उनले संविधान संशोधन गर्नका लागि संसद् पुन:स्थापना गर्न सकिने विषयमा पनि आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले भने, ‘संसद् ब्युँताएर, हाम्रो एजेन्डा पास गरेर, चुनावको मिति घोषणा गरेर र त्यो संसद् विघटन गरेर बल्ल नागरिकको सरकार बनाएर हामी जान सक्ने पक्षमा छौं ।’
What you should know
काठमाडौँ — जेन-जी आन्दोलनका अगुवामध्येका एक सुधन गुरुङले आफू लड्ने र भिड्ने बाहेकको कुरा गर्ने मान्छे नभएको बताउँदै आफूले कुनै पनि नेतालाई अहिलेसम्म नपिटेको बताएका छन् ।
कान्तिपुर टेलिभिजनको फायरसाइडमा कुरा गर्दै उनले लड्ने भनेको प्रतिस्पर्धा गर्ने कुरा भएको बताउँदै भने, ‘मलाई देख्नेबित्तिकै मुक्कामुक्कीको कुरा आउँछ । तर म त्यस्तो त हैन नि । तर म जस्तो सुकैभ्रष्ट नेतालाई पनि धम्क्याउन तयार छु ।’
उनले आफूहरूलाई गिराउन नेताहरू जुन हदसम्म पनि जान तयार भएको समेत बताए । बाराको सिमरास्थित एमाले नेता किसान श्रेष्ठको घरमै छिरेर धम्क्याउनुभएको होइन भन्ने प्रश्नमा उनले भने, ‘उहाँहरूले गाउँलेहरूलाई त्रसित बनाउनुभएको रहेछ । चुन चुनकर मारुँगा भनेर भिडियो निकाल्नुभएको रहेछ । घर–घरमा मान्छे पठाएर थर्काउनुभएको रहेछ । यस्तो नगर्नुस् भनेर भन्न नपाउने हाम्ले ?’
कान्तिपुर फायरसाइडमा कुराकानी गर्दै गुरुङले संविधान संशोधन गर्नका लागि संसद पुन:स्थापना गर्न सकिने विषयमा पनि आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले भने, ‘संसद् ब्युँताएर, हाम्रो एजेन्डा पास गरेर, चुनावको मिति घोषणा गरेर र त्यो संसद् विघटन गरेर बल्ल नागरिकको सरकार बनाएर हामी जान सक्ने पक्षमा छौं ।’ उनले यो अन्तिम विकल्प भएको र यो काम गर्नका लागि दलका नेताहरूमा विश्वास नभएको बताउँदै प्रतिनिधिसभा र राष्ट्रिय सभामा आफूहरूलाई ७० प्रतिशत हिस्सा दिनुपर्ने बताए ।
उनले संविधान संशोधनका बुँदाहरूमा पहिल्यै सहमति गरेर अघि जान सकिने कुरा पनि गरेका छन् । उनले भने, ‘यसमा हामीलाई राजनीतिक दलका तर्फबाट निस्वार्थ नेता चाहियो । हातमा रगत लागेको र पैसा लागेको हैन ।’
साम, दाम, दण्ड, भेद प्रयोग गरेर सत्तामा पुग्न तयार हुने दलका नेताहरूसँग आफूहरूले कसरी चुनाव लडेर जित्ने भन्ने प्रश्न पनि अघि सारेका छन् । उनले तीन महिनाको अवधिमा जेन-जीहरूलाई चुनाव लड्नका निम्ति समय पर्याप्त नहुने बताउँदै भने, ‘३६ वर्षमा दलका नेताहरूले बनाएको संयन्त्र ढाल्नका लागि हामीलाई तीन महिनाको समय पर्याप्त हुन्छ ?’
