‘पूर्णबहादुरको सारंगी’ को कमलेले बाँचेको समय, भोगेको विभेददेखि अभाव र गरिबी प्रकाशका हकमा पनि उस्तै थियो । उनका बुवाले पनि दुःख गरेर प्रकाशलाई पढाए । फिल्मका प्रमुख पात्र पूर्णबहादुर र आफ्ना बुवा ‘बलबहादुर’ को संघर्ष पनि उस्तै उस्तै मान्छन्, उनी ।
काठमाडौँ — गायक प्रकाश सपुत र विवाद पर्याय जस्तै लाग्छ । आखिर किन ? प्रकाशले जुन गीत बजारमा ल्याउँछन्, केही न केही विवादमा मुछिएकै हुन्छ । गीतमा देखाइएका चरित्र हुन् या उठाइएका मुद्दा, बहसको कठघराभन्दा बाहिर छैनन् । चाहे त्यो ‘पीर’ होस् या ‘सकम्बरी’ ।
‘गलबन्दी’ हुँदै ‘कुरा बुझ्नुपर्छ’ देखि ‘दमाई महाराजा’ सम्म आइपुग्दा उनका हरेक गीत खरो आलोचनामा परेका छन् । त्यसो त ‘बोलमाया’, ‘बद्ला बरिलै’ का सकारात्मक प्रतिक्रियाले उनी चर्चाको शिखरमा पनि पुगे ।
उनका गीतले बहस, विमर्श सिर्जना गरिरहन्छ । सायद, गीतकै कारण चर्चामा आइरहनु प्रकाशको नियति नै बनेको छ । हरेक सिर्जना विवादमा तानिँदा प्रकाशलाई भने आफ्नो ‘ग्रह’ नै बिग्रिएको हो कि भन्ने लाग्दो रहेछ । ‘हरेक सिर्जनाहरू सफल छन् । तर मैले अहिलेसम्म कहिल्यै कुनै सफलताको खुसियाली मनाउन पाएको छैन,’ मुख अमिलो बनाउँदै उनले भने ।
गीत मात्रै होइन पछिल्लो समय उनी अभिनीत फिल्म ‘पूर्णबहादुरको सारंगी’ ले समेत प्रकाशलाई विवादमा तान्यो । यो फिल्मले देशदेखि विदेशी बक्स अफिसमा आक्रामक व्यापार गर्दै सर्वाधिक कमाइको नयाँ कीर्तिमान बनाइरहेको छ । हलमा यस फिल्मको दर्शक चाप अझै उस्तै छ भने, फिल्म हेरेर रुनेको पनि कमी छैन । तर, यस्तोमा पनि फिल्मका महत्त्वपूर्ण कलाकार बनेका प्रकाशलाई दर्शकले भने गाली गर्न छाडेका छैनन् ।
‘फिल्मले करोड करोडको व्यापार गरिरहँदा मलाई भने केही व्यक्तिहरूले गरेको आलोचनाले दुःखी बनाएको थियो । मेरो हरेक सिर्जना सफल छन्, हरेकको व्यावसायिक सफलता राम्रो छ । अधिकांश दर्शकको उत्तिकै माया पनि पाएको छु । तर मनबाट यी सिर्जनाहरूको सफलतामा खुसियाली मनाउन पाएको छैन,’ प्रकाशले भने, ‘अहिलेसम्म नियत खराब बनाइनँ, त्यसैले चलिरहेको छु ।’
‘पूर्णबहादुरको सारंगी’ कै विवाद हेरौं । यो फिल्मको प्रचारप्रसारका लागि प्रकाशले समय नदिएको भन्ने चर्चा, फिल्म चलिरहँदाका सुरुवाती दिनमा निकै चल्यो । प्रकाशले त्यही निहुँमा गाली सुनिरहे, कमेन्टमा गालीको बाढी आयो । तर, उक्त विवादलाई उनी निर्माताहरूको गल्तीका रूपमा प्रस्ट्याउँछन् । खासमा यो फिल्ममा आबद्ध हुनुअघि प्रकाश र निर्माण टिमबीच वैशाखपछि मात्र ‘पूर्णबहादुरको सारंगी’ प्रदर्शन गर्ने तय भएको थियो ।
त्यही समयमा प्रदर्शन गरिएको भए प्रकाशले मनग्गे समय फिल्मको प्रचारमा दिन सक्ने थिए । तर, निर्माण टिमले उत्पादन तयार भइसकेको हुँदा त्यसलाई सम्झौताभन्दा अगाडि नै प्रदर्शन गर्ने निर्णय सुनाए । आफूले समय दिन नसक्ने सुनाउँदै प्रकाशले ‘पूर्णबहादुरको सारंगी’ टिमको प्रदर्शन निर्णयमा सहमति जनाइदिए ।
फिल्म प्रदर्शनमा आयो, फिल्म चलिरहँदा निर्माताले प्रकाशले नै फोन नउठाएको भन्दै गुनासो पोखिदिए । ‘खासमा यो विवादभन्दा पनि गुनासो हो । यसमा निर्देशक, कलाकार अरू कसैको गुनासो छैन । निर्माताहरूले मात्रै गुनासो पोख्नुभएको छ । हो, फिल्म निर्माताको उत्पादन हो । यो उत्पादनलाई बजारसम्म पुर्याउनुपर्छ । त्यसका लागि कलाकार पनि प्रमोसनमा हिँडिदिनुपर्यो,’ प्रकाश सुनाउँछन्, ‘सायद मैले प्रमोसनमा त्यो भूमिका निभाउन पाइनँ । म आफ्नै फिल्मतिर व्यस्त भएकाले चाहेर पनि यो फिल्मका लागि समय छुट्याउन सकिनँ, यसमा निर्माताहरूको गल्ती हो, यसमा मेरो कुनै दोष छैन ।’
यो फिल्मबाट प्रकाशले गाली मात्रै सुनेनन्, प्रशंसाहरू पनि बटुले । बाबा पूर्णबहादुरको सपना बाँचेको चरित्र (कमले) कै कारण थुप्रै दर्शकले उनलाई सकारात्मक प्रतिक्रिया दिए । कतिले प्रकाशलाई अँगालो हाल्दै आँसु खसाले । प्रकाश कमलेको चरित्रसँग आफूलाई निकै निकट मान्छन् । उक्त पात्रले बाँचेको समय, भोगेको विभेददेखि अनुभव गरेको अभाव र गरिबी प्रकाशका लागि पनि उस्तै थियो ।
कथा र पृष्ठभूमि पनि उनीसँग नै मिल्दोजुल्दो छ । उनका बुवाले पनि दुःख गरेर प्रकाशलाई पढाए । बुवाआमाले नै आफूलाई सक्षम बनाइदिएको प्रकाश सुनाउँछन् । फिल्मको प्रमुख पात्र पूर्णबहादुर र आफ्ना बुवा ‘बलबहादुर’ को संघर्ष पनि उस्तै रहेको उनी सुनाउँछन् ।
यो फिल्म किन अत्यधिक चल्यो ? प्रकाशलाई लाग्छ, फिल्मले बुवाको साझा भावना बोकेको हुँदा नै दर्शकबाट धेरै प्रेम पाएको हो । आफ्नो सन्तानका लागि अभिभावकले गरेको संघर्षसँग दर्शकले आफूलाई अन्तरसम्बन्धित गरे । ‘यो फिल्मले दर्शकलाई बाँधेर राख्छ । यसमा द्वन्द्व छ, प्रेम छ । मित्रता छ, दुःख छ, आँसु छ,’ प्रकाशले जवाफमा भने, ‘सन्तान हुनेहरूले पूर्णबहादुरमा आफूलाई देखे, सन्तानहरूले सायद त्यसमा आफ्नो अभिभावकको दुःख देखे ।’
यो फिल्मप्रति थुप्रै दलित लेखक/अभियन्ताले जातीय मुद्दालाई सतही रूपमा उठाएको भन्दै आलोचना गरे । जातीय भेदभाव देखाए पनि, विभेदको विद्रोह गर्न नसकिएको भन्ने टिप्पणीहरू आए । तर, प्रकाश यी कुरामा सहमत देखिँदैनन् ।
फिल्मले दलितको भोगाइलाई दुरुस्तै देखाएको उनी तर्क गर्छन् । ‘जसरी हामीले आफूले पिँढीमा बसेर खाएको भाडा बाहिर माझेर हिँड्यौं, समाजले हामीलाई जुन तहमा राख्यो त्यसरी नै देखाइएको छ,’ प्रकाश थप्छन्, ‘फिल्मले जातीय हिसाबले परिवर्तन देखाउन सकेन होला । तर, यसको मुद्दा त अभिभावककले आफ्ना छोराछोरीका लागि गरेको विषय हो । मलाई लाग्दैन, यो फिल्मले दलित समुदायलाई गलत तरिकाले देखायो ।’
नेपाली फिल्महरूमा दलित पात्रलाई बिचरा, मजाकको पात्रका रूपमा देखाइए पनि टेलिशृंखला ‘दलन’ भने यसमा बलियो सावित भएको प्रकाशको बुझाइ छ । उनी दलितको कथा भन्नलाई दलित नै हुनुपर्ने पक्षको विपरीत छन् । उनलाई लाग्छ, सर्जकसँग जुनसुकै समुदायको कथा भन्ने अधिकार हुन्छ । उनको तर्क छ– महिलाको कथा भन्न महिला नै हुनु पर्दैन, नियत सफा हुनुपर्यो ।
प्रकाश गीतहरूमार्फत कथा भन्न रुचाउँछन्, मुद्दा उठाउन मन पराउँछन् । तर, यी कथा/मुद्दा उठाइरहँदा उनी विषयवस्तुलाई यथार्थ शैलीमा पस्कन्छन् । उनी समाजमा भएको विषयलाई दुरुस्तै टिप्न खोज्छन् । तर, आफ्ना सिर्जनामाथि संवेदनशील नबन्दा चिप्लन्छन् ।
‘सकम्बरी’, ‘पीर’, ‘कुरा बुझ्नुपर्छ’ मा महिला चरित्रलाई स्त्रीद्वेषी दृष्टिकोणबाट देखाए । त्यसैले पनि विवादले उनलाई पछ्याउन छाडेन । ‘कहिलेकाहीं सर्जकले आफ्नो दृष्टिकोणले मात्रै कुनै विषयलाई हेर्दा त्यसलाई फरक नजरले हेर्न सकेका हुँदैन रहेछौं । मेरा हरेक सिर्जनामा प्रतिप्रश्न गरिन्छ । चर्चाकै लागि विवादमा आउँछन् भन्छन्, त्यसमा मेरो फरक धारणा छ,’ प्रकाश तर्क गर्छन्, ‘जस्तो मैले देखें, त्यस्तै चरित्रहरू देखाएँ । म खतरा विद्रोही होइन, तर मैले आफ्ना सिर्जनाहरूमार्फत यस्तो भइरहेको छ, त्यस्तो हुनु हुँदैन भनेर प्रश्न गरेको छु ।’
उनी आफूले स्त्रीलाई नै दोषी, कमजोर देखाउन नखोजेको दाबी गर्दै आफ्नो कथा भन्ने शैलीहरू परिवर्तन गर्दै लैजाने बताउँछन् ।
बोक्सीको घरसम्म आइपुग्दा ‘बुझिन मैले’ मा उनी सुधारिएको देखिन्छ । कथा भन्न रुचाउने प्रकाश विषयवस्तुको गहिराइमा डुबेर कथा भनौं भन्ने सोचले ‘वसन्त’ को निर्माण गर्दै छन् । सँगसँगै फिल्महरूको ‘हिरो’ बन्न पनि समय मिलाइरहेकै छन् । जबदेखि गाउँमा टेलिभिजनसँगै राजेश हमाल, निखिल उप्रेती देखिन थाले, तबदेखि नै प्रकाशलाई हिरो बन्ने भूत चढेको हो ।
