कान्तिपुरसँगको अन्तर्वार्तामा उनी भन्छिन्- समावेशिता, महिला नेतृत्व र सीमान्तकृत समुदायको प्रतिनिधित्वलाई संस्थागत गरी परिपक्व र समावेशी नेतृत्व बनाउने हाम्रो प्रतिबद्धता छ
What you should know
रास्वपाको महाधिवेशन चितवनमा जारी छ । महाधिवेशनबाट पार्टीले नयाँ नीति र नयाा नेतृत्व चयन गर्नेछ । मुलुकको सबैभन्दा ठूलो पार्टीको पहिलो महाधिवेशनले निर्वाचित गर्ने नेतृत्व र लिने नीतिका विषयमा सर्वत्र चासो छ । यही सन्दर्भमा रास्वपाको स्थापना कालदेखि नै जोडिएका नेता तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग कान्तिपुरका लागि डीपी उपाध्याय, जयसिंह महरा र गौरव पोखरेलले गरेको कुराकानीः
कुनै पनि राजनीतिक दलको पहिलो महाधिवेशनले त्यसको भविष्य निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्छ । पार्टीले कस्तो नीति लिन्छ, कस्तो नेतृत्व चयन गर्छ र नेतृत्व तहमा कस्ता व्यक्तिहरू आउँछन् भन्ने विषयले पार्टीको विचार र चरित्र निर्धारण गर्छ । यस्ता सन्दर्भमा महाधिवेशनबाट तपाईंको अपेक्षा के छ ?
हामीले ७ असार २०७९ मा वैकल्पिक राजनीतिको अभियानबाट यात्रा सुरु गरेका थियौं । वैकल्पिक राजनीतिबाट अघि बढ्दै आज हामी मूलधारको राजनीतिमा आइपुगेका छौं । यात्रा छोटो भए पनि यो अवधिमा धेरै अनुभूति गर्ने अवसर पायौं । संसदीय अभ्यासको अनुभव भयो, सडकको पनि अनुभव भयो । हामी मूलतः सडक आन्दोलनबाट आएका मानिस होइनौं । हाम्रो विश्वास वैचारिक बहसमा थियो, फरक विचारका साथ जनतामाझ जाने उद्देश्यले हामी राजनीतिमा आएका हौं । यी सबै अनुभूतिका बीच देशमा भएका विभिन्न राजनीतिक घटनाक्रमले मूलधारमै रास्वपाको आवश्यकता छ भन्ने विश्वास जनताले व्यक्त गरे । जसका कारण हामी आज यहाँसम्म आइपुगेका हौं ।
संस्थापक केन्द्रीय सदस्यको हिसाबले पार्टी यति छोटो समयमा यो स्थानमा पुग्नु मेरो लागि गर्व र सौभाग्य दुवै विषय हो । नयाँ पार्टी सुरु गर्दा सबैको चाहना हुन्छ— एक दिन मूलधारको राजनीतिमा पुग्ने । तर त्यो यात्रा कति लामो हुन्छ भन्ने सुरुवात गर्नेहरुलाई थाहा हुँदैन । लक्ष्य स्पष्ट हुन्छ, तर त्यो लक्ष्यमा कहिले पुगिन्छ भन्ने निश्चित हुँदैन । त्यसैले निरन्तर मेहनत गर्दै अघि बढ्ने संकल्पका साथ हामी हिँडेका थियौं । यति छिट्टै यो स्थानमा पुग्नु हामी सबैका लागि गर्वको विषय हो । अहिले फर्केर हेर्दा, छोटो समयमै हामीले जुन धरातलबाट यात्रा सुरु गरेका थियौं, सांगठनिक रूपमा त्यो आधार धेरै फराकिलो भएको छ । तर वैचारिक दृष्टिकोणले भने अझै धेरै काम गर्न बाँकी छ । पार्टीको स्कुलिङदेखि लिएर वैचारिक प्रशिक्षणसम्मका धेरै क्षेत्रमा हामीले थप मेहनत गर्नुपर्ने अवस्था छ ।
अब प्रथम महाधिवेशन हुँदैछ । मेरो अपेक्षा के छ भने यो महाधिवेशनले रास्वपालाई एउटा परिपक्व राजनीतिक दलका रूपमा स्थापित गर्नेछ । नेतृत्व पनि त्यही अनुरूप चयन हुनेछ भन्ने विश्वास छ । देशभर देखिएको उत्साह र प्रतिनिधिहरूको सहभागिता हेर्दा पार्टीले सक्षम नेतृत्व चयन गर्नेछ भन्ने लाग्छ । सभापतिका रूपमा त हाम्रो नेतृत्व रवि लामिछानेले नै गर्नुहुनेछ । त्यसबाहेक पनि अन्य सक्षम नेतृत्व चयन भएर पार्टीलाई अझ सुदृढ र प्रभावकारी बनाउन योगदान गर्नुहुनेछ भन्ने अपेक्षा गरेको छु ।
रास्वपा आफूलाई नयाँ राजनीतिक शक्ति भन्छ तर संगठनभित्र महिला, दलित र सीमान्तकृत समुदायको प्रतिनिधित्व अझै न्यून छ । जिल्ला सभापतिमा महिला दुई जना र दलित एक जना मात्रै निर्वाचित हुनुभएको छ । पहिलो महाधिवेशनले यो तस्वीर बदल्छ, कि समावेशिता तपाईंहरूको नारामै सीमित रहने हो कि ?
विशेष वर्ग, समुदाय वा लिंगको मात्रै प्रतिनिधित्व हुने पदाधिकारी बनाउने कि समानुपातिक कोटामार्फत समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने भन्ने विषयमा हाम्रो धारणा स्पष्ट छ । रास्वपाले सुरुदेखि नै समावेशी सोचलाई आफ्नो वैचारिक आधार बनाएको हो । हाम्रो पार्टीको मूल चरित्र नै सबै वर्ग, समुदाय र सिमान्तकृत समूहलाई मूलधारमा समेट्ने हो । जहाँ–जहाँ सम्भव भएको छ, त्यहाँ–त्यहाँ हामीले समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने प्रयास गरेका छौं । तर भुइँ तहसम्म पुग्दा अझै धेरै काम गर्न बाँकी छ । मैले अघि पनि भनेँ, स्कुलिङमा हामी कमजोर छौं ।
पार्टी त तीव्र रूपमा विस्तार भयो, सदस्य पनि धेरै भए । तर राजनीतिलाई सुझबुझ, चेतनासहित आउने साथीहरूलाई व्यवस्थित रूपमा प्रशिक्षण दिन सकेनौं भने केही पक्ष छुट्ने सम्भावना रहन्छ । त्यसैले अहिले चुनौती तल्लो तहको संगठन, स्कुलिङ र क्षमता विकासमै छ । पार्टी निर्माणसँगै अब त्यसतर्फ थप ध्यान दिन्छौं । माथिल्लो तहमा भने हामीले सकेसम्म समावेशी अभ्यास गरेका छौं । मन्त्रिमण्डलदेखि पार्टीभित्रका विभिन्न जिम्मेवारीसम्म दलित, बादी समुदाय, महिला, फरक यौनिक तथा लैङ्गिक अल्पसंख्यकलगायत सबै समुदायलाई समेट्ने प्रयास गरेका छौं ।
प्रश्न सरकारको मात्र होइन, पार्टीको पनि हो । पहिलो महाधिवेशनपछि नेतृत्व संरचनाले देशको सामाजिक विविधता प्रतिबिम्बित गर्छ, कि समावेशिता फेरि कोटामै सीमित रहन्छ ?
