त्रिविबाट दीक्षित हुँदै ८९ हजार विद्यार्थी

शैक्षिक उपाधि पाउनेमा व्यवस्थापन र शिक्षा संकायका धेरै, विद्यावारिधि गर्नेमा भने विज्ञान तथा प्रविधि र मानविकीका बढी 

पुस १०, २०८२

सुदीप कैनी

89,000 students graduate from Tribhuvan University

What you should know

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले बिहीबार स्नातकदेखि विद्यावारिधि उपाधि प्राप्त गरेका ८९ हजार १ सय ९१ जना विद्यार्थीलाई दीक्षित गर्दै छ । दशरथ रंगशालामा हुने ५१औं समारोहमा सहभागी हुन भने १६ हजार ३ सय ८० जना विद्यार्थीले आवेदन दिएका छन् । 

दीक्षित हुने र समारोहमा सहभागी हुने विद्यार्थीको संख्या सबैभन्दा बढी व्यवस्थापन संकायको छ । गत शैक्षिक सत्रमा ४३ हजार ६ सय १० जनाले व्यवस्थापनमा स्नातकदेखि विद्यावारिधिसम्मको शैक्षिक उपाधि हासिल गरेका थिए । तीमध्ये दीक्षान्त समारोहमा ७ हजार ८ सय ४९ जना सहभागी हुँदै छन् । शिक्षाशास्त्र संकायमा दीक्षित हुनेको संख्या १६ हजार ४ सय ६७ रहेको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । तीमध्ये १ हजार ५ सय ३५ जनाले दीक्षान्त कार्यक्रममा सहभागी हुन आवेदन दिएका छन् ।

मानविकी तथा सामाजिकशास्त्रबाट १४ हजार ८ सय ५१, विज्ञान तथा प्रविधितर्फ ७ हजार ४ सय ६४, चिकित्सा शिक्षाका २ हजार २ सय ८०, कानुनका २ हजार ३ सय ३५, इन्जिनियरिङका १ हजार ४ सय ६३, कृषि तथा पशुका ४ सय ७६, वन विज्ञानका २ सय ४५ विद्यार्थी दीक्षित हुने कार्यालयका सूचना अधिकारी कविराज पौडेलले बताए ।

दीक्षित हुनेमध्ये विद्यावारिधि गर्ने १ सय ५२ छन् । विज्ञान तथा प्रविधि र मानविकी संकायबाट विद्यावारिधि गर्नेको संख्या ४३/४३ जना छ । शिक्षा संकायमा ३०, चिकित्साशास्त्रमा १६, व्यवस्थापनमा १, कानुनमा ५ र इन्जिनियरिङमा २ जनाले विद्यावारिधि गरेको त्रिभुवन विश्वविद्यालयको तथ्यांक छ । आवेदन दिएर शुल्क बुझाएका विद्यार्थी मात्र दीक्षान्त कार्यक्रममा सहभागी हुन पाउनेछन् । उनीहरूले दीक्षान्तमा लगाउने गाउनलगायत पोसाक वितरण गरिसकिएको पौडेलले जनाए । 

१ असार २०८१ देखि २०८२ जेठ मसान्तसम्म शैक्षिक उपाधि प्राप्त गर्ने विद्यार्थीलाई दीक्षित गर्न लागिएको हो । ८९ हजार १ सय ९१ विद्यार्थी दीक्षित हुने भए पनि समारोहमा सहभागी हुन उत्तीर्णमध्ये १८ दशमलव ३१ प्रतिशत छात्रछात्राले मात्र इच्छा देखाएका हुन् ।

89,000 students graduate from Tribhuvan University

गतवर्षको दीक्षान्तमा  ७४ हजार १ सय ४९ जना विद्यार्थी दीक्षित भएका थिए । तीमध्ये १४ हजार जना उपस्थित भएको त्रिविले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यसपालि शैक्षिक उपाधि पाएका विद्यार्थी १५ हजार ४२ जनाले धेरै छन् । १५ सय शुल्क लिएर त्रिविले दीक्षान्त पोसाक वितरण गरेको थियो । त्यसमध्ये १२ सय रुपैयाँ दीक्षान्त कार्यक्रमपछि फिर्ता हुने सूचना कार्यालयले जारी गरेको छ । 

समारोहका प्रमुख अतिथि नोबेल पुस्कार विजेता काजिता 

दीक्षान्त समारोहमा नोबेल पुस्कार विजेता प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथि रहने भएका छन् । उक्त अवसरमा २७ पदक र पुरस्कारसमेत वितरण गरिने उपकुलपति दीपक अर्यालले जनाए । स्नातकदेखि विद्यावारिधिसम्म सर्वोत्कृष्ट नतिजा ल्याउने छात्रछात्रालाई पदक र पुरस्कार प्रदान गरिने त्रिभुवन विश्वविद्यालयले बताएको छ । 

नोबेल पुस्कार विजेता प्राध्यापक काजिताले सन् २०१५ मा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए । प्रधानमन्त्री तथा कुलपति सुशीला कार्की र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुन पनि दीक्षान्त कार्यक्रममा सहभागी भएर विद्यार्थीलाई प्रमाणपत्र वितरण गर्ने अर्यालको भनाइ छ । 

काठमाडौंको मुख्य क्षेत्रमा एकै पटक हजारौं विद्यार्थीको भीडभाड गराएर सवारी साधनलगायत सहर अस्तव्यस्त बनाएको भन्दै त्रिविको आलोचना हुँदै आएको छ । आलोचनापछि संकायअनुसार छुट्टाछुट्टै स्थान र समयमा दीक्षान्त समारोह आयोजना गर्ने विषयमा त्रिवि कार्यकारी परिषद्मा छलफल पनि चलेको थियो । उपकुलपतिमा अर्याल नियुक्त भएर आएपछि पहिले जस्तै एकै दिन एकै ठाउँमा दीक्षान्त समारोह गर्ने निष्कर्षमा त्रिवि पुगेको हो ।

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully