‘अनुसन्धानमा पश्चिम र पूर्व भन्ने हुँदैन’

रीतिरिवाज र ऐतिहासिक सम्पदाको संरक्षण नेपालका निम्ति महत्त्वपूर्ण हो, किनभने यो नेपालकै परिचयसँग जोडिएको छ

फाल्गुन २५, २०८१

जनकराज सापकोटा, उपेन्द्रराज पाण्डेय

”In research there is no West and East”

नेपाली सांस्कृतिक सम्पदा, परम्परा, चाडपर्व, गुठी–भोज र इतिहासबारे खोज अनुसन्धान गरिरहने जर्मन अध्येता हुन्, आक्सेल मिखायेल्स । सन् १३८६ मा स्थापना भएको जर्मनीको सबैभन्दा पुरानो विश्वविद्यालय हाइडलबर्गका उनी प्राध्यापक हुन् ।

पूर्वआधुनिककालीन नेपालको धार्मिक तथा कानुनी दस्ताबेजको अध्ययन तथा अनुसन्धान र त्यस्ता अभिलेखलाई डिजिटलाइज गर्ने परियोजना ‘डकुमेन्टा नेपालिका’ का उनी प्रमुखसमेत रहेका छन् । सन् १९७८ मा ह्याम्बर्ग विश्वविद्यालयबाट ‘शूल्वसूत्र’ मा विद्यावारिधि गरेका उनी लामो समय हाइडलबर्ग विश्वविद्यालयअन्तर्गतको दक्षिण एसियाली अध्ययन संस्थान (साउथ एसिया इन्स्टिच्युट) को प्रमुखसमेत रहे ।

विभागमा रहँदा उनले पूरा विद्या (क्लासिकल इन्डोलोजी) विषय अध्यापनसमेत गरे । जर्मनीकै युनिभर्सिटी अफ किल्मा सहायक प्राध्यापक छँदासमेत उनले नेपाल अनुसन्धान केन्द्रको निर्देशकको भूमिका निर्वाह गरेका थिए । मिखायेल्सले नेपालसम्बन्धी दर्जनौं पुस्तक एवं अनुसन्धानात्मक लेख प्रकाशन गरिसकेका छन् । पछिल्लो समय उनको पुस्तक ‘नेपालः अ हिस्ट्री फ्रम अर्लिएस्ट टाइम टू द प्रिजेन्ट’ प्रकाशित छ । 

त्यस्तै उनका ‘नेपालिक भूपवंशावली,’ ‘द मेकिङ अफ अ स्टाचुः लस्ट्–वाक्स् कास्टिङ इन नेपाल’, ‘हिन्दुइजम् : पास्ट् एन्ड प्रिजेन्ट्’लगायतका महत्त्वपूर्ण कृतिसमेत प्रकाशित छन् । हालै पुस्तक विमोचन र परियोजनाका केही काम लिएर काठमाडौं आएका बेला प्राध्यापक आक्सेल मिखायेल्ससँग कान्तिपुरका लागि जनकराज सापकोटाउपेन्द्रराज पाण्डेयले गरेको कुराकानीको सम्पादित अंश :  

तपाईं संस्कृत भाषा र भारतीय संस्कृति पढ्न र बुझ्न सन् १९७१ मै बनारस आउनुभएको रहेछ । त्यतिबेला भारत–पाकिस्तान युद्ध सुरु भएपछि तपाईं गाडी लिएर रक्सौल हुँदै काठमाडौं आउनुभएको थियो । तपाईंको पहिलो काठमाडौं यात्रा कस्तो थियो ?

म त्यतिबेला पहिलोपटक स्थलमार्ग हुँदै काठमाडौं आएको थिएँ । म बनारस आएकै बेला भारत र पाकिस्तानबीच युद्ध सुरु भयो । अनि म बनारसबाट फक्सवागन गाडी चलाएर काठमाडौं आइपुगें । त्यतिबेला मजस्तै अरू धेरै विदेशी पनि गाडी लिएरै काठमाडौं आइपुगेका थिए । तिनीहरूमध्ये धेरैले गाडी काठमाडौंमै बेचेका थिए ।

बनारसबाट गाडी चलाएर काठमाडौं आइपुग्न कति दिन लाग्यो ?

