‘दुई लाइन संघर्ष भएन भने पार्टी जीवन समाप्त हुन्छ’

माओवादी सचिव राम कार्कीसँग गरेको कुराकानी

श्रावण १९, २०८२

कान्तिपुर संवाददाता

”If there is no two-line struggle, the life of the party will end”

What you should know

काठमाडौँ — माओवादीभित्र देखिएको अन्तरसंघर्ष आगामी केन्द्रीय समितिका लागि स्थगित भएको छ । पछिल्लो समय उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वप्रति प्रश्न उठाएपछि अन्तरसंघर्ष चर्किएको थियो । कम्युनिस्ट पार्टीमा फरक मतलाई सम्मान गर्नुपर्ने सैद्धान्तिक मान्यता छ । तर किन फरक मत निषेध हुन्छ ? यसबारे ईकान्तिपुरले माओवादी सचिव राम कार्कीसँग गरेको कुराकानी ।

पछिल्लो समय दुई लाइन संघर्ष निषेध गरिएको हो ?

दुई लाइन संघर्ष अप्रिय कुरा हो । आफ्नै कमरेडसँग लड्नुपर्छ । साथीहरुलाई गलत साबित गर्नुपर्ने हुन्छ । तर यो औषधि हो । तितो भए पनि लाभ लिर्नैपर्छ । दुई लाइन संघर्ष भएन भएन पार्टी जीवन समाप्त हुन्छ । अन्तरसंघर्ष भएन भने व्यक्ति विशेषको कम्पनी जस्तो हुन्छ ।

ओलीले मबिनाको एमालेको कल्पना नगर भनेको सुनिन्छ । मान्छे मरणशील छ । पाटी पनि सँगै मर्ने त ? नेता विशेष रहिरने पार्टी नेतृत्व अपरिहार्य होइन । प्रतिभाशाली नेता छ भने अर्को आउनुपर्छ भनने होइन । उस्तै नेतृत्व भएन भने सामूहिक नेतृत्वमा जान सकिन्छ ।

नेतृत्वको आलोचनामा माओवादी किन अनुदार देखिन्छ ?

नेतृत्वको सैद्धान्तिक, वैचारिक आलोचना भयो परिमार्जित हुन मद्दत गर्छ । अधिभूतवादी प्रशंसाले फाइदा गर्दैन । कुनै पनि परिवर्तनलाई समाजशास्त्रीय वैद्यता प्रदान गर्नुपर्छ । हामीले हामीले इतिहासको पुनर्लेखन गर्नुपर्थ्यो । कांग्रेस, माले, एमाले माओवादीले खेलेको भूमिका इतिहासको विषय बन्नुपर्थ्यो । शैक्षिक संस्थाको पाठयक्रम परिवर्तन गर्नुपर्थ्यो । फेसबुकबाट गरेको प्रशंसाले नेता स्थापित हुन्छ ? अध्यक्ष प्रचण्डको नेपालमा लामो इतिहास छ । त्यो स्थापित गर्न हामी चुक्यौं । वैद्यता दिनुपर्थ्यो । त्यो दिएनौं । व्यक्तिगत रुपमा गुणगान गाएर नेता स्थापित हुँदैन । हरेक मान्छे आफ्नो प्रणालीसँग बाधिनुपर्छ । पार्टीको कार्यदिशा, कार्यक्रम उद्देश्य पनि त्यस्तै हुनुपर्छ । उद्देश्य राम्रो छ भने अनुशासन कायम हुन्छ । बाहिर गनाएको छ भने छोपेर छेकिन्न ।

माओवादीको अन्तरविरोध कसरी समाधान हुन्छ ?

अन्तरविरोधलाई रुपान्तरण गर्न सकिन्छ । अहिलेको अन्तरविरोधमा अलिअलि व्यक्तिगत कुरा छन् । महाधिवेशनको मिति तय गरेर खुला बहस सुरु गर्नुपर्छ । अहिलेको सानो अन्तरविरोधलाई उच्च रुपमा लैजानुपर्छ । कसले कसलाई कारबाही गर्ने ? आलोचना गर्ने कि अधिभूतवादी प्रशंसा गर्नेलाई ? विधि र पद्धतिबाट महाधिवेशनबाट जानुपर्छ ।

कम्युनिस्टमा अनुदारवादी नेतृत्व हाबी हुँदै गएको हो ?

आगामी नीति समाजवादलाई हेर्दा पार्टी बिर्सने, पार्टी हेर्दा समाजवाद बिर्सने गर्नुहुँदैन । पुरानो प्रणाली मर्दै गएको तर नयाँ नजन्मिएको अवस्था छ । त्यो स्थिति तनावपूर्ण हुन्छ । यस्तो बेला ठूला साना विग्रह देखिन्छ । परिवारले मात्र खोलेको पार्टीमा विग्रह हुन्छ । समाजको अन्तरविरोधमा पार्टीमा अभिव्यक्त भएको छ । हामीले माओवादीको मात्र कुरा होइन, समाजको कुरा हो । कुनै कमरेडलाई व्यक्ति कारबाहीको कुरा गरेर समाधान हुँदैन । व्यक्तिको प्रश्नै होइन । विधि र प्रणाली मुख्य कुरा हो ।

माओवादीमा नेतृत्व हस्तान्तरण सम्भवै छैन ?

अध्यक्ष प्रचण्ड स्वस्थ हुँदै थिति बसाइहाल्नुपर्छ । सम्मानजनक ठाउँमा बसेर विधि बसालेर युवालाई नेतृत्व दिनुपर्छ । द्वन्द्ववादी भएर हेर्‍यो भने अन्तरविरोध समाधान हुन्छ । हामी सबै बिग्रिएको भन्ने होइन । सबै बिग्रिएको भए सबै खतम भइहाल्थ्यो । जनार्दन वा अरु व्यक्ति समस्या होइन । समस्या समाज, कार्यदिशा र कार्यक्रममा छ । अध्यक्षलाई धेरै गाली गर्नु पनि जायज होइन । धेरै प्रशंसा गर्नु पनि राम्रो होइन । आलोचनात्मक समर्थन गर्नुपर्छ ।

कान्तिपुर संवाददाता

Link copied successfully