‘प्रत्येक देशले आफ्नो स्थायित्व र सहनशीलता निर्माण गर्न आवश्यक छ’

शिक्षामा सुधार ल्याउनका लागि धेरै मानिसले नेतृत्व र सक्रियता देखाउनु आवश्यक छ

फाल्गुन १८, २०८१

बुद्धिसागर मरासिनी, प्रविना पौडेल

”Each country needs to build its stability and resilience”

काठमाडौँ — अमेरिकामा व्याप्त शैक्षिक असमानता अन्त्य गर्ने उद्देश्यका साथ सन् १९८९ मा स्थापित ‘टिच फर अमेरिका’ सन् २००७ देखि ‘टिच फर अल’ मार्फत विश्वका विभिन्न देशमा सञ्चालनमा छ । वेन्डी कोप र ब्रेट विगडोर्जले स्थापना गरेको ‘टिच फर अल’ हाल विश्वका ६४ देशमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न क्रियाशील छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न क्रियाशील ‘टिच फर अल’ ले टिच फर नेपालसँग ‘लर्निङ पार्टनर’ का रूपमा पनि सहकार्य गरिरहेको छ । टिच फर नेपाल २०७० सालदेखि विभिन्न सामुदायिक विद्यालयमा स्वयंसेवी शिक्षक पठाएर शिक्षाको गुणस्तर सुधार्ने अभियानमा केन्द्रित छ । यो अभियानअन्तर्गत टिच फर नेपालले हाल शिक्षा मन्त्रालय, शिक्षा विभाग तथा सम्बन्धित जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा धनुषा, पर्सा, तनहुँ र सिन्धुपाल्चोक जिल्लाका विद्यालयमा ४० भन्दा बढी फेलो शिक्षक खटाएको छ । १८ वर्षदेखि विश्वका पाँच दर्जनभन्दा बढी देशको शिक्षा सुधारका लागि क्रियाशील टिच फर अलकी सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत वेन्डी कोपसँग कान्तिपुरका बुद्धिसागर मरासिनीप्रविना पौडेलले गरेको कुराकानी :

तपाईंले ‘टिच फर अमेरिका’ स्थापना गर्नुभयो र पछि यसलाई ‘टिच फर अल’ मार्फत विश्वभर विस्तार गर्नुभयो । के कुराले तपाईंलाई अमेरिकाबाहिर पनि यो मोडेल अपनाउने प्रेरणा दियो ? विभिन्न देशमा यसलाई विस्तार गर्न के–कस्ता चुनौती सामना गर्नुपर्‍यो ?

झन्डै २० वर्षसम्म, म पूर्ण रूपमा अमेरिका र त्यहाँको शिक्षा क्षेत्रमा रहेका असमानता कम गर्न केन्द्रित थिएँ । त्यहाँ धेरै काम गर्नुपर्ने थियो, अझै बाँकी छन् । त्यसैले मैले अरू देशहरूबारे सोचेकै थिइनँ । तर विभिन्न देशका मानिस हामीकहाँ आएर आग्रह गरेपछि अन्ततः टिच फर अल नेटवर्क विश्वभरि लैजाने निर्णय गरेका हौं । उनीहरूले टिच फर अमेरिकाजस्तै कार्यक्रम नेपाल, भारत, नाइजेरिया, ब्राजिल, अस्ट्रिया वा अन्य देशमा पनि हुनुपर्छ भन्ने धारण व्यक्त गर्थे । यही कुराले हामीलाई एउटा विश्वव्यापी सञ्जाल बनाउने विचारतर्फ प्रेरित गर्‍यो । त्यसपछि, हामीले टिच फर अल स्थापना गर्‍यौं, जसमा समान उद्देश्य राख्ने संस्थाहरू जोडिए । हाम्रो साझा लक्ष्य भनेको सामूहिक नेतृत्व विकास गर्दै हरेक बच्चाले आफ्नो क्षमताअनुसार पढ्न सकून् भन्ने सुनिश्चित गर्नु हो ।

नेपालजस्ता धेरै देश शैक्षिक असमानतासँग संघर्ष गरिरहेका छन् । तपाईंको अनुभवमा नेपालजस्ता विकासोन्मुख देशको शिक्षा प्रणाली रूपान्तरण गर्न के–कस्ता प्रमुख तत्त्व आवश्यक छन् ?

मलाई लाग्छ, विकासोन्मुख देशमा मात्र होइन, धनी देशभित्र पनि शिक्षामा असमानता हुने परिवेश छन् । यी सबै ठाउँमा एउटा कुरा स्पष्ट देखिन्छ । बालबालिकाको जन्मको परिस्थितिले उनीहरूको भविष्य निर्धारण गर्छ, जुन एकदमै जटिल र गहिरो प्रणालीगत समस्या हो । त्यसैले, यो समस्या समाधान गर्न कुनै एक मात्र उपाय पर्याप्त हुँदैन । यसका लागि धेरै परिवर्तन आवश्यक छन् ।

सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने शिक्षामा सुधार ल्याउनका लागि धेरै मानिसले नेतृत्व र सक्रियता देखाउनु आवश्यक छ । सरकारमा काम गर्ने, विद्यालय सञ्चालन गर्ने र कक्षामा पढाउने शिक्षक, सामाजिक नवप्रवर्तक र बाहिरबाट पैरवी गर्ने अभियानकर्ता सबैले मिलेर काम गर्नुपर्छ । यही कारणले हामीले सामूहिक नेतृत्वको आवश्यकता देखेका हौं । कुनै पनि ठाउँमा धेरै मानिस शिक्षामा सुधार ल्याउने दृढ संकल्पका साथ जुट्नुपर्छ । उनीहरू एकअर्कासँग मिल्नुपर्छ ताकि व्यक्तिगत रूपमा मात्र नभई, मिलेर सिक्न, सहयोग गर्न र समन्वय गर्न सकून् ।

”Each country needs to build its stability and resilience”

म आफैंले टिच फर अमेरिकामा सुरुको २० वर्षमा देखेको कुरा र अहिले ६४ देशमा यसको प्रभाव हेर्दा यो सिद्धान्त झनै पुष्टि भएको छ । हाम्रो नेटवर्कमा विभिन्न शैक्षिक पृष्ठभूमि र रुचि भएका प्रतिभाशाली स्नातकलाई प्रेरित गर्छौं, जसले सुरुमा दुई वर्षसम्म गरिबी प्रभावित समुदायमा शिक्षकका रूपमा काम गर्छन् । यो अनुभवले उनीहरूलाई शिक्षण र नेतृत्वमा सक्षम बनाउने एउटा बलियो आधार बनाउँछ । यी व्यक्ति दुई वर्षपछि पनि यो अभियान छोड्दैनन् । दुई वर्षमा त उनीहरूले ठूलो प्रभाव पार्छन्, तर त्यसपछि पनि शैक्षिक सुधारका लागि काम गरिरहन्छन् । कोही आफ्नै समुदायमा बसेर काम गर्छन्, कोही विद्यालयमा संलग्न भएर काम गर्छन्, कोही राजनीतिमा प्रवेश गर्छन् र कोही नयाँ संस्था (एनजीओ) स्थापना गरेर सरकारी प्रणालीका कमी–कमजोरी पूर्ति गर्न प्रयास गर्छन् । 

यसरी वर्षौंको निरन्तर प्रयासपछि, हामीले महसुस पनि गरेका छौं कि हामीसँग परिवर्तन ल्याउने शक्ति भएका धेरै मानिस छन्, जो एकापसमा सहकार्य गर्दै शिक्षा सुधारका लागि वास्तविक रूपमा नतिजा निकाल्न सफल छन् ।

एउटा आदर्श शिक्षा प्रणाली स्थापित गर्न कति समय लाग्ने रहेछ ?

यो एकदमै लामो प्रक्रिया हो । हाम्रो सबैभन्दा ठूलो सिकाइमध्ये यो पनि एक हो । अहिलेको अवस्थामा हेर्दा, विश्वभर शैक्षिक नतिजामा गिरावट आइरहेको छ । यदि पिसा नतिजा (विकसित देशमा शैक्षिक नतिजा मापन गर्ने अध्ययन) हेर्ने हो भने हामी अहिले १० वर्षदेखिको लगातार गिरावटको बीचमा छौं । त्यस्तै, कम र मध्यम आय भएका देशमा गरिएको ठूलो अनुसन्धान हेर्ने हो भने औसत रूपमा पछिल्लो ३० वर्षदेखि शैक्षिक नतिजा खस्कँदै गएको छ । 

यो प्रयासको अभावले मात्र भएको होइन । सरकार, संयुक्त राष्ट्र संघीय निकाय, विश्व बैंक, शिक्षक र धेरै मानिसले शिक्षा सुधारका लागि धेरै मिहिनेत गरिरहेका छन्, तर नतिजा भने सुधारिनुको सट्टा झन् खस्किएको छ । तर, हामीसँग नेतृत्व क्षमता भएमा सुधार सम्भव छ भन्ने प्रमाण पर्याप्त छन् । मैले अमेरिकालगायत विभिन्न विकासोन्मुख परिवेशहरूमा देखेको छु कि परिवर्तन सम्भव छ ।

”Each country needs to build its stability and resilience”

जब कुनै ठाउँमा धेरै मानिस एउटै लक्ष्यमा समर्पित भएर नीतिलाई मात्र होइन, शिक्षण पद्धति र शिक्षा प्रणालीको संस्कृतिलाई समेत परिवर्तन गर्न मिलेर काम गर्छन्, तब सकारात्मक नतिजा देखिन थाल्छ । यसमा समय लाग्छ । कुनै ठाउँमा शिक्षा प्रणालीमा सुधार देख्न कम्तीमा १० वर्ष वा अझ बढी समय पनि लाग्न सक्छ । तर यो लामो यात्रा तय गर्नुको विकल्प छैन । किनभने अहिलेसम्म भएका प्रयासबाट पनि बच्चाको भविष्यमा प्रभावकारी सुधार देखिएको छैन । त्यसैले, नेतृत्व क्षमता विकास गर्दै दीर्घकालीन योजनाका साथ अघि बढ्नु नै एक मात्र उपाय हो ।

हामीले पढिरहेका हुन्छौं कि ‘टिच फर अल’ ले सामूहिक नेतृत्व विकासमा ध्यान दिन्छ । यसको परिभाषा कसरी गर्नुहुन्छ र विश्वव्यापी रूपमा शैक्षिक प्रणाली सुधार गर्न किन यो आवश्यक छ ?

हामीले सामूहिक नेतृत्व भन्नाले शिक्षाका लागि काम गर्ने सम्पूर्ण समुदायका मानिसलाई बुझाउँछौँ । कोही कक्षाकोठामा शिक्षकका रूपमा, कोही विद्यालयका नेतृत्वकर्ताका रूपमा, कोही सरकारी निकायमा नीतिगत निर्णय लिने व्यक्तिका रूपमा र कोही शिक्षा क्षेत्रबाहिर रहेर नवीनतम उपाय खोज्ने वा सुधारको वकालत गर्ने व्यक्ति हुन् ।

बच्चाको सिकाइ र समग्र विकास सुनिश्चित गर्दै शिक्षा प्रणाली प्रभावकारी बनाउन यी सबै व्यक्ति एउटै उद्देश्यका लागि समर्पित हुनुपर्छ । जब यी व्यक्ति आपसमा जोडिन्छन्, उनीहरू आफ्नो व्यक्तिगत कार्यक्षेत्रबाट माथि उठेर समग्र प्रणालीको ठूलो चित्र हेर्न थाल्छन् । उनीहरू एकापसमा छलफल गर्छन्, सिक्छन्, सहकार्य गर्छन् र आवश्यक सुधारका उपाय खोज्छन् । हामीले अनुभव गरेका छौं कि सामूहिक नेतृत्व निर्माण गर्न सम्भव छ, तर यसका लागि योजनाबद्ध प्रयास आवश्यक पर्छ । यही कारणले हामी ‘टिच फर अल’ बाट यसको विकासमा काम गरिरहेका छौँ । नेपालमा पनि ‘टिच फर नेपाल’ ले पछिल्ला १२ वर्षदेखि यही प्रयास गरिरहेको छ ।

तपाईंको कामलाई धेरै प्रतिष्ठित पुरस्कारहरूद्वारा सम्मान गरिएको छ । पछाडि फर्केर हेर्दा, तपाईंले विश्वव्यापी शिक्षा प्रणालीमा सबैभन्दा महत्त्वपूर्ण योगदान के गर्नुभएको छ जस्तो लाग्छ ?

म कलेजमा हुँदादेखि नै यो विचार राखेकी थिएँ । सबै बच्चाले आफ्नो क्षमताअनुसार अवसर पाउनुपर्छ भन्ने लाग्थ्यो । त्यस्तो शिक्षा पाउनुपर्छ, जसले उनीहरूलाई आफ्नै भविष्य राम्रो बनाउन सक्षम बनाओस् ।

त्यसैले मेरो सबैभन्दा ठूलो योगदान छ भन्नुभन्दा यो एउटा सामूहिक प्रयास हो, जसले अहिले विश्वभर एक लाखभन्दा बढी मानिसलाई जोडेको छ । यी मानिसले पहिलो दुई वर्षको प्रतिबद्धता मात्र होइन, त्यसपछि पनि कहिल्यै यो काम छोडेनन् । करिब ७० प्रतिशतभन्दा बढीले दीर्घकालीन रूपमा, पूर्ण समय, शिक्षा सुधारसँग सम्बन्धित काम गरिरहेका छन् । उनीहरूले पहिलो दुई वर्षमा मात्र होइन, त्यसपछि पनि हरेक वर्ष प्रभाव पारिरहेका छन्, जसले शिक्षा प्रणालीलाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । 

अचेल प्रविधिले शिक्षा प्रणालीलाई द्रुत रूपमा परिवर्तन गरिरहेको छ । शिक्षण सिकाइ प्रक्रियामा डिजिटल उपकरण र एआईले समान पहुँच र समान अवसर सुनिश्चित गर्न कस्तो भूमिका खेल्छ ?

मलाई लाग्छ, यो दुई तरिकाले जान सक्छ । यदि कुनै शिक्षक जो समान अवसर हुनुपर्छ भन्ने सोच्छन् र विद्यार्थीको शैक्षिक तथा व्यक्तिगत विकासप्रति गम्भीर छन् भने तिनको हातमा एआई एकदम उपयोगी हुन सक्छ । एआईले शिक्षकको धेरै समय बचत गर्छ । जस्तै : केवल ३० मिनेटमै एक वर्षभरिका पाठ्यक्रम तयार गर्न सकिन्छ, जुन सायद अन्यत्र भेटिनेभन्दा राम्रो हुन्छ । 

यदि शिक्षक नै भएनन् भने प्रविधि नै असमानता बढाउने कारण बन्न सक्छ । त्यसैले, हामी ‘टिच फर अल’ मा प्रविधि र एआई कक्षाकोठामा कसरी प्रभावकारी हुन्छ, के काम गर्छ र के काम गर्दैन भन्ने कुरामा अनुसन्धान गरिरहेका छौं । विशेष गरी अत्यन्तै पिछडिएको समुदायका विद्यालयमा यसको प्रभाव बुझ्न खोजिरहेका छौं । हाम्रो लक्ष्य भनेको, हामीले विकास गरेका शिक्षक भविष्यमा नेता बन्नेछन्, जसले संसारलाई देखाउनेछन् कि प्रविधिलाई कसरी सही तरिकाले उपयोग गरेर समान अवसर र उत्कृष्ट शिक्षा सुनिश्चित गर्न सकिन्छ ।

नेपालमा समुदायकेन्द्रित शिक्षा पहलको लामो परम्परा छ । कसरी स्थानीय समाधानलाई विश्वव्यापी शैक्षिक सुधार प्रयासमा समाहित गर्न सकिन्छ ?

वास्तवमा स्थानीय प्रयासबाटै यो सुरु गरिनुपर्छ भन्ने लाग्छ र यही नै ‘टिच फर अल’ को आधारभूत धारणा हो । हामीलाई विश्वास छ कि शिक्षा प्रणालीलाई सुदृढ बनाउन स्थानीय रूपमा गहिरोसँग जरा गाडेका नेता नै आवश्यक छन् । नेपालका उत्कृष्ट स्नातक, जो बैंकिङ, परामर्श, तेल र ग्यासजस्ता क्षेत्रमा काम गर्न आकर्षित हुन्छन्, तिनीहरूलाई शिक्षाको सुदृढीकरणमा लगाउनु आवश्यक छ । किनभने स्थानीय परिवेशलाई राम्रोसँग बुझ्ने, संस्कृति बुझ्ने व्यक्ति नै शिक्षामा परिवर्तन ल्याउने प्रमुख कारक बन्न सक्छन् ।

हामीले देखेका छौं कि यदि स्थानीयले अन्य मुलुकका समान प्रयासबाट सिक्ने अवसर पाउँछन् भने यस्ता स्थानीय नेताले छिटो प्रगति ल्याउन सक्छन् । किनभने यसले उनीहरूलाई अन्य ठाउँमा के काम भइरहेको छ भन्ने बुझ्न मद्दत गर्छ, नवीनतम प्रविधि देखाउँछ, सम्भावना देखाउँछ । यस्तो आदानप्रदानले स्थानीय नेतालाई कुन कुरा ग्रहण गर्ने, कुन नगर्ने र आफ्नै नवीन विचार विकास गर्ने भनेर प्रेरित गर्छ ।

”Each country needs to build its stability and resilience”

त्यसैले, हाम्रो ‘टिच फर अल’ को मूल्य–मान्यतामध्ये एक हो, ‘लोकल्ली रुटेड एन्ड ग्लोबल्ली इन्फर्म्ड’ । हाम्रो सञ्जाल यही आधारमा निर्माण गरिएको छ । त्यसैले, हाम्रो सञ्जालका प्रत्येक संस्था स्वतन्त्र छन्, स्थानीय नेतृत्वमा चल्छन्, स्थानीय सन्दर्भअनुसार विकसित हुन्छन् । हामीसँग साझा लक्ष्य र दृष्टिकोण भए पनि, प्रत्येक संस्था आफ्नै स्थानीय संस्कृति र परिवेशअनुसार शिक्षालाई अगाडि बढाइरहेका छन् । साथै, यी संस्थाहरू, शिक्षकहरू र पूर्वसदस्यहरूले एकअर्काबाट सिक्न सकून् भनेर हामी प्रयास गरिरहेका छौं ।

नेपालमा जस्तै धेरै विकासोन्मुख देशमा शिक्षा प्रायः राजनीतिक अस्थिरता, गरिबी र स्रोत अभावका कारण प्रभावित हुन्छ । यी चुनौती सामना गर्न कुन रणनीति सबैभन्दा प्रभावकारी देखिएका छन् ?

हाम्रो अनुभवमा कुनै ठाउँमा पर्याप्त संख्यामा मानिस चाहे तिनीहरू निर्वाचित पदाधिकारी हुन् वा अन्य कोही, यदि एउटै लक्ष्यमा प्रतिबद्ध छन् भने, राजनीतिक परिवर्तनका बाबजुद पनि धेरै कुरा गर्न सकिन्छ । त्यसैले हामी सामूहिक नेतृत्वलाई प्रणालीगत परिवर्तनको मुख्य उपायका रूपमा हेर्छौं ।

विश्वभरि एउटा सोच छ– प्रणालीगत परिवर्तन भनेको नीति परिवर्तन मात्र हो । तर शिक्षामा यो सत्य होइन । नीति परिवर्तन गरियो भने पनि विद्यार्थीको वास्तविक अनुभवमा परिवर्तन आउँछ भन्ने ग्यारेन्टी हुँदैन । त्यसैले, नीतिमा सुधार गर्नुपर्छ नै, तर त्यसका साथै शिक्षण प्रविधि र सोचमा पनि परिवर्तन आवश्यक छ ।

”Each country needs to build its stability and resilience”

यही कारण हामी त्यस्तो विकासमा केन्द्रित छौं, जो न केवल सरकारभित्रै कार्यरत हुनेछन् । तर सम्पूर्ण शिक्षण प्रणालीमा सुधारको पहल होस् । सरकार बाहिर रहेरै पनि महत्त्वपूर्ण भूमिका खेल्न सकिन्छ । हामीले देखेका छौं कि जब यस्ता प्रतिबद्ध मानिस पर्याप्त संख्यामा हुन्छन्, तब राजनीतिक परिवेश जुनसुकै भए पनि शिक्षामा सुधार ल्याउन सकिन्छ ।

गरिबी र स्रोत अभावका विषयमा के भन्नुहुन्छ ? यी चुनौती कसरी सामना गर्न सकिन्छ ?

हामीले निरन्तर रूपमा यो सोचको समर्थन गर्नुपर्छ कि हाम्रो भविष्य हाम्रा कक्षाकोठामा निर्माण भइरहेको छ । यदि भविष्यलाई पुनःपरिभाषित गर्न चाहन्छौँ भने पहिलो चरणमा कक्षाकोठामा हुने सिकाइ प्रक्रियालाई परिवर्तन गर्न आवश्यक छ । हामीले देखेका छौं कि शैक्षिक नतिजा सुधार भइरहेको समुदाय वा राष्ट्रले, उनीहरूको भविष्य शिक्षामै निर्भर छ भन्ने बुझेका छन् । त्यसैले उनीहरूले शिक्षालाई नै पहिलो प्राथमिकता दिएका छन् ।

हामीलाई यस्ता पर्याप्त अधिवक्ता र नेताहरू आवश्यक छन्, जसले यो कुरालाई समाजमा स्थापित गर्न सकून् । शिक्षकले शान्ति, दिगोपन, समानता र समावेशिताजस्ता हाम्रा सबै आकांक्षा पूरा गर्न सबैभन्दा ठूलो भूमिका खेल्छन् । 

तपाईंको पुस्तक ‘अ चान्स टु मेक हिस्ट्री’ मा शिक्षा सुधारका लागि के गर्न आवश्यक छ र के छैन भन्ने छलफल गरिएको छ । यदि अहिले त्यस पुस्तकलाई अद्यावधिक गर्नुपरेको भए तपाईं कुन नयाँ पाठ थप्नुहुन्थ्यो ?

जब ‘टिच फर अल’ सुरु भएको थियो, हाम्रो ध्यान शैक्षिक प्रणालीभित्रको असमानता हटाउने कुरामा केन्द्रित थियो । त्यसबेला हाम्रो प्रयास मुख्य रूपमा हालको प्रणालीभित्रै बच्चालाई अघि बढाउन केन्द्रित थियो । तर, समयसँगै, विशेष गरी संसारभरका दूरदर्शी नेताहरूबाट प्रेरित हुँदै, हामीले यो पर्याप्त छैन भन्ने महसुस गर्‍यौं ।

”Each country needs to build its stability and resilience”

केवल बच्चालाई पुरानो प्रणालीभित्रै समेटेर अघि बढाउनु समाधान होइन । अहिले प्रयोग भइरहेको शिक्षा प्रणाली दशकौं, कतिपय अवस्थामा सयौँ वर्ष पुरानो हो । त्यसैले, असमानतालाई हटाउनु महत्त्वपूर्ण छ, सबै बच्चालाई उनीहरूले योग्य अवसर दिनु आवश्यक छ, तर त्यसका साथै हामीले शिक्षाको मूल उद्देश्यलाई नै पुनःपरिभाषित गर्नुपर्छ । त्यही कारणले, हाम्रो सम्पूर्ण सञ्जालमा हामी अब केवल शैक्षिक स्तर सुधार्ने प्रयासमा सीमित छैनौं । बरु, विद्यार्थीको समग्र विकासमा केन्द्रित भएका छौं, जसले गर्दा उनीहरूले भविष्यलाई आफैं आकार दिन सकून् । यसमा शैक्षिक सीपहरू मात्र होइन, समस्या समाधान गर्ने क्षमता, समालोचनात्मक सोच, आत्मनिर्णयको क्षमता, समाज र वातावरणसँगको सम्बन्धको महत्त्व र विश्वप्रतिको चेतनाजस्ता कुरा आवश्यक छन् ।

त्यसैले, अहिले हामी शिक्षाको नयाँ दृष्टिकोणतर्फ अघि बढिरहेका छौं, जुन १५–२० वर्षअघि (पुस्तक लेखिएको बेला) हामीले सोचेका थिएनौँ ।

दुई दशकदेखि विश्वभर शिक्षा क्षेत्र सुधारका लागि तपाईंको प्रयास जारी छ । के कुराले तपाईंलाई प्रेरित गरिरहन्छ ? साथै, परिवर्तन गर्न चाहने युवालाई तपाईं के सल्लाह दिनुहुन्छ ?

मलाई यस्तो विशेष अवसर प्राप्त भयो कि मैले शिक्षामा भएको परिवर्तनलाई लामो समयदेखि हेरिरहेकी छु । मैले संसारका थुप्रै समुदायलाई शून्यबाट माथि उठेको देखेकी छु । सुरुवातमा असमानता वा कमजोर शैक्षिक नतिजाबारे चर्चा समेत हुँदैनथ्यो । तर समयसँगै त्यहाँ ठूलो ऊर्जा र गति निर्माण भएको देखिन्छ । 

एक किसिमको आन्दोलन र उद्देश्ययुक्त दृष्टिकोण विकसित भएर समग्र शैक्षिक प्रणालीमा परिवर्तन आउने प्रक्रिया हेर्नु नै मेरा लागि सबैभन्दा ठूलो प्रेरणा हो । मैले शिक्षा प्रणाली बदल्न सम्भव छ भन्ने देखेँ । र त्यही विश्वासले मलाई निरन्तर अघि बढ्न प्रेरित गर्छ ।

”Each country needs to build its stability and resilience”

मेरो सुझाव भनेको परिवर्तनका लागि काम गर्ने युवाले बुझ्नुपर्छ कि सामूहिक नेतृत्व निर्माण गर्न अत्यावश्यक छ । जबसम्म एक्लै प्रयास गरिन्छ, प्रभाव सानो हुन सक्छ । तर, यदि हामी सबै मिलेर एउटै उद्देश्यका लागि अघि बढ्न सक्छौं भने शैक्षिक सुधार मात्र होइन, समाजको समग्र विकास नै सम्भव छ । त्यसैले, निरन्तर सिक्दै, सहकार्य गर्दै र दीर्घकालीन सोच राख्दै अगाडि बढ्नु नै महत्त्वपूर्ण छ ।

तपाईंले ‘टिच फर अल’ सुरु गरेयता शिक्षामा धेरै परिवर्तन आएको छ । आगामी दुई/तीन दशकमा शैक्षिक क्षेत्र कसरी विकसित हुँदै जाने देख्नुहुन्छ ?

शिक्षाको भविष्य हाम्रो हातमै छ । म आशा गर्छु कि शिक्षकको भूमिकालाई अझ गम्भीर रूपमा लिइनेछ, जसले संसारलाई सही दिशामा लैजान महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्छ । यदि हामीले शिक्षामा बढी लगानी गर्न सक्यौं र भविष्यका सक्षम नेतालाई यस क्षेत्रमा आकर्षित गर्न सक्यौं भने नयाँ सिर्जनात्मकता र नवीनता आउनेछ । यसले विद्यार्थीलाई आवश्यक नेतृत्व विकास गर्न मद्दत गर्छ, जसले समाजलाई राम्रो दिशामा लैजान सक्छ ।

विभिन्न सांस्कृतिक र आर्थिक पृष्ठभूमिका शैक्षिक नेतासँग काम गरेको अनुभव सँगाल्नुभएको छ । शैक्षिक नेतृत्वसम्बन्धी तपाईंले सिक्नुभएको सबैभन्दा महत्त्वपूर्ण कुरा के हो ?

हामीलाई चाहिएकै सामूहिक नेतृत्व हो । धेरैजसो स्थानमा नेतृत्व भनेको एक जना शक्तिशाली व्यक्ति भन्ने सोच छ, जो शीर्षमा बसेर निर्णय लिन्छन् । तर, जब हामी ठूलो प्रणालीगत चुनौती सामना गर्छौं, एकल नेतृत्वले पर्याप्त हुँदैन ।

हामीलाई चाहिने भनेको एक्लो हिरोको नेतृत्व होइन, बरु सामूहिक नेतृत्व हो । जहाँ प्रणालीभित्रका सबै मानिस आफ्नो ठाउँबाट सक्रिय भएर काम गर्छन्, सहकार्य गर्छन् र विभिन्न विचार तथा पृष्ठभूमिका मानिसबीच सहकार्यको सम्बन्ध निर्माण गर्छन् । 

त्यही कारण, आजको कक्षा कोठामा विद्यार्थीलाई सामूहिक नेतृत्व गर्न सिकाउनु महत्त्वपूर्ण छ । यदि हामीले यो गर्न सक्यौं भने हामी साँच्चै संसारलाई सकारात्मक दिशामा लैजान सक्छौं ।

ट्रम्प प्रशासनको कार्यकारी आदेशले विदेश मन्त्रालय र यूसएआईडीमार्फत हुँदै आएको सहायता रोक्दा नेपाललगायत विभिन्न देशमा शिक्षा परियोजना प्रभावित भए । हामीले यस प्रकारका समस्यालाई कसरी पार गर्न सक्छौं ?

दुइटा कुरा साँचो छन् : पहिलो, यस्ता भू–राजनीतिक चुनौती हामी सबैले सामना गरिरहँदा, यसले देखाउँछ कि प्रत्येक देशले आफ्नो स्थायित्व र सहनशीलता निर्माण गर्न आवश्यक छ । शिक्षाबिना यो सम्भव छैन । यसकारण, ‘टिच फर अल’ जस्ता पहल अझै महत्त्वपूर्ण छन् किनभने तिनीहरू स्थानीय नेतृत्व क्षमता निर्माण गरेर शिक्षा प्रणालीलाई बलियो बनाउने कार्यमा संलग्न छन् । यस्तो कठिन परिस्थितिमा पनि स्थानीय स्रोत र नेतृत्वलाई सबल बनाउनु अत्यावश्यक हुन्छ ।

”Each country needs to build its stability and resilience”

दोस्रो, विकसित देशबाट शिक्षामा लगानी गर्ने वित्तीय स्रोत निकै न्यून छ । अन्तर्राष्ट्रिय सहायता तथा परोपकार सार्वजनिक स्वास्थ्य जस्ता अन्य महत्त्वपूर्ण क्षेत्रमा जान्छ, तर शिक्षामा अपेक्षाकृत कम लगानी हुन्छ ।

तर, हाम्रो सामूहिक समृद्धि शिक्षा प्रणालीको गुणस्तरमा निर्भर छ । साथै, एक देशमा विकसित समाधानले अन्य देशमा पनि प्रभाव पार्न सक्छ । यदि हामीले स्थानीय नेतालाई अन्तर्राष्ट्रिय स्तरमा सिक्न, सहयोग गर्न र नवीनता फैलाउन थप स्रोत उपलब्ध गराउन सक्यौं भने हामी धेरै छिटो परिवर्तन ल्याउन सक्छौं । यसका लागि स्थानीय लगानी, समुदायको संलग्नता र नवाचार प्रवर्द्धन गर्न आवश्यक छ ।

यस सन्दर्भमा ‘टिच फर नेपाल’ का लागि केही विशेष घोषणा गर्ने योजना छ ?

हामी ‘टिच फर नेपाल’ का प्रगतिसम्बन्धी विचारयोग्य छलफल गरिरहेका थियौँ । मलाई ‘टिच फर नेपाल’ का पुराना र हालसालैका अल्मुनाइसँग संवाद गर्ने अवसर मिलेकामा निकै सौभाग्यशाली महसुस भइरहेको छ ।

अत्यन्त प्रेरणादायी कुरा के हो भने उनीहरूले अहिले धेरै विद्यालयको सञ्जाल सञ्चालन गर्दै, अन्य शिक्षकलाई प्रशिक्षण दिँदै, शैक्षिक प्रविधि पहल विकास गर्दै छन् । उनीहरू सबै, सबैभन्दा विपन्न विद्यार्थी र भौगोलिक रूपमा सीमान्तकृत समुदायका लागि शिक्षामा समानता र पहुँच सुनिश्चित गर्ने अभियानमा छन् । यसले मलाई ‘टिच फर नेपाल’ को भविष्यप्रति आशावादी बनाएको छ । पहिल्यै एउटा बलियो जग बसिसकेको छ र अब यसलाई अझै ठूलो प्रभाव पार्ने अर्को तहमा लैजाने राम्रो अवसर पनि छ । 

बुद्धिसागर मरासिनी कान्तिपुर संवाददाता हुन्। उनी अन्तर्राष्ट्रिय तथा समसामयिक विषयमा रिपाेर्टिङ र टिप्पणी लेख्छन् ।

प्रविना प्रविना कान्तिपुरकी मल्टीिमिडिया रिपाेर्टर हुन् । उनी युवा पुस्ता, प्रविधी र मनाेस्वास्थ्यका बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully