‘उपचार गर्दा लागेको ऋण तिर्न भैंसीपालनमा लागेँ’

वैदेशिक रोजगारीका लागि भौंतारिनुभन्दा त्यो रकम घरमै बसेर कुनै व्यवसाय तथा उद्योगमा लगानी गर्न सके विदेशमा भन्दा राम्रो कमाउन सकिने सल्यानका दीपबहादुर बस्नेतको अनुभव ।

आश्विन ३०, २०८२

दीपबहादुर बस्नेत 

'I took up buffalo farming to pay off the debt I incurred during treatment'

What you should know

सल्यान — घरको आर्थिक अवस्था कमजोर भएपछि कक्षा ५ मा पढ्दा पढ्दै २०५५ सालमा भारतको कालापहाड गएँ । घरखर्च चलाउन कठिनाइ भएपछि १४ वर्षको उमेरमै स्थानीय युवासँग लागेर विदेशिएको हुँ । झन्डै १२ वर्ष भारतको नागपुरमा बिताएँ । त्यहाँको भैंसी फार्ममा काम गरेँ । दिनरात नभनी काम गरेर कमाएको रकमले घरखर्च चलाउन ठिक्क भयो ।

लामो समय काम गर्दा पनि केही रकम बचाउन नसक्दा हैरानी खेपेको थिएँ । यत्तिकैमा घर–परिवारको खर्च व्यवस्था गर्न पनि हम्मेहम्मे पर्न थाल्यो । उल्टै आफैं बिरामी परेर उपचार गराउँदा ७ लाख ऋण लाग्यो । कमाउनुको साटो ऋण लागेपछि २०६७ मा खालि हात घर फर्किएँ । 

ऋण तिर्न, छोरा पढाउन र घरखर्च जुटाउन मुस्किल भएपछि भारतमा भैंसी फार्ममा काम गर्दा सिकेको सीपलाई सदुपयोग गर्दै २०७७ सालमा नेपालमै भैंसीपालन सुरु गरेँ । त्यही फार्मले अहिले मलाई व्यवसायी बनाएको छ । 

अहिले म ४१ वर्षको भएँ । दुईवटा भैंसी किनेर यसको सुरुवात गरेको थिएँ । त्यसलाई व्यावसायिकताको रूप दिन जनप्रिय भैंसीपालन फार्म दर्ता गरेँ । टहरा बनाउने, भैंसी किन्न कृषि विकास बैंकबाट १० लाख र स्थानीय सहकारीबाट ८ लाख गरी १८ लाख ऋण लिएँ । त्यसमा आफन्त, इष्टमित्रबाट जुटाएको १० लाख गरी भैंसीपालन तथा टहरा निर्माण गर्न २८ लाख खर्च भयो । भैंसी थप्दै गएँ, अहिले मसँग २३ वटा सानाठूला भैंसी छन् । जसमध्ये आठवटाले दैनिक सय लिटर हाराहारी दुध दिन्छन् । 

प्रतिलिटर ७० रुपैयाँका दरले बिक्री गर्दा दैनिक ७ हजार र महिनामा २ लाख १० हजारको दुध मात्रै बिक्री हुन्छ । भैंसीलाई एक महिनाका लागि दाना किन्दा ५० हजारजति खर्च हुन्छ । त्यस्तै बिजुली, सरसफाइ, औषधीमा १० हजार, मजदुरलाई २० हजार र चार जनाको परिवारका लागि दैनिक उपभोग्य बस्तु चामल, दाल, तरकारी, आवश्यकता अनुसार मासु किन्दा ३० हजार खर्च लाग्छ । सबै खर्च कटाएर मासिक एक लाख तथा वार्षिक १० लाखजति बचाउँदै आएको छु । भैंसीपालनबाट राम्रो आम्दानी भएपछि केही वर्षको अवधिमा कृषि विकास बैंक, सहकारी, आफन्त र भारतमा उपचार गर्दा लागेको ऋण तिरिसकेको छु ।

भैंसीपालन गरी दुध बिक्री गरेको रकमबाट अहिले मेरो परिवारको सबै आवश्यकता पूरा भइरहेको छ । पहिला बिहान–बेलुकी कसरी खर्च जुटाउने होला भन्ने चिन्ता हुन्थ्यो । घरमा कोही बिरामी भएमा साहूसँग ऋण लिएर उपचार गराउन जानु पर्थ्यो । अहिले त्यस्तो कुनै समस्या छैन । भैंसी पालनमा लागेर सफल भएपछि घरखर्च चलाउन धेरै सहज भएको छ । छोराछोरीलाई पढाउन पाएको छु । केही रकम बचत गरेको छु । जग्गा–जमिन जोडेको छु । पहिला रोजगारीका लागि भौंतारिँदै हिँड्ने मलाई अहिले घरमै रोजगारी मिलेको छ र थप केहीलाई रोजगारी पनि दिएको छु । 

बिजुली बारम्बार जाने र पानीको अभावले व्यवसायलाई व्यवस्थित गर्न केही कठिनाइ भएको छ । अरु सबै ठिक छ । तनमन लगाएर भैंसीपालनमा लागेपछि पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट सम्मानित हुने अवसर पनि पाएको छु । वैदेशिक रोजगारीका लागि भौंतारिनुभन्दा त्यो रकम घरमै बसेर कुनै व्यवसाय तथा उद्योगमा लगानी गर्न सके विदेशमा भन्दा राम्रो कमाउन सकिन्छ भन्ने पछिल्लो पुस्ताका युवालाई सल्लाह दिन चाहन्छु । वैदेशिक रोजगारीमा लगाउने रकम घरमै उद्योग तथा कृषि व्यवसायमा लगाई परिवारसहित आफ्नै देशमा, आफ्नै काममा लाग्न युवाहरूलाई मेरो विशेष आग्रह छ ।

प्रस्तुति : विप्लव महर्जन

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पढ्नुहोस्

दीपबहादुर बस्नेत 

Link copied successfully