‘जलवायु क्षतिपूर्ति दिन धनी देश तयार भएनन्, अब पूर्वतयारीमा सहकार्यको सहमति भएको छ’

राष्ट्र वा सरकार प्रमुख कतैबाट आउने यकिन भएको छैन, राजनीतिक तहबाट भने धेरैतिरको नेतृत्व हुने निश्चित भएको छ , चीनबाट राष्ट्रपतिभन्दा तलको पोर्टफोलियोमा रहेका पार्टीको उपाध्यक्ष तहका व्यक्ति आउँदै हुनुहुन्छ

वैशाख २८, २०८२

राजेश मिश्र, नुमा थाम्सुहाङ

”Rich countries were not ready to pay climate compensation, now they have agreed to cooperate in preparation”

सरकारले अगाडि सारेको महत्त्वाकांक्षी कार्यक्रम हो– सगरमाथा संवाद । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय महत्त्वका विषयहरू उठाउने र त्यसमाथि गहन छलफल गर्ने उद्देश्यले सगरमाथा संवाद फोरमको स्थापना गरिएको छ । पहिलो संस्करणको सगरमाथा संवाद जेठ २ देखि ४ गते काठमाडौंमा हुँदै छ ।

‘क्लाइमेट चेन्ज, माउन्टेन्स एन्ड फ्युचर अफ द ह्युमनिटी’ विषयमा केन्द्रित हुने यस वर्षको संवादका लागि नेपालले एक सयभन्दा बढी राष्ट्रलाई निमन्त्रणा गरेको छ । संवादको तयारी अन्तिम चरणमा छ । सरकारको तयारी, संवादको उद्देश्य र समसामयिक विषयमा सगरमाथा संवाद व्यवस्थापकीय समितिका सहअध्यक्ष वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग कान्तिपुरका राजेश मिश्रनुमा थाम्सुहाङले गरेको कुराकानी : 

नेपालले सगरमाथा संवाद किन आयोजना गर्न लागेको हो ? 

सगरमाथा संवाद २०७६ सालमा नै आयोजना गर्ने तयारी थियो । तर कोभिड–१९ का कारणले हुन सकेन । वर्तमान सरकारले अहिले त्यसलाई प्राथमिकतामा राखेर बढाएको हो । नेपालले जलवायु परिवर्तनका असर भोग्नुपरेको छ । जलवायु परिवर्तनको कारणले विशेषगरी हिमाली क्षेत्रमा परेको प्रभाव र त्यसपछि जलवायु परिवर्तनको असर दिन प्रतिदिन बढ्दै गएको परिस्थितिलाई अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएर नेपालले भोग्नुपरेको समस्या देखाउन खोजेका हौं । 

”Rich countries were not ready to pay climate compensation, now they have agreed to cooperate in preparation”

यसपालिको मुख्य विषय ‘क्लाइमेट चेन्ज, माउन्टेन एन्ड फ्युचर अफ ह्युमनिटी’ भन्ने छ । यसको मूल उद्देश्य भनेकै विश्वका विभिन्न देशका सरकार प्रमुख वा राष्ट्र प्रमुख, त्यहाँका नीति निर्माताहरू, अनुसन्धानकर्ता, विज्ञहरू सबैको एउटा सामूहिक छलफलबाट जलवायु परिवर्तनलाई कसरी कम गर्न सकिन्छ भन्ने हो । 

नेपालका हिमालहरू पहिले हिउँले ढाकिएका सेता हुन्थे । अहिले ती काला देखिएका छन् । त्यसलाई कसरी जोगाउने भन्ने संवादको विषय बन्ला ? 

मुख्य विषय नै यसैमा केन्द्रित हो । नेपालजस्ता हिमाली अनि पर्वतीय मुलुकमा परेको असरबारेमा बढी छलफल केन्द्रित हुनेछ । किनभने नेपालमा सदावहार सेतै हिमाल टल्किरहन्थे, चाँदी जस्तै । अहिले पछिल्लो चरणमा आएर ती हिमालका हिउँहरू पग्लिँदै गएका छन् । हिमनदीहरू पग्लिँदै गएका छन् । हिमताल फुट्दै गएका छन् । हिमाल पग्लेर पूरा काला पत्थरका रूपमा देखिएका छन् । माछापुच्छ्रेलगायत हिमालहरू काला बन्न पुगेका छन् । त्यसैको असर नेपालमा परिरहेको अवस्था छ । त्यसलाई कसरी जोगाउने ?

