आफ्नो पछिल्लो गीतको कलापक्ष कमजोर रहेको स्वीकार्दै प्रकाशले विश्रामपछि नयाँ भाका र कथासँग फर्कने योजना बनाएका छन् ।
What you should know
काठमाडौँ — गायक प्रकाश सपुतले नयाँ तीज गीत ‘नाइँ भनेसी नाइँ’ शुक्रबार युट्युबमार्फत सार्वजनिक गरे । यो गीत उनले चार वर्षअगाडि बनाएको ‘बदला बरी लै’को दोस्रो भाग हो ।
अरु बेलाझैं प्रकाशको यो गीत दर्शकहरूका निम्ति अपेक्षाकृत भएन । सधैं गीतका कथाहरूमा मुद्दा बोलिरहेका प्रकाशका पछिल्ला सिर्जना कलाका हिसाबले कमजोर त बन्दै गइरहेका होइनन् ? उनका शुभचिन्तकहरूको प्रश्न छ । अरु सिर्जनाका तुलनामा पछिल्लो गीत हेर्दा त्यस्तै भान पनि हुन्छ । ई–कान्तिपुरसँगको ‘गीत वार्ता’मा उनले यो कुरा स्वीकार गरेका छन् ।
प्रकाशले अब आफू केही समय विश्राम लिन चाहेको र यो समयमा गाउँ घुम्दै नयाँ भाका, शब्द र स्वाद लिएर फर्कने योजना बनाएको पनि बताए । ‘म व्यक्तिगत रुपमा केही समय केही नगरी बस्न चाहन्छु । गाउँ फेरि घुमेर नयाँ भाका ल्याउन चाहन्छु । सर्जकका हिसाबमा म नयाँ कथा खोज्न चाहन्छु,’ उनले कमजोरी स्वीकार्दै भनेका छन् । समर्पण श्रीले उनीसँग गरेको कुराकानीको सम्पादित अंश :
फिल्म ‘वसन्त’पछि तपाईंको यो गीती भिडियो ‘कमब्याक’ हो ?
कमब्याक होइन । फिल्ममा पनि मेरा गीत संगीत थिए । मैले गीत नै नगरेको भन्ने त होइन । मैले आफ्नो युट्युब च्यानलमा म्युजिक भिडियो मात्र नगरेको हुँ । फिल्ममा पनि ४/५ वटा गीत मेरो राखेको छु । २/३ वटा त रिलिज नै गरेँ । बरु सिनेमा र संगीतलाई सँगसँगै अगाडि बढाएको चाहिँ छु ।
‘बदला बरी लै २’को कुरा गरौँ । पहिलो भागमा पनि बदलाकै कथा थियो । त्यो धेरैले रुचाइदिएर हो कि कथा अझै बाँकी भनेर दोस्रो भाग बनाउन भयो ?
लोक संगीतमा काम गरिरहेका कलाकारहरूका लागि तीज गीत महत्वपूर्ण छ । तीज गीतको सन्दर्भमा अक्सर महिलाकै कथा भनिन्छ । आधुनिक समयमा हाम्रा आधुनिक व्यथा के हुन् त ?
पहिला पहिला माइतीघर पर भएकाले माइत जान नपाएका पीडा, सासू बुहारीका सम्बन्ध, श्रीमान्सँगका सम्बन्ध, पँधेरो टाढा भएका कुराहरू र महिलाले घर धानेर बस्नुपर्ने तर घरमा दु:ख भएका कुराहरू यी परिपाटीका गीतहरू सुन्दै आयौँ । अहिले पनि ती कुरा हुँदै नभएका होइनन् । केही परम्परागत समस्या छँदै छन् ।
अहिलेको आधुनिक समयमा आधुनिक हिंसा छन् । आजै पनि हामी बलात्कार र यौन हिंसाका घटना विभिन्न कार्यालयमा घटेको सुन्छौँ । त्यसकारण यो कथा भन्नुपर्छ लाग्यो । मैले चार वर्ष अगाडिको ‘बदला बरी लै’ जबर्जस्ती करणीपछि महिलाको आत्माले बदला लिएको कथा भनेँ । त्यसमा पुरुष मनोविज्ञानमाथि प्रहार छ ।
दोस्रो भागमा पनि यदि महिलाप्रति हेर्ने दृष्टिकोण गलत राख्छौं, महिलाप्रति यौन दुर्व्यवहारका अपराध गर्छौ भने तिमीले कठोर सजाय पाउँछौ भन्ने कुरा आस्था वा विश्वाससँग जोडेर भन्न खोजेँ ।
सामाजिक सञ्जालमा मैले तपाईंका गीतमाथिका टिप्पणी हेरेँ । ‘गलबन्दी’जस्तो अर्गानिक र मौलिक कथा खोजिरहेका शुभचिन्तकहरूको चिन्ता देखेँ । कतै तपाईंको सिर्जनामा दर्शकहरू निराश त बन्दै गइरहेका छैनन् ?
