‘हाम्रो लक्ष्य नेपालमा एक नम्बरको पार्टी बनाउने हो’ [अन्तर्वार्ता]

नेपाली कम्युनिस्ट पार्टीका सचिवालय सदस्य वर्षमान पुन भन्छन्–‘हाम्रो लक्ष्य नेपालमा एक नम्बरको पार्टी बनाउने हो । यो नेताहरूको व्यवस्थापनका लागि होइन– देशको सुशासन, समृद्धि र सामाजिक न्यायका लागि हो ।’

कार्तिक १९, २०८२

गंगा बीसी

'Our goal is to make the number one party in Nepal' [Interview]

काठमाडौँ — माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र अन्य साना वाम घटकको एकतापछि ‘नेपाली कम्युनिस्ट पार्टी’ को गठन भएको छ ।

नेपाली विशेषताको समाजवाद स्थापना गर्ने उद्देश्य लिएको यो पार्टीको आगामी रणनीति के हुन्छ ? पार्टी एकता घोषणापछि सचिवालय सदस्य वर्षमान पुनसँग कान्तिपुरका गंगा बीसीले गरेको संवाद ।

पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी कसरी जुराउनुभयो ?

२००६ सालमा कमरेड पुष्पलालले कम्युनिस्ट पार्टीको स्थापना गर्दा  ‘नेपाल कम्युनिस्ट पार्टी’ भन्नुभएको थियो । यो त्यसकै निरन्तरता हो । तर त्यतिखेर अलिकति भाषिक रूपमा अशुद्ध जस्तो देखिन्थ्यो । नेपाल होइन, ‘नेपाली कम्युनिस्ट पार्टी’ हुनुपर्छ भन्ने धारणा बन्यो । देशको कम्युनिस्ट भन्दा पनि यहाँका मान्छेहरू, यो देशमा क्रियाशील पार्टीका रूपमा भन्ने बुझाइ हो । त्यसैले त्यसलाई अलिकति करेक्सन गरेर, त्यसकै निरन्तरता कायम राख्दै, हामीले ‘नेपाली कम्युनिस्ट पार्टी’ भनेर नाम जुरायौँ ।

अनि चुनाव चिह्नचाहिँ तारा कसरी लिनुभयो ?

चुनाव चिह्न पनि खास अर्थपूर्ण छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पनि तारा क्रान्तिकारी प्रतीकका रूपमा प्रयोग हुने गरेको छ । रुसमा पनि, नेपालमै पनि, जनमुक्ति सेनाले संघर्षका क्रममा त्यसैगरी तारालाई क्रान्तिको एउटा रणनीति र उच्च आकांक्षाको प्रतीकका रूपमा मान्दै आएको छ । २०५६ सालको निर्वाचनमा कमरेड वामदेव गौतमले पनि त्यो प्रयोग गर्नुभएको थियो । पछि जनमर्चाले, त्यसपछि माले हुँदै अहिलेको एकतामा आएको जनसमाजवादी पार्टीले पनि यो चिह्न प्रयोग गर्दै आएको हो । त्यसैले यो साझा प्रतीक हो — एकताको, क्रान्ति र रुपान्तरणको । तारा चुनाव चिह्न ठिक पनि हुन्छ, सजिलो पनि । त्यसैले हामीले साझा सहमतिमै यसलाई चयन गरेका हौं ।

निर्वाचन आयोगमा दल दर्ताका लागि परामर्श भएको छ ?

हो । हामीले अलिकति अनौपचारिक परामर्श गरेका थियौँ । र आजै पार्टीको नाम पनि दर्ता गरिसकेका छौं । आज पार्टी एकता घोषणा भएपछि दर्ता प्रक्रिया पनि पूरा भइसकेको छ । 

विगतमा पनि नेकपा बनाउँदा, निर्वाचन आयोगले सुझाव दिएको थियो– ‘नेपाल कम्युनिस्ट पार्टी’ भन्दा ‘नेपाली कम्युनिस्ट पार्टी’ लेख्दा ठिक हुन्छ । त्यही सुझावलाई सम्झेर नै हामीले यसपालि पनि ‘नेपाली कम्युनिस्ट पार्टी’ नाम चयन गरेका हौँ । हामीले यस्तो नाम राखेका छौँ, जसले कसैसँग नजोडियोस् । हाम्रो विश्वास छ– निर्वाचन आयोगले यो नाम र चिह्न दुवै मान्यता दिनेछ । किनभने अनौपचारिक परामर्श पनि भइसकेको छ ।

अब यो नयाँ पार्टी बनेपछिे नेपाली कम्युनिस्ट आन्दोलनमा कस्तो प्रभाव पार्ला ?

