चित्रमा व्यस्त सोवेन्द्र  

प्रकाश बराल

बागलुङ — बागलुङ नगरपालिका–१३ पैयुँपाटाका सोवेन्द्र पौडेलले सानै उमेरदेखि चित्र कोर्थे । कक्षा ५ मा पढ्दादेखि नै गाउँमा आयोजित एक पुराणमा उनले शिवको चित्र कोरे । सबैले त्यसको प्रशंसा गरेपछि उनलाई चित्रकार बन्न मन लाग्यो । ३५ वर्षीय पौडेल अहिले भने व्यावसायिक चित्रकार भइसकेका छन् ।

चित्रमा व्यस्त सोवेन्द्र  

दशकअघि बागलुङ महोत्सवमा उनले एकल चित्रकला प्रदर्शनी गर्ने मौकासमेत पाएका थिए । त्यसमार्फत उनलाई आफ्नो क्षमता देखाउन पाए । गाउँघरमै बसेर चित्र कोर्ने पौडेलले प्रदर्शनीपछि भने सदरमुकाममा व्यावसायिक पेसा अँगाले । सदरमुकाममा सटर भाडामा लिएर निरन्तर खटिन थाले । अहिले पनि उनी दैनिक १५ घण्टासम्म कलामा घोत्लिन्छन् ।

२०६१ मा स्टारलाइन कलमले राजा वीरेन्द्र र रानी ऐश्वर्यको चित्र कोरेपछि धेरैको माग आयो । चित्रको महत्त्व बुझे पनि उनले मूल्य भने खासै पाएका थिएनन् । २ सय रुपैयाँको फ्रेम ल्याएर चित्रसहित ५ सयमा बेच्थे । त्यसैमा हौसिएका सोवेन्द्रले कमाइ गर्न नसकेपछि घरपरिवारले जागिर खान दबाब दियो । तर कलामा डुबेकाले जागिर खोज्न हिँडेनन् । सदरमुकाममै बस्न थालेपछि मात्रै उनलाई चित्रको मूल्य थाहा भयो ।

५ सयमा बेचेको चित्र ५ हजारसम्ममा बेच्न सकिने रहेछ भन्ने बुझे । ‘यति महँगो चित्र हुन्छन् भन्ने थाहै थिएन, काममात्रै गर्थें, कमाइ भएको थिएन,’ उनले भने, ‘अहिले बल्ल चित्रको मूल्य पाउन थालेको छु ।’ नेपाल आर्ट काउन्सिल र ग्यालरीहरूमा पुगेर उनले चित्रको मूल्यसँगै चित्रकलामा जीवनकै महत्त्व बुझ्न पाएको बताए ।

नेपाल ललितकला क्याम्पसमा पुगेर पढ्न चाहेको भए पनि आर्थिक अवस्थाले सम्भव नभएपछि उनले पैयुँपाटामा उच्चमावि र धौलागिरि बहुमुखी क्याम्पसमा स्नातक पढे । पढाइ अर्कोतर्फको भए पनि उनको कलाको क्षमता मरेन । निरन्तर प्रयास गरेरै उनले कोरा कपडामा चित्र कोर्न थाले । ‘क्यानभास महँगो पर्ने भएकाले सुरुसुरुमा किनेर ल्याउन सकिन । पछि चित्रको मूल्य पाउन थालेपछि मात्रै ल्याउने गरेको छु,’ उनले भने ।

चित्रकलाको यात्रामा उनले अनौठा अनुभव पनि सँगालेका छन् । जिउँदो छउन्जेल कसैले पनि बाबुआमाको चित्र बनाउँदैनन् । जब अभिभावक गुमाउँछन्, त्यसपछि महँगो मूल्य तिरेर अभिभावकको चित्र कोर्न लगाउँछन् । उनका अनुसार धेरैजनाले मरेका बाबुआमाको फोटो ल्याएर क्यानभासमा कोर्न दिन्छन् । उनले सानो फ्रेममा राखेर दिँदा १० हजारसम्म लिने गरेको बताए । उनले पोट्रेट र ल्यान्डस्केप दुवै चित्र कोर्छन् । ‘छोटो समयमा धेरै कमाउन ल्यान्डस्केप सजिलो छ, प्रोटेटमा धेरै मिहिनेत पर्छ,’ उनले भने ।

एउटा प्रोटेट चित्र कोर्न १० दिनसम्म लागेको उनको अनुभव छ । उनले ऐतिहासिक पात्रको पनि चित्र कोर्छन् । राजारानी, लक्ष्मीप्रसाद देवकोटा र भूपी शेरचन जस्ता कविको पनि चित्र कोरेका छन् । बीपी कोइराला र मनमोहनको चित्र पनि धेरै नै कोरे । ‘चित्रमा जीवनको मूल्य खोज्नेले राजनीतिक र भूगोलको बार तोड्ने रहेछन्,’ उनले भने, ‘चित्रकलाले मलाई जीवनकै मूल्य सिकाएको छ ।’

अब उनलाई ठूला चित्रमा पनि सोख जागेको छ । ती चित्र एउटैको डेढ लाखदेखि दुई लाखसम्म पर्छन् । ग्रामीण क्षेत्रमा बसेर मिहिनेतको कमाइ नहोला भनेर अगाडि बढ्न नसकेको उनले गुनासो गरे । ‘काठमाडौंमा भए एउटै चित्रको दुई/तीन लाखमा खरिद गरिदिने भेटिन्छन्, यहाँ पाइँदैन,’ उनले भने, ‘तर केही चित्र भने कोरेरै छाड्छु ।’

कमाइ बढाउनका लागि उनले प्रिन्ट मेसिन पनि राख्ने चाहना राखेका छन् । पत्नी पुष्पाले उनको व्यवसाय धान्न थालेकी छन् । ‘क्यानभासमा डुब्दा मैले खाने मेसो पनि पाउँदिनँ, त्यतिबेला पुष्पाले पसल हेरिदिने गर्छिन्,’ उनले भने, ‘चित्र कोर्दा हराएर दुई/तीन दिनसम्म भात पनि खान बिर्संदा आमाले गाली गरेको अझै सम्झन्छु ।’ त्यो मिहिनेतले अहिले आफ्नै क्षमतामा उभिने बनाएकामा उनी खुसी छन् ।

प्रकाशित : वैशाख १७, २०८० ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?