[अर्काइभ] मध्यावधि चुनावमा कांग्रेस उम्मेदवार हराउन गणेशमानको त्यो आह्वान...

गणेशमान सिंहले गिरिजाप्रसाद कोइरालाप्रति मात्र नभएर सन्त नेता कृष्णप्रसाद भट्टराईप्रति पनि कडा रोष प्रकट गरेका थिए । भट्टराईप्रति उनको कटाक्ष थियो, ‘इतिहासमा सभापति भट्टराईलाई सबैभन्दा ठूलो अपराधी र गद्धार लेखिनेछ ।’

आश्विन २०, २०८२

कान्तिपुर संवाददाता

[Archive] Ganeshman's call to defeat the Congress candidate in the mid-term elections...

What you should know

काठमाडौँ — २०५१ भदौ ३१ मा औपचारिक रूपमा कांग्रेस परित्याग गरेको घोषणा गरेका गणेशमान सिंहले कृष्णप्रसाद भट्टराईको आलोचना गर्दै उपनिर्वाचनमा भ्रष्ट कांग्रेसीलाई हराउन आह्वान गरेका थिए । २०५१ असोज ८ मा निजी निवास खुमलटारमा कार्यकर्तालाई सम्बोधन गर्दै उनले पार्टी सभापति भट्टराई, प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सर्वोच्च अदालतप्रति रोष प्रकट गरे ।

२०४८ मा झापाको कलबलगुडीमा भएको पार्टीको केन्द्रीय महाधिवेशनदेखि नै कोइरालाप्रति असन्तुष्टि जनाउँदै आएका गणेशमानले कांग्रेस छाडेको घोषणा गरेपछि सभापति भट्टराईप्रति बढी आक्रोश पोखेका थिए । पार्टीमा आफूले राखेको विचार कहिल्यै पारित नभएको, मुलुकमा भ्रष्टाचार बढेको, प्रधानमन्त्री कोइरालाले टनकपुर सन्धिमा संसद्लाई ढाँटेको, पार्टीको बहुमत हुँदाहुँदै प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई अन्धकारमा धकेलेको, राजनीतिक नियुक्तिमा आफू खुसी गरेको लगायतका असन्तुष्टि सार्वजनिक गर्दै आएका गणेशमानले अन्ततः पार्टी छाडेका थिए।

विशेषतः सर्वोच्च अदालतले प्रधानमन्त्री कोइरालाले गरेको मध्यावधि निर्वाचनको सिफारिसलाई सदर गरेपछि गणेशमानले त्यसै दिन पार्टीबाट अलग हुने घोषणा गरेका थिए । उनले कात्तिक २७ गते हुने मध्यावधि निर्वाचनमा भ्रष्ट र गिरिजाप्रसाद निकट कांग्रेसका उम्मेदवारलाई हराउन आह्वान गरेका थिए । उनको भनाइ थियो, ‘इतिहासमा सभापति भट्टराईलाई सबैभन्दा ठूलो अपराधी र गद्धार लेखिनेछ ।’

आफूले ५४ वर्षसम्म राजनीतिक संघर्ष गरेको स्मरण गर्दै उनले आफूले भ्रष्टचारको सधैं विरोध गरेको बताएका थिए । कोइरालाले ‘न रहे बाँस न बजे बाँसुरी’ भन्ने भनाइ अनुरूप संसद् विघटन गरेको भन्दै गणेशमानले भट्टराईले पनि आफूलाई होच्याएको बताएका थिए । 

गणेशमानले कार्यकर्तालाई आफैं सचेत हुन अपिल गर्दै मध्यावधि निर्वाचनमा गिरिजाप्रसाद निकट उम्मेदवारलाई हराउनुपर्ने बताएका थिए । उनले भ्रष्ट र गिरिजाप्रसादका मान्छेलाई हराउन जनतालाई घरघरमा गएर सुझाउन भनेका थिए । त्यस्ता उम्मेदवार हराउन उनले आह्वान गरेका थिए ।[Archive] Ganeshman's call to defeat the Congress candidate in the mid-term elections...

कांग्रेस छाडेको र विवाद सतहमा आएको भए पनि भट्टराई र कोइरालाले आफूलाई भेटेर कुराकानी नगरेको बताएका थिए । उनले निकै आक्रोशित भएर आफ्ना मन्तव्य राखेका थिए । उनले भट्टराईप्रति पटक–पटक असन्तुष्टि जनाएका थिए । उनले गिरिजाप्रसाद र भट्टराईले राष्ट्रलाई धोका दिएको आरोप लगाएका थिए । 

२०४८ को निर्वाचनमा प्रतिनिधिसभामा बहुमत ल्याएर सरकार सञ्चालन गरिरहेको कांग्रेसभित्रको चरम द्वन्द्व र गणेशमानले पार्टी छाडेको सन्दर्भलाई जोडेर पत्रकार इजहार मिकरानीले तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५१ असोज ९ गते ‘भट्टराई सबैभन्दा ठूलो राजनीतिक अपराधी’ शीर्षकमा प्रकाशित गरेको थियो । 

 प्रस्तुतिः ऋषिराम पौड्याल 

कान्तिपुर

Link copied successfully