लामो समय मेडिकल कलेज, प्रतिष्ठान वा विश्वविद्यालयमध्ये के बनाउने भन्ने अन्योलका बीच सरकारले गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय भएको हो ।
काठमाडौँ — सरकारले गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
६ सय शय्याको अस्पतालसहित चिकित्सा शिक्षा अध्यापन गर्ने उद्देश्यले करिब ७ अर्ब खर्चिएर कैलालीको गेटामा अस्पताल निर्माण गरिएको हो ।
लामो समय मेडिकल कलेज, प्रतिष्ठान वा विश्वविद्यालयमध्ये के बनाउने भन्ने अन्योलका बीच सरकारले गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गर्दै ऐन बनाएको हो ।
विश्वविद्यालयले फागुन महिनामै शैक्षिक जनशक्तिका लागि करार सेवामा २६ जना प्राध्यापक र ५१ जना उपप्राध्यापक नियुक्त गर्न प्रक्रिया सुरु गरिसकेको थियो । जसअन्तर्गत फिजियोलोजी, प्याथोलोजी, ईएनटी, जनरल सर्जरी, एनेस्थेरियोलोजी, इन्टरनल मेडिसिन, अप्थाल्मोलोजी, मेडिकल एजुकेसन, फार्माकोलोजीलगायत विषयका जनशक्ति पदपूर्ति गर्ने प्रक्रिया सुरु गरेको थियो ।
विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्त भए पनि सरकारले अध्यादेश ल्याएपछि पदमुक्त भएका थिए । गत वर्ष पुसमा विश्वविद्यालय सभाले उपकुलपतिमा प्राध्यापक डाक्टर सुनिलकुमार जोशी र रजिष्ट्रारमा खेमराज जोशीलाई नियुक्त गरेको थियो ।
