राजविराज — उपकुलपति र रजिस्ट्रारकै कारण मधेश कृषि विश्वविद्यालयमा अस्तव्यस्तता छाएको मधेश प्रदेशका मुख्यमन्त्री तथा कुलपति सतिशकुमार सिंहले बताएका छन् । ठेकेदारहरू काम गरेको पैसा माग्न जाँदा ‘पहिला कमिसन देऊ अनि पैसा दिन्छु’ भनेर भीसी र रजिस्ट्रारले फर्काएको पनि उनको आरोप छ ।
विश्वविद्यालयका यिनै बेथितिबारे मुख्यमन्त्री तथा कुलपति सिंहसँग कान्तिपुरका लागि अवधेशकुमार झाले गरेको कुराकानी :
मधेश कृषि विश्वविद्यालय किन अस्तव्यस्त हुँदै गएको हो ?
कुनै अस्तव्यस्त छैन । उपकुलपति र रजिस्ट्रारले आफ्नो मनपरी हिसाबले काम गरिरहेका मात्र हुन् ।
उपकुलपति र रजिस्ट्रारले के मनपरी गरे ?
त्यहाँ कर्मचारी भर्नादेखि लिएर कर्मचारीलाई पूर्णता दिन भन्दा मानेनन् । कर्मचारी नभएको स्थानमा पाँच सदस्यीय समिति बनाएर खर्च गर्ने मापदण्ड बनेको छ । तर, त्यहाँ उहाँहरू (उपकुलपति र रजिस्टार)ले तीन सदस्यीय समिति मात्र बनाउनु भएको छ, त्यसमा पनि दुई जनाले मात्र मिलेर मनपरी हिसाबले खर्च गर्नुभएको छ । बजारमा कुनै प्रतिस्पर्धा गरिएको छैन । खालि आफ्नो मनको हिसाबले कोटेसन गर्ने, खरिद नियमावली मिचेर काम गर्ने काम भएको छ ।
भुक्तानी नहुँदा विश्वविद्यालयको भवन निर्माण कार्य रोकिने अवस्था आयो नि ?
ठेकेदारहरू काम गरेर पैसा माग्न जाँदा 'पहिला कमिसन देऊ अनि पैसा दिन्छु' भनेर भिसी र रजिस्ट्रारले त्रास दिएकाे ठेकेदारहरूले गुनासो गरेका छन् । यसबारे पनि छानबिन हुनेछ ।
सिनेटको बैठकबाट नीति कार्यक्रम पास नभएर विश्वविद्यालयको खर्च र कार्यक्रम रोकिएको होइन ?
सिनेट बैठकमा के समस्या भएको हो भनेर शिक्षामन्त्रीसँग पनि जानकारी लिन्छु ।
नयाँ विद्यार्थी भर्ना पनि प्रभावित भयो नि ?
विद्यार्थी भर्नाका लागि गत असोज १३ गते नै 'भ्याकेन्सी' निकालिएको छ । त्यसलाई उनीहरूले जबरजस्ती आफैं प्रवेश परीक्षा नलिने भनेर सरकारमाथि दोष थोपर्ने काम गरिरहेका छन् । यिनीहरू (उपकुलपति र रजिस्ट्रार) को रबैया राम्रो छैन, मनपरी छ ।
मनपरी छ भने मधेस सरकारले के गर्दर्छै ?
सरकार गम्भीर भएको छ । सरकारले यस विषयलाई गम्भीरताका साथ सोचेर अबको कदम अगाडि बढाउँछ । सरकार यस मुद्दाको छानबिन गर्दैछ । अब छिट्टै निचोडमा पुग्दैछौं ।
सम्बन्धित समाचार
राजनीतिक द्वन्द्वले अस्तव्यस्त मधेश कृषि विश्वविद्यालय