नेपाली कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलन दुवैका लागि, समग्र राजनीतिक परिवेशका लागि, हाम्रो यो नयाँ एकताले एउटा जिम्मेवारी र नयाँ दबाब सिर्जना गरेको छ । त्यो सम्बोधन गर्नकै लागि हामी यो एकता गरेका हौं । हामी कम्युनिस्टहरूका लागि यो नयाँ युगको सुरुवात हो– नयाँ ध्रुवीकरणको सुरुवात । यो मूलधारको रूपमा अघि बढ्नेछ । अहिले राष्ट्रियता जोखिममा छ, लोकतन्त्र संकटमा छ । साथै आर्थिक र सामाजिक रुपान्तरणसहित सुशासन कायम गर्नुपर्ने आवश्यकता पनि छ । यो आन्दोलन समग्र कम्युनिस्ट, लोकतन्त्रवादी, सुशासन र समृद्धिका पक्षधर जनताको प्रतिनिधित्व गर्नेछ । त्यस प्रकारका व्यक्तित्वहरूको आकांक्षालाईसमेत प्रतिनिधित्व गर्ने यो एउटा नयाँ आन्दोलनको रूपमा अघि बढ्नेछ । हामी यसलाई केही दलहरूको मिलनको रूपमा मात्र लिएका छैनौँ ।

हामी आफैँ पनि रूपान्तरण हुने, पार्टीलाई रूपान्तरण गर्ने र नेतृत्व नयाँ ढंगले निर्माण गर्ने संकल्पका साथ अघि बढेका हौं । आज नेताहरूले पनि यही संकल्प व्यक्त गर्नुभयो । त्यसैले यो साँच्चै नयाँ सुरुवात हो — लोकतन्त्र, समृद्धि र नयाँ पुस्ताको आकांक्षा पूरा गर्ने दिशातर्फको प्रयास । यो ‘जेन–जेड’ आन्दोलनपछि बनेको नयाँ परिस्थितिको उपज हो । अब पार्टीहरूमा पनि नयाँ ढंगले, नयाँ नेतृत्वसहित अगाडि बढ्नुपर्ने आवश्यकता देखिएको छ ।

नयाँ पार्टीको नेतृत्व र महाधिवेशन कहिले र कसरी हुन्छ ?

हामी छ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने लक्ष्यमा छौं । अबका तीन महिना निर्वाचनमा केन्द्रित हुनेछौँ । त्यसपछि अर्को तीन महिनाभित्र महाधिवेशन सम्पन्न गर्छौं । त्यो महाधिवेशनमार्फत नयाँ नेतृत्वको विकास र हस्तान्तरणको विधि तय गर्छौं । हामी युवाहरू– अनि केवल युवामात्र होइन, नव–युवाहरूलाई पनि पार्टी नेतृत्वमा ल्याउने व्यवस्था गर्छौं ।

संयोजक दाहालले माधव नेपालसित सल्लाह गरेर नेतृत्व हस्तान्तरण गर्ने बताउनुभयो नि ? 

सामान्यतया नेतृत्व चयनका लागि दुई विधि हुन्छन्– प्रतिस्पर्धा र सहमति । हामी आगामी महाधिवेशनमा सहमतिबाटै नेतृत्व विकास गर्ने सोचमा छौं । अहिलेका अग्रपंक्तिका नेताहरू वैचारिक र राजनीतिक काममा केन्द्रित हुनेछन् । युवाहरू संगठन र कार्यकारी भूमिकामा आउनेछन् । त्यसका लागि अध्ययन, अनुसन्धान र बहसहरू अघि बढाइनेछ ।

अब चुनावको वातावरण बनाउन नयाँ पार्टीको भूमिका के हुने ?

यो एकता अहिलेको सरकार गठनका लागि सकारात्मक भूमिका खेलेका दलहरूको सहकार्यको परिणाम हो । हामी अब चुनावमा जान्छौं । चुनाव अहिलेको राष्ट्रियता, लोकतन्त्र र ‘जेन–जी’ आन्दोलनको भावनालाई सम्बोधन गर्ने मुख्य बाटो हो । त्यसैले हामी यसमा प्रतिबद्ध छौं । हामी प्रदेशदेखि जिल्ला, गाउँ–गाउँसम्म एकता अभियान र चुनावी अभियान दुवै सञ्चालन गर्छौं । हाम्रो लक्ष्य नेपालमा एक नम्बरको पार्टी बनाउने हो । यो नेताहरूको व्यवस्थापनका लागि होइन– देशको सुशासन, समृद्धि र सामाजिक न्यायका लागि हो ।हिजो पनि यही हाम्रो प्राथमिकता थियो, अब नयाँ सिराबाट यही प्राथमिकता लिएर हामी चुनावी अभियान सञ्चालन गर्छौं र चुनावको वातावरण बनाउँछौँ ।

गंगा

Link copied successfully