‘संवैधानिक मुद्दामा ढिलाइ हुँदा आशंका बढ्नु स्वाभाविक हो’

आजको दिनमा अदालतमा राजनीतिक प्रभाव छैन भन्यो भने कसैले विश्वास गर्दैन, राजनीतिक मुद्दामा मिसिलभन्दा बाहिरको वातावरण हेरेर गर्ने फैसलाले अदालतप्रतिको जनआस्था कमजोर बनाउँछ

असार १, २०८२

कुलचन्द्र न्यौपाने, घनश्याम खड्का, दुर्गा खनाल

न्यायालय, आमनागरिकको न्याय प्राप्तिको पवित्र र अन्तिम आश्रयस्थल हो, यो सधैं स्वतन्त्र र निष्पक्ष रहनुपर्छ । तर, पछिल्लो पटक राजनीतिको सर्वत्र प्रभावले यसप्रति नागरिकको आस्था धर्मराएको आभास हुन थालेको छ । बिचौलियाको प्रवेश, राजनीतिक हस्तक्षेप र सेटिङमा आधारित फैसलाका प्रसंगहरूले न्यायालयको गरिमा र भूमिकामाथि समय–समयमा नागरिक तहबाट प्रश्न उठ्न थालेका छन् ।

जब सेटिङ र प्रभावमा आधारित फैसलाका चर्चा चल्छन्, न्यायालयको गरिमा, विश्वसनीयता र निष्पक्षतामाथि नागरिक तहबाटै गम्भीर प्रश्न गरिन्छन् । यही सन्दर्भमा लामो समय वकालतको अनुभव सागालेर सर्वोच्च अदालतको न्यायाधीशको जिम्मेवारी निर्वाह गरी निवृत्त भएका र हाल हवाई उड्डयन सुधारसम्बन्धी उच्चस्तरीय समितिको नेतृत्व गरिरहेका पूर्वन्यायाधीश अनिलकुमार सिन्हासँग कान्तिपुरका दुर्गा खनाल, घनश्याम खड्का र कुलचन्द्र न्यौपानेले गरेको कुराकानी :

नेपालको न्यायपालिकालाई विगतदेखि अहिलेसम्म हेर्दा कस्तो पाउनुभएको छ ? 

नेपालको न्यायपालिकासँग म करिब २०३३ सालदेखि कुनै न कुनै रूपमा सम्बन्धित रहँदै आएको छु । मेरो बुवा र हजुरबुवा कानुन क्षेत्रमै हुनुहुन्थ्यो । मेरो हजुरबुवा देवनाथप्रसाद बर्मालाई त एकै पटक वरिष्ठ अधिवक्ताको उपाधि दिइएको थियो । त्यसले गर्दा बच्चादेखि नै हाम्रो घरमा ‘क्लाइन्ट’ हरू आउने–जाने गर्थे । हामी त ‘क्लाइन्ट’ कै काखमा पनि खेल्थ्यौं । मेरो बुवाले २०२६ सालमा सरकारी जागिर छोड्नुभयो र २०२७ वैशाखबाट कानुन व्यवसाय सुरु गर्नुभयो ।

मैले घरमा कानुनी कामको सुरुवात भएको देखेको थिएँ । त्यतिबेला फोटोकपी मेसिन थिएन । हामी हातले लेखेर कपी उतार्थ्यौं । फोटोकपी नभएपछि प्रमाणित प्रतिलिपिको एक पेजको करिब पाँच पैसा पाइन्थ्यो । त्यो पैसाले महिनाभरि हाम्रो स्कुलको खर्च धान्थ्यो । पछि म ल क्याम्पसमा पढ्न थालेपछि बुवासँगै अदालत जान्थें । त्यतिबेला न्यायाधीशहरू पैदल हिँडेर अदालत आउँथे । कुनै सुख–सुविधा थिएन । सरकारका तीन अंग- व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामध्ये न्यायपालिकालाई कुनै सुविधा दिइएको देखिँदैनथ्यो । बस्ने–खाने सुविधा कम थियो । तर अहिले त हरेक हिसाबले न्यायालय धेरैमाथि आएको छ । 

न्यायाधीशको सुविधा पहिलेभन्दा धेरै बढ्यो, गुणस्तर र जीवनशैली पनि सुध्रियो । तर न्याय निरूपणचाहिँ पहिले र अहिले कस्तो पाउनुहुन्छ ? 

त्यतिबेला न्यायाधीशमा अलिकति ‘गड फेयरिङ’ (ईश्वरको डर) देखिन्थ्यो । प्राकृतिक रूपमा पनि डराउँथे । दरबारको प्रभाव यदाकदा पर्थ्यो । दरबारसँग सम्बन्धित व्यक्तिहरूको मुद्दामा न्यायाधीशहरूको रवैया कतैकतै फरक हुन्थ्यो । तथापि इन्डियन एयरलाइन्सको मुद्दा हेर्नुहुन्छ भने दरबारको जतिसुकै दबाब भए पनि, पटक–पटक रिभ्यु गर्न पठाउँदा पनि न्यायाधीशहरूले आफ्नो धारणा परिवर्तन नगरेको इतिहास पनि छ । इन्डियन एयरलाइन्सको केस २०१३/०१४ सालतिरको हो । त्यतिबेला नेपाल एयरलाइन्स खुलेको थिएन ।

सिमराबाट काठमाडौंको उडानमा तुंगशमशेरको परिवारका धेरै सदस्य परे । विमान दुर्घटनामा क्षतिग्रस्त भयो । परिवारले क्षतिपूर्तिको मुद्दा दायर गरे । कानुनको अभावमा इन्डियन एयरलाइन्सले मुद्दा जित्यो । दरबारले न्यायिक समितिमार्फत दुई पटक पुनरावलोकन गर्न पठायो, तर न्यायाधीशहरूले आफ्नो अडान छोडेनन् । न्यायाधीश रत्नबहादुर विष्ट कहिल्यै आफ्नो अडानबाट डगमगाउनु भएन । प्रकाशबहादुर सिंह, भगवतीप्रसाद सिंहजस्ता न्यायाधीशहरूले पनि सम्झौता गरेको सुनिएको थिएन । चाहे सर्वोच्च अदालत होस् वा अन्य अदालत, साना–साना कुरामा पनि गहन छलफल हुन्थ्यो । अदालतलाई विवादमा ल्याउनु हुँदैन भन्ने मान्यता जताततै देखिन्थ्यो । तर ०४६ सालपछि केही दृश्य बदलियो । 

०४६ सालपछि के परिवर्तन भयो ? राजनीति र न्यायालय कसरी जोडियो ?

०४६ सालपछि कानुन परिवर्तन भए । पहिलो नियुक्तिमै राजनीतिक प्रभाव देखिन थाल्यो । ०३९ सालअघिको नियुक्ति प्रक्रियामा दरबारले सोझै ‘चुज एन्ड पिक’ गर्थ्यो । कतिपयलाई बाहिरबाट बोलाएर ल्याइन्थ्यो । तर, उहाँहरूको उत्तरदायित्व श्री ५ प्रति हुने भएकाले दरबारी मुद्दामा मात्र प्रभाव पर्थ्यो । बाहिरदेखि असर परेको कुरा हामी सुन्दैनथ्यौं । ०४६ सालपछि राजनीतिक नियुक्तिहरूको सुरुवात भयो । अहिले त्यसको चर्को रूप देखिन्छ ।  

सर्वोच्च अदालतमा अहिले पनि चार जना न्यायाधीशको दरबन्दी रिक्त छ, तर भागबन्डामा सहमति नहुँदा सबैको नियुक्ति हुन सकेको छैन । कुन पार्टीलाई कति दिने र कसलाई दिने भन्ने सिफारिस खुलमखुला चल्छ । यसले न्यायालयमा कस्तो प्रभाव पारेको छ ? 

जब राजनीति अदालतमा प्रवेश गर्छ, पक्कै पनि न्याय सम्पादनमा केही न केही प्रभाव पर्छ । कति प्रभाव पर्छ, त्यो प्रत्येक न्यायाधीशको व्यक्तिगत आचरण, विश्वास र अडानमा भर पर्छ । उहाँहरू कति दह्रो रूपमा प्रस्तुत हुन सक्नुहुन्छ ? कुनै राजनीतिक प्रभावलाई म मान्दिनँ भन्न सक्ने हैसियतमा धेरै न्यायाधीश हुनुहुन्छ । तर आजको दिनमा अदालतमा राजनीतिक प्रभाव छैन भन्यो भने कसैले विश्वास गर्दैन ।