त्यस्तै चार हप्ताजति लाग्यो ।

त्यतिबेलाको काठमाडौं कस्तो थियो ? केही सम्झना छन् कि ?

त्यतिबेला नेपाल आधुनिक समाजभन्दा धेरै पृथक थियो । त्यस्तै ५ लाख जनसंख्या भएको सहर थियो काठमाडौं । अहिले त काठमाडौंको जनसंख्या ५० लाख हाराहारी पुगिसक्यो । त्यतिबेला सडकमा पनि थोरै मात्र गाडी देखिन्थे । राजा वीरेन्द्रको राज्याभिषेकमा जापान सरकारले उपहार दिएका एकाध कार मात्रै सहरमा देख्न सकिन्थ्यो । सबै कुरा एकदमै सामान्य खालको थियो । सहर निकै राम्रो थियो । 

त्यतिबेलाको बनारस र काठमाडौंमा के फरक पाउनुभयो ?

बनारस अलिकति आधुनिक शैलीको थियो । अलिक व्यस्त र भीडभाड पनि थियो । बनारसको तापक्रम र अन्य वातावरण पनि काठमाडौंको भन्दा पूरै फरक थियो । बनारसमा त गर्मीमा बस्न पनि मुस्किल नै हुन्थ्यो जस्तो लाग्थ्यो ।

”In research there is no West and East”

त्यतिबेला तपाईं कति दिन काठमाडौंमा बस्नुभयो ?

संस्कृत र हिन्दी सिक्नका लागि म १४ महिनासम्म बनारसमा बसें । त्यसपछि नेपाल आएर केही दिन बसें । अनि नेपालबाट फर्केको १० वर्षपछि ‘नेपाल–जर्मन म्यानुस्क्रिप्ट प्रोजेक्ट’ को कामका लागि फेरि काठमाडौं आउने मौका मिल्यो । विभिन्न अर्काइभहरूको माइक्रोफिल्म गर्ने, संस्कृत लिखतहरूको क्याटलग बनाउने काम हामीले गर्‍यौं । यो परियोजना ३० वर्षभन्दा लामो समय चल्यो । यो अत्यन्तै रमाइलो र सम्झनयोग्य काम थियो ।

म्यानुस्क्रिप्ट प्रोजेक्ट’ ले मुख्य गरी के काममा योगदान पुर्‍याएको थियो ?

यो परियोजनाले इतिहासको संरक्षण गर्ने धेरै क्षेत्रमा काम गरेको थियो । इतिहास, संस्कृति, काव्य, दर्शन, विज्ञान र अन्य धेरै ऐतिहासिक सामग्रीको संरक्षण गर्ने काम यो परियोजनाअन्तर्गत भयो । हामीले ऐतिहासिक दस्ताबेजहरूको माइक्रोफिल्म गर्ने काम गर्थ्यौं । त्यतिबेला हामी ऐतिहासिक सामग्रीको दस्ताबेजीकरणका निम्ति काठमाडौंबाहिर पनि गएका थियौं ।

त्यतिबेला हामी माइक्रोफिल्मकै लागि गोरखा पुगेका थियौं । तर त्यो काम त्यति सजिलो थिएन । हामीले स्थानीयलाई केही पैसासमेत दिएर उनीहरूसँग भएको ‘डकुमेन्ट’ को दस्ताबेजीकरणका लागि सहयोग लिएका थियौं ।

त्यहाँ कस्ता कागजात भेटिएका थिए त ?

विभिन्न खालका कागजात भेटिएका थिए । स्थानीय संस्कृति र परम्पराजन्य विधि–विधान लेखिएका कागजातदेखि महाभारत र रामायणजस्ता पुस्तक पनि भेटिए । माइक्रोफिल्मका लागि सबै महत्त्वपूर्ण त थिएनन् तर हामीले भेटेजतिका कागजातको माइक्रोफिल्म गरेका थियौं । बिजुली नभएकाले त्यो काम त्यति सजिलो थिएन । हाम्रो काठमाडौं अफिसमा माइक्रोफिल्म गर्न र अर्काइभ गर्न सबैखाले सुविधा थियो ।

