'नक्कली आश्वासनमा जनतालाई भुलाउनेहरुबाट देश आजित भइसक्यो । साथीभाइहरुको रायसुझाव लिएर उचित निर्णय लिन्छु ।'
What you should know
काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा मधेश प्रदेशसभा सदस्य रहवर अन्सारीले पार्टीबाट राजीनामा दिएका छन् ।
बिहीबार नेकपा संयोजक पुष्पकमल दाहाललाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् । साहस, इमान र जोखिम तीनै कुरा पार्टीले त्यागिसकेकाले यो विरोधाभासको हिस्सा आफू बन्न नसक्ने उनले राजीनामापत्रमा उल्लेख गरेका छन् ।
निर्वाचन नजिकिँदै गर्दा अन्सारीले किन छाडे पार्टी, उनी अब के गर्लान्, कान्तिपुरले गरेको संक्षिप्त कुराकानी :
नेपाली कम्युनिस्ट पार्टीबाट राजीनामा दिनुभयो नि । अहिले नै के आइपर्यो त्यस्तो ?
म आबद्ध भएको पार्टी विचार, सिद्धान्तविहीन भयो । नेकपा भन्ने पार्टी त बनाइयो तर सिद्धान्त समाप्त पारियो । समाजवादी क्रान्ति भन्ने तर व्यवहार नक्कली भयो । ब्रान्डेड लोगो बोक्न रहर गर्ने तर लोगोचाहिँ नक्कली भयो । नक्कली ब्रान्ड र नक्कली लोगोमा बस्न मैले उचित ठानिनँ । त्यही भएर राजीनामा दिएको हुँ ।
चुनाव आउनै लागेका बेला पार्टी छाड्नुपर्ने अरु कारण पनि होलान् नि ?
जनताले चुनेको जनप्रतिनिधि हुँ तर जनताको हितमा काम गर्ने प्रयास गर्दागर्दै पनि पार्टीबाट उचित साथसहयोग पाइनँ । जनताको पक्षमा काम गर्न खोज्दा पार्टीले साथ दिएन । सांसद संख्यालाई केवल गणितका रुपमा हेरियो। सत्ता बनाउने र गिराउने खेलमा प्रयोग गरियो । विज्ञानका रुपमा कहिल्यै काम गरिएन । यस्तो पार्टीमा बसेर देशको पक्षमा काम गर्न सकिँदैन भन्ने लागेर यो निर्णयमा पुगेँ ।
गएको निर्वाचनमा तत्कालीन माओवादीबाटै मधेश प्रदेशसभा सदस्यमा विजयी हुनुभएको थियो । अब प्रदेश सांसदबाट के गर्नुहुन्छ ?
पार्टीबाट राजीनामा दिएपछि सांसदमा बसिरहने भन्ने कुरै आउँदैन । अहिले काठमाडौंमै छु, आफैं गएर राजीनामा दिनुपर्ने भएर केही दिनमै यस विषयमा निर्णय गर्छु । र प्रदेशसभा सदस्यबाट पनि अलग हुन्छु ।
अर्को पार्टीमा प्रवेश गर्दै हुनुहुन्छ भन्ने छ नि ?
म जनताबाटै निर्वाचित भएर प्रदेशसभामा पुगेको हुनाले अब कुन पार्टीमा जाने ? कसरी अघि बढ्ने वा भोलिका दिनमा के गर्ने भन्ने कुरामा एकचरण आफ्नो निर्वाचन क्षेत्रमा मतदाता, बुद्धिजीवी, शुभेच्छुकहरुसँग छलफल/परामर्श गर्छु । घुम्छु, साथीभाइहरुको रायसुझाव लिन्छु । त्यसपछि उचित निर्णय लिन्छु । तर, यतिचाहिँ भन्छु कि अब नक्कली ब्रान्ड, नक्कली लोगो र नक्कली आश्वासनमा जनतालाई भुलाउनेहरुबाट देश आजित भइसक्यो ।देशको बहाव एकातिर छ, हामी अर्कोतिर हिँडेर हुँदैन । यसैलाई मध्यनजर गरेर म उचित निर्णय लिन्छु ।
![I resigned because I did not feel it was right to live under the party's fake brand and logo: Ansari [Interview]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/politics/thumb-0812026122757-1000x0.png&w=1001&h=0)