महाधिवेशनबाट पार्टीले स्थायी र परिपक्व संरचना पाउँछ : सोविता गौतम

कान्तिपुरसँगको अन्तर्वार्तामा उनी भन्छिन्- समावेशिता, महिला नेतृत्व र सीमान्तकृत समुदायको प्रतिनिधित्वलाई संस्थागत गरी परिपक्व र समावेशी नेतृत्व बनाउने हाम्रो प्रतिबद्धता छ

असार ८, २०८३

गौरव पोखरेल, जयसिंह महरा, डीपी उपाध्याय

The party will get a permanent and mature structure from the general convention: Sobita Gautam

What you should know

रास्वपाको महाधिवेशन चितवनमा जारी छ । महाधिवेशनबाट पार्टीले नयाँ नीति र नयाा नेतृत्व चयन गर्नेछ । मुलुकको सबैभन्दा ठूलो पार्टीको पहिलो महाधिवेशनले निर्वाचित गर्ने नेतृत्व र लिने नीतिका विषयमा सर्वत्र चासो छ । यही सन्दर्भमा रास्वपाको स्थापना कालदेखि नै जोडिएका नेता तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग कान्तिपुरका लागि डीपी उपाध्याय, जयसिंह महरा गौरव पोखरेलले गरेको कुराकानीः

कुनै पनि राजनीतिक दलको पहिलो महाधिवेशनले त्यसको भविष्य निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्छ  । पार्टीले कस्तो नीति लिन्छ, कस्तो नेतृत्व चयन गर्छ र नेतृत्व तहमा कस्ता व्यक्तिहरू आउँछन् भन्ने विषयले पार्टीको विचार र चरित्र निर्धारण गर्छ  । यस्ता सन्दर्भमा महाधिवेशनबाट तपाईंको अपेक्षा के छ ?

हामीले ७ असार २०७९ मा वैकल्पिक राजनीतिको अभियानबाट यात्रा सुरु गरेका थियौं । वैकल्पिक राजनीतिबाट अघि बढ्दै आज हामी मूलधारको राजनीतिमा आइपुगेका छौं । यात्रा छोटो भए पनि यो अवधिमा धेरै अनुभूति गर्ने अवसर पायौं । संसदीय अभ्यासको अनुभव भयो, सडकको पनि अनुभव भयो  । हामी मूलतः सडक आन्दोलनबाट आएका मानिस होइनौं । हाम्रो विश्वास वैचारिक बहसमा थियो, फरक विचारका साथ जनतामाझ जाने उद्देश्यले हामी राजनीतिमा आएका हौं । यी सबै अनुभूतिका बीच देशमा भएका विभिन्न राजनीतिक घटनाक्रमले मूलधारमै रास्वपाको आवश्यकता छ भन्ने विश्वास जनताले व्यक्त गरे । जसका कारण हामी आज यहाँसम्म आइपुगेका हौं ।

संस्थापक केन्द्रीय सदस्यको हिसाबले पार्टी यति छोटो समयमा यो स्थानमा पुग्नु मेरो लागि गर्व र सौभाग्य दुवै विषय हो । नयाँ पार्टी सुरु गर्दा सबैको चाहना हुन्छ— एक दिन मूलधारको राजनीतिमा पुग्ने । तर त्यो यात्रा कति लामो हुन्छ भन्ने सुरुवात गर्नेहरुलाई थाहा हुँदैन । लक्ष्य स्पष्ट हुन्छ, तर त्यो लक्ष्यमा कहिले पुगिन्छ भन्ने निश्चित हुँदैन । त्यसैले निरन्तर मेहनत गर्दै अघि बढ्ने संकल्पका साथ हामी हिँडेका थियौं । यति छिट्टै यो स्थानमा पुग्नु हामी सबैका लागि गर्वको विषय हो । अहिले फर्केर हेर्दा, छोटो समयमै हामीले जुन धरातलबाट यात्रा सुरु गरेका थियौं, सांगठनिक रूपमा त्यो आधार धेरै फराकिलो भएको छ । तर वैचारिक दृष्टिकोणले भने अझै धेरै काम गर्न बाँकी छ । पार्टीको स्कुलिङदेखि लिएर वैचारिक प्रशिक्षणसम्मका धेरै क्षेत्रमा हामीले थप मेहनत गर्नुपर्ने अवस्था छ ।

