‘तराईमा जन्मिए पनि पहाडमा आएर व्यवसाय गरेको छु’

कपिलवस्तुमा जन्मेका शिवनाथ कशौधन गुप्ताले रोल्पा पुगेर समोसा, जेरीपुरी, तरकारी र मिठाईको स्वाद बाँडिरहेका छन्।

भाद्र १३, २०८२

शिवनाथ कशौधन गुप्ता

”Though I was born in the plains, I came to the mountains and did business”

What you should know

रोल्पा — लिबाङ बजारमा अंकित मिठाई पसल संचालन गरेको छु । तराईमा जन्मिए पनि १० वर्षदेखि पहाडमा समोसा, जेरीपुरी, तरकारी र मिठाईको स्वाद बाँडिरहेको छु ।

हरेक दिन बिहान साढे ४ बजे उठेर तरकारी, पुरी, जेरी, मिठाई बनाउनुपर्छ । साढे ६ बजेभित्र सबै नास्ता तयार पारिसक्छु । विद्यालय, क्याम्पसका विद्यार्थी, सर र गाडीका यात्रु उज्यालो नहुँदै नास्ता खान आइसक्छन् । सबैलाई ताजा नास्ता दिन्छु । 

कपिलवस्तुका शिवराज नगरपालिका–९ मा बसोवास छ । पहिले कपिलवस्तुमै बुबाले यो पेसा सुरु गर्नुभएको हो । समोसा, मिठाई र नास्ताका परिकार बनाउन बुबाबाटै सिकेको हुँ । ६/७ वर्ष कपिलवस्तुमा पसल गरेपछि रोल्पामा आएँ । घरमा हाम्रो सेलर मिल पनि छ । भाइले त्यही चलाएका छन् ।

मेरा ४ सन्तान छन् । एउटाले कक्षा ९ मा पढ्छ । दुई भाइ–बहिनीले ७ मा पढ्छन् । ठूलो छोरा पनि विद्यालय गइरहेको छ । ऊ बोल्न सक्दैन । उसलाई व्यस्त बनाउन विद्यालय पठाइरहेको छु । सबैले यहींको सामुदायिक विद्यालयमा पढ्छन् । बच्चालाई विद्यालयमा जाँदा खाजा खर्च दिनुपर्छ । दिनमा ४ जनालाई डेढ सय रुपैयाँ लाग्छ । कहिलेकाहीं पसलकै खाजा दिन्छु । खाजा खर्चमात्रै महिनामा ६/७ हजार खर्च लाग्छ । 

बैंकबाट केही ऋण लिएको छु । त्यसको किस्ता पनि तिर्नु पर्छ । भाडाको घरमा मिठाई पसल गरेको छु । घरभाडा महँगो छ । व्यापारमा श्रीमतीले सघाउँछिन् । दैनिक २ हजारदेखि ३ हजार ५ सयको व्यापार हुन्छ । व्यापार कम हुने हुँदा महिनाको सबै खर्च जुटाउन निकै चुनौती छ । महिनाको २५ गते आयो कि साह्रै तनाव हुन्छ । घरछेउकै जग्गा थप्नुपर्ने अवस्था आयो, बैंकबाट ऋण लिएर थपे । उता बैंकको किस्ता, यता घरभाडा सबै तिर्नैपर्छ । कहिलेकाही साडुभाइबाट सापटी लिएर पनि सबै तिर्दै आएको छु । बेस्सरी आर्थिक भार थपिएको छ । मुस्किल नै छ अवस्था ।

छोराछोरीलाई क्याम्पसमा पढाउने बेला खर्च झन बढ्नेवाला छ । सुरुमा मिठाई मात्रै बेचेँ । यहाँ तरकारी, पुरी र जेरीको पनि माग आयो । पछि चाउमिन पनि थपेको छु । ग्राहक नै छैनन् । अहिले पछिल्लो अवस्थामा व्यापार घटेको छ । सबै सामान बाहिरबाटै लिनुपर्छ । समोसा बनाउन चाहिने आलु यहाँभन्दा तराईबाट ल्याएको सस्तो पर्छ । यहींको लोकल किन्न खोज्दा महँगो पर्छ । त्यस्तै, तेल, मैदा, चिनी र अन्य सामान सबै तराईबाटै ल्याउनुपर्छ । केही आइटम थप्ने सोच छ । तर व्यापार कम छ । बीचमा रोटी तरकारी र दहीको परिकार थपेको थिएँ, तर खास बिक्री भएन । सबैले छोला तरकारी नै रोज्छन् । 

मगर खाम बोल्नेहरू पनि मेरा ग्राहक छन् । म भने अवधिभाषी हुँ । नेपाली भाषा बोल्नु अनिवार्य छ भने कहिलेकाहीँ खाम मगर भाषा पनि बुझ्नुपर्ने हुन्छ । गाउँबाट वृद्धवृद्धाहरू आए भने उनीहरूले खाम भाषाकै लबजमा नास्ता आग्रह गर्छन् । त्यस अवस्थामा मैले खाम मगर भाषा बुझ्ने प्रयास समेत गर्छु ।

तराईमा जन्मे पनि पहाडमा व्यवसाय गरेको छु । यहाँ पनि मेरा मन पर्ने साथीहरू छन्, जसले सुखदुःख पर्दा सहयोग गर्छन् । मैले पनि उनीहरूको मन जितेको छु, उनीहरूले पनि मेरो मन जितेका छन् । फरक भाषी, फरक जाति र फरक परिवेशमा जन्मेका हामीहरूबीचमा असल सम्बन्ध रहेको छ । यो नै खुसीको कुरा हो ।

आफूले पढ्न पाइएन । घरनजिक विद्यालय भए पनि ४ कक्षासम्म मात्रै पढेँ । त्यो बेला त्यस्तै थियो, पढाइप्रति चासो नै थिएन । घरमा माथिल्लो तहसम्म कसैले पढ्न सकैनौं । तर छोराछोरीलाई पढाउने चाहना छ । छोराछोरीलाई पढाएर ठूलो मानिस बनाउने इच्छा छ । सकेसम्म उनीहरूले पढेर जागिर खान सकून् भन्ने चाहना छ । मेरो विचारमा पढ्नु र नपढ्नुमा धेरै भिन्नता छ । अबको जमानामा पढेकाले मात्रै राम्रोसँग बाँच्न सक्छ । कम्तीमा १२ कक्षासम्म पढ्न सकेमा मात्रै जीवन जिउन सक्छन् । 

सबैभन्दा कठिन अवस्था लक डाउनको बेलामा व्यहोर्नुपर्‍यो । त्यसबेला अरूले जस्तै मैले पनि दुःख व्यहोरेँ । अहिले पनि महँगी बढेकाले खर्च पनि बढी भएको छ । झन् केटाकेटी भएपछि खर्च बढेको छ । तैपनि दुःख गरेर पसल निरन्तर गर्ने लक्ष्य छ । बैंकको लोन तिर्ने, छोराछोरीलाई पढाउने र आफूले पनि काम गरिरहने चाहना छ । सोचेजस्तो आम्दानी नभए पनि नयाँ ठाउँमा आएर व्यापार गर्दै नयाँ स्वाद चखाउन पाइएको छ । यसैमा आनन्द लिएको छु । 

प्रस्तुति : काशीराम डाँगी

शिवनाथ कशौधन गुप्ता

Link copied successfully