विद्यार्थी भन्छन्– 'आम्दानी पनि भइरहेपछि घरबाट पढाइ र अन्य खर्च खासै माग्न परेको छैन ।'
वीरेन्द्रनगर, बागलुङ,धनगढी — बर्दियाको बारबर्दिया–७ रम्बापुरका दीपेश बस्नेत सुर्खेतको जनज्योति माध्यमिक विद्यालयमा तीन वर्षे भेटेरिनरी विषय पढिरहेका छन् । दोस्रो वर्षमा अध्ययनरत उनले दुई जना अरु साथीसँग मिलेर विद्यालयमै कुखुरापालन गरिरहेका छन् । सुरुमा स्थानीय जातका कुखुरा पाल्न सुरु गरेका उनीहरुले ब्रोइलर पालन गर्दै आएका छन् । विद्यालयमा पढ्न आएको केही दिनबाटै ‘पढ्दै–कमाउँदै’ कार्यक्रम अर्न्तगत कुखुरापालन गर्न सुरु गरेको उनले बताए ।
'विद्यालयबारे बुझेपछि पढ्न आएको थिएँ,' उनले भने, 'सरहरुसँग बुझेर कुखुरापाल्न सुरु गरिहालेँ । सुरुमा सिक्नका लागि दुई दर्जनसम्म स्थानीय जातका कुखुरा पालियो । अहिले ५ सय ब्रोइलर छन् । साथीहरु मिलेर काम गर्छौँ ।'
उनका अनुसार यसबाट आम्दानी पनि भइरहेको छ । घरबाट पढाइ र अन्य खर्च खासै माग्न नपरेको उनले बताए । कहिलेकसो अपुग रकम मात्र माग्ने गरेको र बिस्तारै घर पैसा पठाउने गरी व्यवसाय गर्ने योजनामा बनाएको उनले सुनाए । व्यवसायको लागि सबै लगानी विद्यालयले नै गरेको उनले बताए । कमाएपछि लगानी दिने र आम्दानी सबै आफूहरु राख्ने नियम रहेको उनले बताए । अन्य धेरै साथीहरुले पनि विद्यालयमा विभिन्न व्यवसाय गरिरहेको उनले बताए ।
सुर्खेतको बराहताल गाउँपालिका–५ बड्डीचौरस्थित जनज्योति माध्यमिक विद्यालयले २०६८ सालबाट ‘पढ्दै–कमाउँदै’ कार्यक्रम सुरु गरेको हो । विद्यालयमा प्राविधिक शिक्षा भेटेरिनरी र कृषितर्फ १८ महिने र तीन वर्षे कक्षा सञ्चालन भएपछि कार्यक्रमको सुरुवात गरिएको हो । विद्यालयमा पढ्न आएका बालबालिका ६ घण्टाजति पढाइमा हुने र बाँकी समय खाली हुने भएकोले विद्यालयले ‘पढ्दै–कमाउँदै’ कार्यक्रमको सुरुवात गर्ने योजना ल्याएको प्रधानाध्यापक नारायण सिग्देलले जानकारी दिए । ‘कृषि विषय पढाइ सुरु भएको विद्यालयमा प्रयोगात्मक कक्षा पनि राम्रोसँग हुन सकेको थिएन,’ उनले भने,‘विद्यार्थीलाई व्यवहारी कुरा सिकाउन र पढिसकेपछि आयआर्जन गरेर जीविकोपार्जन गर्न सक्ने विद्यार्थी बनाउनका लागि विद्यालयले कार्यक्रम सुरु गरेको हो ।’ श्रम गर्न र बेच्न नजानेपछि पढाइ गरेर मात्र केही नहुने रहेछ भन्ने सोचका साथ विद्यालयले यो कार्यक्रमअघि सारेको सिग्देलले बताए ।
विद्यालयबाट ऋण लिएर सामूहिक व्यवसाय गर्न चाहने विद्यार्थीले पहिले समूह गठन गर्छन् । त्यसमा कुन व्यवसाय रोजेर कक्षा शिक्षकलाई प्रस्ताव दिन्छन् । त्यसअनुसार शिक्षकले ऋण दिन विद्यालयलाई सिफारिस गर्छन् । विद्यार्थीलाई कम्तीमा ५ हजारदेखि एक लाख रुपैयाँसम्म ऋण दिइरहेको छ । ‘विद्यार्थीलाई सर्च–रिसर्च र खर्चको विधि अपनाएर व्यवसायमा संलग्न गराएका छौं,’ उनले भने, ‘यसबाट विद्यार्थीले कतिसम्मको व्यवसाय गर्न सक्छु भनेर पहिचान गर्छ । धेरै लगानी गरेर व्यवसाय गर्नुपरे बैंकिङ प्रक्रियाबाट भए पनि ऋण उपलब्ध गराउँछौं ।’ प्रधानाध्यापक सिग्देलका अनुसार प्राविधिक शिक्षा पढ्ने विद्यार्थीले पहिले ५ हजार रुपैयाँ धरौटी राख्छन् । त्यही कोषमा जम्मा भएको रकम विद्यालयले ऋणस्वरूप दिने गरेको हो ।
सरकारको आर्थिक वर्ष २०७८/७९ बाट सुरु भएको ‘पढ्दै, कमाउँदै’ कार्यक्रम सुरु गरेको हो । तर जनज्योतिले भने सरकारको कार्यक्रमभन्दा अघिबाटै सुरु गरेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पढ्दै कमाउँदै कार्यक्रमका लागि सुरुमा १४० विद्यालय छनोट गरेको थियो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउँदै कार्यकम (लर्निङ बाइ अर्निङ) विद्यालय सहयोग कार्यक्रममा कर्णाली प्रदेशका २० वटा विद्यालय छनोट भएका थिए । प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गर्दै सरकारले पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने गरी कार्यविधि तयार गरेको थियो ।
अहिले जनज्योतिमा प्राविधिक शिक्षातर्फ १८ महिने र ३ वर्षे कृषि भेटेरिनरी शिक्षा पढाइ हुन्छ । विद्यार्थीहरुले पढ्दै कमाउँदै गरिरहेका छन् । साधारणतर्फका विद्यार्थी र अभिभावकमा पनि विद्यालयले यो कार्यक्रम लागू गरिरहेको छ । कार्यक्रम निकै सफलतापूर्वक सञ्चालन भइरहेको प्रधानाध्यापक सिग्देलले बताए ।
विद्यार्थीहरुले बंगुर, कुखुरा, बट्टाई, हाँस पालेका छन् । धान, केरालगायत तरकारी खेती पनि गरिरहेका छन् । बजारमा चुरापोते बाहिरबाट आएपछि कक्षा ११ र १२ को छात्राहरुलाई तालिम दिइयो । उनीहरु चुरापोते बुन्ने व्यवसाय गरिरहेका छन् । कतिपयले समूहमा गरिरहेका छन् भने केहीले एक्लै पनि गरिरहेका छन् । अहिलेसम्म यो कार्यक्रमबाट ३ सय बढी विद्यार्थी लाभान्वित भएका विद्यालयले जनाएको छ ।
सुरुवातमा विद्यालयको ६ रोपनी जमिन थियो । यहीँबाट कार्यक्रम सुरु गरिएको थियो । अहिले विद्यालयले २० बिगाह जमिन जोडेको छ । १ बिगाहामा माछापोखरी बनाएर माछापालन गरिएको छ । महायज्ञबाट विद्यालयले जमिन जोडेको हो । प्रदेश सरकारले ५० लाख बजेट दिएको थियो । अन्य विभिन्न संघसंस्थाले पनि विद्यालयलाई सहयोग गरेका थिए । विद्यालयको खेतमा टनेल र बाख्रा फर्म छ । ५० बढी बाख्रा पालिएको छ । पढाइ सकेका विद्यार्थी त्यहीँ व्यवसाय पनि गरिरहेका छन् । विद्यालयले बजार खोज्न सहयोग गर्छ । विद्यार्थीहरु बजारसम्म आफूले उत्पादन गरेका सामग्री पठाउँछन् । यसका विद्यालयले पनि समन्वय गर्दै आएको छ ।
विद्यालयमा कर्णाली, सुदूरपश्चिम, लुम्बिनीलगायत अन्य प्रदेशबाट विद्यार्थी पढ्न आउँछन् । विद्यार्थीहरुले आफूले कमाएको पैसाले खर्च धान्दै आएका छन् । कर्णालीबाहेकका धेरै जिल्लाबाट यो कार्यक्रम हेर्न शिक्षक र विद्यार्थी विद्यालयमा पुग्ने गरेका सिग्देलले बताए । उनका अनुसार यहीँ विद्यालयमा सुरु भएपछि सरकारले कार्यक्रम सुरु गरेको हो । कर्णालीका धेरै विद्यालयले सुरु गरेका प्रधानाध्यापक सिग्देलले बताए । तर कर्णालीको शिक्षा हेर्ने सामाजिक विकास मन्त्रालय र शिक्षा विकास निर्देशनालयसँग कर्णालीका कति विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू भएको छ भन्ने तथ्यांक छैन । केन्द्रबाट सिधै बजेट स्थानीय तहमा जाने भएकोले आफूहरुलाई जानकारी नभएको शैक्षिक विकास तथा सामाजिक विकास महाशाखाका उपसचिव सुवर्णकुमार खड्का बताउँछन् ।
सुर्खेतको गुर्भाकोट नगरपालिकाको नेपाल राष्ट्रिय माविमा पनि पढ्दै कमाउँदै कार्यक्रम लागू गरेको छ । संघ सरकारको सहयोगमा २०७९ बाट विद्यालयले कार्यक्रम सुरु गरेको प्रधानाध्यापक ढालबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार सरकारले सुरुमा १० लाख रुपैयाँ अनुदान दिएको थियो । ९ देखि १२ कक्षासम्म प्राविधिकतर्फ पढाइ हुने विद्यालयमा विद्यार्थीहरुले कुखुरापालन, च्याऊ खेतीसँगै तरकारी खेती गरिरहेका छन् ।
गत वर्ष ९ जना विद्यार्थी कार्यक्रममा जोडिएकोमा अहिले ४ जना मात्र छ । विद्यालयको १८ रोपनी जमिन छ । तर विद्यार्थीहरु कार्यक्रममा आकर्षित कम भएको उनले बताए । 'बिदा हुन्छ,' उनले भने, 'बिदाको लागि शिक्षक र विद्यार्थी घर जान्छन् । काममा बाधा पर्छ अनि समस्या हुन्छ ।' तर केही विद्यार्थीले गरिरहेका छन् । उनीहरुले सामान्य खर्च पनि उठाइरहेको उनले बताए ।
ooo
बागलुङको बडिगाड गाउँपालिका–२ खरवाङस्थित त्रिभुवन माविका विद्यार्थीले लगाएको मकै यो वर्ष निकै राम्रो फल्यो । हिउँदमा तोरीसमेत राम्रो थियो । विद्यालयले भाडामा लिएको ४ रोपनी जमिनमा विद्यार्थीले सामूहिक धान रोपाइँ पनि गरेका छन् ।
शिक्षकले खेतबारीमै लगेर विद्यार्थीलाई अन्नबाली लगाउन सिकाउँछन् । विद्यालयकै जमिनमा भने ३ वटा प्लास्टिकका हाइटेक टनेल छन् । ती टनेलमा गोलभेडा, बोडी, खुर्सानीलगायतका तरकारी खेती गरिन्छ । अन्नबाली र तरकारी खेतीबाट विद्यार्थीहरुले कमाइ गरेका छन् । कमाइलाई एकडालो बनाएर आवश्यकता अनुसार खर्चने गरेको प्रधानाध्यापक ढालमणि भण्डारीले बताए । ‘गण्डकी प्रदेश सरकारले दिएको २ लाख बीऊ पुँजीबाट कक्षा ९ देखि १२ सम्मका विद्यार्थी मिलेर खेती लगाएका हुन् ।
कापीकलमदेखि स्वास्थ्य तथा सरसफाइका सामग्री किन्नका लागि यो कमाइले सहयोग पुगेको भण्डारीले बताए । ‘बालबालिकाले काम पनि सिक्ने, बचत गर्ने र सदुपयोग गर्ने पद्धति पनि सिकाइ हुने रहेछ,’ उनले भने, ‘पढाएकोभन्दा एक दिन टनेलमा पुगेर काम गर्दा धेरै स्मरण गर्न सक्छन् ।’ यो काममा यहाँका १ सय विद्यार्थीले पालो गरेर काम गर्छन् । कमाउँदै पढ्दै अभियानमा जोडिएको उनले बताए ।