अब प्रथम महाधिवेशन हुँदैछ । मेरो अपेक्षा के छ भने यो महाधिवेशनले रास्वपालाई एउटा परिपक्व राजनीतिक दलका रूपमा स्थापित गर्नेछ । नेतृत्व पनि त्यही अनुरूप चयन हुनेछ भन्ने विश्वास छ । देशभर देखिएको उत्साह र प्रतिनिधिहरूको सहभागिता हेर्दा पार्टीले सक्षम नेतृत्व चयन गर्नेछ भन्ने लाग्छ । सभापतिका रूपमा त हाम्रो नेतृत्व रवि लामिछानेले नै गर्नुहुनेछ । त्यसबाहेक पनि अन्य सक्षम नेतृत्व चयन भएर पार्टीलाई अझ सुदृढ र प्रभावकारी बनाउन योगदान गर्नुहुनेछ भन्ने अपेक्षा गरेको छु ।

रास्वपा आफूलाई नयाँ राजनीतिक शक्ति भन्छ तर संगठनभित्र महिला, दलित र सीमान्तकृत समुदायको प्रतिनिधित्व अझै न्यून छ । जिल्ला सभापतिमा महिला दुई जना र दलित एक जना मात्रै निर्वाचित हुनुभएको छ । पहिलो महाधिवेशनले यो तस्वीर बदल्छ, कि समावेशिता तपाईंहरूको नारामै सीमित रहने हो कि ?

विशेष वर्ग, समुदाय वा लिंगको मात्रै प्रतिनिधित्व हुने पदाधिकारी बनाउने कि समानुपातिक कोटामार्फत समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने भन्ने विषयमा हाम्रो धारणा स्पष्ट छ । रास्वपाले सुरुदेखि नै समावेशी सोचलाई आफ्नो वैचारिक आधार बनाएको हो । हाम्रो पार्टीको मूल चरित्र नै सबै वर्ग, समुदाय र सिमान्तकृत समूहलाई मूलधारमा समेट्ने हो । जहाँ–जहाँ सम्भव भएको छ, त्यहाँ–त्यहाँ हामीले समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने प्रयास गरेका छौं । तर भुइँ तहसम्म पुग्दा अझै धेरै काम गर्न बाँकी छ । मैले अघि पनि भनेँ, स्कुलिङमा हामी कमजोर छौं ।

पार्टी त तीव्र रूपमा विस्तार भयो, सदस्य पनि धेरै भए । तर राजनीतिलाई सुझबुझ, चेतनासहित आउने साथीहरूलाई व्यवस्थित रूपमा प्रशिक्षण दिन सकेनौं भने केही पक्ष छुट्ने सम्भावना रहन्छ । त्यसैले अहिले चुनौती तल्लो तहको संगठन, स्कुलिङ र क्षमता विकासमै छ । पार्टी निर्माणसँगै अब त्यसतर्फ थप ध्यान दिन्छौं । माथिल्लो तहमा भने हामीले सकेसम्म समावेशी अभ्यास गरेका छौं । मन्त्रिमण्डलदेखि पार्टीभित्रका विभिन्न जिम्मेवारीसम्म दलित, बादी समुदाय, महिला, फरक यौनिक तथा लैङ्गिक अल्पसंख्यकलगायत सबै समुदायलाई समेट्ने प्रयास गरेका छौं ।

प्रश्न सरकारको मात्र होइन, पार्टीको पनि हो । पहिलो महाधिवेशनपछि नेतृत्व संरचनाले देशको सामाजिक विविधता प्रतिबिम्बित गर्छ, कि समावेशिता फेरि कोटामै सीमित रहन्छ ?

