संघीय सरकारले वैशाख १५ गतेबाट शैक्षिक सत्र सुरू गर्ने, २१ गतेबाट पठनपाठन थाल्ने र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। केही स्थानीय तहहरूले भने उक्त निर्णयको अवज्ञा गर्दै नयाँ शैक्षिक सत्रका गतिविधि सञ्चालन गरेका छन्।
काठमाडौँ — शैक्षिक सत्र प्रारम्भ, विद्यार्थी भर्ना र पठनपाठन सञ्चालनका विषयमा संघीय सरकारको निर्णयलाई केही स्थानीय तहहरूले अस्वीकार गरेका छन्।
संघीय सरकारले वैशाख १५ गतेबाट शैक्षिक सत्र सुरू गर्ने, २१ गतेबाट पठनपाठन थाल्ने र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। केही स्थानीय तहहरूले भने उक्त निर्णयको अवज्ञा गर्दै नयाँ शैक्षिक सत्रका गतिविधि सञ्चालन गरेका छन्। संविधानले माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहमा हुने व्यवस्था गरेकाले सोहीअनुसार शैक्षिक गतिविधि सञ्चालन भइरहेको स्थानीय तहहरूको भनाइ छ।
तनहुँको आँबुखैरैनी गाउँपालिकाले वैशाख २ गतेबाट नै विद्यार्थी भर्ना र पठनपाठन सञ्चालन गर्न थालेको छ। ‘२०८३ को भर्ना अभियान वैशाख १५ गतेबाट सुरू गर्ने र वैशाख २१ गतेबाट पठनपाठन सुरु गर्ने निर्णय भएको सन्दर्भमा नेपालको संविधान र प्रचलित कानुनअनुसार आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन सम्बन्धी अधिकार स्थानीय तहको भएकाले सामुदायिक र निजी विद्यालयहरूले वैशाख २ गतेदेखि भर्ना अभियान तथा नियमित पठनपाठन सञ्चालन गर्न/गराउन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ,’ गाउँपालिका अध्यक्ष शुक्र चुमानले जारी गरेको सूचनामा भनिएको छ। गाउँ कार्यपालिकाको बैठकले शैक्षिक क्यालेण्डर तय गरेको र त्यसैअनुसार गतिविधि सञ्चालन हुने उनले बताए।
शिक्षा मन्त्रालयले वैशाख १५ गतेदेखि विद्यार्थी भर्ना गर्न र २१ गतेबाट पठनपाठन गर्न संघीय मामिला मन्त्रालयमार्फत निर्देशन दिएको थियो। अगावै भर्ना गरे कारबाही गर्ने चेतावनी समेत दिइएको छ। सर्वोच्च अदालतले समेत शैक्षिक सत्र सुरु भएपछि मात्र विद्यार्थी भर्ना गर्न आदेश दिएको थियो। संघीय र स्थानीय सरकारले शैक्षिक सत्रको विषयमा फरक–फरक निर्णय गरेपछि विद्यालय र अभिभावक भने अलमलमा परेका छन्।
तनहुँकै देवघाट गाउँपालिकाले वैशाख २ गतेबाट विद्यार्थी भर्ना र ६ गतेबाट पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ। गाउँ कार्यपालिकाको बैठकले आफ्नै शैक्षिक क्यालेण्डरअनुसार उक्त निर्णय गरेको अध्यक्ष तिलबहादुर थापाले बताए। ‘सम्पूर्ण विद्यालयहरूले वैशाख २ गतेदेखि भर्ना अभियान, विद्यालयको वार्षिक कार्यतालिका निर्माण, पाठ्यपुस्तक वितरण तथा वैशाख ६ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्नु/गराउनुहुन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ,’ अध्यक्ष थापाले जारी गरेको सूचनामा भनिएको छ।
प्यूठानको झिमरुक गाउँपालिकाले सामुदायिक र निजी विद्यालयलाई वैशाख २ गतेबाट विद्यार्थी भर्ना लिन र कक्षा सञ्चालन वैशाख १५ गतेबाट गर्न निर्देशन दिएको छ। गाउँपालिकाका प्रशासकीय अधिकृत अमरराज सेजुवालले सूचना जारी गरी शैक्षिक सत्र, विद्यार्थी भर्ना र पठनपाठनका विषयमा जानकारी दिएका हुन्।
नुवाकोटको तारकेश्वर गाउँपालिकाले भने विद्यालयमा आइतबार सार्वजनिक बिदा नदिने निर्णय गरेको छ। इन्धन आपूर्तिमा असहजता आएकाले बचत गर्न भन्दै संघीय सरकारले आइतबार सरकारी कार्यालयसहित शिक्षण संस्थामा पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। शिक्षण संस्था सञ्चालन गर्दा इन्धनको खपत थपिने भार नगण्य रहने भएकाले आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको निमित्त प्रशासकीय अधिकृत मिश्रिलाल यादवले जनाए।
‘शैक्षिक सत्रको पठनपाठन सुरु गर्न १५ दिन ढिला भएको र सातामा दुई दिन बिदा दिँदा विद्यार्थीको सिकाइ उपलब्धिमा गम्भीर क्षति पुग्ने देखिन्छ,’ गाउँपालिकाले विद्यालयलाई जारी गरेको निर्देशनमा भनिएको छ। वैशाख २१ गतेबाट मात्रै पठनपाठन सञ्चालन हुने भए पनि वैशाख २ गतेदेखि नै अतिरिक्त क्रियाकलाप जारी राख्ने निर्णय पनि गाउँपालिकाले गरेको छ।
त्यस्तै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) ले सरकारको निर्णय विपरीत विद्यार्थी भर्ना र पठनपाठन सञ्चालन गर्न मातहतका विद्यालयलाई सर्कुलर गरेको छ। अध्यक्ष गीता क्षेत्री र महासचिव प्रतापबहादुर थापाले प्रेस विज्ञप्ति जारी गरी वैशाख २ गतेबाट विद्यार्थी भर्ना र १५ गतेदेखि पठनपाठन सञ्चालन गर्न निर्देशन दिएका छन्। आइतबार बिदा दिने निर्णयले पाठ्यक्रम पूरा गर्न कठिन हुने भएकाले चाडपर्व बिदाबाट मिलाएर कम्तीमा वर्षमा २२० दिन कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन विद्यालयलाई निर्देशन दिइएको छ।
काठमाडौं प्याब्सनले पनि फेसबुकमार्फत सूचना जारी गर्दै वैशाख २ गतेबाट भर्ना र १५ गतेबाट कक्षा सञ्चालन गर्न आह्वान गरेको छ। ‘निजी लगानीका विद्यालयहरू सञ्चालन सम्बन्धी अन्योल रहेको अवस्थामा प्याब्सन काठमाडौंले यही वैशाख २ गतेबाट भर्ना अभियान सञ्चालन गर्ने र वैशाख ७ गतेबाट विद्यार्थीलाई विद्यालयमा बोलाएर पूर्वतयारी कक्षा सञ्चालन गर्ने तथा वैशाख १५ गतेबाट नियमित कक्षा सञ्चालन गर्ने कुरा अवगत गराउँदै निर्धक्क रूपमा विद्यालयका गतिविधि अगाडि बढाउन हार्दिक अनुरोध गरिन्छ,’ प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्टले जारी गरेको सूचनामा भनिएको छ।