गलकोट नगरपालिका–३ स्थित गलकोट माविले पनि भाडामा लिएको जग्गामा तरकारी खेती गरेको छ । यहाँ कृषि प्राविधिक शिक्षक नै भएकोले खेतीपाती लगाउने र कमाउने काम मात्र हैन बाली विज्ञानको जानकारीसमेत विद्यार्थीले पाउन थालेका छन् । गोलभेडाको पात घुम्रिने समस्यादेखि पानीको अभावमा कृषिबालीमा पर्ने असरबारे विद्यार्थीले पढ्न पाएको बताए । विज्ञान विषयका शिक्षक गंगाराम सुवेदीले प्लास्टिकको घरभित्र गरिने तरकारी खेतीदेखि बाहिरको अन्नबालीबारे धेरै कुरा सिकाउने गरेका छन् ।
कस्तो हावापानीमा कुन तरकारी र बाली लगाउन सकिन्छ भन्नेसमेत शिक्षकले पढाउने भएकोले घरमा पनि विद्यार्थीले अभिभावकलाई सहयोग गर्न पाएको कक्षा १२ की छात्रा बिन्दु बस्नेतले बताइन् । कक्षाकोठामा मिहनेत गरेर पढ्ने पढाउनेभन्दा फरक शैलीमा यहाँका विद्यार्थी खेतबारीमै पुगेर कृषि कर्ममा रमाउने गर्छन् । यो उनीहरुको नियमित कर्म हो । राम्रो उत्पादन गरेर कमाइ पनि गरेका छन् । वार्षिक ४० हजार तिर्नेगरी भाडामा लिएको झण्डै १० रोपनी जमिनमा ३ वटा प्लास्टिकका हाइटेक र अन्य खाली जग्गामा पनि खेतीपाती गरिन्छ । हाइटेकमा गोलभेडा, काउली, बन्दा, खुर्सानी, साग, मुलालगायतका तरकारी र छेवैमा तोरी, गहुँ, धान लगायतको उत्पादन गरिन्छ । विद्यालयले विज्ञान संकाय अर्न्तगत कृषि विषयको पढाइ पनि सञ्चालन गरेको छ । गहुँ, मकै, केराउ र धान र तेलहन बालीको उत्पादनले विद्यालयमा खाजासमेत खाइन्छ ।
त्यसबाहेक जैमिनी नगरपालिका–५ को सर्वोदय मावि, ताराखोला गाउँपालिका–३ को नेपालतारा माविमा पनि पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन भएको हो । यो कार्यक्रमका लागि गण्डकी प्रदेश सरकारले २/२ लाख रुपैयाँ दिएपछि बीऊपुँजीको रुपमा उपयोग गरेर विद्यालयले नियमित कमाइको माध्यम बनाइरहेको हो । यस्ता कामले विद्यार्थीमा कृषिबारे चासो बढेको र कमाइ गरेर शैक्षिक सामग्री किन्नमा पनि सहयोग मिलेको नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले बताए ।
ooo
बाजुराको बडीमालिका नगरपालिका–२ स्थित सत्यवादी माद्यमिक विद्यालय भौनेरामा अध्ययनरत छात्र मनोज हमाल, अनिता महतलगायत छात्रछात्राका लागि शुक्रबार बिदापछिको समय विशेष हुन्छ । अन्य कक्षाका विद्यार्थी शुक्रबार मध्याह्न विद्यालय बिदा भएपछि घर जान्छन् । तर मनोज, अनितालगायत कक्षा सातदेखि नौ सम्मका ४५ विद्यार्थी भने विद्यालयले सञ्चालन गरिरहेको तरकारी बारी स्याहार्न लाग्छन् ।
विद्यालयले सञ्चालन गरेको ‘पढ्दै, कमाउँदै’ कार्यक्रममा खटिएर विद्यार्थीहरुले यसपालि पढाइसँगै १५ क्विन्टल प्याज र नौ क्विन्टल आलु उत्पादन गरेका छन् । उक्त विद्यालय बाजुरा सदरमुकाम मार्तडीदेखि करिब दुई घण्टाको दुरीमा छ । उत्पादित तरकारी तथा फलफूल बिक्री हुने क्षेत्र सदरमुकाम मार्तडी हो । मार्तडीमा यतिबेला प्याजको बिक्री मूल्य ६० रुपैयाँ प्रतिकिलो छ भने आलु ५० रुपैयाँ छ ।
विद्यालयलाई बडीमालिका–२ को वडा कार्यालयले पाँच लाख अनुदान दिएको वडाध्यक्ष डम्मर महतले बताए । ‘सोही अनुदान रकमबाट विद्यार्थीका लागि पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्न लगाएका हौं,’ वडाध्यक्ष महतले भने । प्रधानाध्यापक हमालका अनुसार अभिभावकको मञ्जुरी र विद्यार्थीको स्वच्छामा अतिरिक्त क्रियाकलाप अन्तर्गत तरकारी खेतीमा आवद्ध गराइएको छ । विद्यालयमा दुई सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । तीमध्ये सहमत भएका ४५ जनालाई मात्रै सहभागी गराइएको हो ।
वडा कार्यालयले उक्त कार्यक्रमलाई ‘वडा गौरव’को योजनामा राखेको छ । जसअन्तर्गत विद्यार्थीहरुलाई मौसमी, बेमौसी तरकारी, आलु, प्याजसहितको खेतीमा दक्ष बनाउने अभियान थालिएको वडाअध्यक्ष महत बताउँछन् । ‘हाम्रो विद्यालयलाई अन्य कतैबाट पनि अनुदान सहयोग छैन,’ महतले भने ।
विद्यालयले स्थानीय मदनराज पण्डित र कर्णबहादुर रोकायाको पाँच रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेको प्रधानाध्यापक मानबहादुर हमालले बताए । उत्पादित तरकारीको बिक्रीबाट हुने आम्दानीको २० प्रतिशत विद्यालयको खातामा राख्ने र ८० प्रतिशत रकम सहभागी विद्यार्थीहरुलाई भाग लगाएर वितरण गर्ने योजना बनाइएको वडाध्यक्ष महतले बताए । ‘बिक्री मूल्यबाट प्राप्त रकममा विद्यार्थीलाई भाग परेको रकम विद्यार्थीलाई खाता खोलेर उनीहरुकै खातामा जम्मा गरिदिने योजना छ,’ उक्त कार्यक्रमका स्रोतव्यक्ति यज्ञ रोकायाले भने, ‘अहिले प्याज, आलु स्टोर गरेर राखेका छौं । अलि मूल्य बढेपछि बिक्रि गर्ने योजना छ ।’
बडीमालिका नगर क्षेत्रमा २४ वटा सामुदायिक विद्यालय छन् । तीमध्ये भौनेराको सत्यवादी, रजालीको चोयाकोट माविमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरिएको छ । चोयाकोटमा तरकारी, चोयाका डोका, डस्टबिन र कुचो उत्पादन गर्ने गरेको नगरपालिकाले जनाएको छ । आगामी वर्ष अन्य विद्यालयमा पनि कार्यक्रम विस्तार गर्ने योजना रहेको नगरप्रमुख अमरबहादुर खड्का बताउँछन् ।
अपेक्षित उपलब्धिमूलक नभएपछि बाजुराकै कीर्तिचौर माविले भने प्रदेश सरकार र संघीय सरकारको अनुदानमा ‘पढ्दै, कमाउँदै’ कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त विद्यालयमा विद्यार्थीले विद्यालयमै कुखुरापालन गरिरहेका छन् । सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको शिक्षा विकास निर्देशनालयबाट चालु आर्थिक वर्ष ०८१/८२ को बजेटबाट साढे चार लाख अनुदान प्राप्त भएको विद्यालयले जनाएको छ । ‘अघिल्लो वर्ष शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमीबाट दस लाख अनुदान आएको थियो,’ शिक्षक पूजन थापाले भने, ‘नौ देखि १२ कक्षासम्मका विद्यार्थीलाई उक्त कार्यक्रममा सहभागी गराइएको छ ।’ गएको दसैंमा विद्यार्थीहरुलाई १०/१० हजार रुपैयाँ दिइएको थापाले बताए ।
