अन्तर्राष्ट्रिय मामिलामा 'प्राइमरी’ नेतृत्व परराष्ट्रले नै गर्नुपर्छ भन्ने प्रधानमन्त्रीको निर्देशन छ : परराष्ट्रमन्त्री खनाल

कान्तिपुरसँगको अन्तर्वार्तामा उनी भन्छन् -सीमाको विषयलाई अतिरञ्जनाको विषय बनाइनुहुन्न । घरेलु राजनीतिक खपतका विषयभन्दा पनि संस्थागत ढंगले काम गर्न सक्यौं भन्ने समाधान हुन्छ।

असार २१, २०८३

राजेश मिश्र, अनिल गिरी

The Prime Minister has directed that the Foreign Ministry should take the 'primary' leadership in international affairs: Foreign Minister Khanal

What you should know

२१ फागुनको निर्वाचनपछि सरकार बनेको सय दिन पूरा भएको छ । सरकारले सुशासन तथा आर्थिक समृद्धिको विषयलाई आफ्नो मूल मुद्दा बनाएको छ । त्यसैअनुसार परराष्ट्र मन्त्रालयले आर्थिक कूटनीतिलाई अगाडि बढाउने भनिरहेको छ । सरकारले दुई छिमेकी भारत र चीनको प्रगतिलाई नेपालको विकासको अवसरमा बदल्ने नीति लिएको छ । यही अवधिमा परराष्ट्रमन्त्री शिशिर खनालले भने भारत र चीनको औपचारिक भ्रमण गरेका छन् । सय दिनमा परराष्ट्र क्षेत्रमा भएका काम, आगामी प्राथमिकता, वैश्विक भूराजनीतिको नेपालमा प्रभाव तथा छिमेक सम्बन्धबारे परराष्ट्रमन्त्री खनालसँग कान्तिपुरका लागि राजेश मिश्रअनिल गिरीले गरेको कुराकानीः

दुईतिहाइको बहुमतका साथ सरकार बनेको सय दिन पूरा भएको छ । यस अवधिमा तपाईंले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । परराष्ट्र मामिलामा के उपलब्धि भयो ?

सरकारको सय दिनलाई महत्त्वपूर्ण ‘बेन्चमार्क’ मानिन्छ । रास्वपाले चुनाव जितेपछि अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा विभिन्न टीकाटिप्पणी र संशयहरू व्यक्त भए । हामीले अन्तर्राष्ट्रिय सम्बन्धलाई कसरी हेर्छौं ? छिमेकीबीचको सम्बन्धलाई कसरी व्यवस्थापन गर्न सक्छौं ? भन्ने विषयमा क्षमता र ‘इन्टेन्सन’ का प्रश्न हामीमाथि थिए । सय दिनसम्म आइपुग्दा सन्तुलित, गम्भीर र सबै पक्षसँग सहकार्य गर्न सक्ने किसिमको सरकार बनेको छ भन्ने सन्देश नेपालभित्र र बाहिर गएको छ भन्ने लाग्छ । नयाँ सरकार बन्दै गर्दा जुन प्रश्नहरू थिए, त्यसको सकारात्मक उत्तर नेपाली समाजले पाएको छ भन्ने मेरो बुझाइ छ । दुई वटा विषयमा हाम्रो सरकारको बढी चासो छ– सुशासन र आर्थिक समृद्धि । पार्टीले चुनावमा जाँदै गर्दा गरेको वाचा र सरकारले दिएको सयबुँदे सूचीभित्र समष्टिगत रूपमा ती दुई विषयमा अट्छ । त्यसभित्र परराष्ट्र मन्त्रालयले पनि एकदम बढी ध्यान दिइरहेको छ । विश्वभरि रहेका नेपाली नागरिकलाई प्रदान गर्ने सेवालाई कसरी सहजीकरण गर्ने र आर्थिक कूटनीतिमा परराष्ट्र मन्त्रालय सक्रियताका साथ कसरी ‘इन्गेज’ हुने ? हामी मुख्यतः यसमा बढी काम गरिरहेका छौं ।

मैले मन्त्रालय सम्हाल्दै गर्दा पोर्चुगलमा नेपालीको ‘डकुमेन्ट’ नै ‘फेक’ भएको विषय एकदमै धेरै चर्चामा थियो । त्यहाँ नेपालीले कानुनी झमेलाको सामना गरिरहेका थिए । मैले परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हाल्दै गर्दा त्यही समस्याको सामना गर्नुपरेको थियो । समाधानका लागि कूटनीतिक प्रयास गर्‍यौं । धेरै हदसम्म समाधान पनि भयो । अर्को जटिल विषय, पश्चिम एसियामा जारी युद्धको छायामा हामीले सरकार बनाएका थियौं । त्यसबाट अर्थतन्त्रमा पर्न सक्ने असर एकातिर थियो । अर्कोतिर, पश्चिम एसियामा रहेका नेपालीलाई पर्ने असर थिए । त्यसमा बढी ध्यान दिएर काम गर्‍यौं । चौबीसै घण्टा ‘हटलाइन’ सञ्चालन गरेर उहाँहरूलाई सहजीकरण गर्‍यौं । केही ‘रेस्क्यु फ्लाइट’ गर्‍यौं । प्रवासमा रहेकालाई अप्ठ्यारो पर्दा कम्तीमा ‘नेपाल सरकार छ है’ भन्ने सन्देश दिन सक्यौं । पछिल्लो समय आइपुग्दा ‘कन्सुलर’ सेवालाई ‘डिजिटलाइज्ड’ गर्ने कार्य अगाडि बढाइएको छ । मूल रूपमा नेपालमा बलियो सरकार बनेको, सुशासन तथा समृद्धिमा काम गर्न खोजेको सन्देश देशभित्रै र बाहिर दिन सकेका छौं । त्यसका लागि मित्र राष्ट्रहरूसँग सहकार्य गर्न इच्छुक छौं भन्ने सन्देश पनि प्रवाहित गरेका छौं । छिमेकमा मैले गरेको भ्रमण, बाहिरबाट यहाँ भएका भ्रमण तथा राजदूतहरूसँगको भेटमा त्यस्तो सन्देश प्रवाहित भएको छ ।

दुई छिमेकी भारत र चीनको उदयलाई नेपालको विकासको अवसरमा बदल्ने कूटनीतिलाई सरकारले अगाडि सारेको छ । त्यस मामिलामा सय दिनको अवधिमा केही उपलब्धि हासिल भएको छ ?

अहिले हामीले नयाँ परियोजनाभन्दा पनि पुरानै परियोजनाको कार्यान्वयनमा जोड दिएका छौं । दुइटै छिमेकीसँग हाम्रा थुप्रै संयन्त्र छन् । विकास परियोजना छन् । भएका विकास परियोजनालाई अगाडि बढाउने ढंगले काम भएको छ । म भारत अथवा चीन जाँदा कुनै पनि नयाँ विकास परियोजनासँग सम्बन्धित हस्ताक्षर गरेको छैन । हरेक भ्रमणमा ‘विस लिस्ट’ सार्वजनिक हुने तर त्यो व्यवहारमा रूपान्तरित नहुने देखिएको छ । रूपान्तरण नहुँदा त्यसको लाभ नेपाली जनताले नपाउने भए । त्यो देखावटी किसिमको भ्रमणको उपलब्धिभन्दा पहिल्यै रहेका परियोजनालाई अगाडि बढाउनुपर्छ भन्नेमै हाम्रो जोड छ । के चाहिँ चाँडो गर्न सकिन्छ, त्यो गरौं भनिरहेका छौं । उदाहरणका लागि, काठमाडौंको रिङरोडलाई नै हेरौं । चीनको सहयोगमा दोस्रो चरणको रिङरोड बनाउने विषयलाई अगाडि बढाइएको छ । त्यस्तै, भारतसँग पनि केही विषय अगाडि बढेका छन् । त्यसमा अयोध्या–जनकपुर रेल, पूर्व–पश्चिम रेलका विषय छन् । सहमति पुराना हुन् । यो सरकार बनेपछि भएका होइनन् । तिनलाई कसरी अगाडि बढाउने भन्नेमा केन्द्रित छौं । चीनसँग मुख्य नाकाका बाटोहरू स्तरोन्नतिको सहमति छ । ती काम अगाडि बढोस् भन्ने छलफल भइरहेको छ ।

सरकारले दुई छिमेकीको प्रगतिबाट लाभ लिने गरी केही रोडप्याप बनाएको छ ?