हामीसँग त्यतिबेला २५० फोटो खिच्न सक्ने विशेष क्यामरा थियो । बिजुली नभएकैले हामीले एक जना यस्तो मान्छे खटाएका थियौं, जसले गोरखामा खिचेका फोटो धुलाउन काठमाडौं–गोरखा जाने, आउने काम गर्थ्यो । हामीले खिचेका फोटो धुलाएर एक प्रति राष्ट्रिय अभिलेखालयमा दिन्थ्यौं र अर्को प्रति जर्मनीस्थित संस्थामा राख्थ्यौं । ती सामग्री जो कसैले पनि अध्ययन र अनुसन्धान गर्न सक्ने हिसाबले राखिएको छ ।

तपाईं काठमाडौंको पछिल्लो ५ दशकको विकास र परिवर्तनबारे जानकार हुनुहुन्छ । पहिलो पटक देखेको काठमाडौं र अहिलेको काठमाडौंमा के फरक पाउनुहुन्छ ?

काठमाडौंको मुख्य फरक भनेको यहाँका सडकमा देखिने गाडी हुन् । अनि जनसंख्याको चाप पनि । यहाँको राजनीति पनि धेरै बदलिइसकेको छ । म सुरुमा आउँदा राजतन्त्र थियो, अहिले गणतन्त्र आइसकेको छ । जनतामा पनि धेरै बदलाव आएको छ । गरिबी र अन्य खाले सामाजिक समस्या पनि कम हुँदै गएको पाउँछु । 

नेपाली समाजमा देखिएको भौतिक परिवर्तन मात्रै नभएर अन्य बदलावलाई चाहिँ कुन रूपमा हेर्नुहुन्छ ?

समाजमा धेरै खुलापन आएको छ । नेपाली समाजमा अहिले पनि जातप्रथा विद्यमान छ । तर यहाँका मानिससँग कुराकानी गर्दा, खानपिन गर्दा र उठबस गर्दा जातजन्य कुरामा पहिलेजस्तो कट्टर देखिँदैनन् । अंग्रेजी भाषाको प्रयोग पनि पहिलेभन्दा धेरै बढेको छ ।

”In research there is no West and East”

आधुनिक शैलीका धेरै कुरा समाजमा भित्रिएका छन् । टेलिफोनदेखि सामाजिक सञ्जालसम्म नेपाली समाजमा भित्रिएको छ । त्यतिबेला त काठमाडौंबाट जर्मनीमा कल गर्नु सामान्य कुरा थिएन । पोस्ट अफिसमा मध्यरातको १२ बजे पुगेर एक घण्टासम्म कुर्नुपर्थ्यो । बल्ल कुराकानी गर्न सम्भव हुन्थ्यो, त्यो कुरा अहिले सुनाउँदा आफैंमा अनौठो लाग्छ । काठमाडौंमा धेरै कुरा परिवर्तन भइसकेको छ ।

इतिहास र संस्कृतिको अध्येता भएकाले तपाईंले काठमाडौंको संस्कृति र रीतिरिवाजमा पनि केही परिवर्तन आएको देख्नुहुन्छ ?

रीतिरिवाज र ऐतिहासिक सम्पदाको संरक्षण नेपालका निम्ति महत्त्वपूर्ण कुरा हो । किनभने यो नेपालकै परिचयसँग जोडिएको छ । विभिन्न सामाजिक पृष्ठभूमि र विभिन्न जातजातिका मानिस यसमा जोडिएका छन् । मच्छिन्द्रनाथको जात्रा होस् कि इन्द्रजात्रा अथवा २०७२ को भूकम्पपछि भएका मन्दिर र सम्पदास्थलको पुनर्निर्माणको कुरा होस्, यसको संरक्षणमा नेपाली समाजले असाध्यै राम्रो काम गरिरहेको छ । यो कुराले हिमाल र पहाडको सुन्दरता मात्रै नभएर सांस्कृतिक सुन्दरता पनि नेपालको असाध्यै ठूलो सम्पत्ति हो भनेर बुझाउँछ ।

पछिल्लो समय हामीले संस्कृति बिर्सियौं वा मास्यौं भनेर चिन्ता गरिरहेको कुरा पनि सुन्छौं । नेपालमा पश्चिमाकरण बढ्यो भन्ने चासो पनि सुनिन्छ । तपाईंलाई चाहिँ कस्तो लाग्छ ?

मलाई त त्यस्तो लाग्दैन । पश्चिमाकरण बढेको पनि हुन सक्छ । भगवान्प्रतिको विश्वास कम भएर पनि हुन सक्छ । तर नेपालमा अझै पनि सांस्कृतिक गतिविधि चल्तीमा छन् । मृत्यु संस्कार, विवाह संस्कार, व्रतबन्धजस्ता कर्म सबै भइरहेकै छन् । तपाईं यस्ता कुरामा विश्वास गर्नुस् वा नगर्नुस् तर तपाईं यस्ता सांस्कृतिक गतिविधि गरिराख्नुभएकै छ ।

मैले धेरै कम यस्ता नेपाली भेटेको छु, जसले यस्ता सांस्कृतिक कर्मलाई ठाडै इन्कार गर्छन् । नेपालीले विश्वास गरे पनि नगरे पनि भगवान् र मन्दिरप्रति आस्था व्यक्त गर्छन् । उनीहरू पूजामा सहभागी हुन्छन् । बिहान मन्दिरमा पनि जान्छन् । अनि यस्ता कुरामा गर्व पनि गर्छन् । पश्चिमा समाजमा पनि क्रिश्चियानिटीमा विश्वास नगरे पनि उनीहरू क्रिसमस मनाउँछन् र चाडबाडमा सामेल हुन्छन् । यस्तो अभ्यास नेपालमा पनि छ । धर्मनिरपेक्षता भए पनि संस्कृतिको संरक्षण भई नै रहेको छ ।

तपाईंले बनारसमा संस्कृत र काठमाडौं आएर लक्ष्मीनाथ श्रेष्ठसँग नेपाली र नेवारी भाषा सिक्नुभयो । यो सिकाइ कत्तिको गाह्रो थियो ?

लक्ष्मीनाथ श्रेष्ठ मेरो शिक्षक मात्रै होइनन्, साथी पनि हुन् । उनी निकै समर्पित शिक्षक थिए । उनी मसँग नेपालीमा मात्रै कुराकानी गर्थे । यो भेटको दुई हप्तापछिको कुरा हो । एक दिन हाम्रो भेट नेपाल रिसर्च सेन्टरको नेपाल–जर्मन म्यानुस्क्रिप्ट प्रिजर्भेसन सेन्टरमा राष्ट्रिय अभिलेखालयका फोटोग्राफर बलराम चित्रकारसँग भएको थियो ।

त्यो पूरै साँझ हामीले नेपालीमा मात्रै कुराकानी गरेका थियौं । भलै मेरो नेपाली उतिधेरै राम्रो थिएन । लक्ष्मीले मलाई नेपाली सिकाउँदा सिकाउँदै हामी निकै राम्रो साथी भयौं । मैले पछि उनलाई हाइडलबर्ग विश्वविद्यालय पनि बोलाएको थिएँ । त्यहाँ हामीले निकै यादगार समय बिताएका थियौं ।

”In research there is no West and East”

नेपाली भाषा सुरुमा सिक्दा गाह्रो लाग्यो कि सजिलै भयो ?

नेपाली भाषा मलाई आउँछ तर शुद्ध नेपालीचाहिँ अलि हुँदैन होला । पढ्न सक्छु, बोल्न अलि अप्ठेरो लाग्छ । तर धेरै कुरा सिकेको छु । 

यहाँ बस्दा टोल–टोलमा गएर नेपाली पनि बोल्नुभयो कि ?

नेपालमा छँदा मैले बढीभन्दा बढी नेपाली बोल्ने प्रयास गरें । जर्मनीमा पनि मेरो टिमसँग कहिलेकाहीँ थोरैथोरै नेपाली बोलिरहेकै हुन्छु । राजन खतिवडा, मणिक वज्राचार्यलगायतसँग धेरै समयदेखि सँगै काम गरिरहेको छु । 

तपाईंलाई ‘युरोपमा नेपाल चिनाउने मान्छे’ का रूपमा पनि लिँदा रहेछन् नि ?

मैले आफ्नातर्फबाट राम्रो गर्ने प्रयास मात्र गरेको हुँ । तर युरोपमा नेपाललाई चिनाउने म मात्र भने कदापि होइन । मैले गरेका खोज र लेखेका पुस्तक पनि नेपाली साथीको सहयोगबिना सम्भव हुन्थेन । मुलुकी ऐनबारेको खोज अनुसन्धानमा पनि धेरै साथीको साथ सहयोग छ । राजन खतिवडा, मणिक वज्राचार्यहरूको सहयोगबिना मैले यो काम गर्न सक्दिन थिएँ । 

धेरै विदेशी अनुसन्धाताले नेपालको इतिहास, भाषा र संस्कृतिको अध्ययन अनुसन्धान गर्नुभएको छ, यसैमा आधारित भएर पुस्तक पनि लेखिएका छन् । नेपाली संस्कृतिमाथि विदेशीको अध्ययनले पश्चिमा दृष्टिकोण झल्किएका छन् भनिन्छ नि !

अनुसन्धानमा पश्चिम र पूर्व भन्ने हुन्छ जस्तो मलाई लाग्दैन । यदि अनुसन्धान सत्य र सही छ भने अनुसन्धान ठिक हुन्छ । म यसलाई राष्ट्रियकरण गर्न पनि चाहन्नँ । पश्चिमा विद्वान्हरूको प्रभाव नेपालमा निश्चित नै छ । नेपाल पनि परम्परागत विज्ञानमा अगाडि छ । नेपालमा पनि उल्लेखनीय विद्वान् हुनुहुन्छ । मैले आफ्नो पुस्तकमा पनि उहाँहरूका बारेमा चर्चा गरेको छु । अंग्रेजीमा लेख्नु भएन भनेर उहाँहरूलाई बिर्सने भन्ने हुँदैन । उहाँहरू सम्मानित व्यक्ति हुनुहुन्छ । यदि नेपालबारे लेख्दै हुनुहुन्छ भने उहाँहरूको खोजलाई ध्यान दिनैपर्छ । 

तपाईंले धार्मिक विषयमा पनि अनुसन्धान गरिरहनुभएको छ । पहिलेको तुलनामा पर्व र जात्रा मासिँदै गए भन्ने भाष्य अहिले चलिरहेको छ । तपाईंलाई चाहिँ कस्तो लाग्छ ?

म धर्म अध्ययनमा निकै रुचि राख्छु । त्यसैगरी कानुन अध्ययन पनि मेरो सोखको विषय हो । प्रशासनिक दस्ताबेज पनि मेरो मन पर्ने विषय हो । मैले यस्तै अनुसन्धानमा परियोजना चलाइरहेको छु । यसका लागि नेपालको राष्ट्रिय अभिलेखालयसँग सहकार्य भइरहेको छ । हामीले १९ औं शताब्दीका लिखतमाथि काम गरिरहेका छौं । धार्मिक विषयमा धेरै अनुसन्धान हुनुपर्नेछ । तर यस्ता केही जटिल लिखत र सामग्री भेटिएका छन् कि त्यसले गर्दा पनि खोज अनुसन्धानमा धेरैले हात हाल्न सकेका छैनन् ।

हाम्रो समाज त खुला छ । विभिन्न संस्कृतिलाई स्वीकार गर्ने खालको पनि छ । सँगसँगै नेपाली संस्कृतिलाई पनि निरन्तरता दिइरहेकै छ । तपाईंलाई चाहिँ के लाग्छ, नेपालीले मिश्रित संस्कृति अपनाइरहेका छन् ?

संस्कृति भन्नेबित्तिकै जहिले पनि मिश्रित हुन्छ । तपाईंले जेलाई ‘हाम्रो संस्कृति’ भन्नुहुन्छ नि, त्यो पहिल्यै नै मिश्रित संस्कृति हो । ‘नेपाली संस्कृति’ भनिए पनि त्यसमा भारतीय र इस्लामिक प्रभाव पनि देखिन्छ । त्यसैले ‘शुद्ध संस्कृति’ भन्ने कहीँ पनि हुँदैन । संस्कृति आउने भनेकै अरूलाई हेरेर तपाईंलाई परिभाषित गर्दा हो । यसको अर्थ तपाईंले अर्को संस्कृतिलाई पहिल्यै आत्मसात् गरिसक्नुभयो । त्यसैले कसैले पनि ‘शुद्ध संस्कृति’ को कुरा गर्नु हुँदैन । यो असम्भव छ । निश्चय नै संस्कृतिमा राष्ट्रिय तत्त्व वा विशेषता त हुन्छ नै ।

”In research there is no West and East”

तपाईंकै पछिल्लो पुस्तक र अन्य लेख पढ्दा भाषा–विज्ञान र धर्म संस्कृतिको अनुसन्धानमा संस्कृतसँगै नेवारी भाषाको पनि अध्ययन जरुरी छ भन्नुभएको छ । यसलाई थप प्रस्ट पारिदिनुस् न ! 

मैले अनुसन्धानका क्रममा विभिन्न भाषामा लेखिएका दस्ताबेजलाई स्रोतका रूपमा प्रयोग गरेको छु । मूल कृति अध्ययनका लागि संस्कृत निकै महत्त्वपूर्ण छ । त्यस्तै नेपाली सबै किसिमले महत्त्वपूर्ण छ । विशेषगरी ऐतिहासिक दस्ताबेज नेपालीमै पनि छन् । नेवाः संस्कृति र सम्पदा अध्ययनका लागि नेवारी भाषाको ज्ञान हुनु अति आवश्यक छ । यी मात्रै होइनन्, अरू भाषाको पनि अध्ययन हुनु जरुरी छ ।

नेपालका बारेमा अध्ययन हुने हो भने मैथिली, भोजपुरी, थारू, राई, लिम्बूलगायतका सबै भाषाको अध्ययन हुनु आवश्यक छ । सबै भाषा मलाई थाहा पनि छैन । मैले धेरै काठमाडौं उपत्यकाबारे नै खोज अनुसन्धान गरेको छु । यहाँकै बारेमा लेखेको छु । अलिअलि पूरै नेपालका बारे लेखे पनि विस्तृत भने छैन । पहाडी भेगमा त्यति धेरै स्रोत पनि भेटिँदैनन् । 

तपाईंले यो पुस्तकमा पृथ्वीनारायण शाहबारे पनि चर्चा गर्नुभएको छ । सन् १९५१ पछि मात्र नेपालमा पृथ्वीनारायणबारे बढी कुरा हुन थालेको भन्नुभएको छ नि ?

उनलाई राष्ट्र निर्माताका रूपमा पनि हेरिन्छ, एक अर्थमा त्यो साँचो पनि हो । किनकि उनले गोरखा राज्यलाई काठमाडौं उपत्यकासम्म विस्तार गरे । यो सबैलाई थाहा भएकै कुरा हो । स्वतन्त्र मुलुकका रूपमा नेपालको नाम चिनिएको त सन् १९२३ मा मात्र हो । त्यसअघि काठमाडौं उपत्यकालाई मात्र नेपाल भन्ने गरिन्थ्यो । वास्तवमा पृथ्वीनारायण शाह विस्तारित गोरखा राज्यका निर्माता हुन् । तर पृथ्वीनारायणबारे राजनीतीकरणचाहिँ धेरै पछि मात्र भएको हो । सन् १९५१ पछि शाह राजाहरूले पृथ्वीनारायणका बारेमा चर्चा गरेका हुन् ।

नेपाल कुनै पनि देशको उपनिवेश नबनेकाले यहाँको कला, संस्कृति र सम्पदाको संरक्षण भएको पो होला कि ?

नेपाल दुई ठूला शक्तिराष्ट्रका बीचमा रहे पनि सधैं नै स्वतन्त्र रह्यो । यसका बावजुद पनि आफ्नो सार्वभौमिकता र स्वतन्त्रता बचाइराख्न सक्नु नेपालको ठूलो सफलता हो । १७९१/९२ मा नेपाल–चीन युद्ध भयो । १८१४/१६ मा ब्रिटिस इन्डियासँग युद्ध भयो । त्यसका बावजुद पनि नेपालले आफूलाई स्वतन्त्र राख्न सक्नु अद्भुत सफलता हो ।

जब हामी नेपालका बारेमा कुरा गर्छौं– नेपाल भाषा, संस्कृति, धर्म र जातजातिका हिसाबले विविधतायुक्त मुलुक हो । यो नेपालको ठूलो सम्पत्ति हो । नेपालमा एक संस्कृति भन्ने छैन । यस हिसाबले पनि विश्वका लागि नेपाल ‘रोलमोडल’ बन्न सक्छ । यसका लागि धेरै सहनशीलता र स्वतन्त्रता चाहिन्छ । खुसीको कुरा भन्नुपर्छ कि यो अहिलेसम्म नेपालमा कायम छ । म आशा गर्छु कि भविष्यमा पनि यो कायम भइराख्नेछ ।

