उपसभापतिको प्रतिवेदनमा ‘कन्फ्युजन’ थियो, तर सभापतिबाट आएको विषय नै पार्टीको अन्तिम लाइन हो : विपिन आचार्य

कान्तिपुरसँगको अन्तर्वार्तामा उनी भन्छन् -नेतृत्वको समावेशितामा जुन ‘ग्याप’ देखिएको छ, त्यसलाई सभापतिले मनोनयन गर्ने पदबाट पूर्ति गर्ने कोसिस पार्टीले गर्छ

असार १४, २०८३

जयसिंह महरा, राजु चौधरी

There was 'confusion' in the Vice President's report, but the issue brought forward by the President is the party's final line: Bipin Acharya

What you should know

रास्वपाको पहिलो महाधिवेशन चितवनमा सम्पन्न भएको छ । ७–१२ असारसम्म आयोजित महाधिवेशनले रवि लामिछानेकै सभापतित्वमा नयाा नेतृत्व चयन गरेको छ । साथै, पार्टीको नीतिमा स्पष्टता दिएको दाबी गरिएको छ । स्थापनाको चार वर्षपछि आयोजना गरिएको महाधिवेशनको अनुभवदेखि अबका दिनमा रास्वपाका प्राथमिकता र भूमिकाका सन्दर्भमा नवनिर्वाचित महामन्त्री विपिनकुमार आचार्यसँग कान्तिपुरका लागि जयसिंह महराराजु चौधरीले गरेको कुराकानीः

रास्वपाको पहिलो महाधिवेशनबाट तपाईं महामन्त्रीमा निर्वाचित हुनुभएको छ । कस्तो अनुभव भइरहेको छ ?

निर्वाचनको प्रक्रियामा खासगरी मत गणना भइरहेका बेलामा त्यसको अन्त्य नहुँदासम्म के होला भन्ने लागिरहन्छ । अरूको मत बढी आयो भने हारिन्छ कि भन्ने लागिरहन्छ । यस्तै अनुभूति फागुनको प्रतिनिधिसभाको निर्वाचनमा पनि गरेको थिएँ । मलाई लागेको थियो, यस निर्वाचनमा मत गणनाका बेलामा मसँग पहिलाको अनुभव छ, सहज तरिकाले लिन्छु । यो एउटा स्वाभाविक प्रक्रिया भयो । तर, निर्वाचित भइसकेपछिको अनुभव भनेकोचाहिँ जिम्मेवारीकै हो । यो पार्टी संस्थागत हुने प्रक्रियामा छ र धेरै सदस्यमा पार्टीप्रति एकदमै धेरै अपेक्षा छ । प्राविधिक कारणले महाधिवेशन तोकिएकोभन्दा दोब्बर समयमा पूरा भयो । त्यस अवधिमा पनि सदस्यमा धीरता देख्यौं । उहाँहरूको पनि जिम्मेवारी आएको छ, अपेक्षासहितको जिम्मेवारी छ । तीन दिनलाई भनेर आएका साथीहरू ६ दिनसम्म बस्नुभयो । यो देश र समाजलाई माया गर्ने व्यक्तिको समूह हो । उहाँहरूले दिएको जिम्मेवारी मैले सही अर्थमा पूरा गरिनँ भने मलाई इतिहासले माफी दिँदैन । यसर्थ, मैले एकदमै जिम्मेवारीबोध गरेको छु ।

संसदीय निर्वाचन लड्दा फरक पार्टीका प्रतिद्वन्द्वीहरू थिए । महाधिवेशनमा आफ्नै पार्टीका नेतासँग प्रतिस्पर्धा गर्नुभयो । आफ्नैसँग लड्दाको अनुभवचाहिँ कस्तो हुँदो रहेछ ?