हिमाललाई हामीले पहिलेकै स्थितिमा कसरी राख्न सक्छौं ? र, त्यसका लागि नेपालले मात्र पहल गरेर सम्भव छैन । कार्बन उत्सर्जनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका ठूला–ठूला देश, औद्योगिक एवं विकसित राष्ट्रले अत्यधिक कार्बन उत्सर्जन गर्दा नेपालले त्यसको असर भोग्नुपरेको छ । यो कुरा हामीले विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन जस्तै : कोप–२९ मा पनि कुरा राख्यौं ।

”Rich countries were not ready to pay climate compensation, now they have agreed to cooperate in preparation”तस्बिरहरु : हेमन्त श्रेष्ठ/कान्तिपुर

साथै अन्य सम्मेलन तथा अन्तर्राष्ट्रिय मञ्चमा राख्दै आएका छौं । तर जो जिम्मेवार राष्ट्र छन्, यी सबैलाई नेपालमा राखेर प्रत्यक्ष असर देख्ने र अनुभव हुने गरी आफ्नै देशमा यो कार्यक्रम आयोजना गर्दै छौं । हामीले हाम्रो देशमा परेको असरबारेमा प्रत्यक्ष देख्ने र भोग्ने तरिकाले गराउँदा ती राष्ट्रले असर र कार्बन उत्सर्जन कम गर्दै लान्छन् भन्ने छ । साथै नेपाललाई यी राष्ट्रबाट जलवायु परिवर्तनसँग सम्बन्धित जलवायु अनुकूलनका कार्यक्रम र जलवायुमैत्री प्रविधिका लागि सहयोग पुग्छ भन्ने विश्वास छ । 

तपाईं आफैं पनि हिमाली जिल्लाबाट प्रतिनिधित्व गर्नुहुन्छ । तपाईंको प्रत्यक्ष अनुभवमा जलवायु परिवर्तनले हिमाली जनजीवनमा कस्तो प्रभाव पारेको रहेछ ? 

सबैभन्दा बढी असर कृषिमा परेको छ । पानीका मुहानहरू सुक्दै गएका छन् । अनावृष्टि र अतिवृष्टिहरूका कारण हाम्रा खेतीयोग्य जमिन बगेर पूरै खहरे भएका छन् । खेती भित्र्याउने बेलामा बाढी र पहिरो आएर बगाइदिन्छ । यसले गर्दा किसान अति नै पीडित छन् । त्यहाँको माटो बगेर गइसक्यो । अब ती हाम्रा पुराना धेरै परम्परागत खेती प्रणाली मासिँदै र सुक्दै गएका छन् । जुन तरिकाले पहिलेदेखि बाली लगाउने गरिन्थ्यो, उत्पादन हुन्थ्यो त्यो पनि कम हुँदै गएको छ । यी कुरा हामीले प्रत्यक्ष भोगिरहेका छौं । साथै जडीबुटी पनि पहिले जुन किसिमले र जुन मात्रामा पाइन्थ्यो त्यो कम हुँदै गएको छ । यसले समग्र क्षेत्रमा असर पारेको छ । 

सगरमाथा संवादको मिति नजिकिँदै छ । यसको तयारी कहाँ पुगेको छ ? 

यसको तयारी सबै पूरा भएको अवस्था छ । प्रधानमन्त्रीको अध्यक्षतामा निर्देशक समिति बनेको छ । परराष्ट्रमन्त्रीको अध्यक्षमा व्यवस्थापन समिति छ । यसको सहअध्यक्षमा म छु । साथै अन्य पदाधिकारी पनि हुनुहुन्छ । यसैगरी मुख्यसचिवको नेतृत्वमा अरू समिति छन् । समग्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय र वन तथा वातावरण मन्त्रालय, यी तीन निकाय मिलेर व्यापक रूपमा आफ्नो काम गरिरहेका छौं । अहिले सहभागीहरूको नाम फाइनल भएको छ । अन्तर्राष्ट्रिय पाहुनाको करिब टुंगो लागेको छ । काठमाडौंको सोल्टी होटलमा कार्यक्रम गर्दै छौं भन्ने कुरा सबैलाई थाहा नै छ । त्यहाँका सेसन कसरी सञ्चालन गर्ने, को–कसले के गर्ने ? कसले कस्तो भूमिका निर्वाह गर्ने ? सबै कुराको तयारी भएको छ । 

