काठमाडौँ — त्यतिबेला अर्थात् ५० को दशकसम्म तराई जोड्ने सबैभन्दा छोटो मूल सडक त्रिभुवन राजपथ (बाइरोडको बाटो) मात्रै थियो । मुङ्लिङबाट पूर्वी तराई जान निकै घुमाउरो पर्थ्यो । त्यसको विकल्पमा त्यतिबेलाका जनप्रतिनिधिले निर्माण सुरु गरेको काठमाडौं–फर्पिङ–हेटौंडा सडक बनाउने सपना सजिलो भने थिएन ।
हेटौंडाबाट कुलेखानीसम्म कच्ची सडक सञ्चालन भइरहेको थियो । मकवानपुरको थोरै भाग र काठमाडौं क्षेत्रको धेरै भूभागमा सडक बनेको थिएन । काठमाडौंतर्फको सडक बनाउन र निर्माण छिटो गर्न तत्कालीन यातायात सहायक मन्त्री शिवराज जोशीको अध्यक्षतामा उच्चस्तरीय निर्माण समिति नै गठन गरिएको थियो ।
खासमा उक्त सडक बनेपछि काठमाडौंबाट हेटौंडा पुग्न त्रिभुवन राजपथको तुलनामा करिब ५४ किमि घट्ने भएकाले पनि निर्माणलाई तीव्रता दिइएको थियो । फर्पिङबाट कुलेखानी सुकौराड्यामसम्म सडक बनाएपछि हेटौंडाबाट आएको सडकसँग जोड्ने सुरसारमा स्थानीय थिए । फर्पिङबाट हेटौंडातर्फको हुमाने भञ्ज्याङसम्म २५ किमि कच्ची सडक भने तयार भइसकेको थियो ।
निर्माण कमिटीका अध्यक्ष तथा साविक टल्कु दुडेचौर गाविसका अध्यक्ष मोहन बस्नेतका अनुसार फर्पिङ सुकौराड्याम खण्ड सडक प्लान इन्टरनेसनल र काठमाडौं जिल्ला विकास समितिको सहयोगमा निर्माण भइरहेको थियो । उक्त सडक २०४९ सालमा अध्यक्ष बस्नेत, तत्कालीन जिविस सदस्य राजेन्द्र केसी (हाल प्रतिनिधिसभा सदस्य) लगायतको अगुवाइमा निर्माण सुरु गरिएको थियो ।
खोलानाला, पहिरो कम भएको र पुल बनाउन नपर्ने भएकाले पनि सडक निर्माण सस्तो र छिटो हुने प्राविधिकहरूको भनाइ थियो । तत्काल पृथ्वी राजमार्ग र त्रिभुवन राजमार्गको विकल्पमा बनाइएको उक्त सडक बनाउन प्लान इन्टरनेसनले सहयोग गरेको थियो ।
उक्त सडक बनाउन तत्कालीन निर्माण तथा यातायात मन्त्री खुमबहादुर खड्काको संयोजनमा बैठक बसेर काममा तीव्रता दिने निर्णय गरिएको थियो । काठमाडौंबाट त्रिभुवन राजपथ भएर हेटौंडा पुग्न १३३ किमि थियो । तर उक्त सडक पूर्ण रूपमा पक्की नभए पनि चल्ती निकै हुने गरेको छ । काठमाडौंबाट फर्पिङ हुँदै भैंसेबाट हेटौंडा पुग्न ७९ किमि मात्र भएकाले पनि समयको बचत गर्न पनि उक्त सडकको प्रयोग धेरै हुने गरेको छ ।
तराई जोड्ने छोटो दूरीको सडक निर्माणका सन्दर्भमा सरकार, स्थानीय प्रतिनिधि र सर्वसाधारणले देखाएको तत्परताका सन्दर्भमा पत्रकार तारानाथ दाहालले तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५० फागुन २३ मा ‘काठमाडौं–हेटौंडा छोटो मार्गको निर्माण शीघ्र’ शीर्षकमा प्रकाशित गरेको थियो । त्यतिबेलादेखि निर्माण सुरु भएको उक्त सडक अहिले पनि व्यवस्थित भने भइसकेको छैन । तर, काठमाडौं–हेटौंडा हुँदै विशेषतः साना यातायातका साधनको सञ्चालन भई नै रहेको छ ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] Farping-Hetaunda road-dream for three decades](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/sadak-news-2162025124805-1000x0.jpg&w=1001&h=0)