‘सबै एक्सपर्ट भनाउँदाहरू मन्त्रीका लागि आउँछन्, कोही पदका लागि आउँछन्, कोही के भनेर आउँछन्, देशका लागि भनेर कोही पनि आएन,’ उनले भने ।
What you should know
पोखरा — हामी नेपालका संयोजक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालले २५ भदौमा राष्ट्रपति निवासमा भएको छलफलका बेला गलत सल्लाह दिएको आरोप लगाएका छन् । तमु ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद्, कास्कीले सोमबार आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले जेन-जीको माग यो संविधानबाट पूरा हुन नसक्ने कुरा नभनी गुमराहमा राखेको बताए ।
उनले विज्ञ भन्नेहरू देशका लागि नभई आफ्नो स्वार्थका लागि मात्रै आएको टिप्पणी गरे । ‘सबै एक्सपर्ट भनाउँदाहरू मन्त्रीका लागि आउँछन्, कोही पदका लागि आउँछन्, कोही के भनेर आउँछन्, देशका लागि भनेर कोही पनि आएन,’ उनले भने ।
उनले आफ्नो नागरिकतामाथि प्रश्न ऊठाइएकोमा आक्रोश व्यक्त गर्दै भने, ‘सायद आज म सुधन बस्नेत वा सुधन ओली भएको भए मेरो नागरिकतामाथि प्रश्न उठ्दैनथ्यो । राष्ट्रको हितको लागि, देशमा परिवर्तन होस् भनेर लड्दै गर्दा राष्ट्रवादी भएको कारणले मात्रै प्रश्न उठाइयो ।’
उनले आन्दोलनकारीको रगतमाथि टेकेर गृहमन्त्री अर्याल पदमा बसिरहेको भन्दै आलोचना गरे । ‘सल्लाह दिएको ताल हेर्नुस् न, अहिले हामी जुन स्थितिमा छौं, परिवर्तनको आशालाई मारेर आज जो गृहमन्त्री हुनुहुन्छ, ओमप्रकाश अर्याल, उहाँलाई म ठाडो च्यालेन्ज दिन चाहन्छु, उहाँको सल्लाहअनुसार भाको चिज हो । उहाँले हामीलाई राइट सल्लाह दिनुभएन,’ उनले भने, ‘त्यतिबेला भन्न सक्नुहुन्थ्यो कि बाबु, जेन–जीको माग सम्बोधन हुन सक्दैन है, यो संविधान यसरी नै रह्यो भने, यसलाई संशोधन गर्न सकिएन भने, फेरि एकपल्ट सल्लाह गर्नुहोला, तपाईंहरूको माग पूरा हुन सक्दैन भनेर उहाँले सल्लाह दिन सक्नुहुन्थ्यो । तर उहाँले गलत सल्लाह दिनुभयो । अब कसलाई विश्विास गर्ने ?’
देशमा परिवर्तन नआएसम्म आन्दोलन जारी राख्ने चेतावनी उनले दिए । ‘सय दिन होस्, सय वर्ष होस्, मरुञ्जेलसम्म लड्छौं र आफ्नो देश परिवर्तन भएको हेर्न चाहन्छौं,’ उनले भने । उनले ३६ वर्षमा ३२ पल्ट सरकार फेरिएको र कुनै पनि सरकार १४ महिनाभन्दा बढी नटिकेको उल्लेख गर्दै देश निर्माणका लागि स्थिर सरकारको आवश्यकता रहेको बताए । ‘भाषण र शासनले होइन, जनताको सेवाले मात्रै परिवर्तन हुन्छ,’ उनले भने ।
उनले आन्दोलनकारीलाई आतंककारी भनिएकोमा पनि आपत्ति जनाए । ‘हातमा ढुंगा बोकेर परिवर्तन खोज्ने बच्चा आतंककारी, बन्दुक बोक्ने, भ्रष्टाचार गर्ने देशप्रमी !,’ उनले भने, ‘ढुंगाको बदलामा गोली प्रहार गरियो ।’
आफूलाई जेल हाल्ने धम्की दिइएको भन्दै उनले भने, ‘लिएर जाउँ, आफ्नो धरती माताका लागि लड्दा जेल त के मर्न पनि तयार छौं हामी युवाहरु ।’ गृह जिल्ला गोरखाबाट सोमबार पोखरा आइपुगेका गुरुङलाई परिषद्ले बाजागाजासहित पृथ्वीचोकबाट र्यालीसहित कार्यक्रम स्थल पुर्याएको थियो ।
