ओलीले अब नेतृत्वमा निरन्तरता दिनुहुन्न : ईश्वर पोखरेल [अन्तर्वार्ता]

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भन्छन्- ओलीले धेरै महत्त्वपूर्ण अवसर पनि प्राप्त गर्नुभयो र योगदान पनि गर्नुभयो। सँगसँगै कमजोरीहरू पनि भए। मलाई लाग्छ, अब कमजोरीहरूलाई निरन्तरता दिन हुँदैन। मापदण्ड पुगेको व्यक्तिले जो कोहीसँग प्रतिस्पर्धा गर्न सक्छ। प्रतिस्पर्धालाई स्वभाविक ढंगले लिन नसक्नेहरू जनताको बहुदलीय जनवादको पक्षधर हुन सक्दैनन्।

मंसिर १४, २०८२

गंगा बीसी

Oli will not continue in leadership anymore: Ishwor Pokharel [Interview]

What you should know

एमालेको ११औं महाधिवेशन मंसिर २७–२९ सम्म काठमाडौंमा हुँदै छ । भदौ २०–२२ मा विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन र विधान पारित गरिसकेकाले नेतृत्व चयनमा यो महाधिवेशन बढी केन्द्रित हुनेछ । एमालेको दुई कार्यकाल नेतृत्व गरिसकेका अध्यक्ष केपी शर्मा ओली पुनः अध्यक्ष हुने तयारीमा छन् ।

उनीविरुद्ध वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी दिने घोषणा गरेका छन् । महाधिवेशनमा केन्द्रित रहेर पोखरेलसँग कान्तिपुरका गंगा बीसीले गरेको कुराकानी ।

एमालेले एक वर्षअघि नै महाधिवेशन गर्नुको अर्थ के हो ?

एक वर्षअघि नै महाधिवेशन गर्ने निर्णय गर्नुका पछाडि केही तर्कहरू छन् । पहिले २०८४ मा चुनाव हुने भन्ने थियो । चुनावअघि नै पार्टीलाई विचार र संगठनमा व्यवस्थित गरेर नेतृत्व–पंक्ति निर्माण गरेपछि निर्वाचनमा त्यसले सकारात्मक योगदान गर्छ भन्ने ठानेरै एक वर्षअघि नै निर्वाचन गर्ने निर्णय गरिएको हो । 

२१ फागुनमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनअघि महाधिवेशनले पार्टी र त्यसको नेतृत्व पुनर्गठन गर्छ कि सामान्य हेरफेर मात्र ? 

मूल कुरा पार्टी गतिशील बन्नुपर्छ । त्यो भनेको आवश्यकताअनुसार पुनर्गठित भइरहनुपर्छ । पुनर्गठित भन्नाले नेतृत्व र विचारमा पुनर्गठन, कार्यसम्पादन गर्ने शैलीमा पुनर्गठन हो । त्यो भनेको विध्वंस गर्नु होइन । नयाँ जीवन दिनु हो । विचारको विषयमा नयाँ प्रश्नहरू उठेका छन् । ती उठेका नयाँ प्रश्नहरूको उत्तर दिने हिसाबले पार्टी नेतृत्व र विचार पुनर्गठन गर्नु जरुरी छ । त्यसका लागि संगठनलाई पुनर्व्यवस्थित र नेतृत्वलाई पुनर्गठित गर्न आवश्यक । तब मात्र पार्टी गतिवान बन्छ । त्यस्तो पार्टीले मात्रै चुनौतीहरूको सामना गर्न सक्छ ।

नेतृत्वको पुनर्गठन भनेको अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व परिवर्तन हो ?

त्यो त एउटा विषय मात्र हो । मैले त पार्टीको समग्र पुनर्गठन हुनुपर्छ भनेको हुँ । हिजो एउटा खास परिस्थितिमा पार्टी कमिटी बनेको हो । अहिले त्यो व्यावहारिक ढंगले चल्या छ कि छैन भन्ने हेर्नुपर्छ । त्यसलाई समयअनुसार पुनर्व्यवस्थित त गर्नुपर्‍यो । त्यो भनेको पुनर्गठित गर्ने हो । स्वाभाविक छ, पुनर्गठन गर्दा पार्टी नेतृत्वमा रहेका नेताका बारेमा पनि प्रश्न त उठ्ने भयो । प्रश्न कुनै नकारात्मक कोणबाट होइन । नयाँ–नयाँ चुनौतीहरू आइरहेका बेला नेतृत्व पुनर्गठनको मुद्दालाई अन्यथा लिनु हुँदैन ।

ओली पार्टी अध्यक्ष हुनुभएको ११ वर्ष भयो । उहाँ ‘फर्स्ट म्यान’ भएर ‘लिड’ गरेपछि महत्त्वपूर्ण कामहरू पनि भएका छन् । पार्टीको प्रतिष्ठालाई माथि उठाउने काम पनि भएका छन् । यी कुराहरूलाई कसैले पनि बेवास्ता गर्न सक्दैन । तर समस्याहरू पनि देखिएका छन् । त्यो उहाँको मात्रै भाग लाग्छ भन्ने होइन । ती समस्याहरूमा नेतृत्वमा बसेका अरू व्यक्तिहरूको पनि हिस्सेदारी हुन्छ । प्रश्न उठेको छ भने उत्तर त चाहियो । उत्तर खोजिनुपर्छ । त्यस्तै विचारमा पनि हिजोको ‘कोर्स’ मा परिवर्तन भइसकेपछि अब नयाँ ढंगले कसरी जाने भन्ने प्रश्न पनि छ । ०८२ भदौ २२ गतेसम्म एउटा अवस्था थियो । भदौ २३–२४ को आन्दोलनले नयाँ परिस्थिति सिर्जना गर्‍यो । अन्तरिम सरकार बन्यो । संविधान नै घाइते भयो । यस्ता अनेक प्रश्नहरू उठेका छन् ।

चुनाव पनि ०८४ मा हुनुपर्ने थियो । तर, फागुन २१ मै तोकिएको छ । राज्यका संयन्त्रहरू विभिन्न हिसाबले प्रभावित भएका छन् । यो बिल्कुलै नयाँ परिस्थिति हो । त्यसैले भदौ २२ सम्मको विश्लेषण र दृष्टिकोण अहिलेको अवस्थामा पर्याप्त हुँदैन । नयाँ ढंगले कसरी जाने भनेर अब यसका उपायहरू खोज्नुपर्ने हुन्छ ।

त्यसका लागि छलफलको आवश्यकता पर्छ । सँगै कार्यसम्पादन गर्ने शैलीमा पनि पुनर्व्यवस्थित गर्न जरुरी छ । त्यसका लागि हाम्रा विचारहरूलाई व्यवहारमा मिलाउनुपर्छ । आन्दोलनमा लाग्दा र संगठन निर्माण गर्दा गल्ती/कमजोरी भएका छन् भने त्यसलाई ‘रियलाइज’ गर्ने र आधारभूत तहमा जनता तथा कार्यकर्ताको बीचमा जाने र तलका विषयलाई प्रभावकारी ढंगले कसरी सम्बोधन गर्ने भन्ने अहम् सवाल हुन् । हामीले जे अभ्यास गर्दै आयौं, त्योभन्दा पनि अगाडि बढेर कतिपय कुराहरू गर्नुपर्ने हुन सक्छ । त्यसैले पार्टी पुनर्व्यवस्थित गर्ने भनेको पार्टीको अग्रगति र प्रगतिका लागि नै हो ।

तपाईंले अवकाश लिने बेलामा अध्यक्षका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । एमालेको नेतृत्वमै किन दाबी ? 

मैले उम्मेदवारी घोषणा गरिरहँदा सबभन्दा पहिले पार्टीले सामना गरिरहेका चुनौतीहरूलाई ‘भिजुलाइजेसन’ गर्‍या छु । विचारमा के कस्ता समस्याहरू रहे ? कहाँ मिलाउनुपर्छ ? संगठन कहाँ मिलाउनुपर्छ ? कार्यसम्पादन गर्ने शैलीमा कहाँ–कहाँ समस्या देखिए ? यी विषयलाई मैले अनुभूत गरेको छु । समस्यालाई ठीक ढंगले चिन्नु भनेको आधा समाधान हो । त्यसकारण पनि मैले समस्यालाई राम्ररी ‘भिजुलाइज’ गर्न सकेको हुँ । अर्को भनेको मैले समाधान पनि प्रस्ताव गरेको छु । जस्तो विचारलाई व्यवस्थित गर्ने सन्दर्भमा के गर्नुपर्छ ? संगठनलाई व्यवस्थित गर्ने सन्दर्भमा के गर्नुपर्छ र कार्य सम्पादनको शैलीलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा मेरा प्रस्तावहरू छन् । 

Oli will not continue in leadership anymore: Ishwor Pokharel [Interview]

म यो पार्टीसित पहिलो दिनदेखि अहिलेसम्म पनि निरन्तर अविचलित, अखण्डित ढंगले लागिरहेको छु । अनेकौं उथलपुथलको बीचमा पनि पार्टीमा निरन्तर क्रियाशील छु । त्यसकारण अध्यक्षका लागि ‘डिजर्भ’ गर्छु भन्ने लागेको हो । मेरो इतिहासले, निष्ठाले, निरन्तरताले, लगनशीलताले अविचलित ढंगले लाग्ने कुराले र पार्टीको समस्यालाई चिन्ने र समाधान गर्ने सन्दर्भमा मसँग केही ठोस प्रस्तावहरू पनि छन् । अध्यक्षको राजनीतिक योगदान आफ्नो ठाउँमा छ । त्यो योगदानलाई बेवास्ता र अवमूल्यन गर्न हुँदैन । तर, उहाँ ११ वर्ष लगातार पार्टी अध्यक्ष हुनुभयो ।

०७२ सालदेखि ०८२ सालसम्म संविधान जारी भएपछि १० वर्षको अवधिमा लगभग छ वर्ष प्रधानमन्त्री हुनुभयो । एउटै व्यक्ति (ओली) का लागि यो कार्यकाल भनेको महत्त्वपूर्ण अवधि हो । यो अवधिमा उहाँले देखाउनुपर्ने र खेल्नुपर्ने भूमिका सबै पूरा गरिसक्नुभयो । उहाँले धेरै महत्त्वपूर्ण अवसर पनि प्राप्त गर्नुभयो र योगदान पनि गर्नुभयो । सँगसँगै कमजोरीहरू पनि भए । मलाई लाग्छ, अब कमजोरीहरूलाई निरन्तरता दिन हुँदैन । त्यसैले पनि उहाँले निरन्तरता दिनुहुन्न । अब त उहाँ (ओली) अभिभावकको हिसाबले, संरक्षकको हिसाबले बस्नु राम्रो हुन्छ । त्यो उहाँका लागि मात्र होइन पार्टी, आन्दोलन र मुलुकका लागि पनि आवश्यक छ ।

कतिपयले केपी ओलीसँग प्रतिस्पर्धा गर्नु भनेको ठूलो चुनौती भोग्नु हो र उनीविरुद्ध उभिए भीम रावल, माधव नेपालको जस्तो हविगत पनि हुन्छ भनिरहेका छन् नि ?

यसमा हाम्रै पार्टीभित्रका अनुभवहरू पनि छन् । एमाले नै त्यो पार्टी हो, जसले आफ्नो ‘गाइडिङ प्रिन्सिपल’ मा प्रतिस्पर्धाको राजनीतिलाई स्वीकार गरेको छ । प्रतिस्पर्धाको राजनीति, सक्रियता, पहलकदमी, जनसेवा, प्रतिस्पर्धा र श्रेष्ठता हामीले स्वीकार गरेका छौं । तपार्इंले भन्न खोज्नुभएको कुरा बुझेको छु । तर प्रतिस्पर्धालाई हामीले स्वाभाविक रूपमा लिन्छौं । एउटा समस्याचाहिँ छ । त्यो भनेको प्रतिस्पर्धाको कुरा गर्ने तर प्रतिस्पर्धाको परिणामलाई स्वीकार गर्न नसक्ने हो । हाम्रा विशिष्ट अनुभवहरू छन् । प्रतिस्पर्धा गरेर प्राप्त भएको परिणामपछि पनि पार्टी एकताको पक्षमा उभिएका दृष्टान्त छन् । अर्कोतर्फ प्रतिस्पर्धाको परिणामलाई स्वीकार गर्न नसकेर नकारात्मक दिशातर्फ गएको अनुभव पनि छ । नकारात्मक दिशातर्फ जानु हुँदैन भन्ने कुरामा पनि हामी सबै सचेत हुनुपर्छ ।

केहीले एमाले भनेको केपी ओली हो, केपी ओली भनेको एमाले हो भनिरहेका छन् । अध्यक्ष ओली नै पार्टीको नेतृत्व अब पनि आफैंले लिने भनिरहनुभएको छ त ?

कुन सन्दर्भमा कुन नेताले कुन प्रसंगमा भन्नुहुन्छ । त्यसलाई सामान्यकृत गरेर बुझ्नु वा व्याख्या गर्नु उचित हुँदैन । जोसुकै नेता भए पनि फलानो भने पार्टी हो, पार्टी भनेकै फलानो हो भनेर व्याख्या गरियो भने त्यो अस्वाभाविक हो । यो भद्दा खालको प्रस्तुति हो । अध्यक्ष ओलीले के भन्नुभएको हो ? कुन प्रसंगमा भन्नुभयो ? त्यो बुझ्नुपर्छ ।

अर्को कुरा, एमालेको जीवनमा प्रतिस्पर्धाको कुरा स्वाभाविक हो । त्यसलाई स्वाभाविक रूपमा लिनुपर्छ । मापदण्ड पुगेको व्यक्तिले जोकोहीसित प्रतिस्पर्धा गर्न सक्छ । प्रतिस्पर्धालाई स्वाभाविक ढंगले लिन नसक्नेहरू जनताको बहुदलीय जनवादका पक्षधर हुन सक्दैनन् । प्रतिस्पर्धा गर्ने कुराको ‘एडभोकेसी’ गर्ने तर त्यसको परिणामलाई स्वीकार गर्न नसक्ने, जो कमजोरी प्रकट हुने गर्छ त्यो कमजोरी देखाउनु हुँदैन । म त प्रतिस्पर्धाबाट प्राप्त भएको जुनसुकै परिणाम स्वीकार्न तयार छु । 

ओलीसँग प्रतिस्पर्धा गर्छु भनेर पूर्वराष्ट्रपति विद्या भण्डारी आउनुभएको थियो तर उहाँहरूको सदस्यता नै ॅपेन्डिङ’ राखियो । उहाँलाई प्रतिस्पर्धामा आउने बाटो नै छेकियो हैन ?

पूर्वराष्ट्रपतिजीको सदस्यताका बारेमा मेरो सुरुदेखि नै एउटा मान्यता थियो । त्यो पदमा पुगेको व्यक्ति सक्रिय राजनीतिमा नआउन पनि सक्नुहुन्छ । आउन पनि सक्नुहुन्छ । मेरो अध्यक्षले नै कुनै बेला एउटा अन्तर्वार्तामा विद्या भण्डारी सक्रिय राजनीतिमा आउन चाहनुभयो भने ‘मस्ट वेलकम’ भनेकै हो । त्यति मात्र होइन, पार्टी कार्यालयमा गएर, पार्टीको संगठन विभागको प्रमुख पार्टी स्थायी कमिटीको सदस्यसित सल्लाह गरेर सदस्यता नवीकरण गरेको हो । विद्या भण्डारीले सदस्यता शुल्क बुझाउनुभएको पनि हो । तर, पछि विभिन्न कारण देखाएर उहाँलाई सदस्यता नै दिइएन । पछि विधि पुगेन, प्रक्रिया पुगेन भनेर जुन अत्तो थापियो । त्यसरीे सदस्यता रोक्नु वास्तवमा अनुचित मात्र होइन, गलत थियो । र, अन्यायपूर्ण पनि । अहिलेका लागि उहाँको सदस्यता ‘ड्रप’ भएको भए पनि यो विषय बेलाबेलामा उठिरहनेछ । पार्टी नेतृत्वलाई यो मुद्दाले पछ्याइरहने छ । 

विगततिर फर्किंदा आठौं महाधिवेशनमा तपाईंले झलनाथ खनाललाई समर्थन गर्नुभयो । महासचिव हुनुभयो । नवौं महाधिवेशनमा केपी ओलीलाई समर्थन गर्नुभयो । जिताउनुभयो । १०औं महाधिवेशनमा ओलीपछि वरिष्ठ उपाध्यक्ष हुनुभयो । तर, अहिले ओलीसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । कति सहज लागिरहेको छ ?

एकचोटि जे गर्‍यो, सधैंभरि त्यही हुन्छ भन्ने कुरा भएन । आठौं राष्ट्रिय महाधिवेशनमा झलनाथजीलाई समर्थन गर्दा मेरो तर्क थियो । जुन सार्वजनिक पनि गरेको थिएँ । झलनाथजी वैचारिक हिसाबले, बौद्धिक हिसाबले काम गर्ने व्यक्ति नेतृत्वमा आउनुभयो भने पार्टी गतिशील बन्ला भन्ने लागेको थियो । त्यसबेला झलनाथजीलाई त्यही हिसाबले बुझ्या हो । केपी ओलीसित सबै कुरा प्रस्टसँग भन्या थिएँ । मित्रवत् ढंगले तपाईंलाई यस पटक समर्थन गर्दिनँ । पछि झलनाथको डेलिभरीमा केही समस्या देखियो । नवौं महाधिवेशनमा अब केपी ओलीलाई अवसर दिनुपर्छ र सबैले सघाउनुपर्छ भन्ने निष्कर्ष भयो ।

उहाँका विचार र अडानहरूका कारणले प्रभावित भए र घोषित रूपमै नवौं महाधिवेशनमा केपी ओलीलाई अध्यक्ष बनाउनुपर्छ भनेर लागेको पनि हो । तथ्यबाट प्रमाणित भएका कुराका आधारमा केपी पक्षमा लागेको थिएँ । अहिले भने पार्टीभित्रको मात्र नभएर पार्टी बाहिरको परिस्थिति पनि जटिल भयो । यस्तो अवस्थामा बुद्धिमानी र सम्मानका साथ नेतृत्वलाई व्यवस्थापन गरेर नयाँ ढंगले जानुपर्छ । कोही–कोही साथीहरूले भनिरहनुभएको छ । संकट परेका बेला नेतृत्वको प्रतिरक्षा गर्नुपर्छ । नेतृत्वको प्रतिरक्षा कसरी गर्ने त ? नेतृत्वको प्रतिरक्षा गर्ने पृथक्–पृथक् विधि हुन सक्छ नि । जस्ताको तस्तै राखेर प्रतिरक्षा गर्ने कि अलिकति ठाउँ ‘सिफ्ट’ गरेर ? मचाहिँ ठाउँ ‘सिफ्ट’ गरेर नेतृत्वको प्रतिरक्षा गर्नुपर्छ भन्ने पक्षमा छु । 

तपाईंले प्रतिस्पर्धा गर्ने भए पनि अहिलेको अवस्थामा एमालेको नेतृत्व ओलीको चाहनाअनुसार नै चयन हुने होला नि ?

त्यही त यो नहुनुपर्ने, नगरिनुपर्ने अभ्यास हो । मान्छेले त स्वेच्छाले आफ्नो चाहना व्यक्त गर्न सक्छ । जिम्मेवारी लिन सक्छ । जिम्मेवारी पूरा गरेको सन्दर्भमा आफ्ना प्रतिक्रियाहरू व्यक्त गर्न सक्छ । प्रतिस्पर्धा पचाउन नसक्ने र अस्वाभाविक ढंगले लिने कुरा गलत हो । प्रतिस्पर्धालाई स्वाभाविक ढंगले लिनुपर्छ । स्विकार्नुपर्छ तर मर्यादाको सीमाभित्र रहनुपर्छ ।

फलानाको विरुद्धमा, फलानो नेताको विरुद्धमा उठ्ने तेरो आँट ? तेरो दुस्साहस ? यो त वास्तवमा सोच्न पनि नसकिने कुरा हो । यो कम्युनिस्ट पार्टीभित्रको कल्चर हो कि होइन ? त्यसैले परिणामलाई स्वीकार गर्ने संस्कृति, संस्कारको आवश्यकता छ ।

एमालेको आठौं र नवौं महाधिवेशनसम्म आन्तरिक लोकतन्त्र र प्रतिस्पर्धाको विषय सहज मानिन्थ्यो । दसौं महाधिवेशनयता जटिल बन्दै गएको हो ?

एउटा परिस्थितिले हाम्रा कमजोरीहरू ओझेलमा परे । हामी चौतर्फी घेराबन्दीमा थियौं । पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने आवश्यकता थियो । त्यो आवश्यकतामा ध्यान दिँदा हामीले अरू कुरा अहिले गौण हुन् भन्यौ । त्यसैले पनि दसौं राष्ट्रिय महाधिवेशनमा प्रतिस्पर्धाका कुरा त्यति अगाडि आएन । वातावरण नै त्यस्तै थियो । सम्पूर्ण रूपमा त्यस्तो खालको वातावरणमा हामीले त्यही किसिमले लग्यौं । तर अहिले भने स्थिति त्यो होइन । अर्को ढंगको ‘क्राइसिस’ आएको छ, त्यसलाई व्यवस्थापन गर्न पनि यथास्थितिमा अगाडि बढ्न सकिँदैन ।

जेन–जी आन्दोलनपछि युवा पुस्तामा नेतृत्व हस्तान्तरणको माग भइरहेको छ । तर, ७० नाघेका नेताबीच नै मुख्य प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । समयको माग यही हो र ?

तपाईंले ठीकै भन्नुभयो । पार्टीको विधानअनुसार ७० वर्षे उमेरहद र दुई कार्यकाल कार्यकारी पदमा लगातार रहेपछि पदमा नरहने भन्ने थियो । तर, पछि विभिन्न निहुँमा ७० वर्षे हटाइयो । दुई कार्यकालको कुरा पनि थियो तर त्यो दुई कार्यकालको प्रावधान पछि के भएछ भने (टेक्निकल मिस्टेक भन्छु मैले) । दुई पटक कार्यकारी पदमा उम्मेदवारी दिएपछि तेस्रो पटक दिन नपाउने भन्ने विधान ‘राइट अप’ भएछ । दुई पटक कार्यकारी पदमा रहेपछि तेस्रो पटक हुन नपाउने भन्नुपर्नेमा ‘राइट अप’ गरी दुई पटक कार्यकारी पदमा उम्मेदवारी दियो भने तेस्रो पटक उम्मेदवारी दिन नपाउने बनाइएछ ।

Oli will not continue in leadership anymore: Ishwor Pokharel [Interview]

यो दसौं राष्ट्रिय महाधिवेशनको सम्मुखमा आउँदा विधानमा देखिएको देखेपछि हामी बडो अचम्ममा पर्‍यौं । फेरि पछि त विधानमा ब्लन्डर भएछ । त्यो उपधारा नै विधानबाट हटेछ । सच्चिनुपर्नेमा उपधारा नै हट्यो । उपधारा नै हटिसकेपछि ७० वर्षे उमेरहद, दुई कार्यकालको प्रावधान खुला भयो । पार्टीको ‘डेमोक्रेटाइजेसन’ गर्ने सन्दर्भमा, लोकतन्त्रको कुरा गरिरहँदा दुई कार्यकालको कुरा हुनुपर्थ्यो । यो पोलिटिक्सको कुरा होइन, योचाहिँ सांगठनिक रूपमा पार्टी व्यवस्थापन गर्ने सिलसिलामा गर्नुपर्ने काम हो । दुई कार्यकाल र उमेरहद हटिसकेपछि त सबैका लागि 

हट्यो नि । तर वास्तवमा मलाई व्यक्तिगत भन्नुहुन्छ भने त्यसबेला त्यो त भयो निर्णय बहुमतले गर्‍यो । तर त्यो दुई कार्यकालचाहिँ आवश्यक छ भन्ने अहिले पनि मलाई लाग्छ ।

पार्टीमा आन्तरिक लोकतन्त्र र प्रतिस्पर्धा कमजोर बनेसँगै बहुदलीय जनवादको अभ्यास पनि हुन छाडेको हो ?

यो विषयमा आवश्यकताअनुसार बहस, छलफल हुन सकेको छैन । परिवर्तित अवस्थामा बहुदलीय जनवादको कार्यान्वयन गर्ने विषयमा बहस गर्न जरुरी छ । त्यो पक्ष अलिकति कमजोर कमजोर हुन थालेको हो कि भनेर स्कुल विभाग नीति अध्ययन प्रतिष्ठानले त्यसलाई देशभर बहस, छलफल चलाउनुपर्छ भन्ने लागेको छ ।

जनताको बहुदलीय जनवाद भनेको नेपाली विशिष्टतामा मार्क्सवादलाई प्रयोग गर्दा विकसित भएको विचार हो । हाम्रा कार्यक्रम पनि यही विचारबाट निर्देशित छन् । समग्रतामा यो विचारबाट यी जम्मै कुराहरू मिलाउनुपर्ने आवश्यकता छ । कतिपय कुराहरू अलिकति फिक्का–फिक्का हुन थालेका हुन् कि भन्ने मान्छेलाई पर्‍या छ । त्यसैले विचार अलि खोक्रो भएको हो कि ?

ओलीले त मदन भण्डारी फाउन्डेसनको पार्टीसँग कुनै साइनो छैन भन्दिइसक्नुभयो त ?

मदन भण्डारी फाउन्डेसनको स्थापना गर्ने एउटा प्रमुख नेतृत्वकर्ता अध्यक्ष ओली नै हो । पार्टीको जनसंगठनका रूपमा पार्टीसित आबद्धता नभए पनि जनताको बहुदलीय जनवादको विचारलाई व्याख्या विश्लेषण गर्ने, विस्तार गर्ने काममा यो संस्थाले भूमिका खेल्नुपर्छ भनेर स्थापना गरिएको हो ।

महाधिवेशनमा राजनीतिक प्रतिवेदनमा बहस नगरी नेतृत्व चयनमा प्रवेश गर्ने तयारी अध्यक्ष केपी ओलीको छ । राजनीतिक बहस पनि बन्देज गरिएको हो ?

राष्ट्रिय महाधिवेशन र विधान महाधिवेशन भनेर दुइटा महाधिवेशन गर्ने हामीले चलन चलायौं । विधि, नीति र नेतृत्वको काम एउटै एउटै बेलामा गर्दा स्वस्थ ढंगले छलफल नहुन सक्ने खतरा हुँदो रहेछ । त्यही भएर नीति र विधिका बारेमा छलफल छुट्टै गरौं भनेर विधान महाधिवेशन गर्न थालिएको हो । त्यसपछि त्यो नीति र विधिबाट निर्देशित भएर नेतृत्व चयन गर्ने भन्ने तर्कका साथ राष्ट्रिय महाधिवेशन छुट्टै गर्ने निर्णय भएको हो । तर के देखियो भने यसबीचमा गरिएको अभ्यासले नीति र विधि पास गरिरहँदा नेतृत्वको कुरा पनि तानिँदो छ ।

दुइटा महाधिवेशन गर्न पनि सान्दर्भिक नहुने रहेछ भन्ने लाग्दै छ । त्यसैले परिवर्तित सन्दर्भमा राष्ट्रिय महाधिवेशनमा नीतिका बारेमा पनि छलफल हुनुपर्छ । हामी कम्युनिस्ट पार्टीमा लागेका मान्छेहरूले बुझेको महाधिवेशनले गर्ने काम त यिनै हुन् । पछिल्लो परिस्थितिमा नीति र विधिलाई त अझै अपग्रेड गर्नुपर्ने आवश्यकता पर्छ । त्यस कारणले राष्ट्रिय महाधिवेशनमा विधि र नीतिको बहस हुन्छ । नेतृत्व चयनको कुरा पनि हुने नै भयो ।

महाधिवेशनमा अध्यक्ष ओलीले एउटा प्रतिवेदन ल्याउने तयारी छ । तपाईंले त्यसको ॅकाउन्टर’ मा प्रतिवेदन ल्याउनुहुन्छ ?

‘काउन्टर’ प्रतिवेदन होइन । मैले जुन विचार प्रस्तुत गरेको छु । महाधिवेशनमा वितरण हुन्छ । साथीहरूले पढ्नुहुन्छ, छलफल गर्नुहुन्छ । त्यो परिवर्तित सन्दर्भमा पार्टीलाई पुनर्व्यवस्थित गर्ने सन्दर्भमा के–के कुरा गर्नुपर्छ भन्ने कुरामा केन्द्रित हुनेछ ।

एमाले जोगाउन भन्दै आगामी चुनावमा अघि बढ्न केपी नै चाहिन्छ भन्ने अभियान चलाइएको छ नि ?

नेतृत्वमाथि प्रश्न गरेर र प्रतिस्पर्धा गरेर यहाँ कुनै उथलपुथलको कुरै होइन । एमालेको सांगठनिक जीवनलाई अस्तव्यस्त बनाउन खोजेकै होइन । यो त विधिमा, प्रणालीमा थप व्यवस्थित बनोस् भन्नका लागि हो । पार्टीलाई थप व्यवस्थित बनाउनका लागि उहाँको एउटा भूमिका संरक्षक र अभिभावकका रूपमा रहनुहोस् र अरू साथीहरूले नेतृत्व लिनुहोस् । सरसल्लाहले नै नेतृत्व के गर्ने भन्ने कुरा गरेको हो । मित्रवत् प्रतिस्पर्धा गरेर नेतृत्व आएको हो । यस हिसाबले गर्नुपर्छ भन्ने कुरा गर्दा यो चुनौती आइरहेका बेलामा यो कुरा (ओली नै चाहिन्छ भन्ने) उठाउनु अप्रासंगिक हो भन्ने कुरै मिलेन ।

अध्यक्ष ओलीले बेला–बेलामा एमालेलाई चौतर्फी घेरबन्दी भएको बताउनुभएको छ । कसले गरेको छ घेराबन्दी ?

एउटा कुरा त घेराबन्दी भएको कुरा जो भइरहेको छ, भएको कुरालाई भन्नु पनि पर्छ तर पटक–पटक भनिरहनु आवश्यक छैन । त्यो विषयको गम्भीरतालाई बुझेर कामहरू गर्नुचाहिँ महत्त्वपूर्ण कुरा हो ।

तपाईं र ओलीबीच विगतदेखि सहकार्य र संघर्ष कतो छ ?

केपी ओली कमरेडलाई कसरी लिन्छु भने एउटा दरो इच्छाशक्ति भएको, मनोबल दरो भएको र आफना भनाइहरूलाई तर्कपूर्ण ढंगले, एकदम जबरजस्त रूपमा राख्ने सामर्थ्य भएको नेता हो । राष्ट्रियताको मामलामा एउटा स्पष्ट ढंगले अडान लिने नेताका रूपमा मैले बुझ्छु उहाँलाई । उहाँ नख्खु जेल, सेन्ट्रल जेल (२०४५) मा हुँदा केही सामग्रीसँगै खानेकुरा लगेर गएको थिएँ । त्यसबेला म पनि भूमिगत थिएँ । पछि जेलबाट रिहा भइसकेपछि उहाँसित राम्रै सम्बन्ध भयो । संयोग कस्तो भने म लुम्बिनीको इन्चार्ज थिएँ । उहाँ रिहा भएपछि लुम्बिनीमा पार्टी इन्चार्ज हुन जानुभयो ।

म काठमाडौं उपत्यकामा आएँ । बहुदल आइसकेपछि निर्वाचनमा जानुभयो, लाग्नुभयो । उहाँ एउटा तीक्षणता भएको र आफ्ना भनाइहरूलाई स्थापित गर्नका लागि तर्कपूर्ण ढंगले प्रस्तुत हुने एउटा क्षमतावान् नेता हो । म जहिले पनि संस्थापनको पक्षमा उभिने मान्छे हो । संस्थागत ढंगले चल्नुपर्छ भन्ने मान्छे । एउटा कालखण्ड यस्तो थियो, त्यसबेला उहाँले आफूलाई अलि बाहिर पारिएको, अवमूल्यन गरिएको भन्ने ठान्नुहुन्थ्यो ।

त्यसले अलिकति सम्बन्धहरूमा त्यति सुमधुर स्थिति थिएन प्रमुख नेताहरूसँग । तर त्यति हुँदा पनि म र उहाँ पार्टी जीवनको लोकतन्त्रीकरणसम्बन्धी कार्यदलमा थियौं । २०५९ सालमा सातौं राष्ट्रिय महाधिवेशनपछि गठन भएको कार्यदलको उहाँ संयोजक र मलगायत अरू साथीहरू सदस्य थियौं । कार्यदलमा सर्वसम्मतिले पार्टी जीवनको लोकतान्त्रिक सम्बन्धी टुंगोमा पुगेका थियौं । त्यही प्रस्ताव पार्टी केन्द्रमा गयो । केन्द्रले सर्वसम्मतिले स्वीकार गर्‍यो । पार्टीको लोकतन्त्रीकरणको एउटा चरण त्यहीबेला सुरु भएको हो । जसको अगुवाइ उहाँ (ओली) ले नै गरेको हो । त्यतिबेला उहाँसित शतप्रतिशत कुरा मिलेको थियो ।

नवौं, दसौं महाधिवेशनमा तपाईं र ओली मिलेर जानुभयो, ११ औंमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ?

दसौं महाधिवेशनमा एउटा पृथक् अवस्था थियो । किनभने त्यसबेला हामी सबै मिलेर जानुपर्ने । हाम्रो चौतर्फी पार्टीभित्र, देशभित्रकै विभिन्न पोलिटिकल पार्टीहरू एक ठाउँमा थिए । एमाले विभाजन भएको यस्तो अवस्था थियो । त्यस्तो बेलामा हामीले एकताबद्ध भएर जानुपर्ने सिलसिलामा मिलेर गयौं । अहिले पनि एउटा मित्रवत् सम्बन्ध छ । म आदर गर्छु । उमेरले दाजु पर्नुहुन्छ । उहाँले यातनामय जेल जीवन बिताउनुभएको हो । म पनि पार्टी निर्माणमा लगातार १५ वर्ष भूमिगत भएर काम गरेको मान्छे । हाम्रा आफ्ना आफ्ना पृष्ठभूमि छन् । मेरो भूमिका र पृष्ठभूमिबारे उहाँले बेलाबेला भन्नु पनि हुन्छ ।

अध्यक्ष ओलीले तपाईंलाई अध्यक्षमा स्वीकार गर्ने सम्भावना छ त ?

मैले उहाँलाई स्विकार्न के अप्ठ्यारो ? उहाँले मलाई स्विकार्न के अप्ठ्यारो ? उहाँले बुझ्नुभा छ । तर स्विकार्न भनेको तपाईंले अध्यक्षमा भन्न खोज्या होला । त्यो त हामी छलफल गर्छौं , प्रतिस्पर्धा हुन्छ भने प्रतिस्पर्धालाई स्विकार्नु पनि एकअर्कालाई स्विकार्नु नै हो नि ।

जेन–जी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिको जिम्मेवारी सरकार र पार्टीको नेतृत्वले लिनुपर्छ कि पर्दैन ?

त्यसबेला जे जस्ता कुराहरू भित्र पाक्दै थिए । त्यसको अलिअलि अन्दाज भए पनि त्यो गम्भीरताका साथमा अन्दाज भएन कि भन्ने लाग्छ । तर जुन ढंगले बाहिरका शक्ति, भित्रका शक्ति मिलेर असन्तुष्टिको जगमा ती कुराहरू पाक्दै थिए । भदौ २२ सम्म हामी एक ढंगको ढुक्कको अवस्थामा थियौं । २३ र २४ भदौमा त्यस्तो हुन्छ भनेर सम्भावित तयारी भएन । अब आममान्छेको प्रश्न छ कि राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री कार्यालय मातहत छ ।

Oli will not continue in leadership anymore: Ishwor Pokharel [Interview]

नेपाल प्रहरी छ । ससस्त्र प्रहरी छ । नेपाली सेना छ । राज्यको प्रशासनयन्त्र छ । त्यत्रा अंगहरू बेखबर किन ? तिनीहरूले जानकारी गराएनन् वा तिनीहरू नै बेखबर थिए ? गम्भीर प्रश्न त छ नि ? आज यो प्रश्नमा प्रवेश नगरौंला । यो प्रश्न सुन्न नचाहौंला । यो प्रश्नको उत्तर नखोजौंला तर इतिहासमा त यो प्रश्न भइरहन्छ । जसरी राम्रो कामको जस जो प्रमुख हुन्छ, उसकै भागमा जान्छ । अपजशको भाग पनि स्वाभाविक रूपमा प्रमुखतिरै जान्छ ।

त्यसबेला एमालेको नेतृत्व भएको हुनाले सिंगो एमालेले जिम्मा लिनुपर्छ भन्ने सिलसिलामा पनि कुरा उठ्न सक्छ । हामी जुन तहको नेतृत्वमा थियौं, त्यो तहको नेतृत्वबाट जुन ढंगको सजगता र सतर्कता हुनुपर्थ्यो सायद त्यो पनि भएन कि ? मुलुकको कार्यकारी प्रमुखको नाताले प्रधानमन्त्रीतिर प्रश्न त सोझिन्छ नि । यसको अर्थ उहाँलाई यही मौका हो भनेर भन्नुपर्छ भनेर भनेको हैन । तर स्वाभाविक रूपमा ‘ले म्यान’ ले पनि भन्ने कुरा के हो भने यस्तो घटनामा प्रमुख व्यक्ति जवाफदेही हुन्छ कि हुँदैन ? जिम्मेवारी लिनुपर्छ कि पर्दैन ? लिनुपर्छ । मान्छेले सुन्ने गरी, बुझ्ने गरी, मान्ने गरी पत्याउने गरी भन्नुपर्‍यो नि ।

फागुन २१ मा निर्वाचनमा भाग लिन एमालेले कस्तो तयारी गरेको छ ?

एमाले लोकतान्त्रिक प्रणालीलाई स्वीकार गर्ने पार्टी हो । लोकतन्त्रप्रति आस्था र विश्वास राख्छ । त्यही कारणले निर्वाचनबाट यो अलग हुन्छ भन्ने कुरा त हामी कल्पना पनि गर्न सक्दैनौं । एमालेका बारेमा कसैले त्यो कोणबाट प्रश्न, जिज्ञासा नराख्दा पनि हुन्छ । तर हामीले सुरुदेखि उठाएको प्रश्न के हो भने अहिलेको सरकारले चुनाव भन्ने चुनावलाई अनुकूल हुने वातावरणका लागि काम गरेको छैन । यो हुनु भएन । जेलबाट भागेका अपराधीहरू बाहिर छन् ।

कब्जा गरिएका हतियारहरू सबै नियन्त्रणमा आइसकेको छैन । सुरक्षाको महत्त्वपूर्ण अंग नेपाल प्रहरीमाथि भदौ २३ र २४ को घटनामा प्रहार भयो, उनीहरू ‘ह्युमिलेट’ हुनुपर्‍यो । प्रहरीको मनोबल बढाउनुपर्ने आवश्यकता छ । तर, राजनीतिक दलका नेताहरूमाथि सीमा हद तोकिने जस्ता खालका कुराले निर्वाचनको वातावरण बन्छ कि बन्दैन ? यसरी निर्वाचनको वातावरण बन्दैन । निर्वाचनको वातावरण बनाउने हो भने सरकार यी कुरामा गम्भीर हुनुपर्‍यो । गम्भीर नहुने अनि निर्वाचन निर्वाचन भनेर हुन्छ ? निर्वाचन हुने वातावरण बनेपछि हामी निर्वाचनबाट बाहिर बस्ने त कुरै हुँदैन नि ।

गंगा

Link copied successfully