धेरै समयसम्म काम गरिरहेका सर्जकहरूको समस्या चाहिँ उनीहरूको काम एउटा समयपछि दर्शकहरूलाई उस्तै लाग्न थाल्छ । सर्जकहरूमा पनि केही दिऊँ भन्ने दबाब हुन्छ । मैले पहिलो भागमा जबर्जस्ती करुणीको कुरा उठाएको छु । त्यही कुरा उस्तै तरिकाबाट भन्न त मिलेन ।आधुनिक तरिकाले कसरी भन्ने भनेर सोचेको हुँ । सर्जकहरूको प्रयोग हुन्छ । कतिपय प्रयोग चित्त बुझ्छ । कतिपय बुझ्दैन । अब नयाँ तरिकाले पार्टी गरेर डिस्कोमा नाचेर तीज मनाउन थालिएको छ है भनेर यसपटक भन्न खोजेको हुँ ।
गाउँमा मादल बजाएर भन्दा सहर पसेको नवआधुनिक समाजले यस्तो तरिकाले सेलिब्रेट गर्छ भन्न खोजेको हुँ । ठ्याक्कै लोक गीत सुनिरहेका दर्शकहरूलाई, शुभेच्छुकलाई यसले ‘हिट’ नगरेको हो कि लाग्छ ।
यो गीतको भिडियोमा यौन हिंसाका कथा तपाईंले भन्नुभयो । तर रेखा थापाको पात्रको भूमिकालाई अतिरञ्जित गरिएको हो कि भन्ने भान भयो । हामीले ६०को दशकका नेपाली सिनेमामै हेरेर आइसकेका कुराहरूलाई अस्वभाविक र क्लिसे तरिकाले दोहोर्याए जस्तो लाग्दैन ?
यस्तो हुन्छ, हामी विभिन्न विम्बमा रहेर काम गर्छौँ । महिलामा दुर्गा अवतारको शक्ति छ भनेर विश्वास गर्छौँ । रेखा दिदीको पात्रलाई हामीले सुरुबाट नै त्यसरी स्थापित गरेका थियौँ । अर्को पात्र जो एकदमै लाचारी र कमजोर देखिन्छ ।पछाडिचाहिँ बाध्य भएर उसले एक्सन लिएको कुरा छ । सुरुबाटै रेखा दिदीको पात्रलाई देवीको रुपमा शक्तिशाली देखाए पनि अर्कोलाई कमजोर देखाए पनि अन्त्यमा हरेक महिलाभित्र त्यो किसिमको शक्ति छ है भन्ने खालको मनोविज्ञानबाट काम गरेको थिएँ । सबै कुरा कहिलेकाहीँ देखाउन र बुझाउन सकिँदैन रहेछ ।![Question to Prakash Saput – Are the audience getting disappointed in your songs? [Interview]](https://assets-cdn.kantipurdaily.com/uploads/source/news/kantipur/2025/entertainment/prakashsaputsinger01-30112024023337-1000x0-0382025065608-1000x0.jpg)
तपाईंले तीजको परिवर्तित स्वरुचाहिँ देखाउनुभयो । तर यौन दुर्व्यवहार र हिंसाका पनि परिवर्तित स्वरुप देखाउनेतिर किन ध्यान दिनुभएन ?
