दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा फेरि सुनिलकुमार जोशी नियुक्त

वालेन्द्र शाह नेतृत्वको सरकारले ल्याएको अध्यादेशका कारण पदमुक्त भएका जोशीलाई पुन: उपकुलपति बनाइएको हो ।

असार ३१, २०८३

कान्तिपुर संवाददाता

Sunil Kumar Joshi reappointed as Vice-Chancellor of Dasharath Chand University of Health Sciences

काठमाडौँ — सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्त भएका छन् ।

विश्वविद्यालय सभाले प्रा. डा. सुनिलकुमार जोशीलाई उपकुलपतिमा तथा डा. भीमबहादुर चन्दलाई  आज रजिस्ट्रार नियुक्त गरेको हो ।

यसअघि सिफारिस समितिका संयोजक प्रा. डा. जयराज अवस्थीले सहकुलपति शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलमार्फत योग्यताक्रमसहितको प्रतिवेदन विश्वविद्यालय सभामा पेस गरेका थिए । 

वालेन्द्र शाह नेतृत्वको सरकारले ल्याएको अध्यादेशका कारण पदमुक्त भएका जोशीलाई पुन: उपकुलपति बनाइएको हो । गत वर्ष पुसमा विश्वविद्यालय सभाले उपकुलपतिमा प्राध्यापक डाक्टर सुनिलकुमार जोशी र रजिस्ट्रारमा खेमराज जोशीलाई नियुक्त गरेको थियो । 

सरकारले गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिएको छ । असार २४ गते बसेको मन्त्रिपरिषद् बैठकले गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो । 

६ सय शय्याको अस्पतालसहित चिकित्सा शिक्षा अध्यापन गर्ने उद्देश्यले करिब ७ अर्ब खर्चिएर कैलालीको गेटामा अस्पताल निर्माण गरिएको हो ।

लामो समय  मेडिकल कलेज, प्रतिष्ठान वा विश्वविद्यालयमध्ये के बनाउने भन्ने अन्योलका बीच सरकारले गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गर्दै ऐन बनाएको हो । 

विश्वविद्यालयले फागुन महिनामै शैक्षिक जनशक्तिका लागि करार सेवामा २६ जना प्राध्यापक र ५१ जना उपप्राध्यापक नियुक्त गर्न प्रक्रिया सुरु गरिसकेको थियो । जसअन्तर्गत फिजियोलोजी, प्याथोलोजी, ईएनटी, जनरल सर्जरी, एनेस्थेरियोलोजी, इन्टरनल मेडिसिन, अप्थाल्मोलोजी, मेडिकल एजुकेसन, फार्माकोलोजीलगायत विषयका जनशक्ति पदपूर्ति गर्ने प्रक्रिया सुरु गरेको थियो ।

कान्तिपुर

Link copied successfully