म विधिमा रहेर काम गर्ने मान्छे हुँ । यो निर्वाचनमा मैले केन्द्रीय सदस्यमा लड्दै गर्दा मनोनयन दर्ता गर्ने बेलाको एउटा फोटो फेसबुकमा हाल्नुबाहेक खासै भोट मागिनँ । डिजाइन र पम्प्लेट केही पनि गरिनँ । महामन्त्रीमा लड्दाखेरि पनि सामाजिक सञ्जालमा पोस्ट गरिनँ । आफ्नैभित्र कोविरुद्ध भोट माग्नु ? आफ्नो लागि कोसँग भोट माग्नु ? भने जस्तो भयो । मेरा लागि नयाँ अनुभव थियो । निर्वाचनमा सबै मेरा निकटका साथीहरू थिए । जसले जिते पनि आफ्नै साथीले जित्ने त हो भन्ने भएकाले पनि मलाई दबाबको अनुभूति थिएन । चुनाव जित्नैपर्छ भन्ने पनि भएन । जबकि, प्रतिनिधिसभाको निर्वाचनमा जित्नैपर्छ भन्ने दबाब थियो । तर, यो निर्वाचनमा केही पनि थिएन । सबै प्रतिस्पर्धी साथीहरूले स्वाभाविक रूपमा लिएकाले पनि मलाई यो निर्वाचनमा सहज भयो । मनीषजी तथा गणेशजी कहीँ न कहीँ लोकतन्त्रको आधारभूत पक्ष बुझ्ने व्यक्ति भएकाले पनि मलाई सहज भयो । यो निर्वाचनलाई साथीहरूले ‘पर्सनल’ रूपमा लिने भएको भएचाहिँ गाह्रो हुन्थ्यो । मेरो जितलाई उहाँहरूले पनि आफ्नै जितका रूपमा लिनुभएको छ । म महामन्त्री बन्दै गर्दा मेरो यात्रामा कहीँ न कहीँ गणेशजी, सागरजी, मनीषजी पनि सँगसँगै हुनुहुन्छ भन्ने महसुस भएकाले धेरै असामञ्जस्यताको स्थिति महसुस गरेको छैन । 

तपाईंलाई महामन्त्रीमा जिताउन केहीले उम्मेदवारी फिर्ता लिएर समर्थन जनाए । यसलाई लिएर तपाईंहरु समूह बनेको व्याख्या भयो । यस्तो व्याख्या ठीक हो ?

यसमा दुइटा पक्ष हुन्छन् । जब कुनै व्यक्तिले कुनै पदमा इच्छा देखाएर उम्मेदवारी दिन्छन् भने त्यो स्वाभाविक विषय हुन्छ । एउटा व्यक्तिले अर्को व्यक्तिलाई ‘कन्भिन्स’ गरेर ‘सहयोग गर न, किन हामी आफैं–आफैं लड्नु’ भन्ने खालको विश्लेषण गर्नुलाई पनि स्वाभाविक रूपमा लिइन्छ । धेरै व्यक्तिले आकांक्षा देखाउँदा सभापतिले पनि ‘उम्मेदवारी धेरै भयो, सकेसम्म घटाउनुस् है, मिल्नुस् है’ भनेर बाटो खोलिदिएको हुँदा मलाई पनि एक पटक कुरा गरौं भन्ने भयो । साथीहरूले मेरो कुरा स्विकार्नु पनि भयो । मैले उम्मेदवारी फिर्ता लिएका साथीहरूसँग मात्र होइन, फिर्ता नलिएका साथीहरूसँग पनि संवाद गरेको हुँ ।

सभापतिले पनि रातभर 'कन्भिन्स’ गर्ने प्रयास गर्नुभएको थियो । तर सहमति भएन । किन ?

व्यक्तिका लागि ‘कन्भिन्स’ गर्नुभन्दा सभापतिले ‘तपाईंहरू सबै जना नम्बर घटाउन लाग्नुस् है’ भन्नुभयो । विधानतः संरक्षक जस्तो मान्छे सभापतिले कुनै पनि व्यक्तिको ‘साइड’ लिने सवाल भएन । उहाँले ‘तपाईंहरू ‘वान टु वान’ गफ गर्नुहुन्छ भने पनि म तयार छु है’ भन्नुभएको थियो । त्यसको फाइदा निकाल्दै सबै साथीहरू एकअर्कासँग छलफल गर्न तयार हुनुभयो । एउटा समूह भनेको भनेर कसैले बोलेको छ भने पनि हाम्रो नियत होइन भनेर मैले भनिसकेको छु । यो महाधिवेशनमा सहभागी सबै साथीहरू संस्थापन समूह हो । पार्टीमा कोही अगाडि आउनुभएको होला, कोही पछाडि । यसलाई समूह भन्ने तत्त्वका रूपमा लिनुभन्दा पनि एउटा व्यक्तिले अरू कोही व्यक्तिलाई निर्वाचनमा साथ र सहयोगको अपेक्षा लिएर कन्भिन्स गर्‍यो, त्यसलाई सहर्ष स्वीकार गरिदिनुभयो भन्ने अर्थमा मैले लिन्छु । त्यसबाहेक अन्य तरिकाले विश्लेषण गर्न खोजियो भनेचाहिँ ती व्यक्तिहरूको मप्रतिको माया र सद्भावको गलत अर्थ हुन्छ होला । 

There was 'confusion' in the Vice President's report, but the issue brought forward by the President is the party's final line: Bipin Acharyaपदाधिकारीमा जे–जति निर्वाचित हुनुभएको छ, त्यसलाई कसरी विश्लेषण गर्नुहुन्छ ? समावेशीको दृष्टिकोणले कसरी हेर्नुभएको छ ?

केन्द्रीय समितिमा महिलाको जुन संख्याको उपस्थिति छ, त्यसबाट म एकदमै खुसी छु । उहाँहरू स्वच्छ प्रतिस्पर्धाबाट समितिमा आउनुभएकामा खुसी छु । प्रदेशको संरचना वा कोटाबाट मात्रै महिला आउँछन् भन्ने बुझाइ हुन्थ्यो । तर त्यसो भएन । यहाँ त लोकप्रिय मत ल्याएर जित्नुभयो । हामीले सोचेभन्दा धेरै संख्यामा महिला निर्वाचित हुनुभएको छ । त्यस अर्थमा खुसी छु । अर्को अर्थमा दुःख पनि छ । समावेशिताको जुन ‘कम्पोजिसन’ छ, खुला प्रतिस्पर्धा हुँदा त्यसअनुसार निर्वाचित हुन सक्नुभएन । हामीले केन्द्रीय समितिमा ३२ जनालाई मात्रै ‘क्लस्टर कम्पोजिसन’ गरेका थियौं । त्यसबाहेक केन्द्रीय समितिमा जुन ढंगले समावेशी नेतृत्व निर्वाचित हुनुपर्ने हुन्थ्यो, त्यसअनुसार भएन । पदाधिकारीमा दुई जना महिला निर्वाचित हुनुभएको छ । एक जना मात्रै मुस्लिम ‘क्लस्टर’ बाट आउनुभएको छ । नेतृत्वको समावेशितामा जुन ‘ग्याप’ देखिएको छ, त्यसलाई सभापतिले मनोनयन गर्ने पदबाट पूर्ति गर्ने कोसिस पार्टीले गर्छ । 

निर्वाचनमा हामी संस्थापन एक भयौं भनेर तपाईंहरूले भन्नुभयो । त्यसैलाई इंगित गरेर होला, सभापतिले अन्तिममा गुट बनेको भए यहीँबाट अन्त्य गरौं भन्नुपर्‍यो । रास्वपामा गुट बनेको भए अब कसरी अन्त्य हुन्छ ?

यसमा सबैभन्दा धेरै जिम्मेवारी नेतृत्वकै हुन्छ जस्तो लाग्छ । निर्वाचित भएर आएको नेतृत्वले अन्य साथीहरूलाई कसरी समेट्छ ? उसको सोच कस्तो छ भन्ने विषयले ठूलो अर्थ राख्छ । महाधिवेशनपछि पनि गुटबन्दी भयो भने गलत हो । पार्टीमा हरेक व्यक्तिले आफूलाई कुनै कारणले कमजोर महसुस नगरुन् भनेर नेतृत्वमा आउने साथीहरूले विवेक प्रयोग गर्नुपर्छ । सुन्दा सजिलो तर गर्न गाह्रो काम हो, यो । विधि कति पारदर्शी बनाउँछौं, त्यसले सबै जनालाई कति समेट्छ भन्ने जस्ता साना विषयमा नै सुधार गरिनुपर्छ । सभापति वा वरिष्ठ नेतालाई गुटबन्दीमा कुनै चासो नभएको हामी बुझ्छौं । तर, मूल नेतृत्वको नाममा तल्लो तहमा हुने गुटबन्दीलाई निमिट्यान्न पार्ने जिम्मा नेतृत्वकै हो । सबै नेतृत्वले तल्लो तहमा भइरहेको गतिविधिलाई निगरानी गरे भने यस्ता विषय कम हुन्छन् ।

