काठमाडौँ — लोकसंस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गरेर नयाँ पुस्तालाई नवजागरण गराउने मूल उद्देश्य राखेर राष्ट्रिय नाचघरको स्थापना २०१६ सालमा भएको थियो । नाम परिवर्तन गरेर २०२९ सालमा सांस्कृतिका संस्थान बनाइएको थियो । संस्थानले धेरै कलाकारलाई तालिम दियो, गीतसंगीत र कलाको प्रवर्द्धनमा सघायो । जनजिब्रोमा भने अहिले पनि सांस्कृतिक संस्थान भन्दा पनि राष्ट्रिय नाचघरको नामले धेरैले चिन्ने गरेका छन् । गाउँघरमा राष्ट्रिय नाचघरमा नाटक हेरेका मान्छेहरुले गर्वकासाथ सुनाउने गर्थे ।
कतिपय कलाकार संस्थानमा जागिरे थिए । अहिले पुराना भनिएका धेरै कलाकारले त्यहाँ जागिर पनि खान्थे । नाचघर कलाकारको आस्थाको केन्द्र बनेको थियो । अहिले राष्ट्रिय नाचघरको नाम नलिने पुराना कलाकारहरु बिरलै भेटिन्छ । कला र संस्कृतिको विकासका लागि गठन भएको सरकारको पूर्णस्वामित्वको यो पहिलो संरचना थियो । तर त्यो संरचनाको आरोह/अवरोहको शृंखला सहज र सुखद भने छैन ।
५० को दशकसम्म पुग्दा अर्थात् स्थापनाको ३५ वर्षमा कलाकार उत्पादन र देश विदेशमा मनोरञ्जन दिलाउन जसरी नाचघरले महत्त्वपूर्ण भूमिका निर्वाह गर्यो तर आफू भने दिनप्रतिदिन कमजोर र जीर्ण भन्दै गयो । राजनीतिक आन्दोलनमा ढुंगामुढा खेप्नेदेखि नाचघरको तल्लो भागमा बर्खाका बेला पानी छिरेर कार्यक्रम सञ्चालन गर्न समेत रोकियो ।
२०५० असारमा नेपाल बन्दका बेला नाचघरको भवनमा ढुंगामुढा गरियो र सिसा फुटेर कार्यक्रम सञ्चालन नै बन्द गर्नुपरेको थियो । नाचघरका कर्मचारीले भवनको मर्मतका लागि प्रधानमन्त्रीदेखि मन्त्रीसम्म गुहारेपनि केही नभएको बताउने गरेका थिए । नयाँ भवन बनाउने चर्चा लामो समयदेखि सुने पनि सुरु नभएको गुनासो कर्मचारीले गरेको थिए ।
उक्त भवन बनाउन शिलान्याससमेत गरिएको थियो । भवन बनाउन त्यतिबेला ६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो । तर उक्त रकम संस्थानसँग थिएन । त्यसैले नाचरघरको अवस्था दिनप्रतिदिन जीर्ण हुँदै गएको थियो । नाचघर प्रयोग गर्न नपाएपनि कलाकारले प्रज्ञा भवनमा ८ हजार तिरेर कार्यक्रम आयोजना गरेर उठेको रकम बाढीपहिरो पीडितलाई प्रदान गर्न प्रधानमन्त्रीलाई १ लाख ७७ हजार २ सय ५५ रुपैयाँ हस्तान्तरण गरेका थिए ।
त्यतिबेला ८७ जना कर्मचारी रहेको संस्थान लोप हुँदै गएको संस्कृति बचाउन भिडियो क्यासेट निकाल्ने र त्यसको प्रदर्शन तथा संरक्षणका लागि देशविदेश जाने कार्यक्रम तय गरिएको थियो । संस्थानको आयोजनामा विश्व पर्यटन दिवसको अवसरमा विदेशीलाई देखाउन अन्तर्राष्ट्रिय विमानस्थलमा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरेका थिए ।
काठमाडौंको मुटु जमलमा ५ रोपनी २ आना १ पैसा जमिनमा फैलिएको सांस्कृतिक संस्थानको नाचघरमा विभिन्न प्रकृतिका नाटक देखाउने गरिन्थ्यो । त्यतिबेला नाटक देखाउने स्थान भनेकै राष्ट्रिय नाचघर थियो । त्यतिबेला नाटकको निकै ठूलो महत्त्व थियो । अहिलेजस्तो जताततै चलचित्रहरु नभएको र मनोरञ्जनका साधान कम भएकाले दर्शकको ठूलो संख्या नाटकमा झुम्मिने गर्थे ।
नाचघरमा ठूलो सानो सेमिनार हल, नाटक अभ्यासका लागि साना कक्षहरु थिए । संस्थान चलाउन आर्थिक रुपमा पनि स्रोत कम भएकाले गैरसरकारी संस्थाहरुलाई पनि हलहरु भाडामा उपलब्ध गराइन्थ्यो । ७ सय सिटको मेगा हल थियो । १ सय ४ सिटको सानो हल पनि थियो ।
सरकारले नेपालको शिक्षालाई व्यावहारिक बनाउने नीति तथा कार्यक्रमलाई सफल बनाउन विभिन्न तहका पाठ्यक्रममा आधारित नाटक, उपन्यास, कथा, एकांकी तथा काव्य रचनालाई नाटकका रुपमा मञ्चन गर्दै आएको थियो । मुलुकको कला, कलाकार र संस्कृतिसँग जोडिएको आस्थाको केन्द्रको रुपमा रहेको नाचघर सरकारी बेवास्ताका कारण जीर्ण बन्दै गएको थियो ।
नाचघर तीन महिनादेखि प्रयोगविहीन भएको र राजनीतिक दाउपेचमा परेको विषय उठाएर कान्तिपुर दैनिकले २०५० असोज २६ गते ‘राष्ट्रिय नाचघरको स्थिति चिन्ताजनक’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । अहिले भने राष्ट्रिय नाचघरको संरचना परिवर्तन गरेर नयाँ भवनमा सञ्चालन भइरहेको छ ।
प्रस्तुति : ऋषिराम पौड्याल
![[Archive] Why was the National Dance Hall closed for three months?](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/kantipur-archieve-cover-0152025104803-1000x0.jpg&w=1001&h=0)