पाहुनाहरूको करिब अन्तिम टुंगो लागेको छ भन्नुभयो । कति जति विदेशी पाहुनालाई निम्ता गरिएको छ ? को–को आउँदै छन् ? 

हामीले सार्क मुलुकसहित सबै देशहरूमा निम्ता पठाएका थियौं । राष्ट्र प्रमुख, सरकार प्रमुख र सरकारका मन्त्रीहरू, त्यहाँका नीति निर्माता र जलवायु परिवर्तनमा लामो अनुभव भएका विज्ञलाई बोलाएका हौं । विशेषगरी जलवायु परिवर्तनमा बढी भूमिका खेल्ने राष्ट्र, जलवायु परिवर्तनबाट प्रभावित देशहरू र अन्य गरेर करिब तीन सय विदेशी पाहुनालाई निमन्त्रणा गरेका हौं । समय पनि छोटो भएको थियो । करिब तीन महिनाको बीचमा हामीले यसको निम्तो पठाएका थियौं । संवादमा नीति निर्माता, विज्ञ, मन्त्री, परराष्ट्रमन्त्री कोही वनमन्त्री, कोही जलवायुसँग सम्बन्धित मन्त्री आउने कुरा भएको छ । 

नेपालको निमन्त्रणा स्वीकार गरेर कुनै देशका राष्ट्र वा सरकार प्रमुख आउँदै हुनुहुन्छ ? 

राष्ट्र वा सरकार प्रमुख कतैबाट आउने यकिन भएको छैन । राजनीतिक तहबाट धेरैतिरको नेतृत्व हुने कुरा आएको छ । चीनबाट राष्ट्रपतिभन्दा तलको पोर्टफोलियोमा रहेका पार्टीको उपाध्यक्ष तहका व्यक्ति आउँदै हुनुहुन्छ । भारतबाट त्यहाँको वन तथा वातावरणमन्त्री आउँदै हुनुहुन्छ । जापानबाट उपविदेशमन्त्री आउने कुरा छ । त्यस्तै, बंगलादेश, भुटानबाट मन्त्रीको प्रतिनिधित्व हुँदै छ ।

”Rich countries were not ready to pay climate compensation, now they have agreed to cooperate in preparation”

विभिन्न देशका ५ जना जलवायु परिवर्तनसम्बन्धी विशेष दूत सहभागी हुँदै हुनुहुन्छ । विभिन्न १० देशबाट मन्त्रीस्तरका प्रतिनिधि आउने निश्चित भएको छ । ४० देशका १ सय ५० जनाभन्दा बढी विदेशी प्रतिनिधि सहभागी हुने कुरा छ । कोप–२९ आयोजना गरेको अजरबैजानबाट पनि प्रतिनिधि आउँदै हुनुहुन्छ । यूएनका महासचिवले भिडियोमार्फत कार्यक्रमलाई सम्बोधन गर्नुहुन्छ । 

ठूला देश, जसको क्रियाकलाप र औद्योगिकीकरणबाट जलवायुमा असर परिरहेको छ । त्यस्ता ठूला देश कसलाई बोलाइएको छ ?

हामीले बोलाउन त सबैलाई बोलाएका हौं । अमेरिकादेखि लिएर सम्पूर्ण जति राष्ट्र छन् सबैलाई निम्ता दिएका हौं । टापु राष्ट्रलाई पनि बोलाएका छौं । पर्वतीय मुलुकलाई पनि बोलाएका छौं । विकसित राष्ट्र जर्मनी, बेलायत, कोरिया, नर्वे, डेनमार्क सबैलाई बोलाएका छौं । विभिन्न कारणले त्यहाँको नेतृत्व आउन नसक्ने भए पनि सम्बन्धित प्रतिनिधि पठाउँदै हुनुहुन्छ ।

सगरमाथा संवादको अन्तिम दिन सार्वजनिक गरिने ‘सगरमाथा संवाद २०२५ घोषणा’ ले नेपालका लागि के अर्थ राख्दछ ? अन्तर्राष्ट्रिय समुदायलाई के सन्देश दिन्छ ?

कार्यक्रमको अन्तिम दिन घोषणापत्र जारी हुन्छ । जेठ २ गते उद्घाटन हुन्छ । त्यसको लगत्तै विभिन्न खाले सेसन सुरु हुन्छ । ३ गते पनि विभिन्न सेसन सञ्चालन हुन्छन् । सेसनका विषयवस्तु बाँडिएका छन् । ४ गते बिहान माउन्टेन फ्लाइट हुन्छ । बाहिरबाट आउनुभएका पाहुनालाई माउन्टेन फ्लाइटबाट प्रत्यक्ष हिमालको अवलोकन गराउँछौं ।

”Rich countries were not ready to pay climate compensation, now they have agreed to cooperate in preparation”

त्यसपछि फर्केर आएपछि घोषणापत्र जारी हुन्छ । नेपालको हिमाल आज जलवायु परिवर्तनका कारणले यो अवस्थामा पुगेको छ । यसले गर्दा जनताले भोग्नुपरेको पीडा, जनताले पाउनुपरेका दुःखका बारेमा अब विश्वको तापक्रम घटाउनका लागि जो कार्बन उत्सर्जनमा बढी भूमिका निर्वाह गरेका देशहरू छन्, उनीहरूलाई बढी दबाब सिर्जना गर्ने र जलवायु परिवर्तनका असरहरू कम गर्ने र जलवायु न्यायको कुरा गर्नेछौं । 

जलवायु वित्त, हानि तथा नोक्सानीको कुरा छ । यी सबै कुरा हामीले पाइरहेका छैनौं । यी सबै कुरा प्राप्त गर्न एउटा दबाब हुन्छ । वास्तविक रूपमा नेपाल जलवायु परिवर्तनको कारणले कति प्रभावित रहेछ ? त्यो देखाउने, बुझाउने अवसर हो । कार्बन उत्सर्जनमा नेपालको नगण्य भूमिका छ । तर, पीडा नेपालले भोग्नुपरेको छ । जो–जो आउनुहुन्छ उहाँहरूले त्यो कुराको प्रत्यक्ष अनुभव गर्नुहुन्छ । यसले अन्तर्राष्ट्रिय समुदायमा दबाब हुन्छ । 

सगरमाथा संवादमा छलफल हुने ‘जलवायु न्याय’ को सन्दर्भमा नेपालले कसरी अन्तर्राष्ट्रिय न्यायको माग गर्दै छ ?

विभिन्न सेसनहरू सञ्चालन हुन्छन् । यी सेसनमा तथ्यगत कुराहरू, आजसम्म नेपालले जे–जति समस्या भोगेका छन्, जस्तै : थामेको बाढी र बागमती प्रदेशमा आएको बाढीले गर्दा अर्बौं रुपैयाँको क्षति पनि बेहोर्नुपर्‍यो । केही वर्ष अगाडि मेलम्चीमा जुन पहिरो गयो त्यो पनि जलवायु परिवर्तनको कारण थियो । सुदूरपश्चिमको कञ्चनपुरमा पनि रेकर्ड नै तोडिने गरी पानी पर्‍यो । यी सबै जलवायु परिवर्तनकै नमुना हुन् । त्यसैको असर हो । यो तथ्यबाट देखिएको छ । अनुसन्धानकर्ताले पनि पुष्टि गरेका छन् । नेपाल जलवायु न्यायको अधिकार पाउनुपर्ने मुलुक हो । हामीले भोगेका समस्याहरू भिडियोमार्फत नै देखाउँछौं । यसबाहेक अनुसन्धान भएका र अनुसन्धानकर्ताले तयार पारेको रिपोर्ट पनि छन् । विज्ञ र सरकारले तयार पारेका दस्ताबेज प्रस्तुत गर्छौं ।

”Rich countries were not ready to pay climate compensation, now they have agreed to cooperate in preparation”

राष्ट्रिय जलवायु परिवर्तन नीति २०७६ ले दिगो विकास, जलवायु अनुकूलन र निम्न कार्बन उत्सर्जन गर्ने लक्ष्य लिएको छ । सगरमाथा संवादमार्फत नेपालले अन्तर्राष्ट्रिय समुदायसँग कसरी सहकार्य र समर्थनको सुनिश्चितता गर्ने योजना बनाएको छ ?

यो नीति अझै परिमार्जन गरेर अगाडि बढाइरहेका छौं । जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलन राष्ट्रिय कार्यान्वयन योजना (एनडीसी) अन्तिम अवस्थामा पुगेको छ । सम्पूर्ण सरोकारवाला निकायको सुझाव समावेश गरेर सगरमाथा संवादको पूर्वसन्ध्यामा त्यसलाई प्रकाशित गर्छौं साथै जलवायु नमुना कार्यक्रम पनि सञ्चालन गर्दै छौं । 

सगरमाथा संवादबाट नेपालको अपेक्षा के छ ? 

धनी राष्ट्र कार्बन उत्सर्जन रोक्न गम्भीर छैनन् । उनीहरू कार्बन उत्सर्जन गरिरहेका छन् । जो–जति प्रभावित हुँदै गरुन् भन्ने खालको प्रवृत्ति छ, त्यसलाई अलिकति दबाब होस् । ताकि तिनीहरूले कम गरुन् । यो पृथ्वीको तापमान कम हुने अवस्था छैन । तापमान कम गर्न कार्बन उत्सर्जन कम गर्ने र विकल्पमा जानुपर्‍यो भन्ने हो । नवीकरणीय ऊर्जा र स्वच्छ ऊर्जामा रूपान्तरण हुनुपर्‍यो । जस्तै : ‘फोसिल  फ्युल’ को कुरा छ, यसलाई कम गर्दै लानुपर्‍यो अनि पृथ्वीको तापक्रम कम हुन्छ । अन्यथा जति नै प्रयत्न गरे पनि यसको असर नेपालले भोग्नुपर्छ । हाम्रो अपेक्षा यस्तो गतिविधि कम होस् भन्ने हो । 

जो कार्बन उत्सर्जनमा बढी भूमिका खेल्ने राष्ट्र छन् । उसले कम गर्नुपर्‍यो । यो एउटा कुरा भयो । अब यी समस्याबाट निस्कनलाई यी राष्ट्रबाट केही सहयोगको अपेक्षा छ ? 

अवश्य छ । किनभने विगतमा भएका विभिन्न सम्मेलनमा अनेक किसिमका सहमति भएका छन् । त्यतिखेर जसले अत्यधिक कार्बन उत्सर्जन गर्छ, उसले कार्बन उत्सर्जनमा जुन राष्ट्रको योगदान छैन तर बढी प्रभावित छन्, त्यस्ता देशलाई कार्बन उत्सर्जन गर्ने मुलुकले जलवायु वित्त उपलब्ध गराउने सहमति भएको छ । हालै अजरबैजानको राजधानी बाकुमा भएको कोप–२९ मा पनि छलफल भएको छ । नेपाल जस्तै धेरै राष्ट्रले जलवायु वित्तको माग गरेका थिए । तर अब धनी राष्ट्र दिन तयार भएनन् । त्यसको एउटा बीचको बाटो निस्किएको छ ।

”Rich countries were not ready to pay climate compensation, now they have agreed to cooperate in preparation”

धनी देशहरूले विकासशील देशहरूलाई जलवायु परिवर्तनको तयारी र त्यसको सामना गर्नका लागि वार्षिक ३ सय बिलियन अमेरिकी डलर सहयोग गर्ने त्यो पनि सन् २०२५ सम्ममा उपलब्ध गराउने कुरामा सहमति भएको छ । त्यसपछि कार्बन उत्सर्जनलाई कम गरी विश्वको तापक्रम १.५ डिग्रीमा राख्ने कुरा भएको छ । अब नेपालले सन् २०४५ सम्ममा कार्बन उत्सर्जन शून्यमा झार्ने लक्ष्य निर्धारण गरेको छ । हामीले यी लक्ष्य पूरा गर्न आवश्यक कानुन र भिजन तर्जुमा गर्दै गइरहेका छौं । अरू देशले आफ्नो प्रतिबद्धता र सर्त पालना गरुन् ताकि विश्वको तापमान घटाउन उनीहरूको योगदान होस् । जुन धनी राष्ट्रले गर्दा नेपाल जस्ता राष्ट्रले जलवायु परिवर्तनको असर भोग्नुपरिरहेको छ, त्यसलाई कम र न्यूनीकरण गर्न प्रविधिमा र जलवायु वित्तमा पनि सहयोग गर्नुपर्‍यो । 

नेपालले अन्य किसिमको सभा र सम्मेलन गरिरहेको छ । यस किसिमको कार्यक्रम पहिलो पटक आयोजना गर्दै छ । यो कार्यक्रमलाई व्यवस्थित गर्न कतिको आन्तरिक तयारी छ ? 

जुन लक्ष्यका साथ यो संवादको आयोजना गरेका छौं यसले नेपालको समग्र परिस्थिति र नेपाल सरकारले लिएको नीतिमा एउटा टेवा पुग्नेछ । नेपालभित्रै पनि हामी जलवायु परिवर्तनबाट प्रभावित भयौं भन्ने मात्रै चर्चा गर्छौं । तर हामी पनि कति जिम्मेवार हुनुपर्छ ? हाम्रो पनि आफ्नो भूमिका हुन सक्छ ? यसमा स्थानीय तहले के–के गर्ने ? प्रदेशले के–के गर्ने ? संघीय सरकारले के गर्ने ?

”Rich countries were not ready to pay climate compensation, now they have agreed to cooperate in preparation”

विभिन्न क्षेत्रबाट जलवायु परिवर्तनलाई कम गर्न हामीले योगदान गर्न सक्छौं । यसले बाटो देखाउँछ । र, अन्तर्राष्ट्रिय समुदायमा नेपाल वास्तविक रूपमै पीडित छ । नेपाल वास्तविक रूपमै जलवायु परिवर्तनबाट प्रभावित छ भन्ने किसिमले ताजा सन्देश दिन खोजिरहेका छौं । त्यसले गर्दा हाम्रा छिमेकी देशले पनि वास्तविकता बुझ्नेछन् । जस्तै अहिले चीन र भारत विशाल दुई छिमेकी राष्ट्र छन् । त्यसको बीचमा हामी छौं । यसको असर चीन र भारतमा पनि छ । कार्बन उत्सर्जनमा हाम्रा छिमेकी राष्ट्रको पनि भूमिका छ । नेपाल आफैंमा प्राकृतिक रूपमा अन्य जैविक विविधता भएको देश हो । अब हाम्रो आफ्नै भूमिकाले यसलाई नियन्त्रण गर्ने अवस्थामा छैनौं । त्यसैले अन्तर्राष्ट्रिय समुदाय र सहकार्यको अत्यन्तै महत्त्वपूर्ण भूमिका छ ।

भारत र पाकिस्तानबीच उत्पन्न भएको द्वन्द्वले संवाद कार्यक्रमलाई कत्तिको असर गर्छ ? सम्भावना के छ ?

यो कुरा आकस्मिक रूपमा आएको छ । आजको मितिसम्म यसबाट कुनै समस्या सिर्जना भएको छैन । विदेशी प्रतिनिधिहरू आफू आउने कुरामा पक्का नै देखिनु भएको छ । अझै एक साता समय बाँकी छ । तनावले कस्तो रूप लिन्छ । त्यसले कस्तो प्रभाव पार्ला अहिले नै ठ्याक्कै भन्न नसकिएला । 

जलवायु परिवर्तनको सम्बन्धमा पर्वतीय मुलुकका तर्फबाट नेपालले अन्तर्राष्ट्रिय मञ्चमा नेतृत्वदायी भूमिका खेल्ने भनिएको छ । सोही स्वरूप नेपालले यो संवाद अगाडि बढाउँदै छ । वास्तवमै जलवायु परिवर्तनका तर्फबाट नेपालले नै नेतृत्व गर्ने भूमिका कस्तो हुन्छ ? 

यो सगरमाथा संवादको माध्यमबाट हामी पर्वतीय मुलुकको नेतृत्व नेपालले गर्ने भनेर सबै प्रयास गरिरहेका छौं । यसभन्दा पहिलेका जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा पनि नेपालले पर्वतीय मुलुकका लागि आवाज उठाइरहेको अवस्था हो । त्यसकारण सगरमाथा संवादको माध्यमबाट पनि पर्वतीय मुलुकको नेतृत्व नेपालले गर्नुपर्छ र नेपालले यसको पैरवी र बहस विश्व समुदायमा गर्नका लागि सगरमाथा संवादले ठूलो योगदान पुर्‍याउनेछ । 

सगरमाथा संवादमा नेपाली सहभागिता र प्रतिनिधित्व कस्तो रहेनछ ?

स्वदेशी र विदेशी गरेर करिब ४ सय जना यस कार्यक्रममा सहभागी हुने अनुमान गरेका छौं । नेपालका सहभागीमा विशेषगरी नीति निर्माता, राजनीतिक व्यक्तित्व, त्यसपछि विज्ञ, जलवायु क्षेत्रमा काम गरेका विज्ञ, अनुसन्धानकर्ता, प्राध्यापक, विकास साझेदार, विदेशी कूटनीतिक नियोगका नेपालस्थित राजदूत, कूटनीतिक प्रमुखलगायत समग्र क्षेत्रका सबैको प्रतिनिधित्व हुनेछ । साथै हिमाल, पहाड, तराईदेखि लिएर बुद्धिजीवी, विद्यार्थी, महिला र बालबालिका सबैको सगरमाथा संवाद भएकाले सबै वर्ग, क्षेत्र र समुदायलाई समेटेका छौं । यी सबैको सहभागिता छनोट भइसकेको छ ।

अब थोरै प्रसंग बदलौं । वन मन्त्रालयको नेतृत्व गरिरहनुभएको छ । वन मन्त्रालयको भूमिका कस्तो छ ? पहिलेभन्दा खुम्चिएको हो ? 

संघीयतामा गइसकेपछि वन मन्त्रालयको धेरै भूमिका प्रदेशमा गएको रहेछ । मैले आइसकेपछि थाहा पाएँ । बढी अधिकार प्रदेशमा छ । नीति निर्माण गरिदिने संघले र यसको कार्यान्वयन गर्ने धेरै कुरा प्रदेशअन्तर्गत छन् । अहिले हामीले मुख्य गरी विगतका दिनमा वन मन्त्रालयले भोग्नुपरेका विभिन्न समस्या थिए, त्यसलाई पछिल्लो चरणमा सहजीकरण गर्दै, भएका ऐन नियमलाई संशोधन गर्ने काम अघि बढाएका छौं । जनतालाई छिटो सेवा प्रवाह गर्न र वन तथा वातावरणमा जोडिएका विषय विशेषगरी जग्गा प्राप्ति, वातावरणीय प्रभाव मूल्यांकन र अन्य कामलाई अहिले सरल, सहज ढंगले अघि बढाइएको छ । केही नियमलाई संशोधन गर्दै छौं ।

प्रदेश सरकार र संघीय सरकारबीचमा वन क्षेत्रलाई लिएर कतिपय अवस्थामा टकराव छ । मुद्दाहरू अदालतमा पुगेका छन् यी कुरालाई कसरी सहजीकरण गर्नुभएको छ ? 

पछिल्लो चरणमा यस्तो स्थिति आएको छैन । जहाँ–जहाँ यस्तो स्थिति आएको छ समाधान गरेर प्रदेश र संघको समन्वयात्मक ढंगबाट काम गरिरहेका छौं । प्रदेशमा केही कानुनी जटिलता छन् । वन अधिकारीको विषय अलिक पेचिलो बनेको छ । तर केही कानुनहरू संघीय कानुनअनुसार त्यहाँ मुद्दा किनारा लगाउनुपर्ने रहेछ । त्यो विषयमा उहाँहरूको अन्योल र अधिकार प्रयोग गर्न बाधा आएको छ । त्यसलाई हामी मिलाउँदै छौं ।

अहिले फेरि वन अधिकारी (डीएफओ) संघ सरकार मातहत ल्याउने तयारी थालिएको हो ? 