पदाधिकारीमा मधेशी र जनजातिको उपस्थिति देखिँदैन । मनोनयन गर्दा यिनै समुदायबाट आउने देखिन्छ । यस सन्दर्भमा उठ्ने प्रश्नलाई तपाईंहरूले कसरी जवाफ दिनुहुन्छ ? 

सभापतिले मनोनयन गर्ने ११ जना पदाधिकारी छन् । ४ जना महिला अनिवार्य गरिएको छ । त्यसबाहेक दुई जना पदाधिकारी खस/आर्यभन्दा बाहेक ‘क्लस्टर’ बाट मनोनयन हुनुपर्छ भनेका छौं । तर हामीले के स्वीकार गर्नुपर्छ भने, सबै कुरा एकै पटक, एकै दिन वा दुई/चार वर्षमै पूर्ण हुन्छ भन्ने छैन । त्यसका लागि केही समय लाग्छ नै । आजको दिनमा ‘क्लस्टर कम्पोजिसन’ मा मात्रै ध्यान दिएर अरूलाई ‘बाइपास’ नै गर्‍यौं भने फेरि पार्टीलाई शतप्रतिशत नेतृत्व नदिन पनि सक्छ । बिस्तारै ‘फ्रेमवर्क’ विकास गरेर ‘क्लस्टर’ का साथीहरूलाई ‘राइट वे’ मा ‘ग्रुम’ गरेर उहाँहरूलाई समग्र प्रतिस्पर्धाका लागि बलियो हिस्सा बनाउने गरी पार्टीले काम गर्छ । त्यसपछि बिस्तारै स्थानीय निर्वाचन वा अन्य बाटोमा समावेश गर्न सकिन्छ ।

रास्वपाको अबको नीतिका विषयमा महाधिवेशनमा छलफल नै भएन । यति ठूलो भेलामा पार्टीको नीतिबारे छलफल गर्न किन आवश्यक ठानिएन ?

विधानको हकमा हामीले लगभग दुई महिना लगाएर छलफल गरेका थियौं । सो दस्ताबेज सबै तहका विभागसँग छलफल गरेर लेखिएको हो । विमति कसैको थिएन । सभापतिको राजनीतिक प्रतिवेदनका सन्दर्भमा उहाँले प्रस्टसँग भन्नुभएको छ, यसमा गर्नुपर्ने संशोधन कति छन्, ४ घण्टाको बहसले पनि समय नपुग्न सक्छ, यसलाई भविष्यमा मज्जाले छलफल गरेर चाहिने कुराहरू राख्छौं । त्यस कारणले पार्टी अझै सो दस्ताबेजलाई प्रभावकारी बनाउन लागिपरेको छ । मुख्य घटनाका दिन छलफल भएन भन्नु एउटा पक्ष रह्यो । तर, त्यसअघि भएका छलफलले पनि ती विषयलाई समेट्छ जस्तो लाग्छ । 

रास्वपालाई सुरुवातदेखि नै विचारविहीनहरूको समूह भएको आरोप लाग्थ्यो । महाधिवेशनबाट रास्वपाले सैद्धान्तिक रूपमा कति 'डिपार्चर’ गर्न सक्यो ?