नेपाल सरकारका केही प्राथमिकताका विषय छन् । परराष्ट्र मन्त्रालयले त्यसैलाई अगाडि बढाएको छ । दुई देशसँग लाभ लिन सकिने दुई/चार वटा आधारभूत विषय छन् । हवाई, सडक र रेलमार्गको ‘कनेक्टिभिटी’ को विषय छ । हामी जति जोडिन्छौं, त्यति नै व्यापारका लागि सहजीकरण हुन्छ । त्यसले पर्यटनलाई सहयोग पुग्छ । हामीले दुवै पक्षबाट ‘कनेक्टिभिटी’ को विषयलाई बढी जोड दिएका छौं । ऊर्जासँग सम्बन्धित विषय दुवै पक्षमा अगाडि बढिरहेको छ । त्यसमा अलिक चाँडो कसरी गर्न सकिन्छ भनेर लागेका छौं । थप हवाई रुटका लागि दुवै देशसँग आग्रह गरेका छौं । पोखरा र भैरहवा एयरपोर्ट चलाउनलाई थप हवाई रुटको आग्रह गरेका छौं । कनेक्टिभिटी, ऊर्जा, पर्यटन र प्रविधिमा बढी जोड दिइरहेका छौं । दुइटा देशका बीचमा हामी गतिशील पुल बन्नुपर्छ भनिरहेका छौं । तर, त्यसलाई बल पुर्‍याउने आधारभूत काम गर्न सक्यौं भने मात्र मूर्तरूप दिन सकिन्छ ।

परराष्ट्र मामिलामा प्रधानमन्त्रीको तहबाट कुनै पनि पहलकदमी लिएको देखिँदैन । त्यसप्रति मित्र देशहरूको केही गुनासा पनि होलान् । त्यसले गर्दा तपाईंलाई कतिको सजिलो वा अप्ठ्यारो बनाएको छ ?

सम्माननीय प्रधानमन्त्रीज्यूको जुन किसिमको सार्वजनिक छवि छ, लोकप्रियता छ । उहाँ नेपालमा मात्रै होइन, नेपाल बाहिर पनि एकदमै लोकप्रिय हुनुहुन्छ । मैले गरेको भ्रमण तथा अन्य मित्र राष्ट्रका ‘डिप्लोम्याट’ सँगको छलफलबाट त्यस्तो पएको छु । उहाँप्रति बढी उत्सुकता पनि छ । प्रधानमन्त्रीज्यूको अहिलेको प्राथमिकता सुशासनसहितका देशभित्रका महत्त्वपूर्ण विषयमा छ । पहिलो सय दिन उहाँ मुख्य रूपमा त्यसैमा व्यस्त हुनुहुन्छ । बिस्तारै र आवश्यकता महसुस गरिएअनुसार अन्तर्राष्ट्रिय सरोकारका विषयमा पनि उहाँ संलग्न हुनुहुनेछ । अन्तर्राष्ट्रिय मामिलामा ‘प्राइमरी’ नेतृत्व परराष्ट्र मन्त्रालयले नै गर्नुपर्छ भन्ने उहाँको निर्देशन नै छ । संस्था बलियो भए, त्यसबाट ‘अफिसियल डिप्लोमेसी’ र ‘फरेन पोलिसी’ राम्रोसँग सञ्चालन गर्न सक्छौं भन्ने प्रधानमन्त्रीज्यूको बुझाइ हो । त्यही बुझाइलाई मैले सञ्चार गरेको छु । त्यसलाई सकारात्मक रूपमै लिएको पाएको छु ।

The Prime Minister has directed that the Foreign Ministry should take the 'primary' leadership in international affairs: Foreign Minister Khanalत्यसो भए अब प्रधानमन्त्रीको 'डिप्लोमेटिक इन्गेजमेन्ट’ बढ्छ ?

परराष्ट्र मामिलामा संस्थागत संरचनाभन्दा पनि व्यक्ति र व्यक्तित्व हाबी भएको पहिलेदेखिकै गुनासो छ । त्यसबाट सिकेर संस्थागत बनाउने प्रयासमा छौं । त्यस अर्थमा संस्थागत संयन्त्र र परराष्ट्र मन्त्रालय नै ‘फ्रन्ट’ मा रहन्छ । तर, केही समयपछि, जतिबेला समय उपयुक्त देखिन्छ, स्वाभाविक रूपमा प्रधानमन्त्रीज्यूको भ्रमणलगायत अरू विषय हुनेछन् ।

कूटनीतिमा 'डिपार्चर’ को विषय छ । पुराना 'ब्यागेज’ छाडेर नयाँ ढंगले सम्बन्धको कुरा गरिरहनुभएको छ । यसमा 'इन्भेस्टमेन्ट’ वा 'ट्रेड’ का विषय होलान् । त्यसका लागि भारत वा चीनसँग महत्त्वपूर्ण विषयमा प्रधानमन्त्रीले नै छलफल गर्नुपर्ने होला नि ? तर एक वर्षसम्म बाहिर जानुहुन्न भन्ने जस्तो 'हार्डलाइन’ ले नेपालले पाउन सक्ने अवसर पनि गुम्ने हो कि ?