किनभने नियुक्ति प्रक्रियामै राजनीति घुसेको छ । अन्तरिम संविधानले न्याय परिषद्मा दुई जना न्याय क्षेत्रबाट र तीन जना राजनीतिक क्षेत्रबाट राख्ने व्यवस्था गर्‍यो । संरचनै यस्तो बन्यो कि राजनीतिक प्रभाव नपर्ने अवस्थै रहेन । पहिले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र दुई वरिष्ठ न्यायाधीशको बहुमत हुन्थ्यो । त्यसले केही हदसम्म स्वतन्त्रता थियो । अहिले त्यो अवस्था छैन । खल्ती–खल्तीबाट चिटमा नाम लेखेर नियुक्ति गर्ने प्रचलन आएको सुनिन्छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले विभिन्न अन्तर्वार्तामा नियुक्तिमा कसले कस्तो दबाब दियो भन्ने कुरा छरपस्टै भन्नुभएको छ । अहिले कोही प्रस्ट बोल्नुहुन्छ कि हुँदैन, थाहा छैन । राजनीतिक आस्था सबैको हुन्छ, तर त्यसले न्याय सम्पादनलाई प्रभावित गर्नु हुँदैन । 

विगतमा रञ्जन कोइरालाको मुद्दामा सजाय घटाएर कैफियतपूर्ण फैसला भएको थियो । अहिले मोहम्मद आफताब आलमको मुद्दामा उच्च अदालतबाट राजनीतिक प्रभावका आधारमा फैसला भयो कि भन्ने आशंका छ । यस्ता आदेश, फैसलाले न्यायपालिकाको विश्वसनीयतामाथि कस्तो प्रभाव पार्छ ?

रञ्जन कोइरालाको मुद्दाले अन्तिम रूप पाइसकेको थियो । तर त्यो फैसलाका कारण अदालतभित्रै हलचल आएको थियो । म न्यायाधीशले हडताल गर्नु हुँदैन भन्ने मान्यता राख्छु । म अहिले पनि भन्छु, हडताल कुनै उद्देश्य वा व्यक्तिलक्षित होला, तर त्यसले सेवाग्राहीको विश्वास घटाउँछ । त्यो बेलाचाहिँ म पनि हडतालको पक्षमा थिएँ । अहिले आलमको मुद्दामा एक तह बाँकी छ । यो मुद्दामा सरकारले पुनरावेदन नगरे ठूलो प्रश्न 

उठ्छ । प्रमाणको मूल्यांकन नहुनु, अनुसन्धानमा कमजोरी र कागजमा ‘ग्याप’ ले अदालतलाई फैसलामा समस्या पार्छ । अदालतले प्रमाणको ‘ग्याप’ आफैं भर्न सक्दैन । यदि अनुसन्धानमा त्रुटि छ भने, पुनः अनुसन्धानको आदेश दिने व्यवस्था हाम्रो कानुनमा छैन ।

यो घटनाबारे मानवअधिकार संस्थाहरूको प्रतिवेदन नै छ । मृतकको परिवार लडाइँ लडिरहेका छन् । मृतकका आमालाई मारिएको भनिएको छ । यसमा अनुसन्धानकर्ता र महान्यायाधिवक्ता कार्यालयको कमजोरी देखिन्छ । प्रमाण कमजोर बनाइएको हुन सक्छ । कतिपय मुद्दामा जानीजानी प्रक्रियामा छुटाइएको पनि पाइन्छ । त्यसैले प्रमाण नै कमजोर भएपछि कहिलेकाहीँ फैसला नै फरक आउन सक्ने अवस्था हुन्छ । अदालत र न्यायाधीशले पेस भएको प्रमाणबाट फैसला गर्ने हो । 

संवैधानिक निकायका ५२ जना पदाधिकारीको नियुक्तिबारेको विवाद साढे ४ वर्षदेखि अड्किएको छ । बल्लबल्ल फैसला हुने मिति तय भयो तर अहिले त्यो मिति पनि २० दिनपछिलाई सारियो । यस्तो किन हुन्छ ? यस्तो शैलीले न्यायालयको साख कहाँ पुग्छ ?

संवैधानिक मुद्दा चाँडै किनारा लगाउनुपर्छ, नत्र संविधानको अवमूल्यन हुन्छ । ढिलाइले चलखेल बढेको आशंका बढाउनु स्वाभाविक हो । यति ठूलो विषयमा अध्ययनका लागि समय चाहिएको पनि हुन सक्छ । न्यायाधीशको पूर्वनिर्धारित कार्यक्रम वा थप अध्ययनको आवश्यकता परेरै भएको हुन सक्छ । तर यदि इजलासमा बस्ने न्यायाधीशहरू राजनीतिक दबाबमा परे भने अदालतको दुर्भाग्य हुन्छ । हाम्रो समाजमा आवश्यकभन्दा बढी शंका हुन्छ ।

एक किसिमले भन्ने हो भने नेपाल शंकैशंकाको देश पनि हो । हरेक कुरामा शंका हुन्छ । नकारात्मक कुरा धेरै देखिइसकेकाले यो स्वाभाविक हो । समाज एकै पटक सकारात्मक बन्दैन । बिस्तारै परिवर्तन हुन्छ । मलाई संसद् विघटनको पहिलो मुद्दाको भोलिपल्टको घटना याद छ । त्यसबेला मिडियाले विभिन्न अड्कलबाजी गरेका थिए । तर, फैसला भएपछि सर्वोच्च अदालतको बोर्डमुनि रातभरमा सयौं फूलका गुच्छा चढाइएको थियो । स्वस्फूर्त रूपमा जनताले श्रद्धा र विश्वास देखाए । त्यो देख्दा आँखाबाट आँसु आयो । म धेरै भावुक भएँ । त्यो दिन जनताले राम्रो कामको इज्जत गर्छन् भन्ने देखियो । तर, आजको दिनमा सामान्य मान्छेको आस्था न्यायालयप्रति त्यति स्पष्ट छैन ।

देशको अवस्था खस्किएको छ । युवाहरू विदेश गइरहेका छन् । विमानस्थलमा लाजमर्दो अवस्था देखिन्छ । भिजिट भिसाका प्रकरणहरू छन् । जनशक्ति घट्दा सकारात्मक पहल गर्ने व्यक्ति कम भए । ‘गाइडेड’ व्यक्तिहरू बढे । अब त फूल चढाउन पनि किनेर पठाएका मान्छे हुन् कि भन्ने आशंका गर्नुपर्ने अवस्था छ । सकारात्मकता नै पनि अहिले त सन्देहमा पर्ने अवस्था छ । त्यसैले अदालतले जनताको विश्वास जित्न अहिले हिजोजस्तो सहज छैन । एउटा कुराचाहिँ के हो भने, संविधान बनाउँदा न्यायपालिकाको संरचना र जनशक्तिको आवश्यकता हेरिएन । कति मुद्दा छन्, कति समय लाग्छ, कति जनशक्ति चाहिन्छ भन्ने अध्ययन भएन । बजेट पनि कम छ । कार्यपालिकाले अदालतलाई प्रभावमा राख्न खोज्छ, तर पूर्वाधार, तालिम र प्रविधिमा लगानी गर्दैन । पुरानै ढर्रामा काम भइरहेको छ ।  

तपाईंले न्याय परिषद्को संरचना त ठिक भएन भन्नुभयो, संवैधानिक परिषद्मा प्रधानन्यायाधीश बस्ने र त्यहाँ आफ्नो भाग खोजेर नियुक्ति गर्ने गरेको कुरा पनि आउँछ । संवैधानिक परिषद्मा प्रधानन्यायाधीशको उपस्थितिलाई चाहिँ कसरी हेर्नुहुन्छ ?

संवैधानिक परिषद्मा प्रधानन्यायाधीशको उपस्थितिलाई नकारात्मक रूपमा मैले हेरेको छैन । तर, यदि नियुक्तिमा भागबन्डा खोजियो भने त्यो चाहिँ गलत हुन्छ । संवैधानिक परिषद् तीनवटै अंगको प्रतिनिधित्व हुने ठाउँ हो । प्रधानन्यायाधीशको जिम्मेवारी र उत्तरदायित्व बढी हुन्छ । तर, उहाँले आफूलाई सही स्थानमा राख्न सक्नुपर्छ । 

संवैधानिक निकायका ५२ जनाको नियुक्तिमा तत्कालीन प्रधानन्यायाधीशको पनि भागबन्डा भएको देखिन्छ । त्यो विरासतका कारण अहिलेको मुद्दामा पनि प्रभाव परेको हो कि ?

संविधानले संवैधानिक परिषद्मा प्रधानन्यायाधीश हुनैपर्छ भन्छ । यदि स्वार्थको द्वन्द्व हुन्छ भन्ने लागेमा उहाँले ‘रिफ्युज’ गरेर वरिष्ठ पाँच जना न्यायाधीशले हेर्ने व्यवस्था गर्न सकिन्छ । यो छलफलको विषय हो । स्वार्थ बाझिएको भए निकास खोज्नुपर्छ । 

तपाईं २०७३ देखि ०८० सालसम्म ७ वर्ष ३ महिना न्यायाधीश हुनुभयो । त्यो समय न्यायालय स्वाभाविक अवस्थामा थिएन । अस्वाभाविक गतिविधि कसरी हुन्थे र त्यसलाई कसरी व्यवस्थापन गर्नुहुन्थ्यो ? 

