'जसको आदेशबाट यस्तो हिंसा भयो, जसको उक्साहटबाट यो अपराध भयो ऊबाट यो क्षति भराउनुपर्छ र ती तत्त्वहरूलाई कानुनी कारबाहीको भागिदार बनाउनैपर्छ । सरकारले यस कार्यमा तदारूकता देखाओस् । आपराधिक घटनाको सरकारले तत्काल छानबिन गरोस् ।'
काठमाडौँ — राजावादी समूहले काठमाडौंको तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रमा प्रदर्शनका नाममा गरेको घटनाले लोकतन्त्रको शिर झुकाएको रास्वपा सांसद सोबिता गौतमले बताएकी छन् ।
काठमाडौं क्षेत्र नम्बर २ (कोटेश्वर, जडिबुटी)बाट निर्वाचित सांसद गौतमले उक्त घटनामा संलग्नमाथि छानबिन गरी कारबाहीको माग गरेकी छन् भने सञ्चार गृह र पत्रकारमाथि भएको आक्रमणको निन्दा गरेकी छन् ।
गौतमले सामाजिक सञ्जालमार्फत शनिबार उक्त घटनाको विरोध गरेकी हुन् । 'हिजो तीनकुनेमा भएको घटनाले हाम्रो लोकतान्त्रिक मुलुकको शिर झुकाएको छ । शान्तिपूर्ण आन्दोलन गर्नु नागरिकको संवैधानिक अधिकार हो, तर त्यसको नाममा सर्वसाधारणमाथि नै आक्रमण गर्नु कदापि स्वीकार्य छैन । कसैको निजी सम्पत्ति घर जलाउनु, एउटा सामान्य मानिसले आफ्नो परिवार पाल्न खोलेको स्टेशनरी पसल जलाएर खरानी पार्नु, औषधी कारखाना जलाउनु, सम्पत्ती लुटपाट गर्नु कुनै राष्ट्रवादी कार्य हैन, हुन सक्दैन । यस्तो हिंसा न त राष्ट्रवादी भाव हो, न त देश सेवाको माध्यम हो । यो सामान्य जनतामाथिको निर्मम प्रहार हो, लुटपाट र डकैती हो,' उनको भनाइ छ, 'चैत १५ गते शुक्रबार काठमाडौं क्षेत्र नम्बर २ स्थित तीनकुने, कोटेश्वर, बालकुमारी, जडिबुटी तथा सिनामंगल क्षेत्रमा भएका सम्पूर्ण निजी तथा सार्वजनिक सम्पत्तिमाथि भएको आगजनी, लुटपाट तथा क्षति पुर्याउने कार्यको घोर निन्दा गर्दछु ।'
त्यो घटना गराउनका लागि आदेश दिनेमाथि पनि अनुसन्धान गरी कारबाही हुनुपर्ने सांसद गौतमको माग छ । 'जसको आदेशबाट यस्तो हिंसा भयो, जसको उक्साहटबाट यो अपराध भयो ऊबाट यो क्षति भराउनुपर्छ र ती तत्त्वहरूलाई कानुनी कारबाहीको भागिदार बनाउनैपर्छ । सरकारले यस कार्यमा तदारूकता देखाओस् । आपराधिक घटनाको सरकारले तत्काल छानबिन गरोस्,' उनको माग छ ।
राजावादीहरूले कान्तिपुर टिभी, अन्नपूर्ण पोस्ट लगायतको कार्यालयमा पनि ढुंगामुढा गर्दै आगजनीको प्रयास गरेका थिए । भिडियो खिच्न गएका पत्रकार सुरेश रजक घरभित्र रहेको बेला बाहिरबाट आगो लगाएर मारिएको थियो । 'भिडियो खिचिरहेको घरमा आगो लगाएर मारिएका पत्रकार सुरेश रजकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । आफ्नो कर्ममा खटिँदा आक्रमणमा परेका पत्रकार दिनेश गौतमलगायतको शीघ्र स्वास्थ्यलाभको कामना,' सांसद गौतमले भनेकी छन्, 'विभिन्न सञ्चारगृहमा भएका आक्रमणप्रति खेद प्रकट गर्न चाहन्छु ।' उनले सञ्चारमाध्यम र पत्रकारको सुरक्षामा ध्यान दिन पनि सम्बन्धित पक्षलाई आग्रह गरेकी छन् ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारको गाडी जलाएकोमा पनि सांसद गौतमले आपत्ति जनाएकी छन् ।