मैले जति बुझेको छु, प्रधानमन्त्रीज्यूले त्यसरी ‘हार्ड डेडलाइन’ राख्नुभएको छैन । त्यस्तो निर्देशन पनि मलाई छैन । जतिबेला जहाँ आवश्यकता हुन्छ, त्यसका लागि उहाँ तयार नै हुनुहुन्छ । प्रधानमन्त्रीको ‘इन्गेजमेन्ट’ बाट ‘सिग्निफिकेन्ट’ खालको प्रतिफल आउनुपर्छ भन्ने हो । अन्तर्राष्ट्रिय भ्रमणकै विषय सोचियो भने त्यसले उपलब्धि के दिन्छ भन्नेमा बढी जोड देख्छु । तर, ‘टाइमलाइन’ को विषय मेरो जानकारीमा पनि छैन, निर्देशन पनि छैन । यो बाहिर चर्चाको विषय मात्रै हो, त्यसमा सत्यता रहेको मलाई लाग्दैन ।

तपाईंले भारत र चीनको भ्रमण गर्नुभयो । तपाईंको भ्रमणबाट उनीहरू कति आश्वस्त हुन सके ? चीनले यो सरकारलाई 'प्रो वेस्ट’ का रूपमा पनि हेरेको भनिन्छ । त्यसमा पक्कै भारतको पनि चासो छ । त्यस्तो संशयलाई चिर्न सफल हुनुभयो ?

मेरो बुझाइमा, अपेक्षाभन्दा धेरै अगाडि सम्बन्ध गयो जस्तो लाग्छ । नयाँ सरकार, त्यो पनि लामो इतिहास नबोकेको राजनीतिक दल र पात्रको– यसले आफूलाई कसरी प्रस्तुत गर्छ ? उनीहरूले हामीलाई हेर्दा, विशेषगरी भारत र चीनसँग हामी कसरी प्रस्तुत हुन्छौं ? भन्नेमा पक्कै पनि केही संशय थियो होला । नयाँ हुँदा, स्वाभाविक रूपमा प्रश्न रहन्छन् । भ्रमणका दौरान भएका भेटवार्ता र त्यसपछिका औपचारिक–अनौपचारिक ‘च्यानल’ बाट आइरहेका प्रतिक्रियाले सम्बन्ध अगाडि बढेको महसुस भएको छ । दुवै देशमा हामीलाई भेटवार्ताका लागि दिइएको औपचारिक समयभन्दा धेरै बढी समयसम्म संवाद भयो । र, जुन ढंगको संवाद भयो, त्यसमा हामीले विषयवस्तुलाई ‘कम्प्रिभेन्सली’ ढंगले राख्यौं । पहिलो भ्रमण भएकाले ‘फ्यामलिराइजेसन’ भ्रमण नै थियो । यसमा कुनै परियोजना हस्ताक्षरको कुरा थिएन । सम्बन्धलाई स्थापित गर्ने र उहाँहरूका केही शंका थिए भने त्यसलाई निवारण गर्ने थियो । त्यसैले सबै विषयमा एकदमै खुला छलफल भएको र मैले उठाएका विषयलाई उहाँहरूले अत्यन्तै सकारात्मक ढंगले लिएको पाएँ । र, आफ्नो टिमलाई निर्देशन दिएको पनि देखें । अपेक्षाभन्दा राम्रो भ्रमण भएको छ । जुन संशय थियो, त्यो संशय मेटिएको मात्रै होइन, सहकार्यको सहज ढोका पनि खुलेको छ ।

तपाईंले चीनको भ्रमण गरेर फर्किंदै गर्दा आएको 'स्टेटमेन्ट’ मा 'बीआरआई’ शब्द थिएन । किन होला ?

मैले अघि पनि भनें, सबै विषयमा खुला छलफल भएको हो । तर, यो खास विषयको ‘नेगोसिएसन’ गरिने ‘मिटिङ’ थिएन । त्यसले गर्दा कुनै ‘प्रोजेक्ट’ विशेषमा हस्ताक्षर भएको भएन । ‘बीआरआई’ मा नेपालले हस्ताक्षर गरिसकेको छ । मूल रूपमा देशले हस्ताक्षर गरिसकेको छ । ‘फ्रेमवर्क एग्रिमेन्ट’ भएका छन् । तर, त्यसभित्र गरिने परियोजना नेपालको आवश्यकता, ‘फाइनान्सियल मोडालिटी’ र प्रोजेक्टको सम्भाव्यताका बारेमा अध्ययन गर्न चाहन्छौं । तर, त्यो अहिलेको भ्रमणको उद्देश्य थिएन । नेपाललाई फाइदा हुने, आर्थिक प्रतिफल उच्च आउन सक्ने र ‘फाइनान्सिङ’ का रूपमा पनि हामी सहमत हुने खालका परियोजना अगाडि बढाउन अप्ठ्यारो हुँदैन । त्यसबारे सैद्धान्तिक छलफल भएकै हो । धेरै विषयमा छलफल हुँदा त्यो विषयमा पनि कुराकानी भएको हो । तर, यही विषयमा केन्द्रित भएर छलफल भएको होइन । सबै विषयलाई छुइएको छ, बीआरआई पनि । 

'बीआरआई’ मा कुन परियोजनामाथि काम गर्ने भनेर छनोट भएको छ ?