पहिलो कुरा, अदालतमा भएका हडतालले मलाई सधैं चिमोट्छ । दोस्रो, नियुक्ति प्रक्रियामा देखिएको राजनीतिक दबाब र प्रभावले झकझक्याउँछ । तेस्रो, राजनीतिक पृष्ठभूमिका व्यक्तिहरूले पनि इमानदारी राखेर निस्किएको देखियो । अदालतमा इमानदारी चाहिन्छ । तर, राजनीतिक क्षेत्रमा जस्तो उतारचढाव पनि अदालतमा देखियो । राजनीतिक अस्थिरता जतिसुकै भए पनि अदालत अछुतो रहनुपर्छ । देश बचाउने र बनाउने भावनाले काम गर्नुपर्छ । राजनीतिको प्रवेश कर्मचारीदेखि माथिसम्मै छ ।

कहिलेकाहीँ कसैले मुद्दा नहेर्ने भनेर पन्छिएको पनि देखिन्छ । कारण नखुलाई पन्छिने प्रवृत्ति पनि आएको छ । हाम्रा अदालतहरूको धेरै महत्त्वपूर्ण समय राजनीतिक विवादका मुद्दामा खेर गएको छ । यदि राजनीति गर्नेहरूले परिपक्वता देखाएर सुशासनमा काम गरेको भए अदालतमा विवाद कम हुन्थ्यो । जनताका खास मुद्दा हेर्ने समय हुन्थ्यो । अहिले जनताको काम रोकिएको छ । संवैधानिक इजलास बन्दा पाँच जनाको काम ठप्प हुन्छ । अर्को कुरा वरिष्ठ अधिवक्ताको लाइसेन्सका लागि ५० मुद्दाको मापदण्ड राखियो । एकै मुद्दामा ५० जनाको वकालत देखिन थाल्यो । वकिलहरूको प्रवृत्ति पनि बिग्रियो । यस्तो प्रवृत्तिले सामान्य मान्छेको पालो वर्षौंसम्म आउँदैन । ‘लिटिगेसन’ का कुराले दिक्क लाग्छ । 

राजनीतिक विवादहरू अहिले अदालतमा केन्द्रित छन् । नियुक्ति, सरकार गठन–विघटन र कसलाई कहाँ नियुक्ति दिलाउने र कसलाई रोक्ने भन्ने विषयमा अदालतमा निवेदन पर्छ । यस्ता केसमा न्यायाधीशले बाहिरको वातावरण हेरेर फैसला गर्छन् भन्ने सुनिन्छ । यस्ता प्रवृत्तिलाई कसरी हेर्नुभएको छ ? 

रिटको क्षेत्रका आफ्नै विशेषता हुन्छन् । ‘पब्लिक इन्टरेस्ट लिटिगेसन’ मा एकाएक प्रतिषेधात्मक आदेशमा जानु ‘रेस्ट अफ द रेयर केस’ हो । हामीकहाँ यो सामान्य भयो । उदाहरणका लागि, कसैले केही गर्न लागेको छ भने बदर गर्नुपर्छ भन्ने माग आउँछ । वा, भोलि निर्णय भयो भने सुनुवाइ बदर गर्नुपर्छ भन्ने पनि आउँछ । यस्ता मुद्दा तथ्य बनेपछि मात्र आउनुपर्छ ।

यस्ता कुरालाई निरुत्साहित गर्न जरुरी छ । तर, जायज केसलाई पूर्ण रूपमा बन्द गर्नुपर्छ भन्ने होइन । जायज केस हो कि होइन भन्ने छुट्याउनुपर्छ । श्रीमान् विश्वनाथ उपाध्यायले भनेजस्तै सार्थक सम्बन्ध र सरोकार हुनुपर्छ । वातावरणको केसमा सबैको सरोकार हुन्छ, तर महाकालीको सानो कुरालाई मेचीको व्यक्तिले उठाउँदा पूर्ण अध्ययन गरेर मात्र माग गर्नुपर्छ । अध्ययन नगरी ‘यस्तो आयो, बन्द गर’ भन्ने मुद्दाले अदालतको समय खेर जान्छ । 

