कक्षा १२ को नतिजामा सुधार

२ र ३ गते साउनमा ग्रेडवृद्धि परीक्षा

असार ५, २०८३

सुदीप कैनी

Improvement in Grade 12 results

What you should know

काठमाडौँ — कक्षा १२ को नतिजामा सुधार देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन । नियमिततर्फ ६९.७५ र आंशिकतर्फ ४२.३८ प्रतिशत उत्तीर्ण (ग्रेड प्राप्त गरेको बोर्डकी प्रवक्ता जयन्ती सत्यालले जानकारी दिइन् ।

गत वर्ष ६१.१७ प्रतिशत विद्यार्थी ग्रेडिङ (उत्तीर्ण) भएका थिए । २०८० को तुलनामा गत वर्ष पनि विद्यार्थी उत्तीर्ण दरमा सुधार देखिएको थियो । २०८० सालको कक्षा १२ को परीक्षामा ५२.१५ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए ।

यसवर्ष नियमिततर्फ ३ लाख ३२ हजार २ सय ४१ जना विद्यार्थीले नियमिततर्फ परीक्षा दिएका थिए । तीमध्ये २ लाख ३१ हजार ७ सय ७० जनाले ग्रेड प्राप्त गरेका हुन् । १ लाख ४ सय ७१ जना विद्यार्थी भने ग्रेड प्राप्त गर्न नसकेर अनुत्तीर्ण भए । २ र ३ साउनमा उनीहरूका लागि ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने बोर्डले जनाएको छ । नियमिततर्फ परीक्षा दिएका विद्यार्थी मात्र ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।

‘सैद्धान्तिकतर्फ अन्य सबै विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा एनजी प्राप्त गर्ने वा बढीमा दुई विषयमा अनुपस्थिति रहेका परीक्षार्थीहरूले पूरक (मौका) परीक्षामा सहभागी हुन पाउनेछन्,’ बोर्डले जारी गरेको सूचनामा भनिएको छ । ग्रेडवृद्धि परीक्षा दिन चाहने विद्यार्थीले अनलाइन आवेदन दिनुपर्नेछ । १९ असारसम्म ८ सय शुल्क तिरेर ग्रेडवृद्धि परीक्षाका लागि आवेदन दिन सकिनेछ । उत्तीर्ण विद्यार्थीले नतिजामा चित्त नबुझे १ हजार शुल्क तिरेर पुनर्योग गर्न पाउने व्यवस्था गरिएको छ ।

उत्तीर्ण हुने विद्यार्थीमध्ये ३.६१ देखि ४ जीपीए प्राप्त गर्ने १७ हजार ७ सय ८६ जना छन । ३.२१ देखि ३.६१ जीपीए ६४ हजार ८ सय २१ जनाले प्राप्त गरे । सबैभन्दा बढी २.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या धेरै छ । ९४ हजार २ सय ४९ जनाले उक्त जीपीए ल्याएका हुन् । २.४१ देखि २.८१ प्राप्त गर्ने ५० हजार ५ सय ९७ जना रहेका छन् । २.०१ देखि २.४० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ४ हजार ३ सय ८ जना रहेको छ । १.६१ देखि २.० जीपीए ९ जना विद्यार्थीले ल्याएका छन् ।

आंशिकतर्फ ८५ हजार ९ सय २९ जना परीक्षार्थी सहभागी थिए । जसमध्ये ३६ हजार ४ सय २० (४२.३८) प्रतिशत उत्तीर्ण भए । नियमिततर्फका ३० र आंशिकतर्फका १० गरी ४० जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ । नतिजामा त्रुटि भएका विद्यार्थीले ६ महिनाभित्र बोर्डमा आवेदन दिएर सच्याउन सक्नेछन् । नतिजा स्थगित, अनुपस्थ्ति, विषय फरक परेको, नाम थर, रजिस्ट्रेसन नम्बर फरक परेकोलगायत त्रुटि सच्याउन सकिने बोर्डले जनाएको छ ।

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully