विश्वविद्यालयले यस वर्ष ५ हजार ५ सय नयाँ गाउन खरिद गरे पनि दीक्षान्तमा सहभागी हुनेको संख्या १६ हजार ३ सय ८० छ । एक जना विद्यार्थीले एउटा र अभिभावकका निम्ति दुई गरी तीन वटा गाउन लिन सकिने व्यवस्था छ । यही तथ्यांक काफी छ, दीक्षान्त समारोहमा सहभागी सबैले नयाँ गाउन पाउँदैनन् भन्ने बुझ्न ।
What you should know
काठमाडौँ — परीक्षा नियन्त्रक कार्यालय, बल्खुको स्टोर शाखामा केही दिनयता लामो लाइन देखिन्छ । कार्यालयले पछिल्ला तीन दिनमा मात्रै करिब १३ हजार जनालाई दीक्षान्त समारोहमा लगाउने गाउन वितरण गरिसकेको छ ।
१५ सय रुपैयाँ धरौटी बुझाएर गाउन लिन लाइनमा थिइन्, इटहरी घर भएकी पूजा तिरुवा । स्नातक अध्ययन पूरा गरेपछि दीक्षित हुन काठमाडौं आएकी उनले केहीबेर लाइनमा बसेर गाउन त हात पारिन्, तर अनुहारमा उत्साहको भाव देखिएन । किनकि त्यो गाउनको साइज धेरै ठूलो थियो । उनले गुनासो गरिन्, ‘गाउन धेरै पुरानो रहेछ, साइज पनि ठूलो, साडी लगाउँदा त पूरै छोपिन्छ होला ।’
विश्वविद्यालयले यस वर्ष ५ हजार ५ सय नयाँ गाउन खरिद गरे पनि दीक्षान्तमा सहभागी हुनेको संख्या १६ हजार ३ सय ८० छ । एक जना विद्यार्थीले एउटा र अभिभावकका निम्ति दुई गरी तीन वटा गाउन लिन सकिने व्यवस्था छ । यही तथ्यांक काफी छ, दीक्षान्त समारोहमा सहभागी सबैले नयाँ गाउन पाउँदैनन् भन्ने बुझ्न ।
गाउन पाए पनि धेरैले साइजअनुसार नभएको, पुरानो भएको र केही फाटेको समेत भएको गुनासो गरेका छन् । बुटवलका सुन्दर भट्टराई गाउन नपाइने डरले चार दिनअघि नै काठमाडौं आइपुगेका थिए ।
व्यवस्थापन संकायमा स्नातक गरेका उनले विभिन्न संकाय र विद्यार्थीलाई एउटै साइजको गाउन दिनु अव्यावहारिक भएको बताए । उनले आफूले पाएको टोपी देखाउँदै भने, ‘टोपी पुरानो छ, च्यातिएको पनि छ । साट्न खोज्दा नमिल्ने भनियो, अब बाध्य भएर यही लगाउनुपर्यो ।’
उनी प्रश्न गर्छन्— ‘विश्वविद्यालयले विभिन्न संकायअनुसार फरक पाठ्यक्रम र मूल्यांकन प्रणाली अपनाउँछ भने दीक्षान्तका पहिरनमा किन सबैलाई एउटै साइज ?’ काठमाडौं आउँदा बसोबास, खानपान र यातायातको खर्च थपिए पनि आफूले खोजेअनुसारको पहिरन नपाउँदा दुःख लागेको भट्टराईले बताए । बुटवलकै स्वस्तिका पाण्डेले पनि यस्तै अनुभव सुनाइन् । व्यवस्थापन संकायबाट स्नातक गरेकी उनले भनिन्, ‘सबै विद्यार्थीको शारीरिक बनावट फरक हुन्छ । एउटै साइज सबैलाई कसरी मिल्छ ?’
गाउन लिन आउने सबै विद्यार्थीको अनुभव नकारात्मक मात्रै छैन । शंकरदेव क्याम्पसबाट स्नातकोत्तर गरेका खेमराज अवस्थी नयाँ गाउन पाउँदा खुसी थिए । तर टोपी भने आफूलाई नमिलेको उनले सुनाए । हाँस्दै भने, ‘एउटाको मिल्दा अर्कोको मिल्दैन । जे जस्तो भए पनि दीक्षित हुने रहर त पूरा गर्नुपर्यो नि ।’
परीक्षा नियन्त्रक कार्यालयका सह–नियन्त्रक दावा शेर्पाले यस वर्षका लागि ५ हजार ५ सय गाउन खरिद गरिएको र ती मिडियम तथा नर्मल गरी दुई साइजमा मात्र उपलब्ध भएको बताए । ‘सबै विद्यार्थीको साइजअनुसार गाउन बनाउन सम्भव हुँदैन,’ शेर्पाले भने, ‘दुई वटा साइज प्रायः सबैलाई मिल्छ । अपवादका रूपमा कसैको घुँडामाथि पर्छ, कसैको तलसम्म पुग्छ ।’
उनले हरेक वर्ष विद्यार्थी संख्या मूल्यांकन गरेर केही नयाँ थपिने र केही पुराना प्रयोग गरिने भएकाले विद्यार्थीले नयाँ वा पुराना जुनसुकै गाउन पनि पाउन सक्ने जनाए । १५ सय रुपैयाँ धरौटी तिरेर लिइएको गाउन जस्ताको तस्तै फिर्ता गरेपछि ३ सय रुपैयाँ शुल्क काटेर बाँकी रकम कार्यालयले फिर्ता गर्ने गर्छ ।