कुरा उठेको छ । उनीहरू प्रदेशअन्तर्गत छन् । तर उनीहरूले संघीय कानुनअन्तर्गत फौजदारी मुद्दा किनारा लगाउनुपर्ने हुँदा कानुनी जटिलता सिर्जना भएको छ । अन्तर्राष्ट्रिय अभ्यास हेर्दा जस्तै : भारतमा वनको संरचना केन्द्रमा रहेछ । त्यहाँको प्रदेश (राज्य) ले खटनपटन गर्ने संघमार्फत नै रहेछ । यसरी जाँदा अलिक बढी प्रभावकारी हुन्छ भन्ने किसिमका कुरा पनि आएका छन् । तर अहिले ठ्याक्कै यो गर्नुपर्छ भन्ने किसिमको ठोस कुरा छैन । वनलाई प्रभावकारी बनाउन जसरी वनका ऐन नियम सरल ढंगले कार्यान्वयन गर्न सजिलो हुन्छ त्यही ढंगले जाने भन्ने हो । 

तपाईं, हिमाली क्षेत्रबाट प्रतिनिधित्व गर्दै मुगुबाट संघीय मन्त्री हुनुभएको छ । तपाईं आज आफ्नो ठाउँको मुख्य समस्या के देख्नुहुन्छ ?

मुगु हिमाली जिल्ला हो । गाडी र बाटोघाटो पुगेको अवस्था छ । रमणीय र देशकै सबैभन्दा ठूलो ताल रारा छ । त्यसबाहेक अरू धार्मिक स्थल पनि छन् । विशेषगरी पछिल्लो चरणमा स्वदेशी वा विदेशी पर्यटकहरू रारा घुम्न धेरै जान्छन् । तर त्यहाँ जाँदा बाटोको समस्या छ । बाटो कच्ची र धुलाम्मे छ । पर्यटकहरू जुन जोस र उत्साहले जान्छन् । बाटोका कारण त्यो उत्साह मर्छ । बाटोले गर्दा अत्यन्त दुःख मान्छन् । यस्तो बाटो ? भन्दै ठूलो गुनासो छ । त्यहाँसम्म जाने बाटो पिच गर्न पाए हुन्थ्यो भन्ने मेरो पहल छ । त्यही किसिमले मैले हिजो सांसद हुँदा पनि गरेको हो । अहिले सरकारमा हुँदा पनि कर्णाली राजमार्ग र विशेषगरी रारासम्मको बाटो पक्की, कालोपत्र गर्न सकियो भने पर्यटकहरूको राम्रो आवगमन हुन्थ्यो । यसले त्यहाँको स्थानीयको आम्दानी र आयमा ठूलो प्रगति ल्याउँथ्यो भन्ने लागेको छ । त्यसपछि त्यो जडीबुटीको विशेष क्षेत्र हो ।

”Rich countries were not ready to pay climate compensation, now they have agreed to cooperate in preparation”

त्यसकारण जडीबुटीलाई व्यवस्थित ढंगले संकलन गरेर किसानले उचित मूल्य पाऊन् भनेर पहल गरिरहेका छौं । यसमा हामीले थप काम गर्नुपर्नेछ । अर्को त्यहाँ फलफूल हो पाउने । फलफूललाई पनि अलिक व्यवस्थित तरिकाले अगाडि बढाउनुपर्नेछ । अहिले युवामा बेरोजगारी बढिरहेको छ । अब सबैले पढेका छन् । शिक्षा पाएका छन् । तर रोजगारी प्राप्त नहुँदा विदेश पलायन हुने एउटा अवस्था छ । त्यसलाई रोक्न हामीले विभिन्न रोजगारमूलक कार्यक्रम ल्याउनुपर्नेछ । 

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

नुमा थाम्सुहाङ कान्तिपुरकी पत्रकार हुन् । उनी आर्थिक-सामाजिक बिटमा कलम चलाउँछिन् ।

Link copied successfully