वैदेशिक रोजगारीका लागि भौंतारिनुभन्दा त्यो रकम घरमै बसेर कुनै व्यवसाय तथा उद्योगमा लगानी गर्न सके विदेशमा भन्दा राम्रो कमाउन सकिने सल्यानका दीपबहादुर बस्नेतको अनुभव ।
What you should know
सल्यान — घरको आर्थिक अवस्था कमजोर भएपछि कक्षा ५ मा पढ्दा पढ्दै २०५५ सालमा भारतको कालापहाड गएँ । घरखर्च चलाउन कठिनाइ भएपछि १४ वर्षको उमेरमै स्थानीय युवासँग लागेर विदेशिएको हुँ । झन्डै १२ वर्ष भारतको नागपुरमा बिताएँ । त्यहाँको भैंसी फार्ममा काम गरेँ । दिनरात नभनी काम गरेर कमाएको रकमले घरखर्च चलाउन ठिक्क भयो ।
लामो समय काम गर्दा पनि केही रकम बचाउन नसक्दा हैरानी खेपेको थिएँ । यत्तिकैमा घर–परिवारको खर्च व्यवस्था गर्न पनि हम्मेहम्मे पर्न थाल्यो । उल्टै आफैं बिरामी परेर उपचार गराउँदा ७ लाख ऋण लाग्यो । कमाउनुको साटो ऋण लागेपछि २०६७ मा खालि हात घर फर्किएँ ।
ऋण तिर्न, छोरा पढाउन र घरखर्च जुटाउन मुस्किल भएपछि भारतमा भैंसी फार्ममा काम गर्दा सिकेको सीपलाई सदुपयोग गर्दै २०७७ सालमा नेपालमै भैंसीपालन सुरु गरेँ । त्यही फार्मले अहिले मलाई व्यवसायी बनाएको छ ।
अहिले म ४१ वर्षको भएँ । दुईवटा भैंसी किनेर यसको सुरुवात गरेको थिएँ । त्यसलाई व्यावसायिकताको रूप दिन जनप्रिय भैंसीपालन फार्म दर्ता गरेँ । टहरा बनाउने, भैंसी किन्न कृषि विकास बैंकबाट १० लाख र स्थानीय सहकारीबाट ८ लाख गरी १८ लाख ऋण लिएँ । त्यसमा आफन्त, इष्टमित्रबाट जुटाएको १० लाख गरी भैंसीपालन तथा टहरा निर्माण गर्न २८ लाख खर्च भयो । भैंसी थप्दै गएँ, अहिले मसँग २३ वटा सानाठूला भैंसी छन् । जसमध्ये आठवटाले दैनिक सय लिटर हाराहारी दुध दिन्छन् ।
प्रतिलिटर ७० रुपैयाँका दरले बिक्री गर्दा दैनिक ७ हजार र महिनामा २ लाख १० हजारको दुध मात्रै बिक्री हुन्छ । भैंसीलाई एक महिनाका लागि दाना किन्दा ५० हजारजति खर्च हुन्छ । त्यस्तै बिजुली, सरसफाइ, औषधीमा १० हजार, मजदुरलाई २० हजार र चार जनाको परिवारका लागि दैनिक उपभोग्य बस्तु चामल, दाल, तरकारी, आवश्यकता अनुसार मासु किन्दा ३० हजार खर्च लाग्छ । सबै खर्च कटाएर मासिक एक लाख तथा वार्षिक १० लाखजति बचाउँदै आएको छु । भैंसीपालनबाट राम्रो आम्दानी भएपछि केही वर्षको अवधिमा कृषि विकास बैंक, सहकारी, आफन्त र भारतमा उपचार गर्दा लागेको ऋण तिरिसकेको छु ।
भैंसीपालन गरी दुध बिक्री गरेको रकमबाट अहिले मेरो परिवारको सबै आवश्यकता पूरा भइरहेको छ । पहिला बिहान–बेलुकी कसरी खर्च जुटाउने होला भन्ने चिन्ता हुन्थ्यो । घरमा कोही बिरामी भएमा साहूसँग ऋण लिएर उपचार गराउन जानु पर्थ्यो । अहिले त्यस्तो कुनै समस्या छैन । भैंसी पालनमा लागेर सफल भएपछि घरखर्च चलाउन धेरै सहज भएको छ । छोराछोरीलाई पढाउन पाएको छु । केही रकम बचत गरेको छु । जग्गा–जमिन जोडेको छु । पहिला रोजगारीका लागि भौंतारिँदै हिँड्ने मलाई अहिले घरमै रोजगारी मिलेको छ र थप केहीलाई रोजगारी पनि दिएको छु ।
बिजुली बारम्बार जाने र पानीको अभावले व्यवसायलाई व्यवस्थित गर्न केही कठिनाइ भएको छ । अरु सबै ठिक छ । तनमन लगाएर भैंसीपालनमा लागेपछि पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट सम्मानित हुने अवसर पनि पाएको छु । वैदेशिक रोजगारीका लागि भौंतारिनुभन्दा त्यो रकम घरमै बसेर कुनै व्यवसाय तथा उद्योगमा लगानी गर्न सके विदेशमा भन्दा राम्रो कमाउन सकिन्छ भन्ने पछिल्लो पुस्ताका युवालाई सल्लाह दिन चाहन्छु । वैदेशिक रोजगारीमा लगाउने रकम घरमै उद्योग तथा कृषि व्यवसायमा लगाई परिवारसहित आफ्नै देशमा, आफ्नै काममा लाग्न युवाहरूलाई मेरो विशेष आग्रह छ ।
प्रस्तुति : विप्लव महर्जन