कहिलेकाहीँ घटना परिस्थितलाई विम्ब बनाए पनि त्यसले समग्रतामा काम गरोस् लाग्छ । फिक्सनलाई त जसरी पनि भन्न सकियो । गीतले जुन भिडियो उठाउन खोजेको छ त्यो विषयलाई सम्बोधन गरोस् भन्ने हो ।
पछिल्लो समय सामाजिक सञ्जालमा गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारी आफूमाथि भइरहेको असभ्य व्यवहारविरुद्ध सख्त प्रतिवादमा पनि उत्रिरहेका छन् । संयोगवश यो गीतमा एलिना र समीक्षाकै स्वर छ । महिला सशक्तीकरणको कथा तपाईंले गीतमार्फत भनिरहँदा उनीहरूले नै गीतलाई न्याय गर्न सक्छन् सोच्नुभयो ?
विषयका हिसाबले कहीँ न कहीँ यो पनि हो । आफ्नो व्यक्तिगत जीवनमा उहाँहरूले यो विषयमा लडिरहनुभएको छ । । मलाई चाहिँ दुई जनासँग काम गर्ने रहर पनि हो । अझ समीक्षासँग त काम गरिरहेको छु । यो सिर्जना र विषयलाई लिएर कहीँ न कहीँ उहाँहरूको प्रयासले पनि काम गरेको छ ।
‘वसन्त’पछि निर्माणको हिसाबमा नयाँ फिल्म पनि सोचिरहनुभएको छ ?
छैन । यो समयमा म अलिकति विश्राम लिन चाहन्छु । अघिल्लो वर्ष मैले व्यक्तिगत जीवमा धेरै कुरा भोगेँ । चलचित्र निर्माण, व्यक्तिगत उतारचढावसम्म । केही समय म कथाहरू खोज्न चाहन्छु । आफूलाई अझै निर्खान चाहज्छु । अध्ययन गर्न चाहन्छु । आफूलाई समय दिन चाहन्छु ।
अघिल्लो वर्ष नै सबै विस्तारै काम हुन्छन् होला सोचेको थिएँ । केही चलचित्र साइन गरिसकेका हुनाले प्रतिबद्धता दिएका काम गर्नुचाहिँ पर्यो । तर म व्यक्तिगत रुपमा केही समय केही नगरी बस्न चाहन्छु । गाउँहरू फेरि घुमेर नयाँ भाकाहरू ल्याउन चाहन्छु । सर्जकका हिसाबमा म नयाँ कथा खोज्न चाहन्छु ।
गीतमा तपाईंले मुद्दाहरू उठाउनुहुन्छ । तर कलापक्ष हराउँदै गएको हो कि भन्ने भान पनि पछिल्लो समय लागिरहेको छ । यो कुरा तपाईंले पनि अनुभूत गरिराख्नुभएको छ ?
खासमा दर्शक किन निराश हुँदै जाने रहेछन् भने विस्तारै सर्जकहरू अल्छी हुँदै जान्छन् । अहिलेको कथा सहरकै पृष्ठभूमिमा बुनेँ । यसैलाई अलिकति गाउँ लगेको भए मान्छेहरू कनेक्ट हुन्थे होला । किनकि त्यो मेरो जनरा हो ।
त्यसकारण म आफूभित्र नयाँ भाका, शब्द, कथा खोज्न चाहन्छु । के हुँदो रहेछ भने अघिल्लो वर्ष पनि तीज गीत आएन, यसपालि पनि आएन भनेचाहिँ तीजका कार्यक्रममा बाहिर जानुपर्ने त हुन्छ । एउटा सिर्जना चाहिन्छ भन्ने भयो ।
जब सिर्जना गर्न बस्छु कुनै न कुनै विषयले हिर्काउँछ । स्वभाविक सिर्जना गर्नै नसक्ने जस्तो भइसकेको छु । अबचाहिँ कथा जबर्जस्ती नहोस् । स्वत:स्फूर्त केही भाका कथा मभित्र आओस् । जसरी मभित्र पहिलाका सिर्जनाहरू आउँथे ।
प्रकाश सपुतबारे इकान्तिपुरले तयार पारेका अन्य सामग्री पढ्नुहोस् :
![Question to Prakash Saput – Are the audience getting disappointed in your songs? [Interview]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/prakashsaput-0382025062752-1000x0.jpg&w=1001&h=0)