बीआरआईका परियोजनामा हाम्रो इन्ट्रेस्ट छ नै । तर, आजको मितिसम्ममा विशेष ‘पोजिसन’ छैन । ‘फाइनान्सियल मोडालिटी’ को विषय पनि छन् । चीनले २०१४ देखि प्रतिबद्धता गरेको ८ बिलियन ‘आरएमबी’ आएको छैन । मैले त्यो विषय उठाएँ । सबै विषयमा खुला छलफल भए । तर, यो भेटघाटमा विशेष विषयमा मात्रै छलफल भएन ।

चिनियाँ समकक्षीले तपाईंसँग 'टाढाको छिमेकीभन्दा नजिकको मित्र नै काम लाग्ने हुन्छ’ भन्नुभएको रहेछ । के सन्दर्भमा त्यस्तो भन्नुभएको हो ? 

अत्यन्तै अनौपचारिक सन्दर्भको कुराकानी थियो । दुईपक्षीय छलफलभन्दा बाहिर ‘डिनर’ का बेला भएको कुराकानी हो । मेरा समकक्षी वाङ यी त्यही दिन बिहान मंगोलियाको भिजिट सम्पन्न गरेर आउनुभएको थियो । त्यही परिवेशमा मैले मंगोलिया भ्रमण कस्तो भयो भनेर सोधेको थिएँ । उहाँले त्यही सन्दर्भमा भन्नुभएको हो । मंगोलिया चीनको छिमेकी देश हो । तर, मंगोलियाको पुरानो सरकारको पोजिसनमा ‘स्काई नेवर’ अर्थात् तेस्रो छिमेकी पनि छ भन्ने हो । नेपालले त्यस्तो ‘अफिसियल पोजिसन’ नलिएको उहाँले चर्चा गर्नुभयो । मंगोलियाको हकमा भने छ । त्यस्तो पोजिसन उपयुक्त हुँदैन भन्ने अर्थमा टाढाको नातेदारभन्दा नजिकको छिमेकी काम लाग्छ भन्ने प्रंसग सुनाउनुभएको हो । उहाँले त्यसरी सुनाउँदै गर्दा पक्कै पनि चीनको नेपालमा पश्चिमी गतिविधिबारे चासो छ । त्यो बुझ्न सकिन्छ ।

The Prime Minister has directed that the Foreign Ministry should take the 'primary' leadership in international affairs: Foreign Minister Khanalतपाईं रास्वपाको विदेश विभाग प्रमुखबाट परराष्ट्रमन्त्रीको कुर्सीमा हुनुहुन्छ । शक्ति राष्ट्रबीच प्रतिस्पर्धा छ । अहिलेको भूराजनीतिलाई 'फेस’ गर्न कतिको कठिनाइ महसुस भएको छ ? 

पक्कै पनि शक्ति राष्ट्रहरूको प्रतिस्पर्धा देखिन्छ । हामीले पनि महसुस गर्छौं । विश्व नै त्यस्तो प्रतिस्पर्धाको प्रभावमा छ । हाम्रोमा पनि छिमेकी र अन्य शक्ति राष्ट्रका चासोका विषय छन् । हामीले हाम्रा विषय स्पष्ट ढंगले राख्नुपर्छ । हाम्रा राष्ट्रिय हित र स्वार्थका विषयलाई स्पष्ट ढंगले राख्दा त्यसलाई उहाँहरूले अत्यन्तै गम्भीरतापूर्वक लिनुहुन्छ । त्यस आधारमा हामीले कसरी संवाद गरिरहेका हुन्छौं, त्यो महत्त्वपूर्ण हुन्छ । सय दिनको अनुभवले त्यही सिकाएको छ ।

नेपालले भारत र चीनसँगै अमेरिकासँग पनि सन्तुलन मिलाउनुपर्नेछ । अरू दातृ निकायका पनि चासो होलान् । यी सबै शक्ति राष्ट्रसँग सन्तुलन गरेर कसरी बढ्न सकिन्छ ?

अन्तर्राष्ट्रिय सम्बन्ध तुलामा जोखेको जस्तो सन्तुलित, समान वा बराबर हुन्छ भन्ने मलाई लाग्दैन । सबै देशका आफ्ना राष्ट्रिय स्वार्थ हुन्छन् । हाम्रो पनि छ । नेपालसँग हेर्दा सबैको केही ‘क्रिटिकल इस्यु’ पनि छ । कुनै न कुनै हिसाबले प्रत्यक्ष रूपमा उहाँहरूको सुरक्षासँग जोडिएका चासोका विषय छन् । हामीले उहाँहरूको ‘कोर इन्ट्रेस्ट’ मा सहयोग गर्न सक्छौं । तर, हाम्रो विकासप्रतिको आकांक्षामा उहाँहरूले सहयोग गर्नुपर्छ । सन्तुलनभन्दा पनि ‘कोर इन्ट्रेस्ट’ मा सहयोगको विषय भयो । परिवारमा पनि सबैको सबैसँग एकै खालको तुलामा जोखेको जस्तो सन्तुलित सम्बन्ध त हुँदैन । ‘युनिक’ सम्बन्ध हुन्छ । ‘युनिक’ सम्बन्धका ‘युनिकनेस’ बढी हेर्नुपर्छ । हामीले अपेक्षा गरेको विकास र समृद्धिको बाटोमा जानका लागि सहकार्यको सम्बन्धमा बढी ध्यान दिन्छौं ।

अमेरिकाको सहयोगमा 'एमसीसी’ परियोजना सञ्चालनमा छ । त्यसको प्रगति कस्तो छ ? 

मैले बुझेअनुसार एउटा ट्रान्समिसन लाइन करिब करिब पूरा भएको छ । गोरखपुर–न्यु बुटवल सेग्मेन्टको ट्रान्समिसन लाइन अन्तिम अवस्थामा छ । सडक बनाउने परियोजना अगाडि बढ्ने परिस्थितिमा छ । परियोजना पाँच वर्षभित्रै सम्पन्न गर्नुपर्नेछ । बीचमा अमेरिकाकै साइडबाट काम रोकियो । त्यसले गर्दा केही ढिलाइ हुन पुगेको छ । हाम्रो कारणले भन्दा पनि उहाँहरूकै कारणले भएको हो । मूल रूपमा समय अवधिभित्रै परियोजना सकिने बाटोमा देखिन्छ ।

एमसीसी कार्यान्वयनमा छ । त्योसँगै 'एसपीपी’ सम्झौता हुने चर्चाले पनि ठाउँ लिएको छ । त्यस्तो केही तयारी छ ? 

छैन । मैले धेरै पटक सार्वजनिक रूपमा भनेको छु– नेपाल सरकार कुनै पनि सुरक्षासँग सम्बन्धित सहमति नगर्ने नीतिमा स्पष्ट छ ।

भारतलाई एक हजार मेगावाट बिजुली बेचिरहेका छौं । त्यसका बाबजुद हाम्रो ऊर्जा उत्पादन खेर जाने स्थितिमा पुगेको छ । भारतलाई थप बिजुली बेच्ने केही प्रयास गर्नुभएको छ ? 

भारतसँग १० हजार मेगावाटको फ्रेमवर्क एग्रिमेन्ट छ । भोलुम बेस्ड एप्रोचमा जाने भनेर मेरो भ्रमणकै क्रममा उठाएको छु । चाँडै ऊर्जा सचिवस्तरीय बैठक बस्दै छ । त्यहाँबाट पनि प्रयास गर्छौं ।

भारतसँग लामो समयदेखि सीमा विवाद कायम छ । वार्ताबाट समाधान गर्ने भनिन्छ । हरेक सरकारले त्यही भन्छ । भारतले पनि भनेको छ । तर, साँच्चै सीमा विवाद टुंग्याउने सन्दर्भमा कूटनीतिक वार्ता कहिले हुन्छ ? 

सन् १८१६ देखिको विवाद हो । १८१७ कै लिखितमा त्यस्तो देखिन्छ । संसारमा सीमाका विवाद सदियौं चलेका उदाहरण छन् । यसको समाधान हुनुपर्छ । प्रमाण, तथ्य, तर्क तथा कूटनीतिमा आधारित भएर यसको समाधान खोजिए सहज हुन्छ । सीमाको विषयलाई अत्यन्तै बढी अतिरञ्जनाको विषय बनाइनुहुन्न । घरेलु राजनीतिक खपतका विषयभन्दा पनि संस्थागत ढंगले हामीले काम गर्न सक्यौं भन्ने समाधान हुन्छ । यसमा दुवैतिरको चासो पाउँछु । दुवै छिमेकीसँग बोर्डरको विषय छ । एकतिर बढी र अर्कोतिर कम होला तर दुवैतिर छ । वार्ताका लागि एकदमै विशेष समय तोकिएको छैन । नयाँ सरकार हुँदै गर्दा हामीले जति बढी दुईपक्षीय संवाद, वार्ता र विश्वासको विकास गर्छौं, त्यति नै सहज ढंगले विषय टुंग्याउन सक्छौं भन्ने लाग्छ । केही विषय ‘आउटस्ट्यान्डिङ’ छन् । अप्ठ्यारा छन् । धेरै पहिलेदेखिका छन् । त्यसमा आजको भोलि नै नतिजा आउँदैन । निश्चित प्रक्रियाबाटै आउने हो । 

सरकार भनेको अविच्छिन्न उत्तराधिकारी संस्था हो । तपाईंले धेरै पटक हामीसँग पुरानो 'ब्यागेज’ छैन भन्नुभएको छ । तपाईंले के भन्न खोज्नुभएको हो ? 

हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध, विशेषगरी छिमेकमा अत्यन्तै व्यक्ति प्रधान, दल वा राजनीतिक विचारको प्रधानता रह्यो । त्यो ‘ब्यागेज’ भनेको हो । कुनै दल र व्यक्तिका आधारमा भएका सम्बन्ध वा स्वार्थको ‘ब्यागेज’ हामीले बोक्दैनौं भनेको हो । तर, पक्कै पनि परराष्ट्र सम्बन्ध भनेको देश निर्माण भएदेखि वा कतिपय अवस्थामा त्यसभन्दा अगाडि पनि जोडिन्छ । त्यही भएर ती विषयहरूमा हामी अत्यन्तै संवेदनशील छौं । त्यसलाई ‘क्यारी’ नै गर्छौं । तर, व्यक्ति वा दलको स्वार्थ पूरा गर्न गरिएका सम्झौता र सहमतिका आधारमा होइन कि नेपालको राष्ट्रिय हित र स्वार्थका आधारमा परराष्ट्र सम्बन्ध अगाडि बढाउँछौं भनेका हौं ।

सरकारको पहिलो सय दिनमा तपाईंले सम्हालेको मन्त्रालयसँग सम्बन्धित पासपोर्टको विषय विवादित बनेर आएको छ । यसलाई तपाईंले कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?

पासपोर्टको केही विषय अदालतमा पुगेको छ । त्यहाँ विचाराधीन छन् । त्यसबारे मैले टीकाटिप्पणी गर्न भएन । तर, मूल रूपमा हाम्रो चासो भनेको सरकारले एक वर्षअगाडि नै पासपोर्ट खरिदको प्रक्रियाका लागि ठेक्का आह्वान गरेको हो । ठेक्का पाएका नयाँ कम्पनीले पासपोर्ट दिनुपर्ने ‘ट्रान्जिसन’ को ‘पिरियड’ छ । ठूलो डाटा ट्रान्सफर गरेर काम सुरु गर्नुपर्ने छ । १०/१५ वर्ष काम गरेको एउटा कम्पनीबाट सम्पूर्ण डाटा अर्कोमा सारेर काम गर्नुपर्ने भएकाले चुनौतीपूर्ण नै छ । एउटा सिस्टमबाट अर्को सिस्टममा ट्रान्सफर भएर ‘फंक्सनल’ हुनुपर्ने विषय भएकाले केही चुनौती छ । सहजताका साथ काम सुरु होस् र नेपाली नागरिकले सजिलै राहदानी पाऊन् भनेर ‘ट्रान्जिसनल म्यानेजमेन्ट’ मा धेरै काम गरिरहेका छौं ।

The Prime Minister has directed that the Foreign Ministry should take the 'primary' leadership in international affairs: Foreign Minister Khanalआगामी दिनमा परराष्ट्र मन्त्रालय र तपाईंको 'फोकस’ कस्ता विषयमा रहनेछन् ? 

