‘कम्युनिस्ट पार्टी अब नोकरशाही वा ब्युरोक्रेटिक ढंगले चल्न थाल्यो भने हुँदैन । हामी त्यतैतिर उन्मुख छौँ विभिन्न कारणले । पहिलो कुरो त्यसमा ‘करेक्सन’ भएन भने कम्युनिस्ट पार्टीले आफ्नो सिर्जनशीलता गुमाउँछ ।’– एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ
What you should know
काठमाडौँ — एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संस्थापन पक्षबाट महासचिवको दाबी गरेका छन् । महासचिव शंकर पोखरेलले फेरि र उपमहासचिव प्रदीप ज्ञवाली आकांक्षी भइरहेका बेला गुरुङले पनि महासचिवमा आफ्नो दाबी अघि सारेका छन् ।
गुरुङसँग कान्तिपुरका गंगा बीसीले एमालेको महाधिवेशन र नेतृत्व चयनलगायतका विषयमा गरेको कुराकानी :
एमालेका महाधिवेशनमा नेतृत्व चयनका लागि दुई प्यानल देखिएको छ । प्रतिस्पर्धा कस्तो होला भन्ने ठान्नुहुन्छ ?
प्रतिस्पर्धाबारेमा अहिले आकलन भनिहाल्दा एकथरीले अपमानित महसुस गर्छन् । त्यसकारणले गर्दा परिणाम यस्तो आउँछ भन्नु राम्रो हुँदैन । तर प्रतिस्पर्धा हुने भएपछि राम्रै हुन्छ भन्नुपर्छ ।
संस्थापन पक्ष बलियो छ भन्न खोज्नु भएको हो ?
हो । धेरै बोलियो छ ।
अध्यक्ष केपी शर्मा ओलीले आफू अध्यक्ष हुने चाहना व्यक्त गरिसक्नु भएको छ । अरू पदबारे के छलफल भएको छ ?
अहिलेसम्मचाहिँ उहाँले छलफल चलाउनु भएको छैन हामीसँग । अब मबाहेक अरूसँग व्यक्तिगत रूपमा त्यस्तो कुरा भएको भने म जान्दिनँ । बरु अध्यक्षले बसेर गरौँला भन्नु भएको छ । त्यसकारणले गर्दाखेरि नेता व्यवस्थापनमा चुनौती धेरै छ । तलको अपेक्षा पनि भिन्नै छ । कार्यकर्ताहरूको अपेक्षा, सिंगो जनताको पनि अपेक्षा हेर्नुपर्छ जनताको बीचमा जाने पार्टी भएकाले जनता, सरकार, पार्टीलगायत सबै हिसाबले केपी ओलीको नेतृत्वलाई अहिलेको पनि अपरिहार्य भन्ने छ । अब टिम कस्तो बन्छ भन्ने कुरोले धेरै माने राख्छ । अर्थ छ । हामीले भनेकै उहाँलाई भनेकै छौँ कि पार्टी व्यवस्थित पारेर एकदमै राम्रो संयोजन भयो । योग्यता, क्षमता वा मान्छेको रुचि अनुसारको कार्य विभाजन, जिम्मेवारी भयो भने भन्ने असाध्यै धेरै राम्रो हुन्छ ।
तपाईँ महासचिव हुने आकांक्षा राख्नुभएको छ । मंगलबार गुन्डुमा अध्यक्ष ओलीसँग छलफल गर्नुभयो । महासचिव हुने कति सम्भावना छ ?
यसपटक मेरो महासचिव हुने चाहना छ । मैले अध्यक्षलाई भने, ‘तपाईंको ध्यानाकर्षण गराउन चाहन्छु, किनभने आजको दिनमा नेकपा एमाले पार्टीको लागि आवश्यक छ ।’ पार्टीका तीन, चारवटा कुरा महत्त्वपूर्ण छन् । राष्ट्रियताको पक्षमा च्याम्पियन पार्टी हो । मुलुकको समृद्धि र मानव विकासका लागि पनि च्याम्पियन पार्टी हो । यी तीनवटै कुरा समेट्ने ढंगले पार्टीको संरचना बन्नुपर्छ । पार्टीको विस्तार हुनुपर्छ । सम्पर्क, सम्बन्ध हुनुपर्छ ।
त्यसो भएकाले सबै खालको शक्ति, प्रवृत्तिहरूलाई हामीले समावेश गरेर जाने हैसियत राख्नुपर्छ । संकीर्ण मानसिकताले, आजको चुनौतीको सामना गर्ने ढंगले जनतामा आधारित कार्यकर्ताको पार्टी नेकपाले एमाले बनाउनुपर्छ । हामीले अलि बृहत् ढंगले सोच्नुपर्छ भन्ने हो मेरो कुराचाहिँ । अहिले त्यो रूपले गइराख्या छैन । हामी दक्षिणपन्थी अवसरवादे परास्त गर्नै सकेनौं १० देखि ११औं महाधिवेशनमा आउँदासम्म । संगठनात्मक अराजकता पहिलेभन्दा एकदमै धेरै बढ्यो भन्ने त होइन । तर अराजकतालाई नियन्त्रण गर्न पनि सकिएन । त्यसलाई परास्त गर्न सकिएको छैन । आफ्नै भित्रको चुनौती, अनि राष्ट्रिय, अन्तर्राष्ट्रिय चुनौतीहरू जे छन्, यसको सामना गर्न सक्ने ढंगले टिम बनाउनुपर्छ ।
एमालेको नेतृत्वमा पदाधिकारी बनाउँदा जनजाति, मधेशी, महिलाको संयोजन मिलाउने विषयमा कुनै छलफल भएको छ ?
त्यो विषयमा छलफल भएको छैन । आजको समयले माग त्यही हो । संविधानमै पनि हाम्रो हाम्रो लोकतन्त्र ‘कम्प्रिहेन्सिभ इन्क्लुसिझ डेमोक्रेसीमा’ गइसक्यौँ नि । हाम्रो डेमोक्रेसी भनेको कम्प्रिहेन्सिभ डेमोक्रेसी हो । त्योभित्र ‘इन्क्लुसिभ’ को विषय एकदमै जरुरी तत्त्व हो । पार्टी निर्माण गर्दाखेरि होस् या राज्य सञ्चालन गर्दाखेरी होस्, सबै ठाउँमा यो ‘इन्क्लुसिभनेस र पार्टिसिपेटोरी’ सिद्धान्त आज हामीले अवलम्ब नगरीकन सुखै छैन ।
यी कुरामा पार्टीको ध्यान जानुपर्छ भन्ने कुरामा हाम्रो अहिले छलफल भइरहेको छ । तर म भने समावेशी नै प्रमुख हो भनेर भन्दिनँ । नेतृत्व चयन भन्ने ‘मेरिटोक्रेसी’ मा हुनुपर्छ । तर ‘मेरिटोक्रेसी’ मिलाउँदाखेरि पनि समावेशितालाई ध्यान दिनुपर्छ । मेरिटोक्रेसीको नाममा एकथरी मान्छेको मात्रै अनुहार देखियो भने पार्टीको होस्, राज्यको होस् त्यो अरू थरीले त्यसको विरोध गरिराखेको हुन्छ । अर्को थरीले अपनत्व महसुस गर्दैन । सबैले अपनत्व महसुस गर्ने ढंगले जनतामा आधारित कार्यकर्ताको पार्टीमा डेमोक्रेसीमा प्रतिबिम्ब छ, त्यो प्रतिबिम्ब हाम्रो पार्टी पनि हुनुपर्छ भन्ने नै हो ।
तपाईँले महासचिव दाबी गर्नुको आधार के हो ?
म कुन प्रदेशमा छु । त्यसमा म कति बोलियो छु वा कमजोर छु भन्ने आधार महासचिवको दाबा गरेकै होइन । मैल महासचिवमा दाबी किन गरेको हो भने कम्युनिस्ट पार्टीहरू जहिले पनि टुक्रिने किन बनिराख्या छ ?, मिल्नेभन्दा टुक्रने कुरा किन धेरै चलिराखेका छ ? कम्युनिस्टहरूले हामीभित्र भावनात्मक एकतालाई ख्याल नगरेर, सिद्धान्तको मात्र कोरा रटान गरेर पनि बिग्रेको स्थितिचाहिँ छ ।