”In research there is no West and East” 

तपाईंले अघि पनि भन्नुभयो कि २०७२ सालको भूकम्पले नेपाली सांस्कृतिक सम्पदामा क्षति पुग्यो । अहिले आउँदाचाहिँ पुनर्निर्माणको काम कस्तो पाउनुभयो त ?

भूकम्पले त्यति ठूलो क्षति पुर्‍याए पनि नेपालले सम्पदा पुनर्निर्माणका क्षेत्रमा अभूतपूर्व काम गरिरहेको छ । विशेषगरी मन्दिरहरू र ऐतिहासिक धरोहरका रूपमा दरबार स्क्वायरहरूको पुनर्निर्माण भइरहेको छ । अझै पनि धेरै सम्पदा पुनर्निर्माणको काम बाँकी छ तर नागरिकको सचेतना भने छ । नागरिक सम्पदा पुनर्निर्माण चाहन्छन् । 

पुनर्निर्माणको काममा पुरानै चुना, इँटा प्रयोग गर्ने कि नगर्नेलगायतका कुरामा विवाद पनि भयो । यसमा तपाईंको धारणाचाहिँ के छ ?

मलाई थाहा छ, यो विवाद अहिले पनि चलिरहेकै छ । एकाथरीले भन्ने गरेका छन् कि परम्परागत रूपमा सम्पदा पुनर्निर्माण हुनुपर्छ । अर्काथरीको मत छ, पुनर्निर्माण गर तर भूकम्पप्रतिरोधी हुने गरी । म आर्किटेक्ट त होइन, कुन तरिका सही हो भन्नका लागि तर भूकम्पप्रतिरोधी सामग्री प्रयोग गरिएन भने अर्को भूकम्पमा यी भत्किन्छन् भन्ने कुराचाहिँ वैज्ञानिक हो । त्यसैले मलाई लाग्छ, यसबारेमा केही सम्झौता हुनुपर्छ । परम्परागत मन्दिरमा फलामको काँटी प्रयोग गरिँदैन । अचेल भने मन्दिरहरूमा काँटी प्रयोग हुन थालेको छ । यसबारेमा बढी कट्टर पनि हुनु हुँदैन । 

”In research there is no West and East”

तपाईंले पढाउने हाइडलबर्ग विश्वविद्यालयमा नेपाली विद्यार्थी पनि छन् । त्यहाँबाट उच्च शिक्षा हासिल गरेका विद्यार्थी कस्तो पाउनुहुन्छ ?

उनीहरू असाध्यै असल छन् । चिकित्सा, अन्य विज्ञान पढ्न आउने नेपाली विद्यार्थी थोरै छन् । मेरो विभागमा भने नेपाली विद्यार्थी नेपालकै बारेमा पढ्न आउने हुन् । त्यसैले उनीहरूले जर्मन भाषा धेरै सिक्नु पनि पर्दैन । उनीहरूले सिक्नुपर्ने कुरा हो– आफ्नै देशको इतिहास र संस्कृति कसरी पढ्ने ? हाइडलबर्गबाट केही विद्यार्थीले विद्यावारिधि पनि गरेका छन् । उनीहरूले आफ्नो क्षेत्रमा राम्रो काम गरिरहेका छन् । उनीहरूसँग बेलाबेला कुराकानी पनि भइरहेकै हुन्छ ।

जनकराज सापकाेटा कान्तिपुर दैनिकको अनलाइन पोर्टल ईकान्तिपुर डटकमका सम्पादक हुन् । उनको 'जीवन कतिपय' निबन्ध संग्रह र गैरआख्यान पुस्तक 'कहर' लगायत प्रकाशित छन् ।

उपेन्द्रराज पाण्डेय १० वर्षदेखि पत्रकारिता गर्दै आएका छन् । उनी हाल इकान्तिपुरमा सहायक वरिष्ठ उप-सम्पादकका रूपमा कार्यरत छन् ।

Link copied successfully