बनाउनुपर्छ, हामी त्यसमा प्रयत्नशील छौं । हाम्रो प्रयास भनेको दलको संरचनालाई सकेसम्म समावेशी बनाउने हो । अहिले नै अन्तिम संरचना कस्तो हुन्छ भनेर भन्न सकिादैन । तर नेतृत्व चयन हुने समयमा सबै समुदायलाई समेट्ने गरी खुला र समावेशी अभ्यास गर्ने हाम्रो प्रतिबद्धता छ । यस विषयमा हामी संवेदनशील पनि छौं ।

महाधिवेशनले त आगामी नीति र नेतृत्व मात्रै होइन, विधान पनि पारित गर्छ । महिलालाई नेतृत्वमा समेट्नका लागि ‘उप/सह’ पदमा मात्रै जिम्मेवारी दिन लागेको देखिन्छ । त्यसैले कार्यकारी पदमा समावेशी नेतृत्व सुनिश्चित गर्ने व्यवस्था विधानमै राख्नुहुन्छ कि राख्नुहुन्न ?

यो विषय हामीले केन्द्रीय समितिको बैठकमै उठाएका थियौं । महिलाको प्रतिनिधित्व ‘उप’मा मात्रै सीमित हुने होइन । अन्य सबै पद खुला छन् । तर आरक्षणमार्फत महिलाको सहभागिता सुनिश्चित हुनुपर्छ भन्ने हाम्रो धारणा हो । त्यो व्यवस्था विधानमै समेटिनुपर्छ भन्ने विषयमा विस्तृत छलफल भएको छ । सभापतिले पनि यस विषयमा आफू प्रतिबद्ध रहेको स्पष्ट रूपमा भन्नुभएको छ । सबै साथीहरू यसमा सहमत हुनुहुन्छ ।

महिलाको हकमा संविधानले सुनिश्चित गरेको कम्तीमा ३३ प्रतिशत प्रतिनिधित्व त हुनैपर्छ । तर हाम्रो पार्टीभित्र त किन ३३ प्रतिशत मात्रै ५०–५० वा ५१–४९ को प्रतिनिधित्वतर्फ जानुपर्छ भन्ने बहससमेत भएको छ । जनसंख्याको अनुपातअनुसार अझ बढी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ भन्ने धारणा पनि आएको छ । त्यसमा अधिकांश साथीहरूको समर्थन रहेको छ ।

रास्वपाले करिब ५२ लाख मत पाएको छ । जनमत हेर्दा मधेश, महिला र नयाँ पुस्ताको ठूलो साथ देखिन्छ । तर नेतृत्व र पद बाँडफाँटको विषय आउँदा ती समुदायलाई अघि सार्न भने पार्टी किन हिच्किचाइरहेको देखिन्छ ?

त्यस्तो होइन । हामी २१ जनाबाट पार्टी सुरु गरेर छोटो समयमै यहाँसम्म आइपुगेका हौं । यति ठूलो जनमत हाम्रो अपेक्षाभन्दा बाहिरको जनविश्वास थियो, यो जनताको हामीमाथि ठूलो विश्वास र भरोसा हो । त्यसकारण सुरुका वर्षहरूमा हाम्रो ध्यान राज्य सञ्चालनको दृष्टिकोण र वैकल्पिक राजनीतिको एजेन्डामा बढी केन्दिूत भयो । संगठन निर्माणमा केही कमजोरी रहे, त्यो हामी स्वीकार गर्छौं । समय पनि छोटो थियो ।

अहिले पनि हामी तदर्थ संरचनाबाटै आएका हौं । यो प्रथम महाधिवेशनपछि मात्रै पार्टीले स्थायी र परिपक्व संरचना पाउँछ । त्यसपछि समावेशिता, महिला नेतृत्व र सीमान्तकृत समुदायको प्रतिनिधित्वलाई संस्थागत गरी परिपक्व र समावेशी नेतृत्व बनाउने हाम्रो स्पष्ट प्रतिबद्धता छ । यसमा नेतृत्व तह पनि स्पष्ट छ ।

महाधिवेशनको संघारमा तपाईंको आफ्नै उम्मेदवारीबारे पनि धेरै चासो छ । तपाईं कुन पदमा उम्मेदवारी दिँदै हुनुहुन्छ ?

अहिले त्यसबारे बोल्ने बेला भएको छैन । अहिले हामी महाधिवेशन प्रतिनिधि मात्र हौं । त्यसपछि केन्द्रीय सदस्यको उम्मेदवारी हुन्छ र त्यसपछि मात्रै पदाधिकारी चयनको प्रक्रिया अघि बढ्छ । आन्तरिक तयारी सबैले गरिरहनुभएको होला । तर जिम्मेवार नेतृत्वले उचित समयमा मात्रै आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ भन्ने मेरो विश्वास हो । अहिले मेरो प्राथमिकता पार्टीलाई सही दिशामा अघि बढाउने हो । पदाधिकारीमा उम्मेदवारी दिन्छु, पार्टीलाई सही ठाउँमा पुर्‍याउनका लागि काम गर्नुपर्छ । सुरुवातदेखि यहाँसम्म आइपुग्दा नेतृत्व दिँदै आएको हुँदा उचित समयमा घोषणा गर्छु ।

रास्वपाले महाधिवेशनबाट नेतृत्व चयन सहमतिबाट गर्छ कि लोकतान्त्रिक विधि अपनाउँछ ?

नेतृत्व चयनको लोकतान्त्रिक विधिमा निर्वाचन र सहमति दुवै पर्छन् । कसैको इच्छा नभईकन त सहमति पनि जुट्दैन । सहमति जुट्ने विधि पनि लोकतान्त्रिक नै हो । निर्वाचन हुनु पनि लोकतान्त्रिक विधि नै हो । हामी सबैजना के कुरामा स्पष्ट छौ भने सकेसम्म सहमतिमा नेतृत्व चयन गर्दा राम्रो किनभने यो पहिलो महाधिवेशन हो । पहिलो महाधिवेशनमा निर्वाचन हुने बित्तिकै एउटा पक्ष जित्छ एउटा त हार्छ । हारजित गर्नु भन्दा पनि पहिलो महाधिवेशन भएकाले सबैलाई सहमतिमा समेट्न र सबैले सबैलाई चित्त बुझाएर सबैले सबैको स्वीकार्यता हुादाखेरि राम्रो हुन्छ भन्ने मेरो मत हो । त्यसमा अरु नेताहरूको पनि राय यस्तै प्रकारको छ । सहमतिको परिस्थिति निर्माण भएन भने निर्वाचनमा जानुपर्ने हुन्छ, रास्वपा त्यसका लागि पनि खुला छ । यस्तै हुनुपर्छ भन्ने होइन तर नेतृत्व चयनमा सहमति गर्दा राम्रो हो ।

उम्मेदवारी शुल्क २१ हजार रुपैयाँबाट सुरु हुने व्यवस्था छ, आलोचकहरूले यो शूल्कलाई हेरेर रास्वपा धनीहरूको पार्टी भन्ने टिप्पणी पनि गर्छन् । तपाईंहरू यसलाई कसरी हेर्नुहुन्छ ?

हाम्रो उद्देश्य व्यापारीसँग चन्दा उठाएर पार्टी चलाउने पुरानो अभ्यास तोड्नु हो । पार्टी आफ्नै स्रोतबाट चल्नुपर्छ भन्ने हाम्रो नीति हो । महाधिवेशनदेखि पार्टीका सबै गतिविधि पारदर्शी छन् । सबै विवरण वेबसाइटमा सार्वजनिक गरेका छौं । उम्मेदवारी शुल्क पनि त्यसैको एउटा हिस्सा हो । कसैले आर्थिक रूपमा असमर्थता देखाएमा त्यसको व्यवस्थापन गर्ने व्यवस्था पनि पार्टीले राखेको छ ।

पार्टी दर्तापछि पहिलो आमसभा पनि चितवनमै भयो, अहिले पहिलो महाधिवेशन पनि यहीँ हुादैछ । चितवनबाट निर्वाचित सांसदका रूपमा तपाईंका लागि यसको अर्थ के हो ?