राजनीतिक विवादका मुद्दामा न्यायाधीशले मिसिलभन्दा झ्यालबाट बाहिरको वातावरण हेरेर फैसला गर्छन् भन्ने अवस्थाले अदालतको जनआस्था कमजोर बनाउँछ । सर्वोच्च अदालतमा यो अवस्था छ जस्तो मलाई लाग्दैन । तल्ला अदालतमा कहिलेकाहीँ यस्तो हुन सक्छ । तलका अदालतमा एक जना न्यायाधीश एउटा कोठामा बसेर काम गर्छन् । न सुरक्षा हुन्छ, न सुविधा । दिनभर अदालतमा बस्छन् । राति घर फर्किन्छन् । आफ्नो ज्यानको माया त सबैलाई लाग्छ । न्यायाधीशलाई तलब–भत्ता मात्र होइन, सुरक्षाको अनुभूति र तालिम चाहिएको छ ।

जस्तै, विमानस्थलको सुरक्षामा विशेष तालिम चाहिएजस्तै न्यायाधीशलाई पनि विशेष तालिम चाहिएको छ । सुरक्षाको अनुभूति भनेको प्रहरी उभ्याउनु मात्र होइन । न्यायाधीश र कर्मचारीले तत्काल प्रतिक्रिया पाउनुपर्छ । बाहिरको भीड स्वस्फूर्तभन्दा राजनीतिक आवरणमा हुन्छ । जनप्रतिनिधिले भीड ल्याएर दबाब दिन्छन् । इजलासमा बसेको न्यायाधीशले भोलि समाजमा बाँच्नुपर्छ भन्ने डरले फैसला तलमाथि हुन सक्छ । तर, सामान्यतः डराउने व्यक्ति न्यायाधीश बन्दैन ।

न्यायाधीशमा हिम्मत चाहिन्छ । अनि न्यायालयको नेतृत्वले पनि कर्मचारी र न्यायाधीशलाई गल्ती नदेखिएसम्म बचाउनुपर्छ । यहाँ भीडको कारणले न्यायाधीशको सरुवा र कारबाही पनि हुन्छ । न्याय परिषद्मा उजुरी झुन्ड्याइन्छ । त्यसले कतिपय न्यायाधीशको ऊर्जा पनि खत्तम भएको छ । यस्तो अवस्थामा अदालतको नेतृत्वले ‘म तिम्रो पछाडि छु’ भनेर अभिभावकत्व दिनुपर्छ । न्यायाधीशमाथि अपचलनको प्रश्न आएमा प्रमाणका आधारमा कारबाही गर्नुपर्छ, उजुरीको भरमा होइन । अहिले सामाजिक सञ्जालमा मानहानि पनि बढेको छ । भीडले मन नपराएको फैसला आएमा ‘ट्रोलिङ’ हुन्छ । 

कुन मुद्दा कुन न्यायाधीशको इजलासमा पर्छ, त्यसैका आधारमा आममान्छेले फैसला नै अनुमान गर्नर्सेम्मको अवस्था छ नि ? 

यो राम्रो अवस्था होइन । मुद्दामा एकले जित्छ र अर्को हार्छ । दुवैले फाइदा लिने कुरा पनि सुनिन्छन् । तर न्यायालयमा मुद्दा दर्ता गर्दा लाग्ने सामान्य दस्तुरलाई पनि कतिपयले न्यायालयले पैसा लिएको रूपमा बुझ्छन् । तारिख लिँदा पनि पैसा दिनुपर्छ भनिन्छ । अनलाइन तारिख प्रणाली छ, तर पनि पैसा लिन्छन् भन्ने आरोप छ । म न्यायालयमा भएका बेलामा चिया समयतिर ‘फलाना न्यायाधीशकहाँ मुद्दा परेको छ, निवेदन हालेर हटाउने कि’ भन्ने खालका संवाद गरेको सुनिन्थ्यो । न्यायालय परिसरमा यस्ता बिचौलियाको संख्या अहिले झन् बढेको छ । 

बिचौलियाको न्यायाधीशसँग पहुँच कसरी बन्छ होला ?

यो जटिल प्रश्न हो । म न्यायाधीश हुँदा व्यक्तिगत रूपमा ढोकामा आएर कुरा गर्न खोज्थे । मैले दुई–चार पटक रोकेपछि त्यस्ता मान्छेले दोहोर्‍याएर ढोकामा आउने आँटै गरेनन् । न्याय परिषद्ले उजुरीका आधारमा मात्र अनुसन्धान गर्छ । अब यस्ता विकृति रोक्न प्रविधिमा आधारित टिम बनाएर अनुसन्धान गर्नुपर्छ । ‘ट्रेनिङ’ दिएर टिम बनाउनुपर्छ ।  

अहिले न्यायाधीशहरू सार्वजनिक कार्यक्रममा जाने चलन अत्यधिक छ । सार्वजनिक कार्यक्रममा बाक्लो उपस्थितिले न्यायाधीशसँग झगडियाले पहुँच बढाउन सजिलो भएको होला नि ? 

न्यायाधीशहरू सार्वजनिक कार्यक्रममा जानै हुन्न भन्ने पक्षमा म छैन । कोसँग भेट्ने, कसलाई पहुँच दिने या नदिने भन्ने व्यक्तिको आफ्नो आचरणमा भर पर्ने कुरा पनि हो । सार्वजनिक कार्यक्रममा कसैले मुद्दाको कुरा गर्न थाल्छ भने त्यसलाई त्यहीं रोक्नुपर्छ । आफूले ‘ट्याकल’ गर्न सक्यो भने कोही नजिक आउँदैन । म पनि पुराना ‘क्लाइन्ट’ का विवाहलगायतका पारिवारिक कार्यक्रममा जान्थें । तर बिनाकारण अनावश्यक पार्टीहरूमा जान्नथें । म गल्फ खेल्ने भएकाले त्यहाँ सुरुमा केही मुद्दाको कुरा गर्न खोज्ने पनि निस्किए । तर मसँग रहने कर्मचारीले रोकेकाले कोही पनि दोहोर्‍याएर आउने आँट गरेनन् । 

संसदीय सुनुवाइ समितिले अनुमोदन नै नगरिदेला र महाभियोग नै लाग्ला भन्ने कारणले अहिले भाबी प्रधानन्यायाधीशहरू बढी डराउँछन् र उनीहरूमा राजनीतिक प्रभाव बढी हुन्छ भनिन्छ नि ? 

मलाई विश्वास छैन कि, यस्तो व्यक्ति प्रधानन्यायाधीश बन्छ । महाभियोग लगाएर पारित नगरे राजनीतिक व्यक्तिको डाउनफल हुन्छ । धेरै यस्तो गरेर पनि टिकेका छैनन् । भाबी प्रधानन्यायाधीशले ‘म राजनीतिक प्रभावबाट मुक्त हुन्छु’ भन्दा त्यसलाई संसदीय अनुमोदन नै नहुने भन्ने हुन्न होला ।

महाभियोग लगाउन खोज्दा पनि पार नलागेको उदाहरण छ । सुशीला कार्कीको महाभियोग पारित भएन । यदि कुनै राजनीतिज्ञले त्यस्तो गर्न खोजे भने जनताले पनि चिन्छन् नि ! भोट हाल्दा अनुहार पनि हेर्छन् । अदालतको न्यायमात्र न्याय होइन । समाज र मतदाताको न्याय पनि हुन्छ नि ! भोटरले अन्याय गर्छ भने अदालतबाट मात्र न्याय खोजेर हुन्न नि !

 तपाईं वकालत, न्यायाधीश हुँदै अहिले हवाई सुरक्षा सुधार समितिको अध्यक्ष भएर काम गरिराख्नुभएको छ । कुन क्षेत्रमा काम गर्न कति सहज र अप्ठेरो रहेछ ?

मैले तीनवटै भूमिकामा राम्रै काम गरेंझैं लाग्छ तर मूल्यांकन मैले होइन, अरूले गर्ने हो । वकालतमा रहँदा पहिलो दिनदेखि नै १२ घण्टा काम गर्थें । पछि स्थापित भएपछि पनि सुख पाइएन । न्यायाधीश हुँदा सुरुमा बुझ्न समय लाग्यो । फैसला लेख्न पाइँदैनथ्यो, सिनियरले लेख्थे । त्यसबेला आनन्द लाग्थ्यो । एकपटक कल्याण श्रेष्ठ श्रीमान्सँग भेट्दा उहाँले सोध्नुभयो, ‘कति बिजी हुनुहुन्छ ?’ मैले भनें, ‘बिजी छैन, मुद्दा हेर्छु, फैसला पढ्छु ।’ उहाँले भन्नुभयो, ‘आफ्नो हातले फैसला नलेखे अध्ययन बढ्दैन । सिनियरले दिएनन् भने मागेर लेख्नूस् ।’ त्यसपछि मैले मुद्दा माग्न थालें । फैसला लेख्न थालें । सिनियरको काम पनि बाँडिन्थ्यो । 

हवाई सुरक्षा सुधारबारे चाहिँ तपाईं के गरिराख्नुभएको छ ? 

मेरो अहिलेको काम भनेको हवाई उड्डयनसँग सम्बन्धित ऐन–कानुनको अध्ययन र विश्लेषण गर्ने हो । हामी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) का आठवटा ‘क्रिटिकल एलिमेन्ट्स’ लाई आधार मानेर काम गर्छौं, जुन हवाई सुरक्षासँग जोडिएको छ । प्राथमिक कानुन, द्वितीयक कानुन पनि यसमा पर्छन् । संसद्ले बनाएको ऐन र त्यसअन्तर्गतका नियम, मापदण्डहरूबीच समन्वय छ कि छैन, यिनले हवाई सुरक्षालाई सहयोग गरेका छन् कि 

अप्ठ्यारो पारेको छ भन्ने विश्लेषण गर्छौं । युरोपियन युनियनले नेपालको हवाई क्षेत्रलाई कालोसूचीमा राख्नुमा नेपालले आवश्यकताअनुसार कानुन परिमार्जन नगरेको कारण पनि एक हो । साथै, नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियमनकारीका रूपमा छुट्याउनुपर्ने सुझाव छ । किनभने, प्राधिकरणको काम ठिक छ कि छैन जाँच्ने कुनै संयन्त्र नहुँदा विश्वासको कमी देखिएको छ ।

यही विषयमा अहिले अध्ययन गरिरहेका छौं । त्यस्तै, विगतका दुर्घटना प्रतिवेदनमा दिइएका सिफारिसको कार्यान्वयन कति भएको छ भन्ने पनि हेरिरहेका छौं । हवाई सुरक्षामा कमी–कमजोरी कहाँ छ भन्ने कुरा सेफ्टी इन्स्पेक्टरले अध्ययन गरिरहनुभएको छ । विमानस्थल व्यवस्थापन, सुरक्षा र यात्रु प्रवाहमा हुने कमजोरीबारे एभिएसन विज्ञ, एक जना पाइलटले ल्यान्डिङ र टेकअफका समस्या अध्ययन गरिरहनुभएको छ ।

हाम्रो समिति गठन २०८१ कात्तिक २ गतेको मन्त्रिपरिषद्को निर्णयबाट भएको हो । मंसिर २ गतेदेखि हामीले कार्यालयमा काम सुरु गरेका हौं । तर, बजेट अभावले काममा ढिलाइ भएको छ । हामीले प्रत्येक प्रदेशको कम्तीमा एक विमानस्थलको समीक्षा गर्ने, कमी–कमजोरी पहिचान गर्ने र सुधारका क्षेत्र सुझाउने योजना बनाएका थियौं । तर, बजेट नहुँदा भ्रमण गर्न सकिएन ।

प्रतिवेदन कहिलेसम्म आउँछ र के–के सुधार गर्नुपर्छ भन्ने पहिचान गर्नुभएको छ ? 

अब हामीले तीन हप्ताभित्र प्रतिवेदनलाई अन्तिम रूप दिन्छौं । हवाई सुरक्षासँग सम्बन्धित कानुन र मापदण्ड धेरै छरिएका छन् । हामीले अहिलेसम्म हवाई क्षेत्रमा विशेषज्ञता हासिल गर्ने र ज्ञान हस्तान्तरण गर्ने कुरामा ध्यान दिएका छैनौं । विमानस्थललाई केवल सुन, चाँदी वा हिमाल बेच्ने ठाउँका रूपमा मात्र हेरिएको छ । हवाई उड्डयनसँग सम्बन्धित मुद्दा जिल्ला अदालतमा दर्ता हुन्छन्, तर यस्ता मुद्दा हेर्ने विशेषज्ञ न्यायाधीश तयार गर्न तालिम दिइएको छैन ।

उदाहरणका लागि, कसैले अनधिकृत रूपमा विमानस्थल वा विमानमा प्रवेश गरे पनि मुद्दा नचलाई सम्झाइ–बुझाइ छाड्ने चलन छ । बाहिर भए सीडीओले बोलाएर सम्झाउने गर्छन् । यदि नियतवश कसैले सेक्युरिटी छलेर प्रवेश गर्छ भने यो हाम्रो सुरक्षाको कमजोरी हो । निगरानी प्रणाली ठिक छैन । सीसीटीभी राखिए पनि निगरानी गर्ने व्यक्ति हुँदैन । सीसीटीभीको रेकर्ड तीन–चार दिनसम्म रहन्छ, तर घटना भइसकेपछि मात्र अनुसन्धानमा प्रयोग हुन्छ । हामीलाई ‘प्रिभेन्टिभ’ उपाय चाहिएको छ ।  

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

घनश्याम खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

दुर्गा खनाल कान्तिपुर दैनिकको अनलाइन पोर्टल ईकान्तिपुर डटकमका तत्कालिन सम्पादक हुन्।

Link copied successfully