सुधन गुरुङले संसद् पुन:स्थापनाको विषय किन उठाए र यसका पछाडि उनको मनसाय के छ ? के उनले यस विषयमा दलहरूसँग पनि संवाद गरेका छन् ?
What you should know
काठमाडौँ — जेन–जी आन्दोलनका अगुवामध्येका एक सुधन गुरुङले केही समयअघि कान्तिपुर टेलिभिजनको कार्यक्रम 'फायरसाइड'मा बोल्दै संविधान संशोधन गर्नका लागि संसद् पुनःस्थापना गर्न सकिने विषयमा पनि आफ्नो धारणा सार्वजनिक गरे ।
संविधान संशोधन गर्ने सर्तमा संसद् पुनःस्थापना गर्दा हुन्छ : सुधन गुरुङ
कांग्रेस र एमालेजस्ता पुराना दलहरू पनि संसद् पुन:स्थापनाकै माग अघि सारेर सर्वोच्च अदालत धाइरहेका बेला उस्तै आशयको सुधनको भनाइ सार्वजनिक भएपछि के दलहरू र जेन–जी आन्दोलनका अगुवा एउटै विन्दुमा पुग्न खोजेका त होइनन् भन्ने आशंका र टिप्पणीहरू पनि भइरहेका छन् । सुधनले संसद् पुन:स्थापनाको विषय किन उठाए र यसका पछाडि उनको मनसाय के छ ? के उनले यस विषयमा दलहरूसँग पनि संवाद गरेका छन् ? यही र यस्तै विषयमा रहेको इकान्तिपुरले सुधन गुरुङसँग गरेको कुराकानीको पूर्ण अंशः
तपाईंले केही समयअघि कान्तिपुर टेलिभिजनको अन्तर्वार्तामा संसद् पुन:स्थापनाको पक्षमा जान सकिने कुरा बताउनुभएको थियो । यो विषयमा अहिले पनि तपाईंको भनाइ यही छ कि कुनै थप भनाइ छ ?
यसमा थप भनाइ केही पनि छैन । त्यो अन्तिम विकल्प हो भन्ने विषयका रूपमा हामीले भनेको हो । त्यो पहिलो विकल्प भने होइन । देशलाई निकास दिन प्लान ए, प्लान बी त चाहियो नि हैन । त्यही हिसाबमा अन्तिम विकल्पको रूपमा लिएको हो । पहिलो विकल्प त सबैजनालाई एकै ठाउँमा राखेर सबैजना मिलेर चुनाव नै लड्ने हो । अब हुँदै भएन भने अन्तिम विकल्पको रूपमा हामीले सोचेको हो ।
अहिले कांग्रेस, एमालेजस्ता पुराना दलले पनि संसद् पुन:स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट लिएका छन् । तपाईंले पनि सडकबाट त्यही माग राख्नुभएको छ । तपाईंहरू माग मिल्नु संयोग मात्र त होइन नि ?
हैन । हामीले व्यक्तिगत रूपमा र हाम्रो काउन्सिल अफ जेन–जीहरू, अर्थात् जसले प्रधानमन्त्री चयन गर्नुभयो, त्यतिखेरको मुख्य भूमिका खेल्नेहरू । हामीले के गरिरहेका छौँ भने हामीले त्यसलाई इन्टरटेन पनि गरिरहेका छैनौँ । हामीले अन्तिम विकल्पका लागि भनेर सोचेको हो । हाम्रो फस्ट अप्सन नै यही हो, संसद् पुन:स्थापना नै हो भनेर लागेका छैनौँ ।
कतिपयले तपाईंहरू र दलहरूको कुरा मिलेकाले आपसी समझदारीमै यो गर्नुभएको हो कि भन्ने पनि छ नि ?
मान्छेले शंका त धेरै गर्छन् । शंकाले लंका जलाउँछ भनेजस्तै नै हो यो । धेरै शंका गरेर यहाँ लंका जलिसक्यो । योचाहिँ होइन । दलहरू कसैसँग मेरो कुरा नै भएको छैन । संवाद नै भएको छैन ।
यो बीचमा कांग्रेस, एमाले लगायतका दलसँग तपाईंको संवाद, भेटघाट केही पनि भएको छैन ?
छैन । उहाँहरूले आँट नै गर्नुहुन्न, कल गर्न ।
अनि तपाईंले भनेजस्तै संसद् पुन:स्थापना भयो भने तपाईंको भूमिकाचाहिँ के हुन्छ त ?
संसद् पुन:स्थापना गरेर उहाँहरूले सोचेको त संसद्लाई चलाउने हो । तर हाम्रो कुरा भने संसद् पुन:स्थापना भनेको सुरुमै संविधान संशोधनका लागि जति पनि गर्नुपर्ने सम्झौताहरू हो, त्यो गरेर मात्र हो । त्यो पनि पहिल्यै सम्झौता गरेर त्यसलाई पास गरेर संसद्लाई पुन:विघटन गरेर जाने कुरा गरेको हो । तर मैले यसो बुझ्दाखेरि उनीहरूले भने संसद् चलाउने भनेर सोचिरहेका छन् । त्यो हामीलाई हुँदैन । त्यसमा हामी पूरै असहमत छौँ । संसद्लाई चलाइराख्ने भन्ने सोचमा हामी छँदै छैनौँ । यसमा कुनै शंका नगरे हुन्छ ।
यतिबेला देशमा निर्वाचनको प्रतीक्षा भइरहेको छ । निर्वाचन आयोगले काम गरिरहेको छ । दलहरूले पनि भित्रभित्रै तयारी गरिरहेको देखिन्छ । तपाईं फेरि उल्टो बाटोमा हिँडेको हो कि भन्ने बुझाइ पनि एकथरीको छ ?
मान्छेको बुझाइ त अनेक हुँदो रहेछ भन्ने बल्ल आएर हामीले थाहा पायौँ । नेपालमा नकारात्मकता यति भइसकेको छ कि नकारात्मक भयो भने मात्रै न्युज हुन्छ । सकारात्मक भयो भने न्युज नै नहुँदो रहेछ हैन । सकारात्मक कुरा के हो भने हामी सबैजनालाई मिलाउन प्रयास गरिरहेका छौँ । यो सबैजना मिलाइसकेपछि चुनावमा जाने हाम्रो पहिलो प्राथमिकता हो । कोही पनि नमिलेर आ–आफ्नै ढंगले देशभन्दा आफूलाई प्यारो सोच्छ भने त हामी अर्को बाटोमा त जानै पर्यो नि । विकल्प त सोच्नै पर्यो नि ।
तपाईंले हामी मिलाउन प्रयास गरिरहेका छौँ भन्नुभएको छ । त्यो भनेको के हो ?
यो भनेको जनताबाट अपेक्षा गरिएको, आशा भएको नेताहरू, जसलाई जनताले परिवर्तनको रूपमा हेरिरहेका छन्, उहाँहरूलाई एकै ठाउँमा राखेर चुनावमा जानका निम्ति हामीले प्रयास गरिरहेका छौँ ।
तपाईंले कुलमान, बालेन, रवि लामिछानेहरू एकै ठाउँमा आउनुपर्छ भन्नुभएको हो ?
हो । हो । यही नै हो हाम्रो विषय । हामी त्यही अभियानमै लागिरहेका छौँ ।
भनेपछि यो अभियान सकारात्मक रूपमा गयो भने चुनाव हुन्छ, भएन भने चुनाव हुँदैन ?
हो । नत्र भने चुनाव हुन गाह्रो छ । सकारात्मक ढंगले अघि बढ्यो भने चुनाव हुन्छ । सबैजना आ–आफ्नै ढंगमा जानुहुन्छ भने …। यो आन्दोलन पनि त उहाँहरूले गरेको होइन नि त । उहाँहरू आ–आफ्नो ठाउँमा कति लड्नुभयो । तर नसकेको हो नि त । हामीले त यसलाई निचोडमा पुर्याएर, परिवर्तन ल्याएर अहिले आएको चुनावमा उहाँहरू होमिन्छु भन्नुहुन्छ भने चुनाव त हामीले ल्याइदिएको हो नि त । त्यसमा उहाँहरू मिलेर जानुस् भनेर हाम्रो अनुरोध हो । हाम्रो आन्दोलनले सफलता पाएर उहाँहरूलाई चुनावमा जानुस् भन्दा पनि उहाँहरूले मान्नुभएन भने त उहाँहरूले केको लागि चुनावमा जानुहुन्छ त नि ?
एकथरीको धारणा के छ भने समयमै चुनाव भएन भने मुलुक भाँडभैलोमा जान्छ भन्ने पनि छ । तपाईंहरू फेरि निर्वाचन भएन भने संसद् पुन:स्थापनामा जानुपर्छ भनिरहनुभएको छ । यो अलिक जोखिमपूर्ण कदम भएन ?
भविष्य भनेको कसैले देखेको छैन । अहिले तपाईं–हामीले भनिराख्दा भोलि के हुन्छ भन्ने केही थाहा छैन । हाम्रो देशमा धेरै विज्ञहरू भइरहेका छन् क्या । थोरै ज्ञानमा धेरै बोल्ने मान्छेहरू देखिरहेका छौँ । अब देश भाँडभैलोमा जान्छ भनेर भनेको भन्यै गरेपछि मान्छेको माइन्डसेटमै त्यही हुन्छ । देश राम्रो हुन्छ, राम्रोतिर जान्छ, समाधानतिर जानुपर्छ भनेर भने पो । जसले पनि देश बिग्रन्छ भनेको छ । उहाँहरूले भन्दा–भन्दा देश बिग्रेको हो । बुद्धिजीवी भनाउँदाहरूले देश बिग्रन्छ भन्दा–भन्दै यो देश बिग्रेको हो । उहाँहरूको कुरा हामी सुन्छौँ । उहाँहरूको कुरा सुनेको आधारमा यो दिन आएको हो । अब उहाँहरूको कुरा हामी सुन्दैनौँ । नकारात्मक कुरा फैलाउनुभयो भने हुँदैन ।
भनेपछि अहिले तपाईंले भनेजस्तै नयाँ खालका अनुहारहरू सबै मिलेर एकै ठाउँमा आउन सके भने चुनाव हुन्छ, नयाँ खालका अनुहारहरू मिल्न सकेनन् भने चुनावको विकल्प खोजिन्छ हैन त ?
अँ । चुनावको विकल्प खोजिन्छ ।
चुनावको विकल्प खोज्ने भनेको संसद् पुन:स्थापनातिर जान सकिन्छ ?
जान सकिन्छ । एउटा राष्ट्रिय सहमति गरेर संविधान संशोधन गर्नका लागि मात्रै । यसलाई संसद् पुन:स्थापना मात्रै नभनौँ, संविधान संशोधन गर्नका लागि मात्रै संसद् पुन:स्थापना र त्यसपछि पुन:विघटन ।
केही अगुवाहरूले भने यसको विरोध पनि गरिरहेका छन् । हामीले कसको कुरालाई आधिकारिकता मान्ने त ?
आधिकारिक मान्ने भनेको जसले प्रधानमन्त्री बनायो त्यसलाई मान्ने । जसले जंगी अड्डामा गएर लड्यो त्यसलाई आधिकारिक मान्ने । लुकेर बस्नेहरू र भुकेर बस्नेहरू उहाँहरूलाई आधिकारिक नमान्ने । उमेर समूह भनेको आधारमा त टोल–टोलबाट जेन–जी समूह निस्कन सक्छ । यहाँ जेन–जी मात्रै भनेर त भएन नि । देशको कुरा छ । हामी लड्दा अहिले जेन–जी अगुवा भन्नेहरू कहाँ थिए क्या ? त्यतिखेर कोही नआउने, अहिले म पनि जेन–जी, त्यो पनि जेन–जी भन्ने । आन्दोलनलाई कसले सार्थकता दियो ? सफल कसले बनायो ? देशमा भाँडभैलो हुनबाट कसले बचायो ? त्यो आधिकारिक हो नि त ।
सम्बन्धित समाचार
संविधान संशोधन गर्ने सर्तमा संसद् पुनःस्थापना गर्दा हुन्छ : सुधन गुरुङ
विज्ञ भन्नेहरू मन्त्री र पदका लागि आए, देशका लागि कोही आएनन् : सुधन गुरुङ