सरकार र जनताको मुख्य चाहना आर्थिक समृद्धिको हो । त्यही भएर घरेलु विषयले नै परराष्ट्र नीतिलाई निर्देशित गर्ने हो । आर्थिक कूटनीतिलाई प्रधानता दिएर नै हामी काम गर्छौं । त्यसैअनुसार संस्थाहरूको क्षमता विकास गर्छौं । जहाँ आवश्यकता हुन्छ, त्यहाँ मिसन थपिनेछ । कतिपय स्थानमा घटाइनेछ । घटाइने विषय बजेटमा पनि आइसकेको छ । हाम्रो जस्तो देशले अलि बढी सौम्य शक्तिको अभ्यास गर्नुपर्ने हो । त्यसका विभिन्न आयामहरूमा काम गर्छौं । अबको परराष्ट्र मन्त्रालय ‘भिजिवल’ पनि हुनुपर्छ । देशभित्र र बाहिर सबैतिर हामी ‘भिजवल’ हुनुपर्छ भन्ने मान्यताले काम गर्छौं । त्यहीअनुसार भारत र चीनको भ्रमणमा जाँदा त्यहाँका मिडियाहरूसँग संवाद गरें । त्यहाँका जनतासँग पनि सञ्चार गर्नुपर्छ । ‘भिजिवल’ भएर नेपाल सरकारको भिजन स्पष्ट ढंगले राख्ने प्रयास रहनेछ । त्यसले समग्रमा नेपालको ‘पोजिसन’ लाई विश्वमा पुर्‍याउँछ । अन्तर्राष्ट्रिय मञ्चहरूलाई नेपालको ‘इन्ट्रेस्ट’ राख्न प्रयोग गर्छौं ।

७५ प्रतिशत दूतावासमा राजदूत छैनन् । खाली भएको लामो अवधि भइसक्यो । राजदूत पठाउने तयारी कहाँ पुगेको छ ? त्यस्तै, आर्थिक कूटनीतिका लागि दूतावासहरूमा स्रोत छैन । त्यसको व्यवस्थापन हुन्छ ?

मिसनहरू खाली छन् । त्यो सही नै हो । यही हप्तादेखि त्यसको प्रक्रिया सुरु हुन्छ । खाली भएका र खाली हुन लागेका २४ वटा मिसन छन् । त्यहाँ राजदूत नियुक्ति हुने चरणमा छ । केही हप्ताभित्र टुंगिन्छ । हाम्रा मिसनहरू ‘कन्सुलर सर्भिस ओरिएन्टेड’ छन् । मिसनको क्षमता बढाउने एउटा विषय छ । दोस्रो, भएका ‘रिसोर्स’ को अधिकतम प्रयोगको विषय छ । एउटा सीमित स्रोत छ । त्यसलाई बराबरी बाँडेर काम गर्ने चलन छ । अब हामीले स्रोतलाई बराबरी बाँड्दैनौं । मिसनबाट आउने आउटपुटका आधारमा स्रोतको वितरण गरिनेछ । प्रत्येक मिसनको ‘स्पेसिक प्रायोरिटी’ छ । सबैले इकोनोमिक डिप्लोमेसीको काम गर्छन् भन्ने होइन । अब ‘स्पेसिफिक’ देश हेरेर त्यसैअनुसार स्रोत बाँड्छौं । अर्को, हामीले नगरेको विषय निजी क्षेत्रको स्रोतको प्रयोग पनि हो । सबै विषयका लागि सरकारी स्रोतमै निर्भरता भयो । चाहेको जस्तो स्रोत सरकारी बजेटबाटै मात्रै नहुने भयो । आर्थिक कूटनीतिमा निजी क्षेत्रलाई पनि संलग्न गराउने सोच हो ।

अन्त्यमा, सरकारको सय दिन पुगेको छ । तपाईं मन्त्रिपरिषद्को एक जना सदस्य हुनुहुन्छ । समग्रमा, सरकारले सय दिनका लागि लिएको लक्ष्य कति पूरा भयो ?

सय दिनमा मूलतः जनतामा आशा जगाउन सफल भएका छौं । सुशासनको अनुभूति दिन सकिएको अनुभव छ । त्यहाँ सफल भएका छौं । सय दिनकै सन्दर्भमा हामीभन्दा अगाडिका सरकार र हामीलाई तुलना गरियो भने अघिल्ला सरकारभन्दा धेरै हिसाबले क्षमता, ‘फेयरनेस’, कार्य, ‘डेडिकेसन’, ‘मोटिभेसन’ र जनताप्रतिको समर्पित भावना एकदमै देखिएको छ । त्यसले केही प्रारम्भिक नतिजाहरू ल्याएको छ । चुनावले ठूलो ‘म्यान्डेट’ सहित दिएको आशालाई जगाउन र सुशासनको पक्षमा काम गरिरहेको छ भन्ने स्पष्ट सन्देश सरकारले दिएको छ । अब सबैको अपेक्षा आर्थिक समृद्धितर्फ छ । त्यसलाई पूरा गर्न प्रतिबद्ध छौं । अबका दिनले त्यो निर्धारण हुन्छ ।

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

अनिल गिरी काठमाडौं पाेस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully