदेखि दुई हजार मिटरबाट अग्लिँदै ४ हजार २ सय मिटरसम्म फैलिएको यो क्षेत्र जैविक विविधताका दृष्टीकोणले पनि महत्वपूर्ण र संवेदनशिल छ । यद्यपी सरकारले यस क्षेत्रमा पाइने जैविक विविधताको संरक्षणमा वेवास्ता गर्दा बहुमुल्य जडिबुटी र फूलहरु मात्रै होइन दुर्लभ पारिस्थितिकिय प्रणाली नै लोप हुने खतरा बढ्दो छ ।

स्थानियहरुका अनुसार बडिमालिका क्षेत्रमा जनै पूर्णिमामा लाग्ने मेलाको बेला बाहेक अरु समयमा सरकारी उपस्थिति शुन्य हुन्छ । यही मौका छोपेर अछाम, बाजुरा, कालिकोट, जुम्ला र मुगु लगायतका जिल्लाबाट आएका स्थानीयले अवैध रुपमा जडिबुटी संकलन गर्ने, वन्यजन्तु र पंक्षिको सिकार गर्ने जस्ता गतिविधीहरु निष्फक्री हुने गरेका छन् । ‘अहिले त त्यहाँ फूल फूल्न पनि छाडे, जडिबुटी मात्रै होइन जिव जनावर पनि भेटिदैनन् । पहिलाको जस्तो बडिमालिका अब रहेन,’ बडिमालिका नगरपालिकाका डम्म थापा भन्छन्, ‘यसरी बोट विरुवा र जिवजन्तु हराउँदै जाने हो भने बडिमालिकाको महत्व पनि के रहला र ?’

उनले यो क्षेत्रमा पाइने जिवजन्तु र वनस्पतीहरु लोप हुँदै जानुको कारण संरक्षणको जिम्मा लिएका निकायहरुको चरम वेवास्ता भएको बताए । ‘यहाँ जसले जे गरे पनि रोक्न कोही आउँदैनन् । सबैको मनपरी भए पछि यस्तै हो,’ उनले भने ।

यो क्षेत्रमा विभिन्न जिल्लाबाट चराउनका लागि ल्याइएका भेडा च्यांग्राहरु बैसाखदेखि असोजसम्म छाडा रुपमा चराउने चलन छ । ठूलो संख्या भेडा च्यांग्राहरुले लामो समय चरिचरन गर्दा पनि यहाँको जैविक विविधता नोक्सान भइरहेको जानकारहरुको भनाइ छ ।

‘चोरी सिकार, जथाभावी जडिबुटीको संकलन मात्रै होइन । वर्षको ६ महिनासम्म १०/१५ हजार भन्दा भेडाबाख्रा त्यही हुन्छन् । सयौंको संख्यामा घोडा भैंसीहरु पनि छाडा छोड्ने गरिएको छ,’ बाजुरा बुढीगंगा नगरपालिका स्थानीय समेत रहेका सामाजिक कार्यकर्ता देवेन्द्र शाहले भने, ‘सरकारको उपस्थिति शुन्य छ । सरकारको निगरानी नभए पछि जसले जे गरे पनि भयो ।’ अछाम, बाजुरा, कालिकोट, जुम्ला, हुम्ला र मुगु लगायतका जिल्लाबाट ठूलो संख्यामा भेडा च्यांग्रा त्यहाँ चराउन ल्याउने गरिएको उनले बताए ।

बडिमालिका जस्तो अनुपम जलवायु र जैविक विविधता भएको क्षेत्रको पर्यावरणीय विनास भइरहेको प्रति यहाँ पुग्ने दर्शनार्थी र स्थानीय जस्तै वातावरणविदहरु पनि चिन्तित छन् । जैविक विविधताले भरिपूर्ण बडिमालिका जस्ता ठाउँहरु विश्वमा कमै मात्रै भेटिने भएकाले यस्ता क्षेत्रको संरक्षणमा सरकारले उच्च संवेदनशिलता अपनाउनु पर्ने उनिहरुको सुझाव छ ।

‘यस्तो अद्वितिय पारिस्थितिकिय प्रणाली भएका ठाउँहरु नेपाल मात्रै होइन अन्य देशमा पनि कमै भेटिन्छन्,’ त्रिभुवन विश्वविद्यालय वनस्पती विभागका एसोसिएट प्रोफेसर डा. नारायण घिमिरे भन्छन्, ‘४ हजार मिटरभन्दा माथि विशाल घाँसे मैदान (पाटन) हुनु र त्यहाँ सयौं प्रजातिका वनस्पतीहरु भेटिनु भनेको दुर्लभ प्राकृतिक अवस्था हो ।’ उनले यहाँ पाइने कतिपय वनस्पती र जिवजन्तु इन्डेमिक (यो ठाउँ बाहेक अन्त नपाइने खालका) प्रजातिका हुने भएकोले यहाँबाट लोप भए संसारबाट सदाका लागि हराउने खतरा हुने बताए । ‘तर सरकारले जैविक विविधता जोगाउने सवालमा जंगल, सिमसारलाई मात्रै प्राथमिकतामा राखेको छ । यस्ता घाँसे मैदानहरुमा भेटिने पारिस्थितिकिय प्रणाली जोगाउन सकिएन भने भविश्यमा ठुलो पछुतो हुनेछ ।’

पर्यावरणिय, धार्मिक, साँस्कृतिक र पर्यटकीय धरोहरको रुपमा रहेको बडिमालिकाको जैविक विविधता संकटमा परेको बारे यहाँका स्थानीय सरकारदेखि संरक्षणको क्षेत्रमा कार्यरत निकायहरु बेखवर भने छैनन् । यद्यपी यो क्षेत्रको वातावरण संरक्षणका लागि उनीहरुले प्रयास भने गरेका छैनन् । बडिमालिकाको जडिबुटी, फूल र वन्यजन्तुमध्ये धेरैजसो लोप हुने अवस्थामा पुगिसकेको डिभिजन वन कार्यालय बाजुराका अधिकारीहरु स्विर्काछन् । तर, कुन जडिबुटी र फूल प्रजाती लोप भएका छन् र के कारणले लोप भएका हुन् ? भन्ने बारे भने कुनै अध्ययन नभएको डिभिजन वन कार्यालय बाजुराका निमित्त प्रमुख हरी यादवले बताए ।

‘धेरै जडिबुटी र फूलहरु लोप भैसकेका छन् । यो विषयमा अध्ययन गर्नका लागि प्रदेश सरकारलाई बजेट पनि मागेका हौं तर, पैसा हालिदिएनन्,’ उनले भने । जलवायु परिर्वतन र अवैज्ञानिक तरिकाले जडिबुटी संकलनका कारण बहुमुल्य जडिबुटीहरु लोप भएको हुनसक्ने उनको अनुमान छ ।

यो क्षेत्रमा प्रतिबन्धित पाँचऔले लगायतका जडिबुटीको संकलन र डाँफे कस्तुरीजस्ता लोपोन्मुख वन्यजन्तुको चोरी सिकार हुने गरेको भएपनि निगरानी गर्न नसकिएको उनको भनाई छ । ‘कसैले उजुरी दियो भने वन रक्षकहरु पठाउने गरेका छौं । त्यहाँको क्षेत्र पनि ठूलो छ । हामीसँग जनशक्ति कम छ,’ उनले भने, ‘अहिले कै कर्मचारीले बडिमालिकाको नियमित अनुगमन सम्भव छैन । हाम्रो उपस्थिति नभएपछि मनपरी हुने नै भयो ।’

संरक्षण क्षेत्र नभए झनै बिग्रन्छ : जनप्रतिनिधी

बडिमालिका क्षेत्र बाजुराको त्रिवेणी, बडिमालिका, बुढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिकामा, कालिकोटको सान्नी त्रिवेणी र अछामको रामारोसन गाउँपालिकाको बीचमा पर्दछ । कालिकोटकै पचाल झरना गाउँपालिकाले पनि यो क्षेत्रले आफ्नो पालिका पनि छुने दाबी गर्दै आएको छ ।

बडिमालिकामा पर्ने पाटन क्षेत्रको कुल क्षेत्रफल कति छ भन्ने कुराको आधिकारीक मापन भएको छैन । यी सबै पालिकाले बडिमालिका आफ्नो क्षेत्रमा पर्नेभन्दै पर्यटन प्रर्वद्धनका लागि वर्षेनी ठूलो रकम लगानी गरेर विभिन्न कार्यक्रम संचालन गर्दै आएका छन् । तर, यहाँको बिग्रँदै गएको पर्यावरणको बारेमा जानकार भएपनि संरक्षणको लागि कसैले पनि पहल गरेका छैनन् ।

