त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

सरकारले पहिलो पटक विश्वविद्यालयबाहिरका व्यक्तिलाई सेवा आयोगको प्रमुख प्रशासकका रूपमा नियुक्त गरेको हो ।

असार १७, २०८३

कान्तिपुर संवाददाता

Former Secretary Kishore Thapa appointed as Chairman of TU Service Commission

काठमाडौँ — प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति  वालेन्द्र शाहले त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापालाई नियुक्त गरेका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री शाहले बुधबार थापालाई अध्यक्षमा नियुक्त गरेका हुन् । 

थापा सहरी विकास, शिक्षा, पर्यटन मन्त्रालयमा सचिवका रूपमा कार्यरत थिए । अवकाशपछि उनी तत्कालीन साझा पार्टीबाट काठमाडौंको मेयरमा उम्मेदवार बनेका थिए । उनले दिल्लीस्थित स्कुल अफ प्लानिङ एन्ड आर्किटेक्चरबाट सहरी योजनामा स्नातकोत्तर गरेका छन् । त्यस्तै सेवा आयोगको सदस्यमा प्रा.  रेजिना मास्केलाई नियुक्त गरिएको छ ।

सरकारले अध्यादेश ल्याउने तयारी गरेपछि आयोगका तत्कालीन पदाधिकारीले राजीनामा दिएका थिए । तत्कालीन अध्यक्ष घनश्याम भट्टराई र सदस्य अजय भट्टराईले राजीनामा दिएपछि रिक्त पदमा थापालाई नियुक्त गरिएका हो । हालसम्म त्रिविकै प्राध्यापकमध्येबाटै सेवा आयोगको अध्यक्ष नियुक्त गर्ने प्रचलन थियो । सरकारले पहिलो पटक विश्वविद्यालयबाहिरका व्यक्तिलाई सेवा आयोगको प्रमुख प्रशासकका रूपमा नियुक्त गरेको हो । 

शिक्षा तथा खेलकुदमन्त्रीसमेत रहेका सहकुलपति सस्मित पोखरेलको नेतृत्वमा गठित अध्यक्ष सिफारिस समितिले सेवा आयोग अध्यक्ष पदका लागि प्राप्त आवेदनहरूको अध्ययन, मूल्यांकन तथा अन्तर्वार्तापछि तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गरेको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ । सोही सिफारिसका आधारमा कुलपति शाहले थापालाई अध्यक्षमा नियुक्त गरेका हुन् । 

विश्वविद्यालयका शिक्षक र कर्मचारीको नियुक्ति र बढुवा गर्ने आयोगका लोक सेवा आयोगका सदस्य पदेन सदस्य हुने व्यवस्था छ । सत्तारुढ दल रास्वपाले मेरिटका आधारमा विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्ने भन्दै आए पनि प्रधानमन्त्री शाहले भने सिधै नियुक्त गरेका हुन् । 

कान्तिपुर

Link copied successfully