बनाउनुपर्छ, हामी त्यसमा प्रयत्नशील छौं । हाम्रो प्रयास भनेको दलको संरचनालाई सकेसम्म समावेशी बनाउने हो । अहिले नै अन्तिम संरचना कस्तो हुन्छ भनेर भन्न सकिादैन । तर नेतृत्व चयन हुने समयमा सबै समुदायलाई समेट्ने गरी खुला र समावेशी अभ्यास गर्ने हाम्रो प्रतिबद्धता छ । यस विषयमा हामी संवेदनशील पनि छौं ।
महाधिवेशनले त आगामी नीति र नेतृत्व मात्रै होइन, विधान पनि पारित गर्छ । महिलालाई नेतृत्वमा समेट्नका लागि ‘उप/सह’ पदमा मात्रै जिम्मेवारी दिन लागेको देखिन्छ । त्यसैले कार्यकारी पदमा समावेशी नेतृत्व सुनिश्चित गर्ने व्यवस्था विधानमै राख्नुहुन्छ कि राख्नुहुन्न ?
यो विषय हामीले केन्द्रीय समितिको बैठकमै उठाएका थियौं । महिलाको प्रतिनिधित्व ‘उप’मा मात्रै सीमित हुने होइन । अन्य सबै पद खुला छन् । तर आरक्षणमार्फत महिलाको सहभागिता सुनिश्चित हुनुपर्छ भन्ने हाम्रो धारणा हो । त्यो व्यवस्था विधानमै समेटिनुपर्छ भन्ने विषयमा विस्तृत छलफल भएको छ । सभापतिले पनि यस विषयमा आफू प्रतिबद्ध रहेको स्पष्ट रूपमा भन्नुभएको छ । सबै साथीहरू यसमा सहमत हुनुहुन्छ ।
महिलाको हकमा संविधानले सुनिश्चित गरेको कम्तीमा ३३ प्रतिशत प्रतिनिधित्व त हुनैपर्छ । तर हाम्रो पार्टीभित्र त किन ३३ प्रतिशत मात्रै ५०–५० वा ५१–४९ को प्रतिनिधित्वतर्फ जानुपर्छ भन्ने बहससमेत भएको छ । जनसंख्याको अनुपातअनुसार अझ बढी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ भन्ने धारणा पनि आएको छ । त्यसमा अधिकांश साथीहरूको समर्थन रहेको छ ।
रास्वपाले करिब ५२ लाख मत पाएको छ । जनमत हेर्दा मधेश, महिला र नयाँ पुस्ताको ठूलो साथ देखिन्छ । तर नेतृत्व र पद बाँडफाँटको विषय आउँदा ती समुदायलाई अघि सार्न भने पार्टी किन हिच्किचाइरहेको देखिन्छ ?
त्यस्तो होइन । हामी २१ जनाबाट पार्टी सुरु गरेर छोटो समयमै यहाँसम्म आइपुगेका हौं । यति ठूलो जनमत हाम्रो अपेक्षाभन्दा बाहिरको जनविश्वास थियो, यो जनताको हामीमाथि ठूलो विश्वास र भरोसा हो । त्यसकारण सुरुका वर्षहरूमा हाम्रो ध्यान राज्य सञ्चालनको दृष्टिकोण र वैकल्पिक राजनीतिको एजेन्डामा बढी केन्दिूत भयो । संगठन निर्माणमा केही कमजोरी रहे, त्यो हामी स्वीकार गर्छौं । समय पनि छोटो थियो ।
अहिले पनि हामी तदर्थ संरचनाबाटै आएका हौं । यो प्रथम महाधिवेशनपछि मात्रै पार्टीले स्थायी र परिपक्व संरचना पाउँछ । त्यसपछि समावेशिता, महिला नेतृत्व र सीमान्तकृत समुदायको प्रतिनिधित्वलाई संस्थागत गरी परिपक्व र समावेशी नेतृत्व बनाउने हाम्रो स्पष्ट प्रतिबद्धता छ । यसमा नेतृत्व तह पनि स्पष्ट छ ।
महाधिवेशनको संघारमा तपाईंको आफ्नै उम्मेदवारीबारे पनि धेरै चासो छ । तपाईं कुन पदमा उम्मेदवारी दिँदै हुनुहुन्छ ?
अहिले त्यसबारे बोल्ने बेला भएको छैन । अहिले हामी महाधिवेशन प्रतिनिधि मात्र हौं । त्यसपछि केन्द्रीय सदस्यको उम्मेदवारी हुन्छ र त्यसपछि मात्रै पदाधिकारी चयनको प्रक्रिया अघि बढ्छ । आन्तरिक तयारी सबैले गरिरहनुभएको होला । तर जिम्मेवार नेतृत्वले उचित समयमा मात्रै आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ भन्ने मेरो विश्वास हो । अहिले मेरो प्राथमिकता पार्टीलाई सही दिशामा अघि बढाउने हो । पदाधिकारीमा उम्मेदवारी दिन्छु, पार्टीलाई सही ठाउँमा पुर्याउनका लागि काम गर्नुपर्छ । सुरुवातदेखि यहाँसम्म आइपुग्दा नेतृत्व दिँदै आएको हुँदा उचित समयमा घोषणा गर्छु ।
रास्वपाले महाधिवेशनबाट नेतृत्व चयन सहमतिबाट गर्छ कि लोकतान्त्रिक विधि अपनाउँछ ?
नेतृत्व चयनको लोकतान्त्रिक विधिमा निर्वाचन र सहमति दुवै पर्छन् । कसैको इच्छा नभईकन त सहमति पनि जुट्दैन । सहमति जुट्ने विधि पनि लोकतान्त्रिक नै हो । निर्वाचन हुनु पनि लोकतान्त्रिक विधि नै हो । हामी सबैजना के कुरामा स्पष्ट छौ भने सकेसम्म सहमतिमा नेतृत्व चयन गर्दा राम्रो किनभने यो पहिलो महाधिवेशन हो । पहिलो महाधिवेशनमा निर्वाचन हुने बित्तिकै एउटा पक्ष जित्छ एउटा त हार्छ । हारजित गर्नु भन्दा पनि पहिलो महाधिवेशन भएकाले सबैलाई सहमतिमा समेट्न र सबैले सबैलाई चित्त बुझाएर सबैले सबैको स्वीकार्यता हुादाखेरि राम्रो हुन्छ भन्ने मेरो मत हो । त्यसमा अरु नेताहरूको पनि राय यस्तै प्रकारको छ । सहमतिको परिस्थिति निर्माण भएन भने निर्वाचनमा जानुपर्ने हुन्छ, रास्वपा त्यसका लागि पनि खुला छ । यस्तै हुनुपर्छ भन्ने होइन तर नेतृत्व चयनमा सहमति गर्दा राम्रो हो ।
उम्मेदवारी शुल्क २१ हजार रुपैयाँबाट सुरु हुने व्यवस्था छ, आलोचकहरूले यो शूल्कलाई हेरेर रास्वपा धनीहरूको पार्टी भन्ने टिप्पणी पनि गर्छन् । तपाईंहरू यसलाई कसरी हेर्नुहुन्छ ?
हाम्रो उद्देश्य व्यापारीसँग चन्दा उठाएर पार्टी चलाउने पुरानो अभ्यास तोड्नु हो । पार्टी आफ्नै स्रोतबाट चल्नुपर्छ भन्ने हाम्रो नीति हो । महाधिवेशनदेखि पार्टीका सबै गतिविधि पारदर्शी छन् । सबै विवरण वेबसाइटमा सार्वजनिक गरेका छौं । उम्मेदवारी शुल्क पनि त्यसैको एउटा हिस्सा हो । कसैले आर्थिक रूपमा असमर्थता देखाएमा त्यसको व्यवस्थापन गर्ने व्यवस्था पनि पार्टीले राखेको छ ।
पार्टी दर्तापछि पहिलो आमसभा पनि चितवनमै भयो, अहिले पहिलो महाधिवेशन पनि यहीँ हुादैछ । चितवनबाट निर्वाचित सांसदका रूपमा तपाईंका लागि यसको अर्थ के हो ?
पार्टीका लागि एक हिसाबले चितवन जन्मस्थलभन्दा कम छैन । सभापति ज्युले यहीँबाट पार्टी बनाउनुपर्छ भन्ने सोच अघि बढाउनुभएको थियो भन्ने लाग्छ । पार्टी निर्माणको समग्र प्रक्रियामा पनि चितवनको भूमिका अलि बढी नै छ । हामीले पार्टीको घोषणा काठमाडौंमा गर्यौं, तर त्यसपछिको पहिलो सभा चितवनमा भयो । त्यसयता पनि प्रायः पहिलो सभा चितवनमै गर्ने गरेका छौं । पहिलो महाधिवेशन पनि यहीँ हुन पाउादा मलाई निकै गर्व लागेको छ । मेरो निर्वाचन क्षेत्र पनि यहीसाग जोडिएको छ । देशभरका नेता, मन्त्री र प्रतिनिधिहरू यहीँ आउँदा अझ गर्वको अनुभूति हुन्छ । सधैं राजनीतिको केन्द्र काठमाडौं हुन्थ्यो, तर अहिले चितवन नै राजनीतिको केन्द्र बनेको छ । यसले मलाई निकै खुसी बनाएको छ ।
तपाईंहरू आफूलाई वैकल्पिक राजनीतिको शक्ति भन्नुहुन्छ । त्यसैले यो महाधिवेशन पनि परम्परागत दलभन्दा फरक हुनुपर्छ भन्ने अपेक्षा छ । नयाँ के देख्न पाइन्छ ?
आइतबार उद्घाटन भएपछि सबै कार्यक्रमहरू अघि बढ्छन् । हामीले धेरै नयाँ अभ्यास गर्ने प्रयास गरेका छौं । तर के साँच्चै फरक भयो भन्ने मूल्याङ्कन महाधिवेशन सकिएपछि गर्नु उपयुक्त हुन्छ ।
अन्त्यमा, चितवन तपाईंको निर्वाचन क्षेत्र पनि हो, पार्टीको महाधिवेशन यहाँ नै भइरहेको छ, यसमा सहभागी प्रतिनिधि, कार्यकर्ता र शुभेच्छुकलाई तपाईंको सन्देश के हुन्छ ?
चितवनमा सबैलाई स्वागत छ । महाधिवेशन स्वच्छ, स्वस्थ र स्वस्थ प्रतिस्पर्धायुक्त बनाऔं । पार्टीले स्पष्ट वैचारिक दिशा लिन सकोस् र दूरगामी सोच भएका, राजनीतिमा योगदान दिन सक्ने साथीहरूले अवसर पाऊन् । पार्टी केवल पद प्राप्त गर्ने माध्यम होइन, जनतालाई भविष्यप्रति आशा दिने संस्था हो । त्यसैले ‘मै मात्र हुनुपर्छ’ भन्ने अहंकारबाट माथि उठेर देश बनाउन पार्टीमा कस्ता मानिस आवश्यक छन् भन्ने सोचका साथ निर्णय गरौँ । त्यागको संस्कृतिलाई पनि स्थापित गर्न आवश्यक छ । सभापतिले प्रधानमन्त्री पद छोड्दा समाजले त्यसको प्रशंसा गरेको थियो । अरूले त्याग गर्दा वाहवाही गर्ने, तर आफ्नो पालोमा पद नछोड्ने प्रवृत्ति राम्रो होइन । त्यसैले उदारता, सहकार्य र जिम्मेवारीका साथ यो महाधिवेशनमा सहभागी बनौँ भन्ने मेरो आग्रह छ ।
