युवामाथि मतदाताले भरोसा देखाएका छन्, त्यो भरोसा हामीले पूरा नगरेमा र युवा नेतृत्वबाट फेरि निराशा मात्र मिलेमा ठूलो दुर्भाग्य हुनेछ, जुन युवाले राज्यको सेवा गर्छु भनेर राजनीति गर्छ, उसले सफलता पाउँछ
राजनीति जीवन्त र डायनामिक हुन्छ । कुनै पनि राजनीतिक व्यक्ति राजनीतिसँग कुनै बेला पनि सन्तुष्ट हुँदैन । त्यही, असन्तुष्टिका कारण ऊ चलायमान हुन्छ । म पनि अहिलेको राजनीतिसँग सन्तुष्ट छैन, त्यसैले चलायमान छु ।
२०६६ तिर माओवादीमा आबद्ध भएँ । चुनावी राजनीतिमा ०७४ मा एकै वर्ष दुई पदमा प्रतिस्पर्धा गरेँ । वीरगन्ज महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएँ, पराजित भएँ । लगत्तै, प्रदेशसभा सदस्यका लागि फेरि त्यही वर्ष चुनावी प्रतिस्पर्धामा हार व्यहोर्नुपर्यो ।
पछि, ०७९ को आमनिर्वाचनमा पर्साको क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएँ । यसो हेर्दा, ०७४ पराजित भएँ र ०७९ मा प्रदेश सांसदमा जितेर फड्को मारेको देखिन्छ । तर, ५ वर्षको अन्तरालमा निरन्तर जनतासँग नजिक रहें । आफ्नो विचार र सोच सुनाएँ । राजनीतिमा सक्रिय भइरहें । त्यसपछि, प्रदेशसभामा प्रतिनिधित्व भयो भने मेरो लागि राम्रो प्लेटफर्म हुन्छ जस्तो लाग्यो । मधेशी जनतालाई सेवा गर्न सक्छु भन्ने लागेर नै प्रदेशसभामा चुनाव लडेको हो ।
प्रदेशसभा सदस्य पनि रातारात भएको होइन । ५ वर्षसम्म तयारीको प्रतिफल हो । दुईवटा चुनावको तयारी गर्नु भनेको विश्वविद्यालयको डिग्री हासिल गरेजस्तो हुन्छ । प्रारम्भिक पढाइ मेरो नेपालमै भयो । हाइस्कुलको पढाइ भारतमा गरें । त्यसपछिको पढाइ र विभिन्न तालिम विदेशमा लिएँ । भुइँमान्छेसँगको सम्पर्क र सामाजिक सद्भावले मलाई राजनीतितिर लाग्नुपर्छ भन्ने प्रेरणा दिइरहन्थ्यो ।
मान्छेले विभिन्न उमेरमा आफ्नो जीवनको उद्देश्यबारे समीक्षा गर्छ । एउटा समयकालमा ‘यो जीवनमा समाजमा देख्न चाहेको परिवर्तन अर्को पुस्ताका लागि छोड्नु भएन, आफ्नै जीवनकालमा त्यो पूरा गर्नुपर्छ,’ भन्ने लाग्यो । त्यही उद्देश्यले मलाई राजनीतिमा लाग्न ऊर्जा दियो ।
मैले करिब डेढ वर्ष मधेश प्रदेशमा उद्योग, पर्यटन र वन राज्यमन्त्रीको जिम्मेवारी पनि सम्हालें । राज्यमन्त्री हुँदा ठूलो चुनौती कुनै पनि काम कार्यान्वयनमा लैजानु थियो । हामी एउटा भिजन लिएर त्यहाँ पुगेका हुन्छौं । तर, त्यो भिजनअनुसार अघि बढ्न कर्मचारीबाट सहयोग पाइँदैन । डेलिभरी दिने त कर्मचारीतन्त्र नै हो । उनीहरू राजनीतिकर्मीको भिजनअनुसार चल्न चाहँदैनन् । मधेश प्रदेशमा राज्यमन्त्री हुँदा धेरै स्टक होल्डरको भिजन मसँग मिल्दैनथ्यो । मेरो अलि फरक सोच थियो । पहिलो दिनदेखि नै समयको दबाबमा थिएँ । राज्यमन्त्री हुँदा १ मिनेट पनि खेर फाल्न चाहँदिनँ थिएँ । जनता र मधेशको हितमा मेरो समय खर्चिनुपर्छ भन्ने लागेर काममा लागेको थिएँ । तर, एक्लो परेको महसुस गरें । राम्रो कामलाई सबैले राम्रै भन्छन् । तर, राम्रो कामलाई कसले प्राथमिकतामा राख्छ, उसैले त्यसलाई अगाडि बढाउन सक्छ ।
धेरैजसोको प्राथमिकतामा जनता र मधेश प्रदेश पर्दैन । आफ्नो वेलफेयर मात्र हेर्छन् । परिवार र पार्टीको वेलफेयरलाई प्राथमिकतामा राख्छन् । म र मेरो भिजन त्यही भएर अल्पमतमा परे जस्तो लाग्यो । हामी सबैतिर हात हाल्छौं, केही पूरा गर्न सक्दैनौं । एउटा काम सकेर अर्कोमा हात हालौं भन्ने हुन्न । त्यसैले सबै काममा समस्या देखिएको छ । जस्तै, मधेशमा कस्तो खालको पर्यटन ठीक हुन्छ ? यसमा योजना बन्न सकेको देखिँदैन । मधेशको पर्यटन मन्त्रालयलाई ठोस काममा नलगाएर खुद्रे बजेट खर्चिने मन्त्रालय बनाइएको छ । मठ–मन्दिर, मस्जिद, समसानघाट र कब्रिस्तानमा अलिअलि बजेट छर्ने काम मात्र भएको छ ।
मधेशको पर्यटन प्रवर्द्धनमा ठूलो योजना ल्याइरहन आवश्यक छैन । यहाँका ४–५ वटा धार्मिक–सांस्कृतिक केन्द्रलाई प्राथमिकतामा राखेर त्यहाँ आउने पर्यटकलाई सहजीकरण गर्ने काम मात्र प्रदेश सरकारले गर्यो भने गजब हुन्छ । जनकपुरको जानकी मन्दिर वा बाराको गढीमाई मन्दिरको गरिमा, महत्त्व र आस्थाबारे भनिरहनु पर्दैन । त्यो सबैलाई थाहा छ । तर, त्यहाँ पुग्ने पर्यटकले सरकारको उपस्थिति महसुस गरुन् ।
भारतको जयपुर, अहमदाबाद वा मध्यप्रदेशमा पुग्दा धार्मिक, ऐतिहासिक स्थलमा राज्य सरकारको बलियो उपस्थिति हुन्छ । हामीकहाँ त कति पर्यटक आए, कहाँ–कहाँ गए, त्यति पनि सूचना हुन्न । कम्तीमा जनकपुरको जानकी मन्दिर आउने पर्यटकले राम्रो भनिदेऊन्, गढीमाई आउने पर्यटकले प्रदेश सरकारको उपस्थित महसुस गरुन् । यति मात्रै गरे, ठूलो काम देखिनेछ ।
सुशासन र शून्य सहनशीलता नै मेरो मूल मर्म हो । राज्यमन्त्री हुँदा यही अडानमा बसें । प्रदेशसभाको बैठकमा केही समयअघि मैले दिएको अभिव्यक्ति चर्चामा आयो । मैले संसद्मा ‘मधेशमा यति धेरै भ्रष्टाचार र यतिबिध्न भ्रष्टाचारी भए कि जनताले भ्रष्टाचारलाई स्केप नै गर्न सकेनन् । मेरो चारैतिर भ्रष्टाचारी घुमिरहेका छन् । कसलाई समाऊँ, कस–कसलाई कारबाही गरूँ ? बरु, यो प्रदेशलाई भ्रष्टाचारको रेड लाइट भनेर घोषणा गरिदियौं’ भनेको थिएँ । व्यङ्यात्मक रूपमा ‘मधेश प्रदेशलाई भ्रष्टाचारको हब बनाऔं । यहाँ भ्रष्टाचारबारे अध्ययन गर्न आउनेसँग राजस्व उठाऔं’ भनेको थिएँ । जुन धेरैलाई मन परेन ।
मधेशी जनतालाई नेतृत्व वर्गले नै विभेद गरेको देखिन्छ । प्रदेशसभाको सदस्यको हैसियतले मैले कुनै बेला एकपटक संसदीय कोषअन्तर्गत ३ करोड रुपैयाँ चलाउन पाएको थिएँ । राम्रो काम गर्यो भने ४०–५० वर्षसम्म त्यही कामका लागि फेरि बजेट खर्चिनु पर्दैन । तर, कमिसनको लोभले गर्दा राम्रो काम हुँदैन । हामीले बजेट सही तरिकाले चलाएका छैनौं । मैले ३ करोड पाउँदा वीरगन्जको जीर्ण रहेको छात्रा स्कुल कन्या माविको भौतिक पूर्वाधारमा खर्च गरें । सडक नै नपुगेको दलित बस्तीमा पक्की सडक बनाउन लगाएँ । विकास नपुगेको ठाउँमा काम गरेको छु ।
कम उमेरमा सांसद हुँदा अलमलमा पर्ने खतरा हुन्छ । फोकस आउट हुने डर हुन्छ वा ठूलै मान्छे भइयो भन्ने भ्रमले बर्बाद पार्न सक्छ । कम उमेरमा ठूलो जिम्मेवारीले मान्छेलाई झन् गम्भीर बनाउनुपर्ने हो । समय–समयमा आएका जिम्मेवारीले मलाई झन् बढी जिम्मेवार हुनुपर्छ भने अलर्ट गराएको छ । जो युवा राज्यको भविष्यबारे सोचेर राजनीति गर्छ, त्यो युवाको भविष्य राजनीतिमा छ । जो युवा आफ्नो, परिवार र पार्टीको भविष्य सोचेर राजनीतिमा आउँछ, उसको भविष्य छैन । म आफूले गर्ने भनेको न्याय हो । शतप्रतिशन त नहोला । तर, सक्दो न्यायचाहिँ गर्छु । युवा नेतृत्वले समाज विकासलाई जहिल्यै प्राथमिकतामा राख्नुपर्छ ।
युवामा एउटा आधारभूत कमजोरी छ, केका लागि राजनीति गर्ने भन्ने स्पष्ट चित्र देखिँदैन । उनीहरूलाई राजनीतिमा धेरै अप्ठ्यारा छन् । युवालाई राजनीतिमा धेरैले रुचाएका छैनन् भन्ने भाष्य नै बनिसकेको छ । तर, जुन युवाले राज्यको सेवा गर्छु भनेर राजनीति गर्छ, उसले सफलता पाउँछ । राजनीति गर्ने हैसियत छैन भने नगर्नुस् । राजनीति भनेको श्रमदान हो । मैले चुनावमा नारा लगाएको थिएँ, जनतालाई विकास होइन, निकास चाहिएको हो । पुरानो नेता र एजेन्डाबाट जनतालाई निकास दिनुपर्छ भनेर जनतासँग मत मागेको थिएँ । युवामाथि मतदाताले भरोसा देखाए, जनताको त्यो भरोसा हामीले पूरा नगरे वा फेरि युवा नेतृत्वबाट निराशा मात्र मिलेमा ठूलो दुर्भाग्य हुनेछ ।
