विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार दलीय विद्यार्थी संगठनको संरचना हटाउन भनेको हो ।
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले मातहतका विभाग, क्याम्पसबाट विद्यार्थी संगठनका संचरना हटाउन निर्देशन दिएको छ । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार दलीय विद्यार्थी संगठनको संरचना हटाउन भनेको हो ।
सरकारको सय बुँदे कार्यसूचीमा ६० दिनभित्र विद्यार्थी संगठनको संरचना हटाउने र ९० दिनभित्र विद्यार्थी काउन्सिल/भ्वाइस अफ स्डुटेडेन्ट संयन्त्र विकास गर्ने उल्लेख थियो । सरकार गठनको ९० दिनपछि शिक्षा मन्त्रालयले विश्वविद्यालय अनुदान आयोगमार्फत कार्यसूची कार्यान्वयनका लागि आग्रह गरेको थियो ।
निर्देशनालयका उपप्रशिक्षक सन्देश कुमार रेग्मीले क्याम्पस तथा विभागहरुलाई लेखेको पत्रमा भनिएको छ, ‘शिक्षा क्षेत्रमा दलिय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तरमा गिरावटको समस्या समाधान गर्न ६० दिनभित्र विद्यालय, विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी संगठनको संचरना हटाई ९० दिनभित्र विद्यार्थी काउन्सिल संयन्त्रको विकास गर्ने भन्ने उल्लेख भई आएकाले सोहीअनुसार गरी गराई, यस निर्देशनालयमा यथाशिघ्र छिटो जानकारी गराउनु हुन निर्देशाअनुसार हुन निर्देशनाअनुसार अनुरोध गरिन्छ ।’
विश्वविद्यालयसम्बन्धी अध्यादेशमार्फत विश्वविद्यालय सभामा स्वतन्त्र विद्यार्थी युनियनको प्रतिनिधित्व रहेन व्यवस्था पनि निलम्बन गरिएको थियो । विद्यार्थी संगठनहरूले सरकारको उक्त निर्णयको प्रतिवाद गर्दै आएका छन् ।