‘बडिमालिकाको जैविक विविधता र पर्यावरण अब सकिने अवस्थामा पुग्दैछ । थुप्रै प्रजातीका प्राणी र वनस्पती लोप भैसकेको,’ २० पटकभन्दा बढी त्यहाँ पुगेका बाजुराको त्रिवेणी नगरपालिकाका प्रमुख कर्णबहादुर थापाले भने, ‘तर यहाँको बेथिती नियन्त्रण गर्न एउटा पालिकाले चाहँदैमा केही हुनेवाला छैन । सरकारले यो क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेर काम अगाडी बढाउन सकेन भने यहाँको पर्यावरणिय अस्तित्व नै समाप्त हुनेवाला छ ।’

बडिमालिका बाजुराको मात्रै नभएर धार्मिक, सांस्कृतिक, पौराणिक र अद्वितिय पारिस्थितिकिय प्रणालीका दृष्टीकोणले राष्ट्रकै सम्पत्ति भएकोले यसको संरक्षणमा प्रदेश र संघीय सरकारले ध्यान दिनुपर्ने बडिमालिका नगरपालिकाका प्रमुख अमर खडकाले बताए ।

‘बडिमालिकाको जैविक विविधता संकटमा परिसकेको छ । तत्काल संरक्षणको कदम चाल्न सकिएन भने झन झन विग्रदै जानेवाला छ,’ उनले भने, ‘अब पालिकाहरुको प्रयासले मात्रै यो नियन्त्रण गर्न सम्भव छैन भनेर हामीले यो विषयमा नगरपालिका महासंघ मार्फत पनि सरकारको ध्यानाकर्षण गराउने कोशिस गर्‍यौं । राष्ट्रपतिलाई समेत बिफ्रिङ गरेका छौ । यस्तो अलौकिक ठाउँको संरक्षणको लागि सरकारले निर्णय गर्न हतार नगरोस् ।’ उनले बडिमालिका क्षेत्रसँग सीमा जोडिएका पालिकाहरुको संयुक्त बैठक बसेर यो विषयमा सरकारको ध्यानाकर्षण गर्ने तयारी पनि भैरहेको बताए ।

प्रदेका प्रमुख पर्यटकीय, धार्मिक र पयावरणीय महत्वका स्थानको संरक्षण गर्ने जिम्मा पाएको प्रदेश सरकारले भने यहाँको बिग्रँदै गएको वातावरणीय अवस्थाको बारेमा सोधखोज समेत गरेको छैन । ‘हामीले त्यहाँ पुग्ने पर्यटकलाई कसरी सजिलो बनाउन सकिन्छ भनेर पदमार्ग बनाउने, होमस्टेहरुको व्यवस्था गर्ने जस्ता कार्यक्रमहरु गुरुयोजना नै बनाएर लागु गरिरहेका छौं,’ सुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीले भने, ‘तर त्यहाँको वातावरणीय पाटोको वारेमा भने पर्याप्त अध्ययन भएको छैन । आगामी दिनमा यो विषयमा छलफल गरेर अगाडि बढ्छौं ।’ बडिमालिका क्षेत्रका स्थानीयतहले सहमति गरेर आएमा यस क्षेत्रलाई संरक्षित क्षेत्रका रुपमा घोषणा गरेर पर्यावरण जोगाउनका लागि प्रदेश सरकारले काम गर्ने उनले बताए ।



तस्बिरहरु : वसन्तप्रताप सिंह ।


प्रकाशित : आश्विन २५, २०७९ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्

बेपत्ता पर्यटक गाइड ५ दिनपछि मृत भेटिए

हरिराम उप्रेती

गोरखा — असोज २० गतेदेखि लार्केपासमा हराइरहेका पर्यटन गाइड ३८ वर्षीय पुस्तर(पुछेत्तर) शेर्पा पाँच दिनपछि मंगलबार मृत भेटिएका छन् । चुमनुव्री गाउँपालिका–१ सामागाउँस्थित धर्मशालानजिकै शेर्पाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लीलाराज लामिछानेले जानकारी दिए ।

हिमालयन ट्रेक नामक एजेन्सीबाट गएका चारमध्ये दुई फ्रान्सेली नागरिक लार्के पास गरी मनाङतर्फ गएका थिए भने सोलखुम्बु घर भएका लामा सम्पर्कविहीन बनेका थिए ।

उनीसँगै गएका अर्का पोर्टर भने सामागाउँबाट फर्किएका छन् । लगातारको हिमपातले शेर्पा फसेको हुनसक्ने अनुमान गरिएको छ । शेर्पाको शव मंगलबार नै काठमाडौं पठाइएको छ ।

प्रकाशित : आश्विन २५, २०७९ १७:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×