हामीले अस्तिसम्म संवैधानिक समाजवाद भन्दै आएका थियौं । व्यक्तिगत रूपमा त्यसप्रति मेरो सुरुवातदेखि नै विमति थियो । पहिलाको व्याख्या नेपालको संविधानलाई आधार बनाएर समाजवादतर्फ उन्मुख हुने भन्ने थियो । तर, संविधान नै परिवर्तनशील भएकाले संवैधानिक समाजवाद कालान्तरमा गएर हाम्रा लागि कति ‘भ्यालिड’ हुन्छ भन्ने थियो । उदाहरणका लागि, गणतन्त्र नै परिवर्तन हुन सक्ने संविधानमा छिद्र छ । जुन विषयलाई हामीले मानेका छौं, त्यही विषय नै भविष्यमा रहेन भने हामी त्यसलाई मान्छौं कि मान्दैनौं भन्ने हुन्छ । महाधिवेशनले गरेको एउटा मुख्य ‘डिपार्चर’ भनेकै हामीले अवलम्बन गरेको ‘सामाजिक लोकतन्त्र’ हो । यो महाधिवेशनले ‘संवैधानिक समाजवाद’ सही होइन, त्यसबाट ‘डिपार्चर’ भएर ‘सामाजिक लोकतन्त्र’ मा जानुपर्छ भन्यो । 

पहिलो लोकतन्त्र मात्रै मान्ने भन्ने थियो । अहिले गणतन्त्र पनि मान्ने भन्ने विषय आएको हो ?

हामीले सुरुवातदेखि नै संविधानमा लेखिएका लोकतन्त्र र गणतन्त्रलाई मान्छौं भनेर प्रस्टसँग भनेका थियौं । विधानमै लेखेका छौं । वाचापत्रमा पनि लेखेका छौं । सुरुवाती समयमा हाम्रो पार्टी सानो थियो । त्यसैले त्यस्ता विषय जनतामाझ पुगेको थिएन । पार्टी ठूलो भएपछि सबैले चासो दिन थाले । ती विषय पनि बाहिर आउन थाले । त्यति मात्रै हो । 

रास्वपाले संविधानको परिधिमा रहेर लोकतान्त्रिक गणतन्त्रमा प्रतिबद्धता व्यक्त गर्न खोजेको हो ?

पार्टी स्थापनादेखि नै हामीले संविधानको परिधिमा रहेर उपलब्धिहरूलाई समेट्छौं भनेकै हौं । हाम्रो अझै पनि संविधानका केही विषयमा विमति होला । तर विमतिलाई सहमतिमा बदल्ने व्यवस्था संविधानले नै दिएको छ । हामीले प्राप्त गर्न खोजेका विषयका लागि संविधानबाहिर जानुपर्ने नै छैन । संविधानले नै सबै बाटो खोलिदिएकाले त्यति धेरै समस्या केही पनि आउला जस्तो देख्दिनँ । 

महाधिवेशनमै प्रस्तुत गरिएको दस्ताबेजका कारण संघीयता र विशेषतः प्रदेशका सन्दर्भका प्रश्न उठे नि ?

हाम्रो विधान प्रस्ट छ । सभापतिले प्रस्तुत गर्नुभएको दस्ताबेजमा पनि कहीँ कतै प्रदेश खारेज गर्नुपर्छ भन्ने उल्लेख छैन । उपसभापतिको प्रतिवेदनमा प्रस्तुत विषयमा केही ‘कन्फ्युजन’ थियो । तर सभापतिको प्रतिवेदन पनि आइसकेको छ । सभापतिको प्रतिवेदनमा जे विषय आएको हो, त्यो नै पार्टीको अन्तिम लाइन हो भन्ने कुरा बुझ्नुपर्छ ।

'पार्टीको स्ट्रेन्थ पुगेको दिन नै प्रदेशसभा खारेज गर्छौं’ भनिएको थियो । त्यस्तो गर्न हाम्रो सामाजिक–राजनीतिक संरचनाले कत्तिको दिन्छ जस्तो लाग्छ ?

म दुइटा विषयमा प्रस्ट छु । पहिलो, नेपाली नागरिकको प्रथम आवश्यकता भनेको अवस्था बदल्नु नै हो । अझै पनि व्यवस्था बदल्नुपर्छ भनेर राजनीतिक रोटी सेक्ने गरी राजनीति हुनुहुँदैन भन्नेमा सचेत छु । व्यवस्था परिवर्तनको नाममा राजनीतिमा अगाडि आउने तर नागरिकको जीवनमा कुनै तात्त्विक परिवर्तन नआउँदा नागरिकमा राजनीतिप्रति नै जुन निराशा छाउने अवस्था छ । यस्तो अवस्थामा अहिले ‘फिक्स’ गर्नुपर्ने काम छन्, जुन नगर्दा थप बिग्रिन्छ, त्यो ‘फिक्स’ गरौं । तर त्यसबाहेक मुख्य सामर्थ्य सुशासनमै लगाऔं, आर्थिक समृद्धिमै लगाऔं । ती काम भइसकेपछि जनतासँग बहस गरौं । यसका कोर्स के हुन्, टर्म्स के हुन् भनेर घनीभूत छलफल भएपछि बल्ल अर्को निर्णयमा जाऔं । व्यवस्था परिवर्तनको विषयमा बृहत् बहस हुनुपर्छ ।

There was 'confusion' in the Vice President's report, but the issue brought forward by the President is the party's final line: Bipin Acharyaतपाईंहरूको महाधिवेशनबाट प्रदेशसभा खारेजीको विषय उठेपछि धेरैले फेरि द्वन्द्व हुन्छ कि भनेर चिन्ता व्यक्त गर्न थाले । दुईतिहाइको सरकार पनि 'पपुलारिटी’को पछि लाग्छ कि, त्यसै कारणले द्वन्द्व हुन्छ कि भनेर चिन्ता जनाउन थालेका छन् नि ?

चिन्ता गरिनुपर्छ । प्रश्न आउनु पनि स्वाभाविक हो । देशको सबैभन्दा ठूलो दल, जसको दुईतिहाइको सरकार छ । यस्तो सत्ता सञ्चालन गर्ने व्यक्तिहरूलाई सरकारले दिने ‘स्टेटमेन्ट’ ले समाजमा पर्ने प्रभावको विश्लेषण गर्न नपर्ने सुविधा हुँदैन । रास्वपा त्यस पक्षमा सचेत छ । तपाईंको मिडियाबाट के भन्न चाहन्छु भने हाम्रो उद्देश्य भनेको समाजलाई जोगाउने हो, विभाजित गर्ने होइन । यसमा राष्ट्रिय स्वतन्त्र पार्टीको विषयमा चिन्ता नलिन आग्रह गर्छु । 

महाधिवेशनमा सरकार सञ्चालनका सन्दर्भमा छलफल भएन । सरकारलाई पार्टीले ॅगाइड’ गर्नुपर्ने होला नि ? यसमा कसरी काम गर्नुहुन्छ ?

यो धेरै अप्ठ्यारो मान्नुपर्ने विषय नै होइन । राज्य सञ्चालन गर्ने जिम्मा सरकारको हो । सरकारलाई गाइड गर्ने जिम्मा पार्टीको हो । तर राज्य सञ्चालन गर्दैगर्दा पार्टीले सूक्ष्म ढंगले हरेक कुरामा चासो राख्दैन । विगतमा पार्टीले सरकारलाई स–सानो कुरामा चासो राखेका कारण समस्या आएको हो । हाम्रो पार्टी सरकार सञ्चालनमा ‘क्लियर’ छ । सरकार भनेको कुनै व्यक्ति विशेषको होइन । यो सरकार पार्टीको सरकार हो । राष्ट्रिय स्वतन्त्र पार्टी ‘क्लियर’ छ र पार्टीले ‘माइक्रो म्यानेजमेन्ट’ गर्न हुँदैन भन्नेमा सचेत छ । प्रशासन सञ्चालनमा पार्टीलाई रुचि हुनु पनि हुँदैन । 

संसद् कसरी अघि बढ्छ ? तपाईंहरू महाधिवेशन सकेर व्यवस्थित हुनुभएको छ भन्ने सबैलाई लागेको छ । यसको प्रभाव संसद्मा कस्तो रहन्छ ?

तीन दिनको महाधिवेशन हामीले ६ दिनमा पूरा गर्‍यौं । यसर्थ, व्यवस्थापनको पाटोमा धेरै समस्या छन् भन्ने जगजाहेर भएको छ । हाम्रो सीमितता स्विकार्नुपर्छ । सानो मिहिनेतले अब पुग्दैन भन्ने पनि स्विकार्नुपर्छ । संसद्, पार्टी र सरकार सञ्चालन जस्ता ठूला जिम्मेवारी भएकाले अब कोसिस गर्दै छौं भनेर मात्रै पनि पुग्दैन, त्यसैले सबैले जिम्मेवारी बोकेर जानुभएको जस्तो लाग्छ । तीन दिनको कार्यक्रम ६ दिन पुग्नुमा म लज्जित छु । त्यसलाई कसरी ‘डिफेन्ड’ गर्ने भनेर मसँग कुनै उत्तर नै छैन । लज्जित हुनुबाहेक र यो एउटा ‘डिजास्टर’ हो भन्नुबाहेक मसँग अरू केही छैन । पार्टीका कार्यकर्ताहरूसँग एकदम ठूलो संयमता भएर पो यो महाधिवेशन सफल भयो । 

हरेक ठाउँमा यस्तै संयमता हुँदैन । तसर्थ, यो महाधिवेशन त हाम्रा लागि ठूलो पाठ हो । यसले सिकाएको छ– ६ दिन चितवनको गर्मी त खायौं तर यस्तै किसिमबाट सरकार र पार्टी सञ्चालन गर्दै जाने हो भने तिमीहरूलाई हामी छोड्दैनौं भनेर दिशानिर्देश त हो । यसैलाई आधार बनाएर संसदीय प्रस्तुतिलाई कसरी प्रभावकारी बनाउने भनेर पनि सोच्नुपर्छ । हाम्रो पार्टी आधुनिक तरिकाले चल्नुपर्छ, पुरातन तरिकाले चल्दैन भन्ने विषयलाई यही महाधिवेशनले देखाइसकेको छ । त्यसैले संसद् अझ बढी सशक्त बनाउने, सरकार पनि पार्टीको ‘फन्डामेन्टल’ का आधारमा चल्ने बनाउने र पार्टीलाई विधिमा चल्ने पारदर्शी पार्टी बनाएर २०८४ को निर्वाचनमा आफूलाई तयार गर्ने दिशामा अगाडि बढ्छ । 

पहिलो चरणको निर्वाचन सकेपछि मात्रै प्रतिनिधिको संख्या टुंगो लाग्नु र पदाधिकारी निर्वाचनमा एकतिहाइ मात्रै प्रतिनिधिले भोट हालेको स्थितिले असहज सिर्जना भएन ?

गाह्रो भयो । सबैले मतदानमा भाग लिनुभएको भए मैले पाएको ६ सय भोट पनि २५ सय पुग्थ्यो नि । नम्बर घट्दै गर्दा मेरो भोट मात्रै घटेन । महाधिवेशनमा सहभागी भएर भोट हाल्न चाहेका प्रतिनिधिले नेतृत्वका कारण अधिकार प्रयोग नगरेर फर्किन पर्‍यो । मेरो भोट बढ्थ्यो कि घट्थ्यो भन्दा पनि पार्टी प्रतिनिधिले आफूले प्रयोग गर्न पाउने अधिकार महाधिवेशन व्यवस्थापनमा भएका कमजोरीका कारण प्रयोग हुन पाएन । यसमा मलाई चिन्ता लागेको हो ।

There was 'confusion' in the Vice President's report, but the issue brought forward by the President is the party's final line: Bipin Acharyaमधेश प्रदेशमा देखिएको संगठनको विवाद र समस्या तपाईं महामन्त्री भएपछि कसरी समाधान गर्नुहुन्छ ? 

अहिले प्रारम्भमै मेरो कुरा यस्तो हो भन्नुभन्दा पनि म विस्तृत फ्रेमवर्क बनाउनेछु । मैले प्राप्त गर्न खोजेका विषयलाई तत्कालीन, मध्यकालीन र दीर्घकालीन खाका बनाएर सबैमाझ सार्वजनिक गर्न पाएँ भने बल्ल त्यसको अर्थ रहन्छ । पार्टीको संरचनामा मधेश प्रदेशमा मात्र होइन, हरेक प्रदेशमा केही न केही समस्याहरू छन् । विदेशमा भएकाहरूमा पनि समस्या छन् । त्यसलाई समाधान गर्ने काम अहिले आउने महामन्त्रीहरूकै हो । चाडै नै नयाँ महामन्त्री पनि मनोनीत हुनुहुन्छ । हामी दुई जनाबीचको ट्युनिङलाई प्रस्ट बनाएर पार्टीभित्रका जति पनि समस्या छन्, तिनलाई मिहिन ढंगले केलाएर, प्राथमिकताअनुसार समस्यालाई ‘फिक्स’ गरेर अघि बढ्छौं । 

महाधिवेशनका बेला तपाईंलाई धेरै उम्मेदवारले समर्थन गर्नुभयो । कतिपयले मन्त्रिपरिषद्मै केही हेरफेर हुन सक्ने सम्भावना पनि औंल्याउनुभयो । त्यस्तो समझदारी भएको छ ? 

अहिले पदको ‘बार्गेनिङ’ हुँदा पनि हुँदैन । अर्कोतर्फ, यसो भनिनु जो–जो साथीहरूले मलाई समर्थन गर्नुभयो, उहाँहरूले केही सम्झौता गर्नुभयो भन्दा उहाँहरूको ‘डिग्निटी’ प्रति नै ‘अट्याक’ होइन र ? ‘टप फाइभ’ नेताहरू चुनावमा को कहाँ जाने, को कहाँ जाने विषय भइहाल्छ । तर त्यसैका आधारमा मन्त्रिपरिषद् वा अन्य ठाउँमा अवसर पायो भन्दै गर्दा त्यो त पुराना राजनीतिक दलले गरेको जस्तै काम हुन्छ । उहाँहरू सबै आफ्नो ठाउँमा सक्षम हुनुभएकाले भविष्यमा स्वाभाविक रूपमा अवसर आउँछ । तर त्यसलाई महाधिवेशनसँग जोड्ने काम भयो भने उहाँहरूको क्षमतामाथिको प्रश्न हुन्छ । 

५१ जना सदस्य कहिले मनोनीत हुन्छन् ? तपाईंसँगै शपथ हुन्छ कि फरक हुन्छ ? 

सभापतिले सदस्यहरू मनोनीत गर्नुहुन्छ । तर उहाँको फरक विशेषता छ । पार्टीभित्र छलफल गर्नुहुन्छ । उहाँको आफैं डिसिजन गरेर सोध्नुभन्दा हामीसँग छलफल गरेर मात्रै निर्णय गर्ने स्वभाव छ । ५१ जनाको हकमा पक्कै पनि छलफल हुन्छ । तर विशेष अधिकार सभापतिकै भएकाले उहाँले गर्नुहुन्छ । तर निर्वाचनबाट नै धेरै महिला सदस्यहरू आइसक्नुभएकाले धेरै सहज हुनेछ । 

There was 'confusion' in the Vice President's report, but the issue brought forward by the President is the party's final line: Bipin Acharyaअन्त्यमा, ३ दिनका लागि आएका महाधिवेशन प्रतिनिधिहरू ६ दिन बसेर तपाईंहरूलाई भोट हालेर फर्किनुभयो । उहाँहरूलाई के भन्नुहुन्छ ?

पहिलो त मनैदेखि माफी माग्छु । उहाँहरू जुन पार्टीको परिकल्पना गरेर आउनुभएको थियो, त्यस्तो नपाउनु भएको पनि हुन सक्छ । उहाँहरूलाई के भन्छु भने नियतमा समस्या थिएन । ‘एबिलिटी’ मा समस्या हुन सक्छ । जब नियतमा ठीक हुन्छ, ‘एबिलिटी’ को समस्या पनि बिस्तारै नेतृत्वकर्ताले फिक्स गर्दै जान्छ । तपाईंले यस पटक देख्नुभएको समस्या पार्टीको चरित्र होइन । पार्टी जीवनमा अबचाहिँ यस्तो अवस्था आउँदैन । चितवनको गर्मीमा ६ दिन राखेर सजाय दिए जस्तो भएको छ । यसले मलाई लज्जित बनाएको छ । अब त्यसो हुन दिँदैनौं ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

राजु चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।

Link copied successfully