कम्युनिस्ट पार्टी अब नोकरशाही वा ब्युरोक्रेटिक ढंगले चल्न थाल्यो भने हुँदैन । हामी त्यतैतिर उन्मुख छौँ विभिन्न कारणले । पहिलो कुरो त्यसमा ‘करेक्सन’ भएन भने कम्युनिस्ट पार्टीले आफ्नो सिर्जनशीलता गुमाउँछ । आफ्नो गतिशीलता गुमाउँछ । आफ्नो सामर्थ्य गुमाउँछ भन्ने हो मेरो भनाइ । त्यो त्यसमा सुधार गर्ने मेरो चाहिँ योजना छ ।
मसँग त्यसको एउटा खाका छ । जनताको बहुदलीय जनवाद (जबज)को सिद्धान्त वा नीति कार्यक्रम कार्यान्वयन गर्नको लागि जबजको मर्म अनुसारको संगठन हुनुपर्छ । त्यो भनेको ‘तिमी व्यापक जनताको बीचमा जाऊ । जनताबाट अनुमोदित भएर आउ, अनि मात्र राज्य चलाउन पाउँछौ’ भन्ने जबजको मार्गदर्शन हो । जबजको मार्गदर्शन जनताबाट अनुमोदन भएर मात्रै राज्य चलाउने हो । तिमीले कार्यकर्ताबाट अनुमोदित भएर मात्र पार्टी चलाउने हो भने सिद्धान्त हो ।
जबजले श्रेष्ठताको र प्रतिस्पर्धाको कुरा गर्छ । जबजले श्रेष्ठता र प्रतिस्पर्धाको कुरा गर्दाखेरि आज हाम्रो पार्टीभित्र प्रतिस्पर्धालाई निषेध गर्न खोज्ने प्रवृत्ति देखियो । अनि प्रतिस्परर्धाका नाममा फेरि अनावश्यक अराजकता फैलाउने काम पनि बिस्तारै आइरहेको छ । यो दुइटै कुराको सन्तुलन पनि गराउनु पर्ने छ । त्यसकारणले सबैभन्दा श्रेष्ठ पार्टी, सबैभन्दा लोकतान्त्रिक पार्टी, सबैभन्दा देशभक्त पार्टी, सबभन्दा ‘प्रस्पेरिटीको च्याम्पियन, एउटा ‘आर्किटेक्चर’ बनेको पार्टीले त्यही अनुरूपको जनशक्तिको म्यानेज गर्न सकेन, नेतृत्वको म्यानेज गर्न सकेन, त्यसअनुसार पार्टीको संरचनामा लान सकेन भने हाम्रो पार्टी चल्दैन भन्ने हो ।
हामी कमजोर भएको भन्ने त होइन तर यसले जे कामहरू गरिरहेको छ, त्यो हिसाबले धेरै अगाडि बढ्नुपर्ने हो । तर ‘स्ट्यागनेसन’ छ आज हाम्रो पार्टीमा । यसलाई तोड्नको लागि पनि हामीले राज्यको सुशासनमा जोड दिनुपर्छ होला । राज्यको सुशासनमा जोड दिनको लागि पार्टीभित्र पनि सुशासनमा जोड दिनुपर्छ होला । त्यसकारणले गर्दाखेरी सुशासन कायम गर्नको लागि पहिलो कुरो एउटा नैतिकवान्हरुको पार्टी बनाउनुपर्छ । दोस्रो कुरा ‘नलेजबेस’ पार्टी बनाउनुपर्छ । त्यसैले हामीले संगठन निर्माण गर्दा, कार्यकर्ताहरूको मूल्यांकन गर्दा, कार्य विभाजन गर्दा, कुन ठाउँमा राख्दा राम्रो हुन्छ ।
यो कुरा खाली कुरामा मात्र लागू गर्न खोज्यौँ भने त्यो दुर्भाग्यपूर्ण हुन्छ । यो सबै चिजलाई ‘करेक्सन’ गर्ने म हैसियत राख्छु । कसैलाई पछार्न हैन । हामी दाबा गर्नेहरु सबै आफ्नो ठाउँमा हामी योग्य नै छौँ । योग्य नभएको भए हामी त्यो ठाउँ आइपुग्ने थिएनौं । तर अझ योग्यतम ढंगले काम गर्नुपर्छ भन्ने हो ।
अध्यक्ष केपी ओलीले जसलाई छान्नु हुन्छ, त्यो व्यक्ति मात्र पद पाउन योग्य छ भनिन्छ नि ?
त्यस्तो अवस्था भयो भने त जसलाई हामीले मानेका छौँ, हामीले जसको नेतृत्वलाई हामीले स्वीकारेका छौँ । यो सबै कुरामा विचार पुर्याउने पनि उहाँले नै हो । आफ्नो टिम बनाउने उहाँले हो । सबै सबैलाई चित्त बुझाउने कुरा त हुँदैन होला । तीन, चार जना एउटै पदमा आकांक्षा छ भने एउटा हुन्छ । अरू असन्तुष्ट भएर बसेको हुन्छ । त्यसैमा अनुशासन पालन गरेर जानुपर्छ ।
!['This time, my claim to the position of Secretary General' [Interview]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/prithivi-subba-gurung-0622024011112-1000x0.jpg&w=1001&h=0)