पार्टीका लागि एक हिसाबले चितवन जन्मस्थलभन्दा कम छैन । सभापति ज्युले यहीँबाट पार्टी बनाउनुपर्छ भन्ने सोच अघि बढाउनुभएको थियो भन्ने लाग्छ । पार्टी निर्माणको समग्र प्रक्रियामा पनि चितवनको भूमिका अलि बढी नै छ । हामीले पार्टीको घोषणा काठमाडौंमा गर्‍यौं, तर त्यसपछिको पहिलो सभा चितवनमा भयो । त्यसयता पनि प्रायः पहिलो सभा चितवनमै गर्ने गरेका छौं । पहिलो महाधिवेशन पनि यहीँ हुन पाउादा मलाई निकै गर्व लागेको छ । मेरो निर्वाचन क्षेत्र पनि यहीसाग जोडिएको छ । देशभरका नेता, मन्त्री र प्रतिनिधिहरू यहीँ आउँदा अझ गर्वको अनुभूति हुन्छ । सधैं राजनीतिको केन्द्र काठमाडौं हुन्थ्यो, तर अहिले चितवन नै राजनीतिको केन्द्र बनेको छ । यसले मलाई निकै खुसी बनाएको छ ।

तपाईंहरू आफूलाई वैकल्पिक राजनीतिको शक्ति भन्नुहुन्छ । त्यसैले यो महाधिवेशन पनि परम्परागत दलभन्दा फरक हुनुपर्छ भन्ने अपेक्षा छ । नयाँ के देख्न पाइन्छ ?

आइतबार उद्घाटन भएपछि सबै कार्यक्रमहरू अघि बढ्छन् । हामीले धेरै नयाँ अभ्यास गर्ने प्रयास गरेका छौं । तर के साँच्चै फरक भयो भन्ने मूल्याङ्कन महाधिवेशन सकिएपछि गर्नु उपयुक्त हुन्छ ।

अन्त्यमा, चितवन तपाईंको निर्वाचन क्षेत्र पनि हो, पार्टीको महाधिवेशन यहाँ नै भइरहेको छ, यसमा सहभागी प्रतिनिधि, कार्यकर्ता र शुभेच्छुकलाई तपाईंको सन्देश के हुन्छ ?

चितवनमा सबैलाई स्वागत छ । महाधिवेशन स्वच्छ, स्वस्थ र स्वस्थ प्रतिस्पर्धायुक्त बनाऔं । पार्टीले स्पष्ट वैचारिक दिशा लिन सकोस् र दूरगामी सोच भएका, राजनीतिमा योगदान दिन सक्ने साथीहरूले अवसर पाऊन् । पार्टी केवल पद प्राप्त गर्ने माध्यम होइन, जनतालाई भविष्यप्रति आशा दिने संस्था हो । त्यसैले ‘मै मात्र हुनुपर्छ’ भन्ने अहंकारबाट माथि उठेर देश बनाउन पार्टीमा कस्ता मानिस आवश्यक छन् भन्ने सोचका साथ निर्णय गरौँ । त्यागको संस्कृतिलाई पनि स्थापित गर्न आवश्यक छ । सभापतिले प्रधानमन्त्री पद छोड्दा समाजले त्यसको प्रशंसा गरेको थियो । अरूले त्याग गर्दा वाहवाही गर्ने, तर आफ्नो पालोमा पद नछोड्ने प्रवृत्ति राम्रो होइन । त्यसैले उदारता, सहकार्य र जिम्मेवारीका साथ यो महाधिवेशनमा सहभागी बनौँ भन्ने मेरो आग्रह छ ।

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

डीपी

Link copied successfully